विदेशी सेना मुलुकभित्र छिर्दा सत्रुलाई परास्त गरी देशको सीमा जोगाउनु सुरक्षा दस्ताको मुख्य दायित्व भएझैँ जीवाणुहरू शरीरमा पस्दा त्यसलाई विनाश गर्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) को भूमिका रहन्छ। सूक्ष्माणुरहित अवस्था असंभव भएकाले जतिसुकै स्वच्छ वातावरणमा बस्दासमेत हामीलाई दैनिकले असंख्य कीटाणुले आक्रमण गर्छन्। हजारौँ कीटाणु दैनिक शरीरमा पस्ने भए तापनि हामीलाई रोगले सताउने भनेको यदाकदा हो। प्रतिरक्षा प्रणालीअन्तर्गत विभिन्न किसिमका कोस (सेल) तथा प्रोटिन हुन्छन्। इम्युन सिस्टमको सक्रियताले हाम्रो शरीरमा पसेका संक्रमणकारी ब्याक्टेरिया, भाइरसलगायतका सूक्ष्माणु नासिन्छन्, हामी निरोगी हुन्छौँ। त्यसैले हामीलाई विभिन्न किसिमको रोगबाट बचाउने प्रतिरक्षा प्रणालीलाई ‘न्याचुरल हस्पिटल’ पनि भनिन्छ।
बाह्य संक्रमणबाट जोगाउने दायित्व बोकेको प्रतिरक्षा प्रणालीले कहिलेकाहीँ आफ्ना र पराया ठम्याउन सक्दैनन्। बाहिरी कीटाणुलाई आक्रमण गर्नुपर्ने प्रतिरक्षा प्रणाली आफ्नै शरीरका स्वस्थ अंगलाई घातक प्रहार गर्न पुग्छ। वैज्ञानिक भाषामा त्यस्तो अवस्थालाई ‘अटोइम्युनिटी’ भनिन्छ अनि लाग्ने रोगहरूलाई समष्टिगतरूपले ‘अटोइम्युन डिजिज’ भनिन्छ। तथ्यांकले संसारका झण्डै ४ प्रतिशत मानिसलाई कुनै न कुनै किसिमको ‘अटोइम्युन डिजिज’ ले सताएको देखाउँछ।संसारमा करोडौँ मानिस ‘अटोइम्युन डिजिज’ को सिकार भएकाछन्।
धेरै मानिसलाई सताउने भए पनि ‘अटोइम्युन डिजिज’ लाग्नुको मुख्य कारण ठहर गर्न नसकिएकाले यो लक्षणको उपचार गर्ने विश्वासिलो संहिता स्थापना गर्न विज्ञान अहिलेसम्म सफल भएको देखिन्न। भारतलगायत विभिन्न देशमा लगेर उपचार गर्दासमेत ठीक हुन नसकेर दिक्क मानेर बस्ने नेपाली हजाराैं छन्। इम्युन सिस्टमले स्वस्थ अंगलाई आक्रमण गरेका कारण ‘टाइप वान डाएबेटिज’ र्युमेट्वाइड अर्थराएटिस’ लगायतका झण्डै एक सय विभिन्न किसिमका ‘क्रोनिक’ रोग अस्तित्वमा छन्। बाटो बिराएको इम्युन सिस्टमले मुटु, कलेजो, फोक्सोलगायत शरीरका जुनसुकै स्वस्थ अंगलाई आक्रमण गर्न सक्ने भएकाले यो रोगमा धेरै किसिमको शारीरिक समस्या देखिन्छ।
विभिन्न अध्ययन तथा अनुसन्धानले पछिल्लो कालमा नवीन रोग तथा बिरामीको संख्या अत्यधिक बढेको देखिन्छ। अन्यरोगझैँ ‘अटोइम्युन डिजिज’ पीडितको संख्या पछिल्लो समयमा थपिएको हो कि भनी अन्वेषण गर्न संयुक्त राज्य अमेरिकाको ‘न्यासनल इन्स्टिच्युट अफ् इन्भिरोमेन्टल हेल्थ साइन्सेज’ का अनुसन्धानकर्ता फ्रेडरिक मिलरको टोली अघि सर्यो। डा.मिलरको टोलीले विगतमा संकलित तथ्यांकको विश्लेषण र विभिन्न समयमा जम्मा गरिएको झण्डै १४ हजार मानिसको ‘सिरम’ को ल्याब परीक्षण गर्दा पछिल्लो दशकमा यो रोगको प्रकोप अत्यधिक पायो। आकडा प्रशोधनपछि मानिसको बदलिँदो खानपिन तथा दूषित वातावरणका कारण ‘अटोइम्युन डिजिज’ का रोगीको संख्या बढेको आकलन भयो।
पुरुषको तुलनामा महिलालाई अटोइम्युन डिजिजले झण्डै ३ गुणा बढी सताएको पाइएको छ। यो रोगले महिलालाई बढी सताएपछि तिनको शारीरिक बनोट र उत्पादित हर्मोनहरूलाई दोषी देख्नु स्वाभाविक हो। नभन्दै युनिभर्सिटी अफ् क्यालिफोर्निया, लस एन्जलसको न्युरोइम्युनोलोजीका प्राध्यापक रोन्डा भोस्कुललगायतका अनुसन्धातकर्तालेमहिलामा पाइने ‘हर्मोन’ को बनोटका कारण ‘अटोइम्युन डिजिज’ को प्रकोप अत्यधिक रहेको ठहर गर्यो। हर्मोन र रोगको प्रकृतिबीच अन्तरसंबन्ध स्थापित गर्न नसकेको वर्तमान अवस्थामा हर्मोन थेरापीमार्फत अटोइम्युन डिजिजको उपचार संभव छैन।
एकै भाइरसले सताएकामध्ये कसैको निधन हुँदा र अर्कोलाई केही नभएको देखिँदा अचम्म लाग्छ। अणुवांशिक हिसाबले समान कित्तामा रहेका दुई व्यक्तिमा जीवाणुको संक्रमण असरमा धेरै फरक देख्दाथप अध्ययन आवश्यक हुन्छ। जीवाणुको असरका संबन्धमा ‘जेनेटिक स्टडी’ ले कुनै उत्तर दिन नसक्दा व्यक्तिको आन्द्रामा पाइने विभिन्न प्रजातिका सूक्ष्म जीवाणु (गट ब्याक्टेरिया) को बनोटले प्रभाव पारेको हो कि भनी अन्वेषण गर्दा अनौठो परिणाम देखियो।
आन्द्रामा के/कस्ता प्रकृतिका सूक्ष्माणु के/कति अनुपातमा छन् भन्ने विवरणले व्यक्तिको गट ब्याक्टेरियाको चरित्र बताउँछ। औँठा छाप जस्तै प्रत्येक व्यक्तिको गट ब्याक्टेरियाको बनोट फरक फरक हुन्छ। अणुवांशिक हिसाबले तात्विक फरक नदेखिएका तर गट ब्याक्टेरियाको बनोट पृथक भएका व्यक्तिमा इम्युन सिस्टमको प्रभाव फरक फरक देखिँदा कहीँ गट ब्याक्टेरियाले अटोइम्युन डिजिजलाई प्रभाव पारेको छ कि भनी खोज गरिनु अन्यथा भएन। प्रतिरक्षा प्रणालीले ‘पेन्क्रियाजका कोसहरूलाई नास गर्दा शरीरमा इन्सुलिन उत्पादन हुन सक्दैन अनि त्यस्तो अवस्थालाई ‘टाइप वान डाएबेटिज’ भनिन्छ। यो डाएबेटिजको मुख्य कारण अटोइम्युन डिजिज देखिएको छ।
कारक पत्ता लगाउने क्रममा टाइप वान डाएबेटिजका बिरामीहरूको गट ब्याक्टेरियाको बनोट सामान्य मानिसको तुलनामा निकै फरक देखिएको छ। टाइप वान डाएबेटिजका बिमारीको आन्द्रामा ‘प्याराब्याक्टेरोइड्स’ प्रजातिको ब्याक्टेरियाको जनघनत्व अत्यधिक देखियो। सबै टाइप वान डाएबेटिजका बिरामीको आन्द्रामा निश्चित प्रजातिका सूक्ष्माणुको आधिपत्य संयोग हुन नसक्ने बरु अटोइम्युन डिजिज र गट ब्याक्टेरियाको सन्तुलनबीच संबन्ध रहेको ठानियो। अनि गट ब्याक्टेरियाको बनोट परिवर्तन गरी रोगको इलाज गर्ने पद्धति विकास भयो। खानपिनले गट ब्याक्टेरियाको बनोट परिवर्तन गर्ने भएकाले भोजनमार्फत आन्द्राको जीवाणु परिवर्तन गरी रोक निको पार्ने उपचार विधि विकास भयो। तद्अनुरूप धेरै कम्पनी खुले। व्यक्तिको आन्द्राका जीवाणुको सन्तुलन परिवर्तन गरी रोगको इलाज गर्ने संहिता सुरु भयो।
हामीलाई संक्रमणबाट रक्षा गर्ने प्रतिरक्षा प्रणालीका धेरै चरित्रका कोसमध्ये सबैभन्दा महत्वपूर्ण ‘रेगुलेटरी टि सेल’ हो। यसरी टि सेलले हाम्रो इम्युन सिस्टमलाई बलियो बनाइ बाह्य संक्रमणबाट जोगाउने भए पनि उक्त ‘रेगुलेटरी’ कोसमा आउने अप्रत्याशित परिमार्जनका कारण प्रतिरक्षा प्रणालीले आफन्त र पराया सेल तथा अंगलाई ठम्याउन सक्दैन। त्यस्तो अवस्थामा टि सेलले आफ्नै अंगलाई समेत आक्रमण गरी विक्षत पार्छ। मिर्गाैलामा आक्रमण गरे ‘किड्नी फेलिएर’ हुने, ‘पेन्क्रियाज’ मा प्रहार गरे चिनीरोग लाग्ने अनि ‘भाइटल अर्गेन’ मा संक्रमण भए व्यक्तिको मृत्यु हुन्छ।
यसरी ‘अटोइम्युन डिजिज’ को मुख्य कारण टि सेलमा आउने खराबी देखिएको हुँदा ल्याबमा असल टि सेल उत्पादन गरी मानिसको इम्युन सिस्टमलाई बलियो पार्न सके यो रोग नियन्त्रण गर्न सकिन्छ। त्यही प्रयोजनकालागि केही फर्मास्युटिकल कम्पनीहरू रेगुलेटरी टि सेल उत्पादनमा लागे र प्रारम्भिक परिणाम सकारात्मक रहेकाले यो रोग छिटै नियन्त्रणमा आउने ठानिएको थियो। चिनी रोगका कारण इन्सुलिन उत्पादन गर्न असफल भएको अवस्थामा रोगीलाई ल्याबमा उत्पादित इन्सुलिन दिएझै खराब टि सेल देखिएको खण्डमा राम्रो कोस ‘इन्जेक्ट’ गर्ने योजना स्वाभाविक देखियो नै।
कोभिड संक्रमणका केही बिरामी लामो समयसम्म पनि सामान्य अवस्थामा फर्कन सकेका देखिँदैन। भाइरस निर्मूल भए पनि किन व्यक्ति पूर्वावस्थामा फर्कन सकेन भनी अध्ययन गर्दा बिरामी ‘अटोइम्युन डिजिज’ को सिकार भएको देखियो। प्रतिरक्षा प्रणालीले बाह्य सूक्ष्माणुलाई पहिचान गर्ने आधार भनेको भाइरसले उत्पादन गर्ने विषादी ‘एन्टिजिन’ हो। सूक्ष्माणुले शरीरको अधिकांश भागमा संक्रमण गरेको अवस्थामा भाइरसजन्य ‘एन्टिजिन’शरीरको अंग/प्रत्यंगमा उत्पादन हुने भएकाले प्रतिरक्षा प्रणालीका कोसहरूले भाइरस र ‘ह्युमन सेल’ का बीच फरक छुट्याउन सक्दैन।
अनि इम्युन सिस्टमले भाइरस र शारीरिक अंग दुवैलाई आक्रमण गर्छ। भाइरसका बिरामी‘अटोइम्युन डिजिज’ को पनि सिकार बन्न पुग्छ। भाइरसले थलिएर जीर्ण भएको अवस्थामा आफ्नै प्रतिरक्षा प्रणालीले घातक प्रहार गर्दा नै कोरोना भाइरसबाट मुक्त भएपछि पनि बिरामीको मृत्यु भएको बताउँछन् न्युयोर्क विश्वविद्यालयका इम्युनोलोजीका प्राध्यापक ग्रग सिल्भरम्यान। कोरोनामात्र होइन, कुनै पनि बाह्य जीवाणुले ठूलो संक्रमण गरेको अवस्थामा प्रतिरक्षा प्रणालीका कोसहरू अत्यधिक क्रियाशील भई आफ्ना र पराया ठम्याउन नसक्ने अवस्थामा पुग्ने भएकाले कुनै पनि कीटाणुले अत्यधिक सताएको अवस्थामा अटोइम्युन डिजिज स्वाभाविक देखिन्छ।
करोडौँ मानिस विभिन्न किसिमको ‘अटोइम्युन डिजिज’ को सिकार भए। रोगका संबन्धमा धेरै अध्ययन/अनुसन्धान भए पनि यसको जरो पहिल्याउन अहिलेसम्म पनि विज्ञानले पूर्ण सफलता पाउन सकेको छैन। रोगको कारण एकीन गर्न कठिन भए पनि केही लक्षणको इलाजमा भने विज्ञानले धेरै सफलता पाएको छ। विज्ञानले कोरेको रेगुलेटरी टि सेल परिमार्जनको अवधारणा, गट ब्याक्टेरियाको सन्तुलन जस्ता अनुसन्धानात्मक कार्य रोग नियन्त्रणका लागि आशालाग्दा कदम देखिएका छन्। यद्यपि, अनुसन्धानात्मक प्रगति हेर्दा सबै किसिमका अटोइम्युन डिजिजका इलाज छिटै संभव हुन्छ भन्ने अवस्था छैन। त्यस्तो अवस्थामा निरोगिताको ‘युनिभर्सल फर्मुला’ स्वस्थ खान्की, कसरत, पूर्ण आराम तथा तनावरहित जीवन जिउने संहितामा जोड दिन आवश्यक छ।
प्रकाशित: १९ श्रावण २०७८ ०४:४९ मंगलबार