समाजवाद
मौलिकरूपमा समाजवाद दार्शनिक, राजनीतिक एवं आर्थिकरूपमा एउटा प्रणाली हो र सार्वजनिक भलाइका लागि शिक्षा, स्वास्थ्य, यातायात, रक्षा, प्राकृतिक साधन र स्रोत राज्यको स्वामित्वमा राखिएको हुन्छ। समाजवादी दृष्टिकोणअनुसार, जनता पृथकरूपमा रहने वा काम गर्ने भन्दा एकअर्कामा समन्वय र सहकार्यमा रहन्छन्। अझ, जनताले उत्पादन गर्ने प्रत्येक वस्तु केही हदमा समाजको उत्पादन हो र त्यस्तो वस्तु उत्पादनमा योगदान गर्ने हरेकको सामूहिक हक रहन्छ। तसर्थ, समग्रमा समाजले आफ्ना सबै सदस्यका हितका लागि सामुदायिक सम्पत्ति आफ्नो स्वामित्व वा नियन्त्रणमा लिएको हुन्छ। समाजवादले पुँजीवादमा रहेको प्रतिस्पर्धाको खराबी हटाउने वकालत गर्छ साथै जनताबीचको अस्वस्थ प्रतिस्पर्धालाई निर्मूूल पारीे प्रत्येकले स्वास्थ्योपचार र अन्य आवश्यकताअनुसार समान लाभ लिन पाउ‘छन्।
समाजवादको मुख्य लक्ष्य भनेको सम्पूर्ण उद्योगधन्दा र उत्पादनका साधनमाथि राज्यको नियन्त्रण कायम गरी वर्ग विभेद हटाउनु हो। यस्तो संगतिपूूर्ण समाजमा वर्ग उत्पीडन एवं वित्तीय अस्थिरता रहँदैन। समाजवादमा श्रमिकहरूले उत्पादनका साधनमाथि स्वामित्व राख्ने भएकाले शोषित हँुदैनन्। व्यक्तिगत योगदानका आधारमा नाफा समानरूपले सबै श्रमिकहरूमा बॉडिने भएकाले समान लाभको सिद्धान्त लागु हुन्छ। काम गर्न नसक्नेहरूका लागि सहकारी प्रणालीले पनि लाभ दिइरहेको हुन्छ। यसले समाजका सबै मानिसको आधारभूूत वस्तुको आवश्यकता पूरा गर्छ। यसले समाजमा रहेका प्रतिस्पर्धा गर्ने र व्यक्तिगत फाइदामा केन्द्रित हुने कुरालाई बेवास्ता गर्छ। पुँजीवादले अतृप्त लालसा पूरा गर्ने कवचको काम गरी गति दिन्छ। तसर्थ समाजवादले व्यवसाय गर्ने व्यक्तिलाई पुरस्कृत गर्दैन।
राजनीतिक पार्टीहरूको उद्घोष
नेकपा एमालेको पार्टी विधानको प्रस्तावनामा भनिएको छ–नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति। पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हो। यो पार्टी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा पुँजीवादी–जनवादी क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्ने र आर्थिक–सामाजिक रूपान्तरणसहित राष्ट्रिय पुँजी विकास गर्दै सामाजिक न्याय, समानता, समाजवाद र साम्यवाद प्राप्तिको बाटोमा अग्रसर हुनेछ। पार्टीको चुनावी घोषणापत्रमा पनि समाजवादको परिभाषा गर्दै भनिएको छ–समाजवाद–विभेदरहित, समानतामा आधारित, प्रगतिशील उत्पादक शक्तिको नेतृत्वमा सञ्चालित, उच्च संस्कृतियुक्त र समृद्ध सामाजिक व्यवस्था हो। पार्टी समाजवादउन्मुुख भएको भन्दै घोषणापत्रमा कपडा, जुत्ता, औषधि आदि उत्पादन गर्ने उद्योगहरू स्थापना गरिनेसमेत उल्लेख छ। प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै विश्वविद्यालयहरूको स्तरीयता र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरिने भनिएको छ।
नेपाली कांग्रेसको विधानको प्रस्तावनामा राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील,स्वतन्त्र र समतामूलक समाज स्थापना, कांग्रेसले आफ्नो आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मानेको छ। यसैगरी राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट न्यायपूर्ण, समतामूलक, समाज निर्माण गरी सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माण स्वाभिमानी राष्ट्रका रूपमापरिचित गराउने नेपाली कांग्रेसको उद्देश्य हुने उल्लेख छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो विधानमा नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक प्रतिनिधि संस्था भनी उल्लेख गरेको छ र पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो भनेको छ। पार्टीले आजको समाजमा रहेका वर्गहरूको अस्तित्व, वर्गहरूबीचको अन्तरविरोध र वर्ग संघर्षलाई समाज विकासको अनिवार्य एवम् मुख्य आधार मान्छ भन्दै रणनीतिक लक्ष्य समाजवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक साम्यवादी समाज स्थापना गर्नु भनेको छ। यसले चुनावी घोषणापत्रमा नेपालको सर्वहारावर्ग, मजदुूर, किसान, उत्पीडित समुदायहरू: महिला, दलित, मधेसी, आदिवासी/जनजाति पिछडिएका समुदायलगायत सबै प्रकारका शोषित/पीडित श्रमजीवी जनताको हकहितको रक्षाका निम्ति संघर्षरत रहने नेतृत्वदायी राजनीतिक शक्ति भएको उल्लेख गरेको छ। तर सामाजिक समस्याका रूपमा रहेको महिला बेचबिखन समस्या समाधान गर्ने कुरा घोषणा पत्रहरूमा आएन।
समाजवादको उल्टो यात्रा प्रारम्भ
वि.सं. २०४६ को बहुदलीय प्रजातन्त्र प्राप्तिपछि बनेका सरकारहरूले एकपछि अर्को गरी विगतमा राज्यको लगानी तथा विदेशी सहयोगमा स्थापित उद्योगहरू बेच्ने काम भयो। भृकुटी कागज कारखाना (वि.सं.२०४९, मूल्य २२ करोड ९८ लाख), हरिसिद्धि इँटा टायल उद्योग ( वि.सं. २०४९, मूल्य २१ करोड ४८ लाख), बाँसबारी छालाजुत्ता उद्योग ( वि.सं. २०४९, मूल्य २ करोड ९८ लाख), चलचित्र विकास कम्पनीको ५१ प्रतिशत शेयर (वि.सं. २०५०, मूल्य ६ करोड ४६ लाख), बालाजु कपडा उद्योगको ७० प्रतिशत सेयर (वि.सं. २०५०, मूल्य १ करोड ७७ लाख), काँचो छाला संकलन तथा बिक्री उद्योगको पूरा सेयर ( वि.सं। २०५०, मूल्य ३९ लाख), नेपाल ल्युब आयल कम्पनीको ४० प्रतिशत सेयर ( वि.सं. २०५१, मूल्य ३ करोड १० लाख), बिटुमिन तथा ब्यारेल उद्योगको ६५ प्रतिशत सेयर (वि.सं.२०५१, मूल्य १ करोड ३१ लाख), नेपाल ढलौट उद्योगको ५१ प्रतिशत सेयर (वि.सं. २०५२, मूल्य १ करोड ४४ लाख), रघुपति जूट मिल्सको ६५ प्रतिशत सेयर (वि.सं. २०५३, मूल्य ८ करोड २२ लाख), नेपाल चिया विकास निगमको ६५ प्रतिशत सेयर (वि.सं. २०५७, मूल्य २६ करोड ७१ लाख) बुटबल पावर कम्पनीको ७५ प्रतिशत सेयर (वि.सं.२०५९, मूल्य ८७ करोड ४२ लाख), भक्तपुर इँटा तथा टायल कम्पनीको सम्पत्ति (वि.सं. २०६०, मूल्य १ करोड ४५ लाख), नेपाल बैंक लिमिटेडको १० प्रतिशत सेयर ( वि.सं. २०६३, मूल्य १२ करोड ५१ लाख), नेपाल दूरसञ्चार कम्पनीको ८.५३ प्रतिशत सेयर (वि.सं. २०६४, मूल्य ४ अर्ब २६ करोड) छन्। यी उद्योगमध्ये धेरैजसो बन्द छन्। साथै नबेचिएका जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी मिल, कृषि औजार कारखाना वीरगन्ज, बुटवल धागो कारखाना आदि ठूलो महत्व बोकेका उद्योग पनि दशकौँदेखि बन्द छ। यही उल्टो यात्राले गर्दा २०५० मा प्रतिव्यक्ति वैदेशिक ऋण रु. ५५३४.१७ रहेकामा २०७७ मा आएर रु.४५७५३ पुगेको छ। २०७७ मा निर्यात ८० अरब ७८ करोड देखियो भने आयात ९ खरब, ४३ अर्ब ९९ करोड छ।
समाजवादको उल्टो यात्राले शिक्षा क्षेत्र पनि बाँकी रहेन। सन् १९६५ मा नेपालमा आंगिक कलेज ५ थिए र सामुदायिक कलेजको संख्या ५१ थियो। वास्तवमा त्यतिबेला समान शिक्षा आमजनताको पहुँचमा थियो। हाल विभिन्न विश्वविद्यालयअन्तर्गत १४३२ क्याम्पस छन्। जसमध्ये आंगिक १४७, सामुदायिक ५३८ र निजी क्याम्पसको संख्या ७४७ पुगेको छ। निजी क्याम्पसको संख्या २०४६ पछि तीव्ररूपले बढेको छ। त्यस्तै इन्जिनियरिङतर्फ देशमा ५१ क्याम्पस रहेकामा ४० वटा निजी छन्। स्वास्थ्य शिक्षामा पनि १९ मध्ये ११ क्याम्पस निजीस्तरका छन्। शिक्षाको व्यवसायीकरण उच्च शिक्षामा मात्र होइन, स्कुल शिक्षामा पनि २०४६ सालपछि दरो प्रवेश गरेको छ। देशका ३५ हजार ५२० स्कुलमध्ये ६६८७ निजी छन्। त्यसै गरी उच्च शिक्षामा विदेशी विश्वविद्यालयको सम्बद्धतामा ५६ क्याम्पस व्यवस्थापन तथा इन्फर्मेसन टेक्नोलोजीमा सञ्चालित छन्। त्यस्तै स्वास्थ्य क्षेत्रमा केही समय पहिलेको तथ्यांकले सरकारी अस्पतालमात्र १२३ वटा देखाएको छ भने निजी अस्पतालको संख्या ३६६ पुगेको छ। जसमध्ये ९९ वटा निजी अस्पताल काठमाडौँ उपत्यकामा मात्र छन्।
समाजको विकास चरणमा वैज्ञानिक समाजवादको विकास पुुँजीवादी समाज भन्दा एक कदम अगाडिको राजनीतिक तथा आर्थिक व्यवस्थाका रूपमा लिइन्छ। पुँजीवादमा भौतिक पूर्वाधारको विकास प्रचुर मात्रामा हुन्छ तर ती संरचनामा हालिमुहालीचाहिँ पुँजीवालाको मात्र हुन्छ। समाजवादी अर्थतन्त्रमा राज्यको निर्णायक भूमिका हुने भएकाले प्रभावशाली हुने गर्छ भने राज्य संयन्त्रले विशेष गरी निम्न वर्गको प्रतिनिधित्व हुने गर्छ। राज्यले नै जनताका अति आधारभूत आवश्यकताका महत्वपूर्ण क्षेत्र, जस्तै– शिक्षा, स्वास्थमा सबै सर्वसाधारणको सहज पहुँच हुने अवस्था सुनिश्चित गरेको हुन्छ।
निष्कर्ष
जनताका राजनीतिक मुद्दाहरू सम्बोधन गर्ने, जनताको अभिमत आत्मसात गर्ने राजनीतिक व्यवस्थाको निर्माण पहिलो आवश्यकता हो। त्यसकारण बलशाली, एकीकृत र प्रगतिशील सामाजिक संस्कार र संस्कृतिसहितको पूर्ण सार्वभौम राज्य निर्माण गर्नुपर्ने भएको छ। साथै उत्पादनमा जोड दिने, उत्पादनशीलता निर्माण, दिगो सामूहिक समृद्धिलाई अंगीकार गर्ने आर्थिक प्रणालीको व्यवस्था गर्नुपर्छ। तसर्थ बुर्जुवा उन्नतिको सफल प्रतिरोध गर्ने वा बुर्जुवा संस्कृतिप्रति दरिलो खबरदारीको पनि त्यत्तिकै आवश्यकता छ। अन्तमा, प्रतिक्रियावादीबाट विविधरूपमा प्रगतिशील समाजवादप्रति हुने आक्रमण निस्तेज गर्ने, समाजवादलाई लागु गर्न यसको गतिलाई व्यवस्थापन गर्ने खबरदारीका लागि मनसायले भरिपूर्ण राजनीतिक नेतृत्वको आवश्यकता छ।
प्रकाशित: ३ श्रावण २०७८ ०३:०५ आइतबार