९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

नेपाली क्रान्तिका विचार अन्तरसंघर्ष

परस्पर विरोधी वर्गको प्रादुर्भाव भएयता शोषितहरू र शोषकहरूबीच जीवन–मरणको संघर्ष चलिरहेको छ। मानव सभ्यताका यी महान् संघर्षले अन्ततः समाजवादी क्रान्ति र अग्रगामी राज्यसत्तालाई जन्माएको देख्छौँ। यसले पुँजीवादी प्रतिक्रियावादी राज्यसत्ताको वर्गीय प्रभुत्व खत्तम गर्छ। प्लेटो, अरिस्टोटल, हेगेल हुँदै कार्ल मार्क्सका राज्य र वर्ग संघर्षसम्बन्धी दार्शनिक सोच हेर्दा सत्ता, वर्ग, वर्ग सचेतता, पुँजीपति वर्ग, निम्न बुर्जुवा वर्ग, मध्यम वर्ग, क्रान्तिकारी सर्वहारा वर्ग र वर्गसंघर्ष जसले समाजमा वर्गविहीन न्यायपूर्ण नयाँ राज्यसत्ता जन्माउँछ भन्छन्। माक्र्सका अनुसार वर्गहरूको उत्पत्तिले राज्यको जन्म भयो। राज्य शोषण गर्ने यन्त्र हो, त्यसकारण अब वर्गविहीन, शोषणविहीन समाज बनाउन राज्यको विलोपीकरण गर्नुपर्ने हुन्छ भन्छन्।

यही आधारमा संसारभर माक्र्सवादी दर्शनको अभ्यास भएको देख्छौँ हामी। आजको साम्राज्यवादी युगमा मालेमावाद भनेको प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध क्रान्तिकारी जनताले आफ्नो मुक्तिका लागि क्रान्तिकारी युद्ध लड्ने बलियो हतियार हो। यही क्रान्तिकारी विचारले आमक्रान्तिकारी योद्धाहरूलाई जुझारु लडाकु बनाउँदै देशका लागि त्याग, तपस्या बलिदान र समर्पणको भाव निर्माण गर्छ। 

क्रान्तिधर्मी योद्धाहरूले साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादसँग लड्न तथा जनताको मुक्ति युद्धको सार्वभौमिक सिद्धान्तलाई स्वीकार गर्दै भीषण वर्ग संघर्षको महान् अभियानमा लाग्न प्रेरित गर्छ। राज्यसत्ताबाहेक अरू सबै भ्रम हो, राज्यसत्ताले नै सबै कुराको फैसला गर्छ भन्ने विचारका आधारमा संघर्ष निरन्तर चल्छ। यही विचारका आधारमा नेपाली आमजनताको स्वाधीनता र मुक्तिका लागि जनताको मुक्ति युद्धबाहेक अर्को विकल्प छैन भन्ने दृष्टिकोण आएको छ। यो प्रतिक्रियावादी सत्ताविरुद्ध लड्न क्रान्तिका ठोस कार्यनीति बनाएर संघर्षलाई निरन्तरता दिनु अनिवार्य छ।

अब क्रान्तिकारी वर्गले प्रतिक्रान्तिकारी र दक्षिणपन्थी विसर्जनवादलाई परास्त गर्न ठोस कार्यनीति बनाएर लड्नुपर्छ। क्रान्तिकारी वर्गले आत्मसमर्पणवाद र दक्षिणपन्थी संशोधनवादविरुद्ध भीषण लडाइँ लड्दै गाउँका शोषक, ठालु तथा स्थिर सामन्तवादको सामाजिक संरचनासँग लड्ने कार्यनीति बनाउनु आवश्यक छ।  अर्थात ग्रामीण वर्ग संघर्षलाई उच्च विकास गर्दै सहरिया विद्रोहको विकासको तयारीमा जोड्दै लग्नु अनिवार्य भएको छ। 

क्रान्तिकारी वर्गद्वारा राज्यको शोषण, दमनविरुद्ध लड्दा तथा सत्ताको निरकुंशताको प्रतिरोध गर्दा प्रतिक्रियावादी वर्ग आर्थिक–सामाजिकरूपले संकटग्रस्तरूपमा आउँछ। यसबाट ऊ दक्षिणपन्थी संशोधनवाद र प्रतिक्रियावादमा पतन हुन्छ। जो अहिले नेपालमा व्यवहारतः आफूलाई बामपन्थी भन्ने केपी ओली सरकारले देशको लोकतन्त्र र संविधानलाई कुल्चेर घोर दक्षिणपन्थी अवसरवाद र निरकुंश प्रतिक्रियावादमा पतन भएको छ। केपी ओली सरकार अराजक, अस्थिर र अक्षम भएको छ। उसले चालु सत्ताको नियम कानुन केही पनि नमान्ने, कोरोनाबाट प्रताडित जनताको जीउधन स्वास्थ्य सुरक्षाको वास्ता नगर्ने भ्रष्ट फासीवादी र अध्यादेशबाट देश चलाउने अभ्यास गरिरहेको छ। 

केपी ओली सरकार अराजक, अस्थिर र अक्षम भएको छ। उसले चालु सत्ताको नियम कानुन केही पनि नमान्ने, कोरोनाबाट प्रताडित जनताको जीउधन, स्वास्थ्य सुरक्षाको वास्ता नगर्ने भ्रष्ट फासीवादी र अध्यादेशबाट देश चलाउने अभ्यास गरिरहेको छ। 

यो ओली सरकारको निरकुश, क्रूर, तानाशाही तथा भ्रष्टाचारी प्रवृत्तिले गर्दा अब नयाँ समाजवादी क्रान्तिका आधारहरू निर्माण हुँदै गएको छ। यो केपी ओली सरकारको जनविरोधी चरित्रले चालु यो दलाल प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध क्रान्तिका लागि वस्तुगत र मनोगत अवस्था तयार हुँदै गएको अवस्था हो। केपी ओली सरकारले समाजवादी क्रान्तिका बाँकी कार्यभार रोक्ने, राष्ट्रियता, जनजीविका र जनसत्ताको मुक्ति आदोलन दबाउने, जनताको बलिदानबाट प्राप्त संविधानको हक अधिकार कार्यान्वयन नगर्ने, सामन्ती निरकुश केन्द्रीकृत, एकात्मक शासन व्यवस्थाले सिर्जना गरेको सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्ने पहललाई समाप्त पारेको छ। देशको हितमा केही पनि नगर्ने यो प्रतिक्रियावादी सरकारविरुद्ध सबै वामपन्थी तथा गणतन्त्रवादी राजनीतिक शक्तिद्वारा भीषण निर्मम संघर्ष गर्नु अनिवार्य छ। अब क्रान्तिकारी वर्गले मालेमावादको विचार, दर्शनले लैस भएर, क्रान्तिकारी राजनीतिक पार्टीको विशाल जनसंगठन जनाधार निर्माण गरेर, अपराजित, अविभाजित, अविचलित नेतृत्वद्वारा संयुक्त देशभक्त, वामपन्थी मोर्चा निर्माण गरेर नयाँ आन्दोलन गर्नु अनिवार्य छ।

 देशमा प्रथम पटक २०६४ सालमा संविधानसभाको निर्वाचन भयो। यसमा नेकपा माओवादी पार्टी संसद्मा भारी बहुमत ल्याएर पहिलो पार्टी बन्यो तर प्रथम संविधानसभाबाट संविधान बन्न सकेन। २०७० सालमा दोस्रो संविधानसभाको चुनाव भयो। यसमा माओवादी पार्टी तेस्रो भयो। सबै लोकतन्त्रवादी राजनीतिक दलहरू मिलेर २०७२ असोज ३ गते नयाँ संविधान निर्माण गर्न सफल भए। सर्वप्रथम २०६९ सालमा सिंगो माओवादी पार्टी विभाजन भएर मोहन वैद्यको नेतृत्वमा अर्को नेकपा क्रान्तिकारी माओवादी पार्टी बन्यो, त्यहाँबाट फेरि विप्लव विभाजन भए। संविधान घोषणापछि डा. बाबुराम भट्टराईले अर्को नयाँँ शक्ति पार्टी खोलेर विभाजित भए। मोहन वैद्यसँग रहेका  रामबहादुर थापा तथा अन्य पार्टीमा रहेका मातृका यादव, मणि थापालगायत ठूलो हिस्सा पुनः प्रचण्डको नेकपा माओवादी केन्द्रमा मिसिए।

यसैबीच प्रचण्डको नेकपा माओवादी केन्द्रले चुनावमा एमालेसँग मिलेर वाम गठबन्धनबाट एउटा संयुक्त चुनावी अभियान बनायो जसले संसद्मा करिब दुईतिहाइको बहुमत हासिल गर्‍यो। जसले बहुमतको वामपन्थीको सरकार बनायो। पछि एमाले–माओवादी केन्द्र मिलेर पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनाएका थिए। अपसोस, त्यो महान् विजयलाई विदेशी साम्राज्यवादी शक्तिको स्वार्थमा÷निर्देशनमा चलेको यो प्रतिक्रियावादी सत्ताले जीवित रहन दिएन। पेरिस कम्युन जस्तै यो वामपन्थी सरकार र सिंगो नेकपा पार्टीसमेत ३ वर्षभित्रै समाप्त भएर गयो।

यो वामपन्थी एकता जीवित राख्न नदिने वस्तुगत आधार विश्लेषण गर्दा नेपाली क्रान्तिलाई संशोधनवाद, अवसरवाद, विसर्जनवाद र प्रतिक्रान्तिको अवस्थाबाट बचाउन आवश्यक छ। अब समाजमा रहेको पछौटे चेतनालाई परास्त गर्दै र प्रतिक्रियावादी शासक वर्गविरुद्धको संघर्षलाई प्रतिरोधको स्थितिमा पु¥याउन महान् पहल गर्नु आवश्यक छ। यो वर्तमान शासक वर्ग आफैँ विस्तारवाद र साम्राज्यवादको बफादार सेवक बनेर काम गर्दै आएको कुरा यथार्थ हो। यो धेरे लामो समयसम्म टिक्न सक्दैन। यसलाई जनताको बलले ध्वस्त गर्नेछ। 

जसले आफ्नो स्वार्थ भन्दा पर देश र जनताका लागि एक अंश पनि सोच्दैन। त्यो लामो समय सम्म शासनसत्तामा टिकिरहन सक्दैन। यही प्रतिक्रियावादी सरकारका कारण देश आर्थिक, सामाजिक तथा राजनीतिकरूपले संकटग्रस्त अवस्थामा पुगेको छ। अब देशलाई स्वाधीन राख्न अहिले फेरि नेपालमा महान् स्वतन्त्रताको लडाइँलाई एउटा संस्कृतिका रूपमा उठाउन आवश्यक परेको छ। इतिहासमा नेपालीले कसैको उपनिवेश, गुलामी, दास्तत्व सहेर बसेन। अहिले केही नेपाली शासक वर्ग जो विदेशीको इसारामा नेपाली जनतामाथि शोषण, दमन र उत्पीडन गर्छन्, त्यसको प्रतिरोध र मुकाबिला गर्न जनता अवश्य उठ्छन्। 

अब सामन्तवाद, साम्राज्यवाद र यससँग अन्तरघुलित भएर आउने देशीय प्रतिक्रियावादी शासक वर्गविरुद्ध भीषण लडाइँ लड्नु आवश्यक भएको छ। विदेशी प्रभु वर्गद्वारा संरक्षित, पालितपोषित, सामन्त दलाल पुँजीजीवी वर्गको हितमा बनेको घरेलु प्रतिक्रियावादी नेपाली शासक वर्ग प्रत्यक्षरूपमा नेपाली जनताको दुश्मन हो। जसले नेपाली सार्वभौमिकता र स्वतन्त्रताको आन्दोलनलाई अवरोध खडा गरेर बसिरहेको छ। दश वर्षको महान् जनयुद्ध र १९ दिने विशाल जनविद्रोहले नेपाली क्रान्तिकारी वर्गसंघर्षंको भीषण युद्धबाट पुरानो शासक वर्ग पराजित भइसकेको ठान्थ्यौँ हामी। 

तर त्यो नयाँ शासक वर्गका रूपमा नै फेरि निरकुंश, प्रतिक्रियावादी वर्गको आकारमा चलायमान भएको छ। जसले अहिले लोकतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयन रोक्न पहाड बनेर खडा भएको छ। यिनै वस्तुस्थितिलाई विश्लेषण गर्दा अहिले नेपालमा मुख्य अन्तरविरोध भनेको वैज्ञानिक समाजवादमा फड्को मार्ने या यही प्रतिक्रियावादी दलाल संसदीय राज्य व्यवस्थाको वरिपरि जकडिएर बस्ने भन्ने विषयमा द्वन्द्व छ। अहिले यी दुई सैद्धान्तिक धारबीचको अन्तरविरोधमा भीषण संघर्ष चलिरहेको छ। 

अहिले घोर दक्षिणपन्थी, यथास्थितिवाद र प्रतिक्रियावादी वर्गको हातमा सत्ता गएकाले देश प्रतिगमन, अराजकता र गतिहीनतामा चलिरहेको छ। जनतामा अब यथास्थितिवादी, सुधारवादी र प्रतिक्रियावादी राजनीतिक धारका विरुद्ध क्रान्तिकारी रूपान्तरणको विद्रोहको वैचारिक धारबाट संघर्ष गर्न उठिरहेको अवस्था छ। जसले अब एकता, संघर्ष र रूपान्तरणको वैचारिक चिन्तनका आधारमा क्रान्तिकारी संयुक्त संघर्ष उठान गर्नेछ र यो प्रतिक्रियावादी शासनसत्ता ढाल्नेछ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App