१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

पार्टीभित्रका द्वन्द्व र व्यवस्थापन

द्वन्द्व अध्ययनको विधामा द्वन्द्वलाई सधैँ खराब र दबाउनुपर्ने विषय मानिँदैन।यसलाई सकारात्मक र सिर्जनात्मकरूपमा हेर्ने मान्यता पनि स्थापित छ। केवल द्वन्द्वको हिंसात्मक स्वरूपलाई खराब मानिन्छ।

द्वन्द्वसिर्जना मानिसको मन/मस्तिष्कभित्रबाट सिर्जना भइ दुई पक्षमार्फत समाजमा देखिने भएकाले यसको सिर्जना बुझाइको भिन्नता, ज्ञानको स्तरको भिन्नता, शैली र व्यवहारको भिन्नता, अन्याय भयो महसुस भएर, विज्ञान र प्रविधिले ल्याएको परिवर्तन आत्मसात गर्न नसकेर वा प्रविधिप्रति अभ्यास हुन नसकेर हुन्छ। द्वन्द्व सिर्जनाको भौतिक पक्षचाहिँ शक्ति, सत्ता (पद) र स्रोतमाथिको पहुँच, नियन्त्रण र एकाधिकार नै हो।

मानिसको मन/मस्तिष्कबाट सिर्जना हुने भएकाले यथार्थमा द्वन्द्वबिनाको समाज परिकल्पना पनि गर्न सकिन्न। त्यसैले द्वन्द्वलाई समाजको अभिन्न अंग र समाज रूपान्तरणको सूचकांकका रूपमा समेत लिइन्छ। यस अर्थमा समाजमा प्रविधिको विकास, चेतनाको वेग र जनचाहनाले ल्याउने परिवर्तनलाई आत्मसात गर्न नसक्दा वा यसलाई रोक्न खोज्दा ठूलै र हिंसात्मक द्वन्द्व सिर्जना हुन सक्ने सम्भावनाहरू रहन्छ। त्यसैले भन्ने गरिन्छ– परिवर्तनलाई जबर्जस्ती रोक्नु भन्दा यसलाई आत्मसात गरीसिर्जनात्मकरूपले व्यवस्थापन गर्दै जानुको विकल्प हुँदैन तर कहिलेकाहीँ इगो (अहं) को कारण यो यथार्थ महसुस गर्न नसक्दा सामान्य र सरल तरिकाले जीत–जीतमा परिवर्तन गर्न सकिने द्वन्द्व पनि हार–हारमा परिणत हुन्छ।

इगोसिर्जना र व्यवस्थापन

इगोबारे धेरै सिद्धान्त प्रतिपादन भएका छन। जेन लेभिन्जर भन्ने विख्यात मनोवेत्ताले अधिनायकवादी प्रवृत्ति (अथोरिटारिएनिज्म) को सिद्धान्त बनाए जसमा अधिनायकवादी व्यक्तित्व र अधिनायकवादी चिन्तनबीच सबल अन्तरसम्बन्ध रहने र एकले अर्कोलाई सघाउने तथा यो अन्तरसम्बन्धले नै अहंवादी, आत्मरक्षात्मक (सेल्फ प्रोटेक्टिभ) र व्यक्तिवादी अहंकारयुक्त व्यक्तिव विकास गर्ने चर्चा गरेका छन्। यस्तो प्रवृत्ति या व्यक्तित्व भएको व्यक्तिले आफूले मन नपराउने व्यक्तिप्रति क्रोधित अभिव्यक्ति दिने वा दुष्ट व्यवहार देखाउने गर्छ। त्यसैगरी रेने गेरार्ड भन्ने मनोबेत्ताले योबारेमा अरू प्रष्ट पार्दै एक व्यक्ति वा पक्षले अर्को व्यक्ति वा पक्षलाई आफ्नो प्रभावमा पार्न सधैँ कोसिस गर्ने र त्यो सम्भव नभए अर्को पक्षलाई चुनौती दिने वा घृणा फैलाउने, गालीगलौज गर्ने र यो व्यवहार चक्रीयरूपमा बढ्दै जाने उल्लेख गरेका छन्।  

यस्तो चरित्रमा आफ्नो कमजोरीको जिम्मेवारी अर्को पक्षमा देख्ने, सधैँ आफू असुरक्षित भएको महसुस गर्ने र बेचैनीपूर्ण व्यवहार विस्तारै बानीकै रूपमा विकास हुने हुन्छ। यसै परिवेशमा भामिक भोल्कान भन्ने मनोविद्ले आफ्नो स्वाभिमानमा आँच पुग्यो भने अर्को पक्षलाई दोष दिने र त्यो प्रमाणित गर्न अरू दोष खोजी गर्ने चरित्रबारे खुलासा गरेका छन्। विवादमा रहेका व्यक्तिहरू जब आफू कमजोर, निराश वा असहाय बन्दै जान्छन्, त्यतिबेला उनीहरू सबै दोष अर्को पक्षमा देख्ने, उसलाई गाली गर्ने र अफवाह फैलाउने चक्रमा प्रवेश गर्छन्। यो अवस्था जटिल बन्दै जाँदा एक पक्षले अर्को पक्षलाई जसरी पनि (गलत र अस्वीकार्य विधिको प्रयोगबाट समेत) बिस्थापित गर्न वा सिध्याउन खोज्छन्। तर यथार्थमा यस्तो अवस्थाको परिणाम भनेको दुवै पक्षको हार हो।

अहिले चाहे कांग्रेस पार्टीभित्र होस् या नेकपा (एमाले) भित्र या संघीय समाजवादी पार्टीभित्र देखिएका या माओवादी केन्द्र र एमालेबीचको द्वन्द्व, यी सबै समाधान हुने सवालका द्वन्द्व हुन् र जीत–जीतकै परिणामसहित समाधान हुनेखालका छन्।

मारिना आभ्रानोभ भन्ने मनोविद्ले भनेकी छिन्– मानिस जब आफू ठीक अर्को बेठीक, आफू अपरिहार्य, सज्जन, विशेष र अर्को पक्ष खराब र अक्षम भएको देख्छ वा जब समाजका विचार निर्माताहरू आफ्नो भन्दा फरक मत स्वीकार्दैन अर्थात् आफू मात्र ठीक र अरू बेठीक भन्ने पुष्ट्याइँ गर्न खराब, असान्दर्भिक र प्रश्नवाचक तर्कले पुष्ट्याइँ गर्न खोज्छन् त्यति बेला समाजमा गहिरो समस्या सिर्जना हुन्छ। अहिले नेपालका राजनीतिक पार्टीभित्र र पार्टीबीच देखिएको विवाद र तनाव तथा बौद्धिक जगतको एक तप्कामा देखिएको चिन्तनको सैद्धान्तिक विश्लेषण यसै खण्डमा उल्लेख भएको मान्यताबाट गरिनुपर्छ।

राजनीतिक पार्टीभित्र र पार्टीबीचका द्वन्द्व

किन सबै राजनीतिक दलभित्र र दलबीच विवाद, तिक्तता र द्वन्द्व सिर्जना भइरहेकाछन् त ? यसको मूल कारण बुझ्न अघिल्लो खण्डको सैद्धान्तिक विवरणले सहयोग गर्नेछ। यी पार्टीमा देखिएको तनावको प्रमुख कारणमा मुख्य त पद, मान–सम्मान, शक्तिमाथि पहुँच र नियन्त्रणको अति महत्वाकांक्षा र अहंमा बेरिएको हीनताबोध, अपमान वा बेवास्ता भएको महसुस नै हो। शक्तिमाथिको पहुँच र स्रोतमाथिको नियन्त्रणले एकपटक शक्ति र सत्तामा पुगेको व्यक्ति सधैँ त्यहाँ रहन प्रयत्न गर्ने र त्यसरी शक्ति र सत्तामाथि नियन्त्रण गर्न सकिएन भने वा आफू भन्दा अर्को व्यक्ति सक्षम, प्रख्यात र प्रभावकारी देखियो भने उसलाई विस्थापित गर्न सबै प्रकारका उपाय साम–दाम र दण्ड–भेदको रणनीति प्रयोग गरेको देखिन्छ।

यो शक्ति र पद (चाहे राजकीय होस् वा पार्टीको प्रमुख) मा पुगेपछि त्यसबाट प्राप्त हुने अधिकार र शक्तिले सिर्जना गर्ने अहंले सधैँ आफू नै यो पदका लागि उपयुक्त लाग्ने र त्यसका लागि जस्तोसुकै व्यवहार गर्न सक्ने उदाहरण जताततै देखिन्छ। उदाहरणका लागि क्यामरुनका प्रधानमन्त्री पाउल विया ४५ वर्षदेखि प्रधानमन्त्री छन् भने इक्वाटोरियल गिनियाका राष्ट्रपति टोडेरो भावासोगो ४१ वर्षदेखि, कंगो गणतन्त्रका राष्ट्रपति जेनिस न्युगेसो ३७ वर्षदेखि, कम्बोडियाका प्रधानमन्त्री हुन सेन ३६ वर्षदेखि, युगान्डाका राष्ट्रपति योवरी मुसेभिनी ३५ वर्षदेखि पदमा थिए। उनीहरू आफू मात्र शासनका लागि सक्षम भएको तर्क गरिरहेका छन्। नेपालकै राजनीतिक पार्टीका प्रमुखहरूको पार्टीमाथिको लामो समयदेखि एकछत्र नियन्त्रणले पनि देखाउँछ कि उनीहरू शक्तिप्रति कति केन्द्रित छन् भन्ने। एउटा स्वाभाविक प्रश्न उठ्छ– के अहिले नेतृत्व गरिरहेका व्यक्ति भन्दा ती पार्टीमा अरू सक्षम व्यक्ति नै छैनन् त ? जब कुनै व्यक्ति लगातार यसरी पदमा रहिरहन्छ उसमा अहं, महत्वाकांक्षा, शक्तिको अभ्यास र दुरुपयोग बढ्दै जान्छ।

के पार्टीका द्वन्द्व समाधान हुनै नसक्नेखालका हुन्?

अवश्य हैन। यथार्थमा द्वन्द्वरत पक्षले कुन रणनीति लिन्छन् त्यसैले यो निक्र्यौल गर्छ। उनीहरूले सम्बन्धलाई पूर्ण बेवास्ता गरी उद्देश्यमा मात्र केन्द्रित रहेर जसरी पनि आफ्नो उद्देश्य पूरा गर्ने चाहना राखेमा उनीहरूले भिडन्तको रणनीति अपनाउँछन् र यो अवस्थामा जसले जे/जे सक्छ, त्यही गर्छ। परिणाम– हार–जीत र अझ हार–हारकै अवस्थामा पुग्छ। यसको विपरित द्वन्द्वरत पक्षले सम्बन्धलाई पनि प्राथमिकता दिइ समाधान खोज्छन् भने उनीहरूले सहमतीय लेनदेनसहितको सम्झौताको रणनीति लिन्छन् र समस्याको समाधान खोज्छन्। उनीहरू अझ अगाडि बढी सम्बन्ध पनि सुदृढ गर्ने र उद्देश्य पनि हासिल गर्ने उद्देश्य राखेमा सहकार्यको रणनीति लिन्छन्। यसको परिणाम पनि जीत–जीत नै हुन्छ।त्यसैले अहिले चाहे कांग्रेस पार्टीभित्र होस् या नेकपा (एमाले) भित्र या संघीय समाजवादी पार्टीभित्र देखिएका या माओवादी केन्द्र र एमालेबीचको द्वन्द्व, यी सबै समाधान हुने सवालका द्वन्द्व हुन् र जीत–जीतकै परिणामसहित समाधान हुनेखालका छन्। समस्या केवल यी पार्टीका वरिष्ठ नेताहरूमा रहेको अहं र शक्ति, पद र स्रोत नियन्त्रण गर्ने महत्वाकांक्षा मात्र हो। यो अवस्थाबाट अलि अलग रही समस्याको समाधान खोज्ने हो भने समाधान सरल छ। तर अहिलेकै जस्तो अहं र सत्ता तथा शक्ति नियन्त्रण गर्ने उद्देश्यबाट अगाडि बढ्दा भने यी द्वन्द्वको समाधान कठिन देखिन्छ।

प्रकाशित: १६ वैशाख २०७८ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App