२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
विचार

महासंकटको संकेत

सिद्धार्थ गौतम युवक थिए । उनी बुद्ध भइसकेका थिएनन् । ‘बुद्ध’ बन्न ज्ञानसंग्रह गरिरहेका थिए । बुद्ध अर्थात ज्ञानी भनेको नाम, जात, दर्जा वा विशेषण होइन । बुद्ध ज्ञानीको पर्याय हो । शंकराचार्य अर्थात शिखरको आचार्य (गुरु) जस्तै सम्मानसूचक शब्द हो । यस्ता ज्ञानीजनलाई साधारण मानिसले जे चिताए पनि पूरा गर्न सक्ने अद्भूत शक्तिशाली मान्छन् । धेरै अपेक्षा गर्छन् । लोकप्रिय हुँदा जो उपेक्षित हुन्छ, शक्तिशाली र प्रिय बन्दै जाँदा धेरैले अपेक्षा गर्न थाल्छन् । यो मानवीय स्वभाव हो । धनी, ज्ञानी, शक्तिशाली र प्रसिद्धसँग नाता जोड्न चाहन्छन् मान्छे । बबुरो, निम्छरो, दरिद्र वा कमजोर छ भने छोराछोरी र आफन्तबाट समेत अपहेलित हुन्छ ।

ध्यानमग्न अवस्थाबाट आँखा खोलेर हेर्दा सिद्धार्थ गौतमले आफ्ना सामुन्ने केही मानिस हात जोडेर उभिएको देखे । पत्नी यशोधरा र सानो छोरा राहुललाई दरवारमा छाडेर वनवासी भएका सिद्धार्थ सन्त बनेका थिएनन् तर मानिस उनी शक्तिशाली छन् भन्ने ठान्थे । सिद्धार्थले आगन्तुकहरूलाई सोधे– ‘तपाईँहरू किन आउनुभयो ?’ एउटी महिलाले काखमा रहेको शिशु देखाउँदै भनिन्– ‘मेरो छोरा मरिसक्यो, तपाईँले बचाउनुपर्छ ।’ सिद्धार्थ भावुक भए । उनले महिलाको मुहार पढे । सिद्धार्थ गौतमले पुत्रलाई पुनर्जीवन दिन सक्छन्, उनी शक्तिशाली छन् भनेका रहेछन् गाउँलेले ।

प्रधानमन्त्री केपी ओलीको पद अकन्टक, निर्वाध र प्रत्याभूत छैन तर उनी हट्नासाथ संकटको कालो बादल हट्छ त ? त्यसको पनि ग्यारेन्टी छैन ।  

सिद्धार्थले सम्झाए– म बचाउने प्रयास गर्छु । शिशुलाई मेरो आश्रममा राखेर तपाईँले एकमाना चामल ल्याइदिनूस् । तर कहिले पनि कुनै मानिस नमरेको घरबाट चामल ल्याउनुपर्छ ।

महिलाले पचासौँ घर घुमेर चामल मागिन् तर ‘कोही नमरेको’ घर फेला परेन । उनी निरास भएर फर्किइन् । उनले मानिस नमरेको घरै भेटिएन भन्ने सन्देश सुनाइन् । सिद्धार्थले मानिस जन्मेपछि मर्छ र हरेक मानिस प्रियजनको मृत्युका कारण दुःखी हुन्छ भन्ने कुरा प्रयोगात्मकरूपमा स्पष्ट गरिदिए । त्यसपछि महिलाले शिशुको शव उठाएर लगिन् ।

धर्म, कूटनीति, राष्ट्रिय सुरक्षालगायत हरेक क्षेत्रका ‘मेन्टर’ सत्य सावित र प्रमाणित गर्न उपमा र उपाय निकाल्छन् । जसले सानो घेराबाट बाहिर आएर सबैलाई सत्कर्ममा उत्प्रेरित गर्न सक्छ, ऊ नायक हुन्छ । हरेक युगले नायक खोजिरहेको हुन्छ । राष्ट्र र समाज धर्म (कर्तव्य) बाट च्युत हुँदै जाँदा धर्मको अभ्युत्थानका निम्ति अनेक नामका मार्गदर्शक जन्मन्छन् । उनीहरूले धर्म बचाउनका लागि लोकलाई घच्घच्याउँछन् । गीतामा श्रीकृष्णले भनेका छन्– ‘यदायदा हि धर्मस्य ग्लानिर्भवती भारत । अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् । परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे । (गीता अध्याय ४, श्लोक ७ र ८) जब धर्मको विनास हुन्छ, अधर्म बढ्छ, तब म प्रकट हुन्छु । मेरो उद्देश्य असल मानिसको रक्षा, पापीको विनाश र धर्मको रक्षा हुनेछ । यसका लागि युगयुगमा प्रकट हुनेछु ।’

सत्य, त्रेता, द्वापर र कलियुगका हजारौँ कालखण्डमा वसुधाको रक्षा गर्न अनेक अवतार आएका छन् । इतिहासमा धेरै महामानवको प्रसंग आउँछ । एसिया, युरोप, अफ्रिका र अमेरिकादेखि लिएर छ महिना मात्र सूर्य देखिने भूखण्डमा पनि आलोक देखाएका छन्, दूरदर्शी नायकहरूले ।

संयुक्त राष्ट्र संघको पचहत्तरौँ वार्षिकोत्सव (सन् २०१९) मा संसारको भविष्यबारे एउटा प्रस्ताव पारित गरिएको थियो । कोभिड नामको महामारीले विश्व भयभीत भएको बेला भविष्यमा आउन सक्ने ठूला चुनौती र महासंकटको पनि चर्चा भयो । कैयन् चिन्तकले तर्क गरे, विश्वलाई विध्वंस गर्ने मानव नै हुन्, बरु संकटले अर्बौँ मानिसमा सहअस्तित्व र सहयोगको संस्कार सिकाउँछ । विचार गर्दा, कुरा त हो । भारतले नेपालविरुद्ध नाकाबन्दी गर्दा जात, दल, धर्म, निजी स्वार्थ बिर्सेर हामी सवै ‘नेपाली’ बन्न खोजिरहेका थियौँ । तत्काल सैन्य कूटनीतिका माध्यमबाट समस्या टारियो । खोला तरेपछि लौरो बिर्सेझैँ ‘हामी नेपाली’ आआफ्ना स्वार्थमा केन्द्रित भयौँ ।

एकछिन आँखा चिम्म गरेर हामीले ‘प्रधानमन्त्री हुन सक्ने’ चार/पाँचवटा अनुहार सम्झ्यौँ भने ढुक्क भएर राष्ट्र जिम्मा दिने मानिस यही हुन सक्छ भन्न पनि मुस्किल छ ।  

एक जना राजा सिकार खेल्न गएका थिए । घना जंगलमा उनलाई सिपाहीहरूले अस्थायी शौचालय बनाइदिएका थिए । सिकारका लागि गएका सहयोगीहरू अलि टाढा थिए । यत्तिकैमा राजालाई गोहीले हमला गर्‍यो । राजा चिच्याए । सेनापतिसमेतको नाम लिए । सबै टाढा भएकाले उनको आर्तनाद कसैले सुनेनन् । गोहीले राजाको खुट्टा तानिरहेको थियो । यत्तिकैमा कसैले तीर हानेर गोहीलाई मारिदियो । छेउमा आएर राजाको पाउ मुसार्दै विन्ती गर्‍यो– सरकारको प्राण रक्षा गर्न पाउनु मेरो सौभाग्य हो ।

देख्दै डरलाग्दो, लामो कपाल, दारी, जुँगा र भयानक रूप भएको व्यक्तिलाई राजाले सोधे– ‘तिमी को हौ ?’ उसले जवाफ दियो– ‘सरकारले परम सत्रु घोषणा गरिबक्सेपछि जंगलमा लुकेर बसेको छु । म त्यही सत्रु हुँ ।’ राजा छक्क परे । संकटका बेला आफ्नो अंगरक्षक बनेर प्राण बचाउनेलाई धन्यवाद दिए । उनलाई दरवारमा लगेर सोही साँझ सेनाको ‘फिल्ड मार्सल’ बनाए । राजाले भने– ‘जो संकटमा काम लाग्छ, ऊ राष्ट्र र राजाको हितैषी हो । मैले जसलाई सत्रु घोषणा गरेको थिएँ, उनले मेरो ज्यान बचाए । मेरो परिवार र लाखौँ जनताको खुसी बचाए । मेरा हजारौँ सपना बचाए । त्यसैले मैले यिनलाई सेनाको फिल्ड मार्सल बनाएँ ।’

नेपाल गम्भीर संकटमा छ । स्पष्ट छ, संकट अरू बढ्दै जानेछ । भूराजनीतिको तस्बिर हेर्दा चौतर्फी संकटमा पर्दै गएका छौँ हामी । हाम्रा राजनीतिक खेलाडीहरू ‘ठमेल–एघार’ टिमबाट फुटबल खेल्ने अफ्रिकी खेलाडीहरू जस्तै अरूका लागि सशुल्क खेलिरहेका छन् । राष्ट्र र जनताको टिमबाट खेल्ने को छ त ? मूल प्रश्न यही हो ।

प्रधानमन्त्री केपी ओलीको पद अकन्टक, निर्वाध र प्रत्याभूत छैन तर उनी हट्नासाथ संकटको कालो बादल हट्छ त ? त्यसको पनि ग्यारेन्टी छैन । एकछिन आँखा चिम्म गरेर हामीले ‘प्रधानमन्त्री हुन सक्ने’ चार पाँचवटा अनुहार सम्झ्यौँ भने ढुक्क भएर राष्ट्र जिम्मा दिने मानिस यही हुन सक्छ भन्न पनि मुस्किल छ । राष्ट्रको स्वाभिमान सबै भन्दा ठूलो कुरा भन्छौँ, हामी ‘राष्ट्र सर्वोच्च’ मान्ने अभियन्ताहरू । दल, जात, गुट, क्षेत्र आदिको स्वार्थ र हित मात्र हेर्ने नायक हामीलाई चाहिँदैन ।

प्रधानमन्त्री केपी ओलीका कठोर आलोचक रहेका एक मित्रले केही दिनअघि लाजिम्पाटको एउटा पुरानो होटलको बगैँचामा भनेको सम्झिएँ– म राष्ट्र र प्रजातन्त्र सुरक्षित रहोस् भन्छु, तपाईँ जस्तै । दुईमध्ये एउटा मात्र रोज्नुपर्ने अवस्थामा म राष्ट्र सर्वोच्च हुन्छ भन्छु, तपाईँ जस्तै । खराबमध्ये एउटा छान्नुपर्ने नियतिले हामीलाई लखेटिरहेको छ, आजसम्म । अब भन्नुहोस् त के गर्ने ?

प्रधानमन्त्री (मुख्तियार) र सेनापति भएका दामोदर पाँडेलाई राजाका विरोधी भन्दै काठमाडौँस्थित केही विदेशीले ठूलो संकटमा पारेका थिए । नेपालका प्रथम मूलकाजी (प्रधानमन्त्री) थिए उनी । कालु पाँडेका छोरा भएकाले रगतमा प्रबल देशभक्ति थियो । राजद्रोही हुने कुरै थिएन । विदेशीको दबाब र प्रभाव मान्न तयार नभएपछि षडयन्त्रपूर्वक उनलाई मृत्युदण्ड दिइयो, राजा रणबहादुर शाहका पालामा । केरुङ र कुतीका मोर्चा सम्हालेका थिए, अमरसिंह थापा र दामोदरले तिब्बतसँगको युद्धमा । बाउन्न वर्षकै उमेरमा दामोदर पाँडेलाई मृत्युदण्ड दिन बाध्य पारेर राजालाई समेत भ्रममा पारिदिए ऊबेला षडयन्त्रकारीहरूले ।

मैले मित्रलाई यही प्रसंगमा जोडेर काजी प्रवल राना मगरको कथा सुनाएँ । ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने मान्यतामा अडिग थिए, प्रवल । युवा अवस्थामै प्रभावशाली भए उनी । दामोदर पाँडेसँगै मृत्युदण्डको पंक्तिमा परेका प्रवल भागेर वनारस पुगे । त्यहाँ उनले प्रधानमन्त्री भीमसेन थापाका कट्टर विरोधी दिनानाथ उपाध्यायलाई भेटे । इतिहासकार बाबुराम आचार्यका अनुसार उपाध्यायले भीमसेन थापालाई अपदस्थ गर्न मोर्चा बनाउँ भन्ने प्रस्ताव अघि सारे । प्रवलले मानेनन् । उनले तर्क गरे– ‘तपाईँ भन्दा भीमसेनबाट म पीडित छु । उनले मलाई मार्न लागेका बेला भागेर यहाँ आइपुगेँ । तर अंग्रेज शासकहरूबाट नेपाललाई बचाउन अहिलेलाई भीमसेन थापाबाहेक अर्को मानिस छैन । भीमसेनले तपाईँ र मलगायत धेरैलाई मार्न चाहेका छन् । दामोदर काजीलाई त भद्रकाली मन्दिर नजिकै वनमा काटे । मेरो अनुरोध छ दाजु, अहिले व्यक्तिगत दुस्मनी त्यागेर भीमसनेलाई बलियो बनाउनुपर्छ । त्यसो गर्दा मात्र नेपाल बलियो हुन्छ ।’

प्रवलको कुराले दिनानाथको सोच बदलियो । उनले भने– ‘स्यावास भाइ, म तिम्रो देशभक्तिको सम्मान गर्छु ।’ आफूलाई मृत्युदण्ड दिने निर्णय गर्ने भीमसेन थापालाई समर्थन गर्नुपर्छ भन्ने प्रवलको विचार थापालाई होइन, राष्ट्र बलियो बनाउने उच्च सोचबाट अनुप्राणित भएको देखिन्छ । अहिले पनि नेपालीहरू राष्ट्र बचाउने सक्षम नायक खोजिरहेका छन् । ससाना र घिनलाग्दा स्वार्थमा अल्झिएका नेताहरूले ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने बिर्सेका छन् । यस्तो अवस्थामा परम्परावादी शक्तिलगायत सबैलाई समेटर प्रधानमन्त्री केपी ओली दल भन्दा माथि उठ्दै राष्ट्रवादको भावधारामा उभिए भने इतिहासले उनको उच्च मूल्यांकन गर्नेछ ।

‘राजनीति’ सत्ताका लागि मात्र हो भन्दै उनलाई ‘गफाडी, कुरौटे, पदलोलुप, भ्रष्टका संरक्षक’ आदि आरोप लगाउनेहरूलाई गलत सावित गर्न चाहन्छन् भने ओलीका लागि सुवर्ण मौका छ । दलबाहिरका सुयोग्य, अनुभवी, इमानदार र प्रबल राष्ट्रवादीहरूलाई समेटेर राष्ट्र सर्वोपरि हुन्छ भन्ने स्वीकार गरे भने ओलीले नवीन अध्याय सुरु गर्न सक्छन् । बितेका गतिविधिहरू हेर्दा ओलीले धेरै मौका पाएर पनि आत्मरति, आत्मप्रशंसा र आत्मविज्ञापनमा समय बिताए । उनको दलका अरू नेतागणको मात्र होइन, प्रतिपक्षीहरू पनि त्यही रोगले ग्रस्त भएको देखिन्छ ।

‘ह्वाइ नेसन्स फेल’ ग्रन्थमा जेम्स रविन्सन लेख्छन्– ‘शक्ति, समृद्धि र दरिद्रताको लडाइँमा धेरै राष्ट्रको समाजशास्त्र बिग्रिएको छ । सानो स्वार्थी समूहले राष्ट्र कब्जा गरेपछि राज्य संयन्त्र असफल बन्छ । राष्ट्रका संस्था कमजोर हुन्छन् । राष्ट्र निर्माण (नेसन बिल्डिङ) प्रक्रियामा जब धेरै मानिस भूमिकाविहीन हुन्छन्, तब राष्ट्र असफल बन्छ । दलीय व्यवस्थाको कालो पक्ष भनेकै एउटा दल र त्यसको पनि एउटा सानो गुटले राष्ट्र चलाइरहेको छु भन्ने ठान्छ । इन्द्रजात्रामा रथ तान्ने मानिस धेरै हुन्छन् तर रथका अघिअघि लुखुरलुखुर कुदन्े केही चारखुट्टेलाई रथ आफैँले तानिरहेको छु भन्ने भ्रम हुन्छ । संविधानले नचिनेका कतिपय मानिस (तस्कर, माफिया, सल्लाहकार आदि) त्यस्तै भूमिकामा हुन्छन् । उनीहरूले सरकार प्रमुखलाई बदनाम गराउने काम गरिरहेका हुन्छन् ।

अमेरिकासँग साँध जोडिए पनि दरिद्र छ मेक्सिको । दक्षिण कोरिया धनी भए पनि त्यसको सिमानामा पर्ने उत्तर कोरिया अभावग्रस्त छ । प्रशस्त सम्पदा भए पनि अफ्रिकाका धेरै राष्ट्र गरिब छन् । चीन र भारत हरेक क्षेत्रमा सबल बन्दै गए पनि नेपालले ठूलो लाभ लिन नसक्नुको प्रमुख कारण हो, तरल राजनीति । नेपालमा राजनीतिक स्थिरता हुन नदिन बाह्य शक्तिलाई मात्र दोष दिनु उचित हुँदैन । सत्ताबाहेक केही नदेख्ने प्रवृत्तिले बालुवाटार, खुमलटार मात्र होइन, रुम्जाटारदेखि बट्टारसम्म जताजतै रोग फैलिएको छ ।

जोसेफ मोबुतुले सन् १९६५ देखि १९९७ सम्म ‘सुखी कंगो, समृद्ध जनता’ भन्दै ३२ वर्ष राज गरे । भयो के त ? कंगो झन कंगाल भयो । घेरा सानो पारेर उनले मन नपरेका हजारौँ योग्य, इमानदार, देशभक्तलाई पाखा लगाए । नेपालमा तीन करोडभन्दा थोरै जनतामध्ये तीस हजार पनि परोक्ष र प्रत्यक्षरूपमा राष्ट्र निर्माणमा सक्रिय सहभागी हुन पाउँदैनन् ।  

प्रधानमन्त्रीकै गुटका मानिस मात्र ‘योग्य’ हुने रोग २०४६ सालपछि फैलियो । पञ्चायतकालमा पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलगायतका गुट थिए । दरवारभित्र पनि राजालाई झुक्याउने स्वार्थी समूह थियो । हामी पत्रकार ठट्टा गर्थ्यौं– यस्तो भएपछि कुखुराको सुली र हीराको फुलीको मूल्य उस्तै–उस्तै हुन्छ ।

राष्ट्रलाई महासंकटबाट बचाउन पूर्वाग्रह, घृणा, शंका र आशक्ति त्यागेर सबैलाई समेट्ने बाटो हिँड्नुपर्छ । सत्ताको टापुमा बसेर एकोहोरो ‘फायरिङ’ गर्दा प्रत्युत्तरमा फूल बर्सिँदैन । फिलिपिन्सका फर्डिनान्ड मार्कोस, हाइटीका दुभालियर, युगान्डाका इदी अमिन, रुमेनियाका निकोलाइ चाउचेस्कु आदिलाई पनि ‘मैले जे गर्दा पनि हुन्छ’ भन्ने मीठो भ्रम थियो । इरानका अन्तिम राजा रेजा पहलबीले भनेका थिए– ‘मेरा प्रियजनले सबै ठीक छ भनेर मलाई भ्रममा पारेका रहेछन् ।’ आलोचना र सत्य सुन्ने बानी भएन भने प्रशंसाको फूलले निसास्सिएर शासकको अकाल मृत्यु हुन सक्छ । राज्यसत्ता धराशायी बन्छ र विश्वासपात्रहरूले विश्वासघात गर्दा राष्ट्रघात गरिएको पनि थाहा हुँदैन । व्यक्ति पूजाले व्यक्तित्व धुजाधुजा हुन्छ ।

प्रकाशित: ६ चैत्र २०७७ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App