२३ फाल्गुन २०७७ आइतबार
विचार

यसरी बन्यो कोभिड–१९ को प्रभावकारी खोप

डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड–१९ भनिने सार्स–कोभ–२ भाइरसका जम्माजम्मी तेह्र खोप अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ । त्यसमा धेरै खोप परीक्षण चरण पार गरी सर्वसाधारणले लगाउनसमेत सुरु गरेका छन् । कतिपयमा भने यसको कस्तो प्रभावकारिता रहला भन्ने उच्च चासो भेटिन्छ । खोप जतिसुकै प्रकारका भए पनि उनीहरूको अन्तिम लक्ष्य हाम्रो प्रतिरक्षा प्रणालीलाई कोभिड–१९ भाइरस पहिचान गर्न र नष्ट गर्न तालिम दिनु हो । फरक फरक खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई फरक फरक तरिकाबाट भाइरस पहिचान गर्नका लागि सक्रिय गर्ने विधि छन् । कोभिड–१९ को खोप के हो भन्ने सहजै बुझ्न कोभिड–१९ को संरचनाबारे बुझ्न जरुरी छ ।

विश्वसनीयताको हिसाबमा अन्य भाइरसका खोप र कोभिड–१९ को खोपमा कुनै फरक देखिन्न । सबै तोकिए हाराहारीकै भरपर्दा हुने निश्चित रहन्छ ।

सार्स–कोभ–२ भाइरस न जिउँदो न त मरेको भन्न मिल्ने एक प्रकारको पार्टिकल (कण) हो । भाइरस नामक जन्तुको जेनेटिक–कोड आरएनए निर्मित हुन्छ । उक्त कोडमा कन्ससनेस वा जैविक स्मृति भनिने सूचनाहरू सुरक्षित रहन्छन् । कोभिड–१९ सूचनाहरू जब मानव कोशिकाभित्र पुग्न पाउँछन् तब मानव कोशिकाभित्रकै पोषण र ऊर्जा शक्ति आदिको प्रयोग गरी आफ्नो पार्टिकल बनाउन चाहिने सम्पूर्ण पार्टपुर्जा बनाउन मानव कोशहरूलाई नै सजिलै परिचालन गरिदिन सक्ने निर्देशनहरू रहने गर्छन् । कोभिड–१९ को आरएनएको जेनेटिक कोडमा रहेको प्रोटिन बनाउने सूचना यही विधि पछ्याएर हाम्रो कोशिकाको सिस्टमलाई नै ह्याक गरी हाम्रो शरीरको सेलहरूलाई अनगिन्ती कोभिड–१९ कणहरू बनाउन बाध्य पारी शरीरभित्र व्यापक संक्रमण फैलाउन र हामीलाई हायलकायल बनाउन सक्षम बनिदिन्छ ।

कोभिड–१९ को कण बोसोको पातलो सुरक्षात्मक खोलभित्र लुकेको जेनेटिक कोडयुक्त आरएनए र मानव कोशिकाको झिल्लीलाई प्वाल पारेर भित्र छिर्न सघाउने रौँ जस्ता स्पाइक प्रोटिनहरूबाट निर्मित हुन्छ । खोप बनाउन पहिला सार्स–कोभ–२ भाइरसको आरएनएमा भेटिने जेनेटिक कोडहरू झिकियो । उक्त कोडहरूबाट कोभिड–१९ संक्रमण हुँदा मानव कोशिकाको झिल्लीलाई प्वाल पारेर भित्र छिर्न सघाउने सार्स–कोभ–२ भाइरसको रौँ जस्ता स्पाइक प्रोटिनहरू बनाउन चाहिने निर्देशन रहेका जेनेटिक कोडको टुक्रा छुट्टाएर निकालियो । निकालिएको टुक्रालाई अत्यन्त सानो बोसोको ‘न्यानो पार्टिकल’ भित्र प्याक गरी कैद गरिदिएर ल्याबमा निर्मित सेन्थेटिक आरएनए बनाइयो ।

खोपको मौज्दात, ढुवानी र वितरण प्रणालीमा चाहिने चिसोपना व्यवस्थापन गर्न सक्नु नै यो खोप वितरणको सबै भन्दा चुनौतीपूर्ण पक्ष देखिएको छ । 

यसरी बनेको सेन्थेटिक आरएनएको न्यानो पार्टिकल जब हाम्रो शरीरभित्र खोपमार्फत दिइन्छ पचेको चिल्लोका रूपमा रहेकाले हाम्रो शरीरको इन्जाइमले यसलाई टुक्राउने गर्दैन र सजिलै कोशिकाभित्र पुग्न सक्छ । जब सेन्थेटिक आरएनए कोशिकाभित्र पुग्छ, उक्त सेन्थेटिक आरएनएमा रहेको सूचनाअनुसार मानव कोशिकालाई सार्स–कोभ–२ भाइरसको रौँ जस्ता स्पाइक प्रोटिन बनाउने निर्देशन प्राप्त हुन्छ । निर्देशनअनुरूप मानव कोशिकाले सेलभित्र कोभिड–१९ भाइरसको स्पाइक प्रोटिन निर्माण गर्छ । स्पाइक प्रोटिनको उपस्थितिले शरीरको प्रतिरक्षा प्रणालीलाई स्पाइक प्रोटिन पहिचान गर्न र नष्ट गर्न सक्रिय बनाइदिन्छ ।

खोपको अन्तिम उद्देश्य हाम्रो प्रतिरक्षा प्रणालीलाई कोभिड–१९ भाइरस पहिचान गर्न र नष्ट गर्न तालिम उपलब्ध गराउने रहन्छ । एकपटक कोभिड–१९ भाइरस पहिचान गर्न र नष्ट गर्न सफल बनेको प्रतिरक्षा प्रणालीले वास्तवमै कोभिड–१९ को संक्रमण हुँदा त्यसलाई तह लगाउने चतुरता प्राप्त गरिसकेको हुन्छ । जसले गर्दा कोभिड–१९ भाइरसको संक्रमण हुँदा त्यसलाई नष्ट गर्न हाम्रो शरीरको क्षमता विकास भइसकेको हुन्छ । खोप आफ्नो उद्देश्यमा सफल भएको ठानिन्छ ।

कोभिड–१९ को हाल बजारमा आउँदै गरेको खोप आरएनए खोप हो जुन ल्याबमा अन्य खोपको तुलनामा अत्यन्त छिट्टै र सजिलै बनाउन सकिने हुन्छ । यसको सुन्दरता के हो भने आरएनए शरीरको सामान्य सञ्चालन प्रणालीका हार्मोनहरूले टुक्राउन सक्दैन । न त यस्ता आरएनएले शरीरमा कुनै संक्रमण नै निम्त्याउन सक्ने स्थितिमा रहन्छन् । आरएनएका भाइरसहरूका लागि विगतमा थुप्रै आरएनए खोपहरू विकास भएको थियो । जसमा इन्फ्लुएन्जा, एचआइभी र जिका भाइरसका खोपलाई लिन सकिन्छ । तसर्थ हाल बजारमा आएको कोभिड–१९ को खोप कुनै नौलो मानिसलाई थाहा नभएको प्रकृतिको खोप होइन ।  

सामान्यतः यस्ता खोप विकास भएर ल्याब र क्लिनिकल ट्रायलमा प्रभावकारी देखिए पनि खोपकै रूपमा सिफारिस गरी सर्वसाधारण मानिसलाई उपलब्ध गराउने हदको अनुमति दिन धेरै वर्ष लिइने गथ्र्यो । कोभिड–१९ को केसमा भने महामारीका कारण सबै प्रक्रिया ‘फास्ट ट्रयाक’मा लगेर तुरुन्तै अनुमति दिइ खोपका रूपमा उपलब्ध गराइएको हो । विश्वसनीयताको हिसाबमा अन्य भाइरसका खोप र कोभिड–१९ को खोपमा कुनै फरक देखिन्न । सबै तोकिए हाराहारीकै भरपर्दा हुने निश्चित रहन्छ ।

कुनै कुनै आरएनएका खोप आफैंमा सन्तुलित रहन अत्यन्त चिसो अवस्थामा राख्न अनिवार्य हुने गर्छ । कोभिड–१९ का लागि तयार भएको हालको फाइजर र बायोएनटेकको खोप माइनस ७० डिग्री सेल्सियसको अत्यधिक चिसो तापक्रम जरुरी हुने एकीन भएको छ । खोपको मौज्दात, ढुवानी र वितरण प्रणालीमा चाहिने त्यो हदको चिसोपना व्यवस्थापन गर्न सक्नु नै यो खोप वितरणको सबै भन्दा चुनौतीपूर्ण पक्ष देखिएको छ ।  

कोभिड–१९ का लागि हाल सिफारिस भएका आरएनए खोप हुन् । तिनीहरूमध्ये प्रायः दुई प्रकारका आरएनए आधारित खोप छन् । एउटा मेसेन्जर राइबो न्युक्लिइक एसिड वा एमआरएनएमा आधारित । अर्को सेल्फ एमप्लिफाइङ राइबो न्युक्लिइक एसिड वा एसएआरएनएमा आधारित । आरएनएको हिसाबमा दुवै एमआरएनए र एसएआरएनएको संरचना लगभग उस्तै देखिन्छ । भित्री संरचनामा भने एसएआरएनएमा ‘भाइरल रेप्लिकेज इन्जाइम कोड’ रहने गर्छ जुन एमआरएनएमा भेटिँदैन।  

भाइरल रेप्लिकेज इन्जाइम कोड भएका कारण एसएआरएनएले मानव कोशिकाभित्र एमआरएनए भन्दा द्रुत गतिमा प्रोटिन उत्पादन गरी आफ्नो कपी बनाउन सक्ने क्षमता राख्छ । फलस्वरूप एसएआरएनएबाट बनेको खोपको थोरै मात्राले पनि एमआरएनए जत्तिकै प्रभावकारी नतिजा दिन सक्छ । त्यसैले एसएआरएनएमा आधारित खोप बनाएर तुलनात्मकरूपमा सस्तो खोप विकास गर्न सकिन्छ । बजारमा हाल आउँदै गरेका मोदेरना, फाइजर–बायोएनटेक र क्युएरभ्याकका खोपहरू एमआरएनएमा आधारित हुन् भने इम्पेरियल कलेज र आर्कटुरसका खोपहरू एसएआरएनएमा आधारित ।

आरएनएमा आधारित खोपहरूको तापक्रमको स्थिरताले त्यसका लागि जरुरी हुने भण्डारण र ढुवानी गर्दा जरुरी हुने तापक्रम निर्धारण गर्ने गर्छ । गरिब मुलुकहरूका लागि अत्यन्त चिसो तापक्रम व्यवस्थापन गरी खोप वितरण गर्नुपर्ने आवश्यकता अत्यन्त चुनौतीपूर्ण बनेको देखिन्छ । जस्तै– फाइजर–बायोएनटेकको खोपका लागि ढुवानीको तापक्रम माइनस ७० डिग्री सेल्सियस आवश्यक पर्छ । डेलिभरीपछि पाँच दिनसम्म फ्रिजमा भण्डार गर्न सकिन्छ ।

मोदेरनाको खोप भने माइनस २० डिग्री सेल्सियसको यातायात तापमानमा स्थिर रहन्छ । चिसो बरफ पग्लिसकेपछि लगभग ३० दिनसम्म फ्रिजकै तापमानमा भण्डारण गर्न सकिन्छ । उच्च तापक्रममा खोप अधिक चाँडो बिग्रने हुँदा भनिएको भण्डारण तापक्रम अनिवार्य व्यवस्थापन गर्दा मात्र खोपहरू प्रभावकारी हुने हुँदा जरुरतअनुसारको तापक्रमको व्यवस्थापन सुनिश्चितता अनिवार्य जरुरी पर्छ ।

कोभिड–१९ को खोपका परीक्षणहरूले देखाएको प्रभावकारिता वास्तवमा उत्साहवद्र्धक छ । जस्तै– मोदेरनाको खोपले १०० प्रतिशत नै प्रभावकारिता देखाएको थियो । तसर्थ यसको सामान्य प्रभावकारिता ९४.१५ तोकिएको छ ।  जुन अपेक्षित भन्दा बढी नै मान्नुपर्छ । फाइजर–बायोएनटेकको भ्याक्सिन पनि त्यत्तिकै प्रभावशाली देखिन्छ । जसको सामान्य प्रभावकारिता ९५ प्रतिशत तोकिएको छ ।  

यी कम्पनीको खोपको प्रभावशालिताको परिणामहरूको रिपोर्ट अत्यन्त प्रभावकारी मान्नुपर्छ । किनकि अन्य रोगका लागि विकास भएको खोपको प्रभावकारिता हेर्ने हो भने २०१० देखि आजसम्मको इन्फ्लुएन्जा खोपको औसत प्रभावकारिता मात्र ४२ प्रतिशत हुन आउँछ ।  

परीक्षणमा खोपको खासै उल्लेखनीय वा गम्भीर ‘साइड इफेक्ट’ देखिँदैन । सामान्य मध्यम दुखाइ र अप्ठ्यारो महसुस भएका असरहरू मात्र रिपोर्टिङ भएको देखिन्छ । जस्तै– फाइजर/बायोएनटेकको खोप लिएका मद्धे खोपको दोस्रो डोज लिनेक्रममा ४ प्रतिशतले थकानको अनुभव गरेको रिकर्डले देखाउँछ। मोदेरनाको खोपको सन्दर्भमा भने खोपको पहिलो डोजमा लगभग १०५ ले थकान महसुस हुने, हड्डीका जोर्नी दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सुइँ हालेको ठाममा रातो हुने जस्ता साइड इफेक्टहरू भएको बुझिएको थियो। दुवै परिणाम सोचे भन्दा राम्रो अपेक्षित परिणाम नै हुन्।

धेरै रोगका खोप, जस्तै– कोभिड–१९ को आरएनए खोपहरू दुई डोजमा लिनु जरुरी हुनेछ । जस्तै– फाइजर–बायोएनटेकको खोप तीन हप्ताको फरकमा र मोदेरनाको खोप चार हप्ताको फरकमा दुई डोजमा लिन सल्लाह दिइएको छ । पहिलो डोजमा शरीरको प्रतिरक्षा प्रतिक्रियालाई कोरोना भाइरसको स्पाइक प्रोटिनको सामना गर्न तालिम दिनका लागि उपयोगमा आउँछ । उक्त समयमा शरीरभित्र एन्टिबडी र मेमोरी सेलहरू उत्पादन हुने गर्छ । यस प्रक्रियाले शरीरलाई कोभिड–१९ को भाइरस संक्रमण हुँदा तुरुन्तै भाइरसको पहिचान गरी प्रतिक्रिया दिन सक्ने बनाउन मद्दत गर्छ । दोस्रो डोजले मेमोरी सेलहरूको मात्रा बढाउन उल्लेखनीय भूमिका खेलिदिन्छ ताकि शरीरको प्रतिरक्षा प्रणालीले निकै छिटो, अधिक प्रभावकारी प्रतिक्रिया दिन सक्षम बनोस् । कोभिड–१९ आक्रमणलाई सहजै परास्त गर्न सक्षम बनोस् ।  

(खाद्य तथा औषधिविज्ञ )

प्रकाशित: २५ मंसिर २०७७ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App