coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

विकासमा युवा श्रम र सिर्जना

देश विकासको एक मात्र सूत्र भनेको उद्यमशीलता विकास गर्नु नै हो । विकासको वैभव बहार गरेका देश अलौकिक शक्तिले त्यो अवस्थामा पुगेको होइन । त्यसका लागि त्यहाँका नागरिकले निकै ठूलो त्याग गरेका थिए । त्यसबेलाको जमानाका नेतृत्वले समाजका हरेक क्षेत्र र वर्गको सर्वांगीण विकासका लागि नागरिकलाई मार्ग निर्देश गरे, उपयुक्त वातावरण बनाइदिए । फलतः पुर्खाले बसाएको थितिको आजको पुस्ताले अनुशरण र परिष्कृत गर्दै लगेको छ ।    

नेपाल जनसंख्याको हिसावले युवाबहुल (करिब एकतिहाइ) भएको अवस्थामा छ । देशले रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसकेका कारण युवा बेरोजगारी बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनका आधारमा नेपालमा हरेक वर्ष करिव चार लाखको हाराहारीमा युवाहरूश्रम बजारमा थपिन्छन् । हालको अवस्थामा १५ देखि २९ वर्षका १९.२ प्रतिशत युवा बेरोजगार छन्। विश्व बैँकको तथ्यांकअनुसार १५ देखि ६४ वर्षका ३२ प्रतिशत मानिस बेरोजगार छन् । यस तथ्यले संख्यात्मकरूपमा यो समस्या विकाराल भएको उजागर गर्छ । रोजगारीमा लागेकामध्ये पनि श्रमको गुणात्मक पक्ष थप चुनौतीपूर्ण छ । 

विदेशमा रोजगारीका लागि गएका युवादेखि सहर बजारमा पढे/बढेका कैयौँ युवा जन्मथलो फर्केर बन्दाबन्दीको अवधिमा आफ्नो जमिनसँग एकाकार हुने मौका पाए । त्यस्ता केही युवालाई कृषि, पशुपालन, वन पैदावर, साना तथा मझौला उद्यमशीलता विकास गर्न प्रोत्साहन गरिनु अपरिहार्य भएको छ । 

श्रम तथा रोजगार मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सन् २०२० सम्ममा ६० हजार युवालाई श्रम र सिप विकास गरी रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम तय गरेको थियो । यस कार्यक्रमको लक्ष्य रोजगारीका लागि विदेशमा जाने युवालाई देशभित्रै रोक्ने रहेको बताइएको थियो ।कोभिड–१९ पछि वैदेशिक रोजगारीमा आउने कटौतीका कारण आगामी आर्थिक वर्षमा देशभित्रै १५ लाख रोजगारीका अवसर सिर्जना गर्नुपर्ने तथ्य एक सरकारी अध्ययनले देखाएको छ जुन सरकारले तय गरेको दीर्घकालीन लक्ष्य भन्दा दोब्बर हो । यस्तै उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको अध्ययनअनुसार पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा २५ लाख रोजगारीका अवसर जुटाउनपर्ने बताइएको छ ।  

अहिले देशको युवा जनसंख्याको ठूलो हिस्सा पारिवारिक जिम्मेवारी निर्वाह गर्न र सहज भविष्यको आशामा विदेशमा श्रम बेच्दै आएका छन् । विदेशमा नेपाली श्रमिक निकै जोखिमको अवस्थामा काम गरिरहेका छन् । उनीहरूले श्रमअनुसारको अत्यन्त न्यून भुक्तानी पाइरहेका छन् । यद्यपि नेपालको आर्थिक सूचकाङ्क राम्रो देखिनुमा तिनै युवाको योगदान उल्लेख्य छ ।श्रम र सिप विकासको पाटोमा राज्य र समुदाय अझै जिम्मेवार ढंगले अगाडि बढ्न सकेको छैन । देशभित्र पनि केही युवाले कृषि, साना उद्योग, विज्ञानको क्षेत्रमा सराहनीय कामको थालनी गरेका छन् । त्यो कामलाई प्रोत्साहन मिलेको अवस्थामा अरू कैयौँ युवा त्यस्ता काममा आकर्षित हुने थिए ।  

त्यस परिपे्रक्ष्यमा रोजगारीका लागि विदेश गएका करिव सात लाख नेपाली युवाले रोजगारी गुमाउने छन् । हाल नेपालमा करिव ७ लाखकै हाराहारीमा विदेशी श्रमिक रोजगारीमा रहेका बताइन्छ । हाल नेपालमा कार्यरत विदेशीहरू उच्च वा दक्ष श्रमिकका रूपमा उच्च आम्दानी गरिरहेका छन् । त्यस्ताश्रमिकलाई प्रतिस्थापन गर्न सफल भएको अवस्थामा देशबाट बाहिरिएको अर्बौंँ रुपियाँको धनराशि देशमै रहने र बेरोजगारीको तत्कालको समस्या समाधान हुन सक्थ्यो । त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत सरकारी तथा निजी क्षेत्रले अत्यधिक लगानी बढाउनुपर्ने कठोर चुनौती त छँदैछ,बेरोजगार युवालाई दक्ष बनाउने क्रममा सिप विकासका कार्यक्रम सञ्चालन गर्न थप जटिल छ । यस्तै प्रयोजनका लागि नेपालमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई व्यापक सुधार गरी नयाँ नयाँ प्राविधिक विषय सैद्धान्तिक तथा व्यावहारिक रोजगारीमूलक सिप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ । यो काम असंभव छैन तर त्यसकालागि सरकार, परिषद् र निजी क्षेत्रबीच राम्रो सहकार्य, समन्वय र स्रोतसाधनको अपरिहार्यता पर्छ ।  

सन् २०१९ को आखिरीदेखि फैलिएको कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य महामारीले सम्पूर्ण सामाजिक, आर्थिक, शैक्षिक क्षेत्र तहसनहस भएको छ । यो महाव्याधिले विश्वलाई कति समय जकड्छ भन्ने एकीन भन्न सकिन्न । यसै क्रममा विदेशमा रोजगारीका लागि गएका युवादेखि सहर बजारमा पढे/बढेका कैयौँयुवाजन्मथलो फर्केर बन्दाबन्दीको अवधिमा आफ्नो जमिनसँग एकाकार हुने मौका पाए । त्यस्ता केही युवालाई कृषि, पशुपालन, वन पैदावर,साना तथा मझौला उद्यमशीलता विकास गर्न प्रोत्साहन गरिनु अपरिहार्य भएको छ । यी हरेक क्षेत्रमा युवाले नेतृत्वदायी भूमिका खेल्न सक्ने वातावरण बनाउनुपर्छ ।  

नेपालको श्रम बजारले आशातीत प्रतिफल दिन सकिरहेको पाइँदैन । केही वर्षअघिसम्म नेपालकै हैसियतका एसियन देश छोटो अवधिमा सिपयुक्त युवा परिचालन गरी प्राकृतिक स्रोत साधनको उच्चतम उपयोग र औद्योगिकीरणको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको आकार निकै विस्तार गरेका छन् । प्रतिव्यक्ति आम्दानीमा मनग्ये वृद्धि गरेका छन् । ती देशबाट सिक्न सक्ने पाठ भनेको राज्यका नीति नियम र कार्यक्रमहरू युवा जनशक्तिमा सिप विकास र रोजगारीका अवसरसिर्जना गर्ने हो । नेपाल सरकारका नीति तथा कार्यक्रम यस दिशातर्फ परिलक्षित हुन सकेका छैनन् । अपरिपक्व राजनीतिक संस्कार र कमजोर संरचनाका कारण उपलब्ध राष्ट्रिय स्रोतसाधन तथा ऋण परिचालन अल्पकालीन सोचबाट निर्देशित हुने गरेका छन् ।

नेपालका प्राथमिकता

राष्ट्रिय योजना आयोगले जारी गरेको पन्ध्रौं योजनाको आधारपत्रमा दीर्घकालीन विकासको खाका कोरिएको छ । यसले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिका लागि २२ वटा राष्ट्रिय गौरवका आयोजना र १८ वटा गेम चेन्जर योजना अनि १७७ वटा उच्च प्राथमिकताका बहुवर्षीय योजना पहिचान गरिएकोछ । यस्ता योजना सामाजिक विकासका विविध क्षेत्र, जस्तै– शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, प्रविधि आदि क्षेत्र समेटेर चयन गरिएका छन् । यो सराहनीय काम हो तर छनोट भएका योजनाको कार्यान्वयन कसरी हुन्छ भन्ने कुराले निर्धारण गर्नेछ । यस क्रममा राज्यले विश्वबाट पाठ सिक्नुपर्ने कुरा भनेको श्रम बजारको अवस्था विश्लेषण गरी युवाहरूलाईव्यावसायिक शिक्षा, सिप विकासको अवसर र व्यवसाय सुरुवातका लागि सहयोग आवश्यक पर्छ ।  

व्यावसायिक शिक्षा वा तालिम

व्यावसायिक शिक्षा भनेको विविध प्रकारका व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक वा विज्ञानमा आधारित सैद्धान्तिक ज्ञान र त्यसको कार्यान्वयन गर्ने सिप विकास गर्ने हो । नेपालमा यसै प्रयोजनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् स्थापना भएको छ । यो परिषद्ले स्थापनाकालदेखि अहिलेसम्म सेवाका क्षेत्रमा केही जनशक्ति उत्पादन गर्‍यो तर देशलाई उत्पादनको क्षेत्रमा आत्मनिर्भर बनाउनेतर्फ पर्याप्त काम हुन सकेको छैन ।  

सिप विकासको अवसर

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पाएका युवालाई सिप विकास वा आत्मविश्वास बढाउने प्रयोगशाला वा कार्यक्षेत्र उपलब्ध हुनुपर्छ । यो कार्य राज्य वा समुदायको जिम्मेवारी हो । व्यक्ति वा परिवारले आफ्नै प्रयासमा यो अवसर जुटाउन सक्दैनन् । यस प्रकारको सिप विकास परम्परागत व्यवसायदेखि आधुनिक व्यवसायका क्षेत्र, जस्तै– कृषि तथा वन पैदावार, खाद्य प्रशोधन, हस्तकला तथा साना तथा मझोला उद्योग कलकारखाना, यान्त्रिक तथा अन्य प्रविधिको विकास र विस्तार जस्ता क्षेत्रमा विकास गरिनुपर्छ । विश्व बजारमा गरिएका अध्ययनअनुसार राम्रो सिप विकासको अवसर पाएका व्यक्तिले श्रम बजारमा करिव ६५ प्रतिशत बढी प्रतिफल हासिल गर्न सक्नेछ । त्यस्ता युवा विदेशमै गएछ भने पनि उसले बढी मर्यादित, सुरक्षित काम गर्न र राम्रो आम्दानी गर्न सक्नेछ ।

प्रकाशित: २४ मंसिर २०७७ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App