१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

कोरोना संक्रमित मनका तरंग

यो के हो यस्तो–गाउँ–सहर, गोरेटो–सडक,अन्वेषण–आविष्कार, आशा–भरोशा,आस्था–आधार, इच्छा–आकांक्षा, आकास–पृथ्वी– सम्पूर्ण शान्त। के यही होपूर्ण शान्ति ? यो सबै स्वार्थ, मोह, घृणा, इष्र्या, वैमनस्य, संघर्ष, महत्वाकांक्षा, अहंकारअन्त्य गरी जाग्रित–आत्मशान्ति होइन। यो त केवल सांसारिक कोलाहलमा मुर्छित–आत्मशान्ति हो। यो दोस्रो विश्व युद्धपश्चात ४५ वर्ष चलेको शीतयुद्धावस्था जस्तै शान्ति हो। त्यतिबेलाका शक्तिशाली राष्ट्रहरू कथित युद्धविराममा बाह्यरूपमा शान्त देखिए पनि, अघोषित आणविक हतियार प्रतिस्पर्धामा भित्रभित्रै अशान्त थिए। आणविक हतियारको सम्भावित विनाशको शंकामा तृतीय विश्वयुद्ध रोकिनाले शान्त जस्तै देखिएको विश्व, आज आएर कोरोना भाइरसको महामारीमा अशान्त छ। आणविक हतियारको सूक्ष्म अणु र कोरोना भाइरसको सूक्ष्म अणुमाकुन बढी विनाशकारी ?यो त समयले निर्धारण गर्नेनैछ।

आणविक हतियारको सूक्ष्म अणुको अशान्ति कस्तो थियो कुन्नि, मलाई थाह भएन। न मैले हिरोशिमा र नागासाकी युरनियम बमकाण्ड प्रत्यक्ष भोग्नुप-यो न त त्यसका पीडितहरूसँग मेरो प्रत्यक्ष सम्पर्कनै भयो। म आफैँ संक्रमित भएँ कि, म आफ्ना, आफन्त र परिचितहरूका स्वःस्फूर्त सम्पर्क व्यक्ति तोकिए कि, कोरोना भाइ रसको सूक्ष्म अणुले मेरो तन मात्र होइन, मनै संक्रमित बनायो। महामारी सिर्जित बाह्यशान्तिमा भाइरस संक्रमित मेरो मन अशान्त महासागरमा उत्रिएको चन्द्रमाको अस्थिर छायाँ जस्तै डगमगाइरहेछ। एउटै घरको कोठा कोठा छुट्टिँदा छाएको सुनसानमा डगमगाएको मन, प्रत्येक रात नयाँ बिहानीको आशामा डगमगाएको मन, श्वासमापन यन्त्रमा श्वास खस्किएको सूचकमा डगमगाएको मन, श्वासधान्दै गर्दा श्वासै चिप्लिँदा डगमगाएको मन, सघन कक्षमा ठाउँ नपाउँदा मर्ने डरमा डगमगाएको मन, स्वास्थ्यकर्मीको चिसो व्यवहारमा डगमगाएको मन, रोग सर्ला भनी एक्लाइएको वेदनामा डगमगाएको मन, अछूत जस्तै बनाइँदा अपमानमा डगमगाएको मन, आफ्नाको स्पर्श नपाउँदा निराशामा डगमगाएको मन, आाफन्तलाई साथ दिन नपाउँदाकोआँसुमा डगमगाएको मन, एक एक गरी आफ्ना सबै परिवार संक्रमित भएकामा डगमगाएकोे मन, आफ्नाहरू गुमाउँदाको पीडामा डगमगाएको मन, आफ्नालाई पोको पारी अन्तिम संस्कार गरिँदाको विवशतामा डगमगाएको मन, अचानक आफैँलाई मृत्युले बोलाएकोमा डगमगाएको मन– यस्तै यस्तै सहनै नसकिने तर सहनैपर्ने मनका अशान्त तरंगमा डगमगाएको मन। यिनै अशान्त तरंगबीच बाँच्नुपर्छ भन्छन्। यिनै अशान्त तरंगलाईआदत बनाउनुपर्छ भन्छन्। होला पनि ! नहोला भनीसोच्नु पनि कसरी? परापूर्व कालदेखिनै विश्व यस्तै शृंखलाबद्ध अशान्त परिस्थितिको सामना गर्दै आएको इतिहास साक्षी छ। महाभारत महाकाव्य पनि हामीमाझ जिउँदै छ।

शक्ति उन्माद हो। शक्ति अहंकार हो। शक्ति विनाशको मार्ग हो। शक्ति भोक हो। शक्ति तिर्खा हो।  

हामीले पढेका अनिपर्दामा पनि हेर्दै आएका कुरुक्षेत्र युद्धको (इसापूर्व ३१०२) अशान्ति इतिहासकै सबै भन्दा भयाबह मानिन्छ। सूर्योदयको शंखनादमा कुरुक्षेत्र युद्ध मैदान, महारथिका रथ, पाण्डवका ७ र कौरवका ११ अक्षौहिणी सेनाका भागदौडका गडगडाहट, अस्त्र–शस्त्रप्रक्षेपणका सनसनाहट, महारथिका विशालरथ भाँचिएका चर्चराहटका भयानक आवाजले कोलाहल बन्ने। कुरुक्षेत्र युद्ध मैदानको भन्दा अर्जुनकोमनको कोलाहल अझै बढी सुनिने।अर्जुनको मन शान्त होस् पनि कसरी ! विपक्षमा समेत सबै आफ्ना प्रिय हजुरबा भिष्मपितामह, आदरणीय गुरु द्रोणाचार्य, दानवीर कर्ण, प्यारा कौरव भाइहरू, मान्यवर काका, सहृदयी मामा, स्नेही गुरुपुत्र अश्वत्थामा, गैर त कोही पनि थिएन। सूर्यास्तको शंखनादसम्म चारैतिर आफन्तका हृदयविदारक चित्कार, रगतको खोलो, लासै लासको लस्कर। कसको आँसु कसले पुछ्ने? कसको लासमा को घोप्टी रुने ? कसको लासलाई कसले कन्धा दिने?धृतराष्ट्रको पुत्र मोह, दुर्योधनको अहंकार, द्रोणचार्यको प्रतिशोध, शकुनीकोे कपटी चालकाअगाडि श्रीकृष्णको शान्ति प्रस्ताव, भिष्मपितामहको वात्सल्य, कुन्तिको संस्कार, विदुरको तर्क, पंचपाण्डवको आदर्शको अर्थ रहेन। हेर्दाहेर्दै धर्मक्षेत्र कुरुक्षेत्र युद्धक्षेत्र बन्यो। कुरुक्षेत्र युद्ध हुनै थियो। कौरवमाथि पाण्डवको विजय हुनै थियो। असत्यमाथि सत्यको विजय हुनै थियो। अधर्ममाथि धर्मको विजय हुनै थियो। कुरुक्षेत्र युद्ध जस्तै हरेक ठूला घटनाका अन्तर्निहित कारण हुन्छन्। अहिले हामी लडिरहेको कोरोना महामारी युद्धको पनि यस्तै केही त होेला ?

प्रथम विश्व युद्ध (इ.स. १९१४—१९१८) ‘सबै युद्ध अन्त्यका लागि युद्ध’ को उद्देश्यले युरोपियन महादीपले गरेको युद्ध, आधुनिक युगको सबैभन्दा विनाशकारी युद्ध मानिन्छ। यस युद्धले लाखौँसशस्त्र सिपाही र आमयुरोपियन नागरिको ज्यान लियो। युद्धपश्चात तुरुन्तै फैलिएको स्पानिस फ्लु महामारीले त्यो भन्दा बढीजनधनको क्षति ग-यो। यद्यपि दोस्रो विश्व युद्ध रोकिएन। दोस्रोविश्व युद्धमा(इ.स. १९४५), पुराना युरोली सामराज्यहरू ध्वस्त भई संयुक्त राज्य अमेरिका र उसको वैचारिक प्रतिस्पर्धी सोभियत संघ नवमहाशक्तिका रूपमा उदाएसँगै शीत युद्ध सुरुवात भयो। शीत युद्धकालमा संयुक्त राज्य अमेरिका र सोभियत संघबीच प्रत्यक्ष सैन्य द्वन्द्व भएन। दुवै महाशक्तिहरू, शक्ति सञ्चय गर्दै आणविक हतियार उत्पादनको अप्रत्यक्ष प्रतिस्प्रर्धामा लागे। शीत युद्ध दशकौँ चली सोभियत संघको पतनसँगै (इ.सं.१९९१)अन्त्य भई संयुक्त राज्य अमेरिका एकल महाशक्तिबन्न सफल भयो।

शक्ति उन्मादहो। शक्ति अहंकार हो। शक्ति विनासको मार्ग हो। शक्ति भोक हो। शक्ति तिर्खाहो। संयुक्त राज्य अमेरिकालाई चुनौती दिन चीन र रसिया औद्योगिक, रणनीतिक,आणविक हतियार प्रवर्धनर सैन्य आधुनिकीकरणद्वारा शक्ति पुनः प्राप्तिमा लागे। प्रतिरक्षामा संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थितिलाई चिनिया विस्तारवाद रोक्ने नयाँ सुरक्षा रणनीति तयार पा-यो। महाशक्तिहरूबीच शक्ति संघर्ष चलि नै रह्यो। यस ब्रह्माण्डमाआत्मबाहेक केही पनि अमर छैन। संयुक्त राज्य अमेरिकाको सैन्य विस्तार, रसियाको आणविक हतियार प्रवर्धन, चीनको विश्व बजारको अर्थ रहेन। यत्रा शक्तिशाली राष्ट्रसमेत एउटा सूक्ष्म कोरोना भाइरसबाट पराजित भइरहेछ।

संयुक्त राज्य अमेरिकालाई चुनौती दिन चीन र रसिया औद्योगिक, रणनीतिक, आणविक हतियार प्रवर्धनर सैन्य आधुनिकीकरणद्वारा शक्ति पुनः प्राप्तिमा लागे। प्रतिरक्षामा संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थितिलाई चिनिया विस्तारवाद रोक्ने नयाँ सुरक्षा रणनीति तयार पा-यो।  

कोरोना महामारीमा मानव उमेर–विशिष्ट बहुमूल्य अनुभूतिहरू हरिँदैछ। बालकको बालापन खोसिँदैछ। वैैशको उन्माद हराउँदैछ। बुढ्यौलीको आशीर्वाद लजाउँदैछ। बाँच्नको उत्साह मर्दैछ। रोजगारकोे अवसर छैन। बिहान खाए बेलुका खाने खानाछैन। ज्वरो आए खाने सिटामोल छैन। ज्वरो बढे अस्पताल जाने उपाय छैन। अस्पताल पुगे बेड छैन। रोगले च्यापे सघन कक्षमा ठाउँ छैन। कोरोना भाइरसको प्रमाणित औषधि छैन। देशको आपूर्ति शृंखलामा निरन्तरता छैन। स्वास्थ्य प्रणाली कोरोनासँग लड्न पर्याप्त छैन। खोप कहिलेसम्म बन्ने हो थाहा छैन। खोप नभए बाँच्ने आशा छैन। मान्छे न हो,यति धेरै निराशामा पनि बाँच्ने,आशा त बाँचिनैरहेछ।

धनी–गरिबमा भेदभाव नगर्नेे, जातपात नमान्ने, बच्चा–बूढा नभन्ने, शिक्षित–अशिक्षित नचिन्ने, स्त्री–पुरुष नछुट्याउने, सीमामा नबाँधिने, विश्वव्यापी कोरोना भाइरसको यो विराट रूप हो। वास्तविक विराट रूप भनेको त्यो रूप हो जसले अहंकारलाई निल्छ, अहंकारलाई टुक्रा–टुक्रा पार्छ भन्ने तथ्य भगवद्गीताको ११ अध्यायमा व्याख्या छ। कोरोना भाइरसको विराट रूपको सामुन्ने विश्व महाशक्तिहरू समेत किंकर्तव्यविमुढ छन्। घरबाट बाहिर निक्लन निषेध छ। सहर सहरमा आवतजावत निषेध छ। देशको उत्पादन र बाह्य व्यापार ठप्प छ। सीमा नाकाबन्दीले पर्यटन ठप्प छ। स्वदेशी र वैदेशिक श्रम अवसर ठप्पछ। विद्यमान स्वास्थ्य र शिक्षा प्रणाली प्रवाह गर्न सम्भव छैन। नयाँ प्रणाली विकास गर्न आर्थिक क्षमता छैन। विश्वको प्रविधि आविष्कारको अहंकार टुक्रा–टुक्रा हुँदैछ। चन्द्रमा र मंगल ग्रहमा साम्राज्य विस्तार गर्ने विश्व प्रतिस्प्रर्धा चकनाचुर हुँदैछ। अनिश्चिततामा भूमण्डलीकरण खतरामा पर्दैछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वको अग्निपरीक्षा हुँदैछ। पृथ्वीमा मानव अस्तित्व जोगाउनै हम्मे हम्मे हुँदैछ। यस्तो हुन्छ भन्ने कसले सोचेथ्यो र ?तर भइछाड्यो। नहोस् पनि कसरी ?

इसापूर्व पाँचौँश ताब्दीदेखिनै भौतिकवाद सुरुवात भई छैटौँ शताब्दीमा विश्व सहरीकरण, सामाजिक अस्थिरता, संसाधनका लागि प्रतिस्पर्धामा चरमोत्कर्षमा पुग्दा मानव जागरणका लागि उपनिषद् लेखिएको थियो। उपनिषद्अनुसार सारा संसार ब्रह्म हो। ब्रह्म आत्मा हो। भौतिकवादी आत्मा क्रोध, लोभ, मोह, भोक, र तिर्खाले संक्रमित छ। संक्रमित आत्माले कसरी ब्रह्म समेट्न सक्छ र ? संक्रमित आत्मा कसरी ज्योर्तिमय हुन्छ र ? संक्रमित आत्माले कसरी सम्पूर्ण विश्व समेट्न सक्छ र ? परापूर्वकालदेखिनै मानव क्रोध, घृणा, मोह, भोक र तिर्खा त्याग्न सकेको छैन। मानव सांसारिक सुख सुविधाका संसाधनको अत्यधिक खरिद र उपभोगनैे अन्तिम उपलब्धि मान्छ। यस्ता सोचाइ राख्नेका लागि, मानव ‘शरीर’ हो, आनन्द शरीरकेन्द्रित हुन्छ। यो अधुरो सत्य हो। मानव आत्म पनि हो, आनन्द आत्मकेन्द्रितहुन्छ। पूर्ण आनन्द भौतिक र अध्यात्मदुवै वादको निन्दानगरी पूर्ण स्वीकृतिमा मात्र हुन्छ। यद्यपि विश्व भौतिकवादको अर्ध आनन्दमा झुमिरहेछ।  

के मानव इतिहास परिवर्तनको मोडमा आएकै हो त ? कोरोना महमारीले हाम्रो जीवनशैली परिवर्तन गरिरहेछ।साँघुरो घेरामा घेरिए जस्तो लाग्दै गर्दा यसैभित्र संसारै समेटिसकेछ। सांसारिक संसाधनको प्रतिस्पर्धामा भाग्दै गर्दा यस्ता साधनको औचित्यनै व्यर्थ लाग्न थालिसकेछ। जीवन जिउनुको अर्थ व्यर्थ जस्तो लाग्दै गर्दा जीवनको मूल्य अनमोल भइसकेछ। बाँच्ने संघर्ष गर्दागर्दै प्रत्येक श्वासले जीवनलाई समर्थन गरे जस्तै लागिरहेछ। बिहानीको आगमनको अनिश्चिततामा प्रत्येक बिहान विशेष निश्चिततासाथ झुल्किए जस्तो लागिरहेछ। सूर्योदयको साथसाथै प्रत्येक प्राप्त सूर्यको किरणको प्रार्थना गर्न मन लागिरहेछ। प्रकाशको कामनामा प्रत्येक साँझको अन्धकारलाई मनको दीपले प्रज्वलित गर्न मन लागिरहेछ। खुसी हुने आशमा प्रत्येक अमावश्यपछि पूर्णिमाको प्रतीक्षा स्वीकार्न मन लागिरहेछ। स्वार्थ, मोह, अहंकारको जालोमा जेलिँदै गर्दा आत्मअवलोकन र संरचनाको अवसर मिलिसकेछ। यही होइन रअध्यात्मवाद ? यहीहोइन र शाश्वत जीवन जिउनेशैली? के कोरोना महामारीले शाश्वत जीवन प्राप्तिको मार्ग प्रशस्तगरेकै हो त ?

प्रकाशित: १६ मंसिर २०७७ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App