१० कार्तिक २०७७ सोमबार
विचार

वर्तमानमा दलीय जिम्मेवारी

मुलुकको अवस्था भ्रष्टाचारले थिलथिलो बनाएका बेला झन् कोरोनाले मुलुकलाई डरलाग्दो र चिन्तित अवस्थामा पु-याएको छ। यही कारण तमाम नेपाली जनता अत्यन्तै निराश भएका छन्। मुलुकलाई यस्तो अवस्थामा पु-याउनुमा सरकारी गतिविधि नै मुख्य जिम्मेवारछ। यो विषयमा सरकार कहिल्यै पनि देश र जनताप्रति जिम्मेवार हुन सकेन।  

विभिन्न व्यवसायमा रहेका सर्वसाधारणदेखि बिहान काम गरेर बेलुकाको छाक टार्ने मजदूर किसानलगायत लाखौँं सर्वसाधारण जनता मुलुकभरि नै छन्। उनीहरू र उनका परिवार भोकै छन्। कसैले दिए खान्छन्, नदिए भोकै रात गुजार्छन्। यो राज्यले नदेखेको पक्कै होइन। तर राज्य कानमा तेल हालेर बस्दा कति गरिब आत्महत्या गर्न बाध्य छन्। यस्तो दुःखद दर्दनाक अवस्थामा पनि राज्य अलिकति पनि जिम्मेवार नभएको महसुस सर्वसाधारण जनताले गरेको हुँदा अब गरिखाने जनता भोको पेट लिएर कुन दिन सडकमा उत्रन बाध्य हुनेछन्। त्यो बेला राज्यको इज्जतमाथि नै प्रश्नचिह्न नउठ्ला भन्न सकिन्न। केही दिनअघि मात्र वीरगन्जमा बेरोजगारीका कारण एक जनाले खान नपाएर विष सेवन गरेर आत्महत्या गरेको समाचार सुन्नमा आएको छ। यो राज्यका लागि पनि लज्जाजनक विषय हो। यतिखेर सत्तापक्ष आफू र आफू निकटलाई मात्र कसरी के गरेर पैसा पाउन सकिन्छ भनी राजनीतिक नियुक्ति दिइरहेको अवस्था छ। विगतका केही घटनाले यो कुरा पुष्टि गर्छ।  

देशमा कोरोना जुनरूपमा फैलिरहेको छ। यसले आमनेपालीलाई चिन्तित तुल्याएको छ। यस्तो बेलामा पनि सत्तापक्षलेआफ्नो स्वार्थबाहेक अरू केही देखेको छैन। कोरोनाका नाउँमा खरिद गरिने सामानमा व्यापक भ्रष्टाचार भएको छ। त्यसको एउटा उदाहरणओम्नी काण्डआमजनतालाई थाहा भएकै कुरा हो। सत्तारुढ दलभित्रको विवाद कुनै सैद्धान्तिक होइन। यो विवाद भागबन्डाका लागि मात्र हो भन्ने बुझाइ आमजनताको छ। भर्खर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा नाटकीयरूपमा विवाद अन्त भएको देखियो। पार्टीले सरकारलाई सहयोग नगरेको गुनासो प्रधानमन्त्रीको छ। पार्टी नेताहरूभने प्रधानमन्त्रीले पार्टीको विधि पद्धति उलंघन गरेको आरोप लगाइरहेका छन्। विगतमा सत्तापक्षबाट जे/जस्ता कमी/कमजोरी भएका थिए त्यसलाई आत्मालोचना गर्दै कमजोर पक्षलाई हटाएर सरकार सच्चिने अवस्था भने छ।  

यसबेला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा पनि कुनै सैद्धान्तिक लडाइँ देखिँदैन। त्यहाँ पनि जुँगाकै लडाइँ जस्तो उनीहरूको आन्तरिक कलह देखिएको छ। त्यो आन्तरिक कहल राष्ट्रिय राजनीतिमा नपर्ने कुरै भएन। नेपाली काँग्रेस पुरानो प्रजातान्त्रिक पार्टी भएको हुनाले मात्र अहिलेसम्म टिकिरहेको हो। त्यसको प्रभावकारिता देखिएको छैन। अहिले राज्यमा प्रतिपक्ष पार्टी नै छैन जस्तो अवस्था छ। किनभने सरकारले जे कदम चाल्छ, त्यो कदममा काँग्रेसले सघाइरहेकोझैँ देखिन्छ। किनभने मुलुकमाथि ठूला ठूला भ्रष्टाचारका काण्ड भएका छन्। त्यो आमजनताले देखिरहेका छन्, भोगिरहेका छन्। त्योसमेत राजनीतिक मुद्दा नउठाएपछि यहाँ काँग्रेस पार्टी प्रतिपक्ष हो वा होइन भन्नै नसकिने अवस्था देखिँदैछ। यस्तो अवस्थामा काँग्रेसलाई कसरी प्रमुख प्रतिपक्ष दल भन्ने ? सरकारले गलत काम गर्दा पनि खबरदारी नगरेर टुलुटुलु हेरेर बस्ने पार्टी प्रमुख प्रतिपक्ष काँग्रेस पार्टी हो कसरी भन्ने ? र, काँग्रेस देश र जनताप्रति जिम्मेवार भनेर कसरी पत्याउने ? तैपनि बिपीकोपार्टी हो भनेर जनताले पत्याउनुपर्ने अवस्था छ।

वर्तमान सरकारको जुन किसिमको रवैया छ, त्यसको विरुद्धमा कुनै नागरिक समाज उठ्न सकेको छैन। प्रतिपक्ष दल भनिने काँग्रेस दूधको साक्षी बिरालो भनेझैँ भ्रष्टाचारीको एक हिस्सेदार बनिरहेको छ। किनभने काँग्रेसकै पालामा एमसिसी सम्झौता भएको हो। वाइडबडी काँग्रेसकै पालामा योजना बनेको हो। र, सत्तापक्ष र प्रतिपक्ष भएर भ्रष्टाचार तीव्र गतिमा बढेको छ। यो अवस्थामा काँग्रेस प्रतिपक्ष पार्टी हो र जनताप्रति जिम्मेवार छ भनेर कसरी भन्ने ?

यसै मेसोमा हेर्दा राप्रपाको आन्तरिक कलह साम्य भएको छ। यसलाई अझ बलियो बनाउने महाधिवेशन नै हो। महाधिवेशनमा जानुभन्दा अगाडि पार्टीले जनताको चाहना (सेन्टिमेन्ट) बुझेर र राष्ट्रिय स्वाधीनतालाई माथि राखेर अघि बढ्नुपर्छ र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो राजनीतिक अजेन्डा देश र जनताप्रति उत्तरदायी हुनुपर्छ। जनभावनाअनुसार राप्रपा अघि बढ्नुपर्छ। यतिबेला झण्डा, चुनाव चिह्नमा राप्रपाका नेताबीच कुरा मिलेको छ। यसले एकताबद्धरूपमा पार्टीलाई अघि बढाउन बाटो खुलेको छ। अब यसलाई पूर्णता दिन महाधिवेशनमा जानुपर्छ। यता अमेरिकी च्यालेन्ज कर्पाेरेसन (एमसिसी) राष्ट्रिय स्वाधीनताविरुद्ध आएको छ।

नेपाली जनताले पनि एमसिसीलाई राष्ट्रिय स्वाधीनताविरुद्धका रूपमा लिएका छन्। नेपाली स्वाधीनताविरुद्ध भएकाले एमसिसीविरुद्ध नेपाली जनता जुरुक्कै उठेका छन्। त्यसैले एमसिसीविरुद्ध राजधानीलगायत ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ। एमसिसीविरुद्ध भएका शान्तिपूर्ण प्रदर्शनमा समेत सरकारले अमर्यादित व्यवहार देखाइरहेको छ। यो तानाशाही भन्दा कम छैन। जनता एकजुट भए भने एमसिसीलाई पाखा लगाउन केही समय लाग्ने छैन।  

यसैबीच देशका लागि उज्यालो बोकेर उदाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङको कार्यकाल सकिएको छ । अब फेरि घिसिङलाई पुनः नियुक्तिकालागि जनता आन्दोलित छन्। यसमा पनि सरकारी नियत राम्रो देखिएको छैन। जनभावनाअनुसार कुलमानलाई पुनः  नियुक्त नगर्नुको रहस्य के हो ? के यसमा पनि भ्रष्टाचार गर्ने सरकारी निकायको नियत त होइन ? यति बलियो सरकार भए पनि देश र जनताप्रति उत्तरदायी नभएका कारणले यो सरकार असफल हुँदै आएको भन्दा फरक पर्दैन।  

सरकारको यस्तै किसिमका क्रियाकलाप भइरहेमा देश र जनताप्रति आघात पुग्नेछ। नेपाली जनतामाथि चौगुना कर बढाएको छ। दाजुभाइ अंशबन्डा छुट्याउँदा जग्गा कित्ताकाटको नाममा होस् या यातायातमा होस्, जताततै भ्रष्टाचार भएकाले ती भ्रष्टाचारीविरुद्ध आमजनता एकताबद्ध हुने बेला आएको छ। देशमा भ्रष्टाचारको शृंखला कहालीलाग्दो छ। एनसेल, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण, वाइडबडी काण्ड, पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिद टेप काण्डसमेतमा चरम लापरबाही गरेर अकुत सम्पत्ति आर्जन गर्न सरकारी पदाधिकारी लागेका देखिन्छन्। देशमा शान्ति सुरक्षाको अवस्था पनि चिन्ताजनक छ। निर्मला बलात्कार काण्ड ओझेलमा पार्ने काम भयो। यो देशमा महिलाले सुरक्षा पाउन सकेका छैनन् भन्ने यस प्रकरणले पुष्टि गरेको छ । देशमा एमसिसीका नाममा  फेरिअर्बौँ भ्रष्टाचार गर्न सरकारी निकाय नै लागेका देखिन्छ।  

समग्ररूपमा नेपाली जनताले अब के बुझ्नुप-यो भने आगामी चुनावमा कस्तो आचरण भएका व्यक्तिलाई उम्मेदवार बनाउने ? तिनलाई चिन्ने प्रयास गर्नुपर्छ। हिजोका भ्रष्टाचारीहरूलाई नै पार्टीहरूले उम्मेदवार बनाएको खण्डमा तिनको बहिष्कार गर्नुपर्ने दिन आउँदैछ। त्यसैले आमनेपाली जनताले भ्रष्टाचारीलाई पाखा लगाउने हिम्मत देखाउन सक्नुपर्छ। पैसाको भरमा टिकट दिने र पैसाको बलमा चुनाव जित्ने परिपार्टीले देश बन्न सक्दैन। त्यसले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने हुँदा आगामी निर्वाचनमा हरेक पार्टीले इमान्दार उम्मेदवारको खोजी गर्नुपर्छ। हरेक पार्टीमा इमान्दार व्यक्ति, नेता कार्यकर्ता हुने तर तिनको मूल्याङ्कन पार्टीले गर्न नसक्दा नेपाली जनता झन्झन् गरिब, देश झन् गरिब तर पार्टीका केही नेता/कार्यकर्ताचाहिँ झन्झन् धनी बनिरहेको हाम्रै आँखाले देखेका छौँं।  
(युवा नेता, राप्रपा)

प्रकाशित: २० आश्विन २०७७ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App