coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कोभिड–१९ लडाइँमा स्वास्थ्यकर्मी

समय अचम्मकै चलिरहेको छ । अन्योल, विश्मय र हृदयकण्टक भयको वातावरणमा मान्छेले मान्छेसँग मुख लुकाउनुपर्ने र दूरी बढाउनुपर्ने स्थिति छ । यस्तो स्थितिको परिकल्पना निकट भूतकालसम्म पनि कसैले गर्ने आँट गरेका थिएनन् । तर प्रकृतिसँग अन्तरिक्षचारी र आकाशगामी मानवको पनि केही नलाग्ने रहेछ भन्ने दृष्टान्त अहिले संसारले देखिरहेको छ । यसैबीच बाँचिरहेको छ । हामी सबै संसारीले भोगिरहेका छौँ ।  

हृदय सधैँ अस्थिर रहन्छ । घरबाट बाहिर जाँदा र बाहिरबाट घरभित्र पस्दा सधैँ एउटा भारले थिचिरहन्छ । कतै मलाई त लागेन ? कतै म त संक्रमित भइन ? कतै मेरो कारणले मेरो परिवार, आमाबुबा, छोराछोरी, इष्टमित्रले दुःख त पाउँदैनन् ? कतै उनीहरूका लागि रोगको बाहक त म बन्दिन ? यस्तै अनेकानेक तर्कना, प्रश्न र प्रतिप्रश्नले मथिङ्गल कुटुकुटु खाइरहन्छन् ।  

कसैको नजिक जान मन लाग्दैन । कसैसँग बोल्ल र नजिकिन मन लाग्दैन । सबैले मुख छोपेका छन् । हठात् कसैले बोलाइहाल्यो भने पनि चिनिँदैन । दाइँमा जोतेको गोरुको मुखमा जस्तै सबैको मुखमा मास्क ढाकेको छ । सबै भित्रभित्रै गर्मीमा पिल्सिएका छन् । निसास्सिइरहेका छन् । तर पनि खोल्ने हिम्मत छैन । खोल्नु पनि भएन । सबैले यसै भन्छन्– खोल्नु हुँदैन रे, बोल्नु हुँदैन रे ।  

दिनानुदिन नयाँ आँकडा । नयाँ संख्या । नयाँ कीर्तिमान । नयाँ विवाद । नयाँ आलोचना । तर कारण र परिस्थिति पुरानै । उही डर । उही अनिश्चितता । तर पनि सबै एउटै आशामा । हरेकको मनमा एक झुटो आशा । एक फोस्रो सान्त्वना । लाग्छ, म त बाँच्छु । म त सुरक्षित छु । डर, त्रास र अनिश्चिततासँगै एउटा कृत्रिम आश्वासन सबैले आफूलाई र आफ्ना प्रियजनलाई दिइरहे जस्तो । 

उनीहरूलाई साथ दिन सुरक्षा र कर्मचारीतन्त्रका केही साझेदार सँगै भए पनि स्वास्थ्यकर्मी जति यस लडाइँमा प्रत्यक्ष बम र बारुदमाथि हिँड्न बाध्य छन्, त्यति सायद अरू कोही छैनन् । 

यी सबै उहापोहका बीच हाम्रै समाजका केही वर्ग छन् जो यस अदृष्य शत्रुसँग मोर्चाबन्दी गरेर दिनहुँ लडिरहेका छन् । स्वास्थ्यकर्मी ती वर्गमध्ये उच्चतम स्थानमा पर्छन् पक्कै । कारण– उनीहरू यो महामहारीसँगको सामाजिक लडाइँको अग्रिम पंक्तिमा छन् । जहाँ सर्वसाधारणले रोगीको त परै जाओस् अन्य सामान्य व्यक्तिसँग पनि दूरी बनाउन खोज्छन् । तिनै स्वास्थ्यकर्मीहरू रोगीको खोजतलास, परीक्षण, पहिचान र उपचारमा अहोरात्र खटिइरहेका छन् । लाग्छ, उनीहरू यो खतरा भन्दा माथि छन् । खतरा उनीहरूलाई पनि अरूलाई जस्तै छ तर कामको जिम्मेवारी खतराको डरभन्दा बलिष्ठ छ । डर र त्रासलाई पैतालामुनि राखेर उनीहरू मैदानमा डटिरहेका छन् । आफ्नो खोपीमा लुक्ने र जीवनलाई अत्यन्त सीमित बनाएर सुरक्षित हुने चेष्टा गर्ने हामी सर्वसाधारणका लागि उनीहरूको यो जुझारूपन र सक्रिय भूमिका उच्च प्रशंसायोग्य छ ।  

प्रसंग साउन चौथो सातातिरको हो । मेरो कार्यालयमा पनि व्यक्तिगतरूपमा पैसा संकलन गरी केही जनाको सामूहिक पिसिआर नमुना संकलन गर्ने कार्यक्रम बन्यो । परीक्षणको नतिजाप्रतिको कौतुहलता, सकारात्मक देखिएमा त्यसको परिणति आदिबारे मनमा अनेकन तरङ्ग आए । डर पनि लाग्यो । राम्रै रिपोर्ट आउला भन्ने आश पनि ।  

निर्धारित समयमा नै उनीहरूको आगमन भयो, रोचक तरिकाले । यान चढ्न सुसज्जित अन्तरिक्ष यात्री जस्तो शिरदेखि पाउसम्म सुरक्षा पोशाक (पिपिइ) लगाएका दुई महिला स्वास्थ्यकर्मी र एक पुरुष हामीमाझ उपस्थित भए । गर्मीको सो समयमा हामी सबैलाई एकसरो कमिज र पाइन्टमा पनि पसिना छुटिरहेका बेला ती स्वास्थ्यकर्मी शिरमा विशेष टोपी, अनुहार छेक्ने सिल्ड र वर्षादी जस्तो पूरै शरीर ढाक्ने प्लास्टिकको सुरक्षा पोशाकमा डटिरहेका । उनीहरूलाई देख्दा मात्र पनि गर्मी बढेजस्तो महसुस भयो ।  

हामीले विश्मित हुँदै रमिता हेरिरहँदा टोली भने आफ्नो काममा तत्काल सक्रिय हुन थाल्यो । एक एक गरी हामी सबैको नाकमा लामो सुइरो घुसाउँदै, घुमाउँदै र निकाल्दै गरेर स्वाब संकलन गरियो । हरेकको छुट्टाछुट्टै विवरणसहितको अभिलेख राखी सुरक्षित गर्ने काम भयो । नाकमा त्यति लामो सुइरो घुसाउँदा लगभग सबैको आँखामा आँसु आयो । एक दुई जनाले त सातो जाने गरी नै हाच्छिउँ गरे । स्वास्थ्यकर्मीले त्यसको समेत निर्मलीकरण गर्न स्प्रे छर्किनुप¥यो ।  

तर कसैले खोक्दा र नजिक आएर बोल्दा पनि टाढिनुपर्ने परिवेशमा शान्त भएर ती योद्धाहरू काममा लागिरहे । उनीहरूको काम गराइ, भेषभूषा, हरेकपटक फेरिएका रबर पञ्जा, हरेकपटक छर्किएका स्प्रे देख्दा सुरक्षित कसरी रहने भन्ने कुराको प्रत्यक्ष अवलोकन पनि गर्न पाइयो । सँगसँगै तीव्र तनाव र प्रत्यक्ष खतराका बीच पनि उनीहरूको कामप्रतिको लगाव र नियमबद्ध तौरतरिकाले मनलाई आनन्दित र उनीहरूप्रति विनित बनायो ।  

त्यसैको भोलिपल्ट नियमित स्वास्थ्य परीक्षणका लागि नजिकैको पोलिक्लिनिक गएँ । त्यहाँ पनि कर्मचारी, नर्स, डाक्टर, ल्याबमा बस्ने मानिस आआफ्नो काममा लागिरहेकै थिए, सामाजिक दूरी कायम गर्ने प्रयास गर्दै, सुरक्षा उपायहरू अपनाउँदै र सोबारेमा हामीजस्ता आगन्तुकलाई बताउँदै । मास्क लगाउन सिकाउनेदेखि ससाना बालबालिकालाई अनावश्यकरूपमा सँगै लिएर नहिँड्न सुझाव दिने कामसमेत गरिरहेका थिए । रिपोर्ट हेर्ने डाक्टरसाबले त आफ्नो दिनचर्या नै यस महामारीले परिवर्तन गरेको कुरा बताए ।

त्यतिमात्र हैन, आफ्नो स्वास्थ्य र जीवनमै संकट ल्याउन सक्ने यस विषम चुनौतीको सामना गर्दा आफ्नो शारीरिक र मानसिक सन्तुलन कायम राख्न आफूले अपनाएका उपायसमेत उनले बताए, एक गुरुले शिष्यलाई विशिष्ट व्यावहारिक ज्ञान प्रदान गरे जस्तै । व्यायाम, योग, सकारात्मक सोच, सन्तुलित आहारबिहार आदिका अनेक उपयोगी जानकारी उनीबाट प्राप्त गर्दा निकै हलुका महसुस भयो । जुन स्वास्थ्यसम्बन्धी तनावले त्यहाँ पु¥याएको थियो त्यो आधा कम भइगयो । त्यो भन्दा पनि ती डाक्टर, नर्स, ल्याब प्राविधिक, अन्य कर्मचारीसमेत यसरी अग्रपंक्तिमा रहेर पनि विचलित नभई काम गरेको देखेर ‘मेरो समस्या त धेरै सानो रहेछ’ भन्ने बोध पनि भयो ।  

लडाइँ राम्रो र रमाइलो हुँदैन । अनिश्चितता, अन्योल र शंकाले मानसिक शान्ति र सन्तुलनलाई जितेको हुन्छ, थिचेको हुन्छ । साधारण नागरिकलाई पनि त्यसले गम्भीररूपमा छोएको हुन्छ । अझ रोग र विपत्तिसँगको लडाइँमा न दुश्मन राम्रोसंग देखिन्छ न उसको संख्या र शक्ति नै थाहा हुन्छ । आफ्नै नाकमुनि वा शरीरभित्र बास गरिसकेको दुश्मन पनि तबसम्म देखिँदैन जबसम्म उसको कुकृत्यले आफ्ना शरीरका अवयवहरू गलित र विचलित हुन थाल्दैनन् । र यही अदृष्य र अधिकांशका लागि अगम्य लडाइँको अग्रपंक्तिका कमान्डर र योद्धा हुन स्वास्थ्यकर्मी ।  

हुन त उनीहरू पनि आममानिस जस्तै हुन । उही जीवन । उही परिवेश । उही डर, त्रास र संवेदनाका छालहरू । उही घर÷परिवार र प्रियजनहरू । काममा जान रोक्ने उही अनुनयहरू । निराशा र हडबडीमा साथ र भर दिने उही काख, अङ्गालो र उठेका आशीर्वादी हातहरू । तर हामी साधारणजन लडाइँबाट भाग्न सक्छौँ । लडाइँ र विशेष समयको बहानामा हुटिट्याउँले झैँ बालुवामा मुन्टो गाडेर सुरक्षाको गलत भावनामा मग्न हुन सक्छौँ । उनीहरू सक्दैनन् । यो लडाइँ सारा समाजका लागि उनीहरूले नै लडिरहेछन् । उनीहरूलाई साथ दिन सुरक्षा र कर्मचारीतन्त्रका केही साझेदार सँगै भए पनि स्वास्थ्यकर्मी जति यस लडाइँमा प्रत्यक्ष बम र बारुदमाथि हिँड्न बाध्य छन्, त्यति शायद अरू कोही छैनन् ।  

हुन त स्वास्थ्य संस्था र कर्मीहरूमा पनि समान समर्पण र साहस नहुँदो हो । स्वाभाविक पनि हो । लडाइँको मोर्चामा रहने सबै त्यत्तिकै तत्पर, आँटिला र समर्पित हुँदैनन् । तर जति लागेका छन् उनीहरूको समर्पण, साहस र त्यागपूर्ण सत्प्रयासले समग्र स्वास्थ्य क्षेत्रको गरिमा, महत्व र सम्मानलाई चुल्याएको छ । उनीहरूको भूमिका जीवनातीत पक्कै छ । उनीहरू एक निश्चित पेसाका पेसाकर्मी मात्र नभएर वर्तमान समाजले कहिल्यै कल्पना गर्न नसकेको यस महायुद्धका अग्रपंक्तिका साहसी योद्धा हुन् । उनीहरूले भने जस्तो सुरक्षा र नियन्त्रणका अभ्यासलाई हाम्रो जीवनमा उतार्न सक्नु नै ती योद्धाप्रतिको साँचो सम्मान हुनेछ । उनीहरू सबैलाई सलाम ।

प्रकाशित: १९ भाद्र २०७७ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App