२१ असार २०८१ शुक्रबार
image/svg+xml
विचार

पुस्तकालय परिचर्चा

सन्दर्भ पुस्तकालय दिवस

नेपालमा पुस्तकालयको इतिहांस खोज्ने क्रममा २०६४ भदौ ३ गते त्रिवि पुस्तकालय विभागका उपप्राध्यापक एवं नेपाल पुस्तकालय सङ्घका पूर्वअध्यक्ष रुद्रप्रसाद दुलालको संयोजकत्वमा पुस्तकालय विधाका विष्णुप्रसाद अर्याल, डा. अशोक थापा र यज्ञराज भट्ट रहेको एक समिति बन्यो (बाह्रौँ पुस्तकालय दिवस, २०७६ पृ.३८) । समितिले इतिहांसविद् त्रिरत्न मानन्धर र दिनेशराज पन्तसँग सल्लाह लिएर गीर्वाणयुद्धवीरविक्रम शाहले ‘पुस्तक चिताई तहबिल’ स्थापनाको लालमोहर लगाएको दिन १८६९ भदौ १५ गतेको दिनलाई नेपालमा पुस्तकालय सुरु भएको दिन मान्न सकिने राय ठहर पेस ग-यो । यसैलाई मान्यता दिइ २०६५ सालदेखि यो दिवस मनाइआइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व र अभिभावकत्वमा नेपालभर सबै शैक्षिक संस्था एवं पुस्तकालयहरूमार्फत विविध कार्यक्रम आयोजना गरी झण्डै भदौभर यो दिवस मनाउने गरिन्छ ।  

प्रत्येक वर्ष एउटा आदर्श वाक्य दिएर त्यसलाई सार्थक पार्ने अभियान थालिएको छ । हालसम्म ती आदर्श वाक्यहरू क्रमशः ‘सबैका लागि पुस्तकालय’, ‘पुस्तकालयको विकास नयाँ नेपालको निकास’, ‘सूचना ज्ञान र सिपका लागि पुस्तकालय’, ‘समृद्ध नेपाल निर्माणका लागि पुस्तकालय’, ‘पुस्तकालय जाऔँ पढ्ने बानी बसालौँ’, ‘एक गाउँ एक पुस्तकालय’, ‘एक विद्यालय एक पुस्तकालय’, ‘पुस्तकालयको विस्तार सभ्य समाजको आधार’, ‘पुस्तकलाई माया गरौँ पुस्तकालयको विकास गरौँ’, ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’, ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक व्यवस्थित पुस्तकालय’, ‘समृद्ध पुस्तकालय ः सुदृढ समाज’, ‘पठन संस्कृतिको पूर्वाधार ः पुस्तकालयको विकास र विस्तार’ तथा यस वर्ष मनाइन गइरहेको तेह्रौँ दिवसका लागि आदर्श वाक्य वा नारा जे भनौँ, ‘समाज रूपान्तरणको लागि पुस्तकालय’ रहेको छ ।  

पुस्तकालयको उपादेयताबारे व्यापक जनचेतना अभिवृद्धि, पठन संस्कृतिको वातावरणमा व्यापकता, पुस्तकालयको स्रोतसाधन उपयोग गरी कक्षागत सिकाइलाई परिष्कृत गराउने, पुस्तकालय र सम्बन्धित संस्थाबीच भातृत्व विकास गर्ने/गराउने आदि उद्देश्य रहेको यस दिवसको दूरदृष्टि भने समग्रमा शिक्षा विकास र उन्नत समाज निर्माण नै रहेको छ । दिवसका क्रियाकलापहरूमा सरसफाइ, वृक्षरोपण, रक्तदानदेखि विद्यालय तहका विद्यार्थीबीच विभिन्न शैक्षिक प्रतियोगितालगायत प्रचार प्रसार तथा पत्रकार सम्मेलन, स्मारिका प्रकाशन गर्ने गरिन्छ । यसको साथै हरेक वर्ष उत्कृष्ट काम गर्ने पुस्तकालयकर्मी, पुस्तकालयमा बसी पठनपाठनमा सबभन्दा वढी रुचि राख्ने पाठक, उत्कृष्ट काम गरेर देखाउने पुस्तकालय र माथि उल्लिखित प्रतियोगिताहरूमा उत्कृष्ट हुनेलाई सम्मान एवं पुरस्कृत गरिन्छ ।  

भनिन्छ, पुस्तकालय भनेको जीवनपर्यन्त शिक्षा दिने एउटा खुला विश्वविद्यालय हो । चीनका माउत्सेतुङलगायत विश्वका केही ठूला व्यक्तिहरूले पुस्तकालयसँग ज्यादै निकटमा रहेर आफ्नो व्यक्तित्वलाई विकास गरेका थिए । विकसित देशहरूमा पुस्तकालयलाई पर्याप्त महत्व दिइएको हुन्छ । राष्ट्रिय पुस्तकालयदेखि शैक्षिक पुस्तकालय, सार्वजनिक (सामुदायिक) पुस्तकालय एवं विशेष पुस्तकालयहरूको देशव्यापी प्रणाली सिर्जना गरिएका हुन्छन् । पुस्तकालय जस्तो शैक्षिक संस्थामा राज्यले नै पर्याप्त लगानी गर्ने हो । सोको प्रतिफल त देशमा तयार हुने उत्कृष्ट जनशक्तिबाट पछि प्राप्त हुने हो । यति हुँदाहुँदै पनि नेपालमा राज्यले यस विधामा पटक्कै ध्यान नदिनु भनेको ठूलो विडम्बना हो ।  

पुस्तकालय प्रणाली बनोस् भनेर २०३० को दशकदेखि लागेका अभियन्ताहरूले झण्डै पांच दशक बिताएछन् । सबै पुस्तकालय पद्धति नबन्दै पनि सर्वोच्च निकाय राष्ट्रिय पुस्तकालय त चाहिन्छ । यो किन चाहिएको हो भने देशको सान, मान, कला, संस्कृतिले युक्त भवनमा विदेशका राष्ट्राध्यक्षलगायत विशिष्ट पाहुनाहरू आउँदा स्वागत गर्ने निकाय भएकाले, नेपाल र नेपालको बारेमा नेपाली वा जोसुकैले स्वदेशमा वा विदेशमा जहाँसुकै प्रकाशन÷निर्माण भए÷गरेका सामग्रीहरू संकलन गरी सोको उपयोग तथा भावी सन्ततिका लागि संरक्षण गर्ने भएकाले, नेपालमा प्रकाशितलगायत यी सामग्रीहरूको वार्षिक सूची बनाएर प्रचार÷प्रसार गर्नुपर्ने भएकाले, सातै प्रदेशका कला÷संस्कृतिसम्बन्धी सामग्रीहरूको जगेर्ना एवं संरक्षण गर्नुपरेकोले, .... एवं स्वदेशी तथा विदेशी पाठकहरूलाई नेपालका बारेमा आवश्यक सूचना सामग्री प्रदान गर्न सबैका लागि पायक पर्ने तथा सुविधायुक्त स्थानमा यो स्थापित हुनुपर्ने भएकाले ।  

नेपाल सरकार यसलाई किन प्राथमिकता दिइरहेको छैन ? के सरकारले इतिहास बिर्सेको हो ? तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य चीन जाँदा कोलकातामा रहेको भारतीय राष्ट्रिय पुस्तकालय अवलोकन गरेर फर्केपछि यसको महत्व देखेर २०१३ सालमा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना भएको हो । २०१८ सालदेखि हरिहरभवनको एउटा तलामा कोचिएको यस्तो राष्ट्रिय महत्व बोकेको संस्थालाई आशातीतरूपमा सम्वर्धन र विकासमा सरकारको ध्यान पुगेको थिएन । पुरानो भवन भएकाले पानी चुहिँदा त्रिपाल आदिले छोपेर किताव आदि सामग्री जोगाउँदै आएको अवस्थामा, २०७२ वैशाख १२ गतेको भूकम्पले सो भवन नै भत्काइदिँदा त यहाँ रहेका सामग्री जोगाउन बहुत कठिन भएको थियो । जसोतसो सामग्री जोगाएर महेन्द्रभवन विद्यालय, ज्ञानेश्वर र सानोठिमी शिक्षा कार्यालयहरूमा कोचेको पनि अहिले आएर पाँच वर्ष भन्दा बढी भइसकेको छ ।  

नेपाल राष्ट्रिय पुस्तकालयले राष्ट्रिय प्राथमिकता पाउन नसकेको अवस्थामा पुस्तकालयसेवी, प्रेमी एवं अभियन्ताहरू निरन्तर लागिरहेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा २०७५ साल असोज २८ गतेको मन्त्रिपरिषद्ले नेपालको कला, संस्कृति एवं पहिचान प्रष्ट झल्किने गरी जमलस्थित सरकारी जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि नेपाल राष्ट्रिय पुस्तकालयको नाममा जग्गा धनी प्रमाणपूर्जा प्राप्त गरी, मन्त्रिपरिषद्को निर्देशन अंगीकार गरी भवनको स्वरूप निर्माण गराएर, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षणलगायतका काम सकी काठमाडौँ महानगरपालिकामा लाग्ने दस्तुर बुझाएर नक्सा पास भई बोलपत्र प्रकाश गर्ने अवस्थामा पुगेको थियो । त्यहीबेला अकस्मात २०७७ साउन ५ गते मन्त्रिपरिषद्को निर्णय ‘...भवन निर्माण गर्न स्वीकृति प्रदान गरिएकामा अर्को निर्णय नभएसम्म उक्त भवन निर्माणको काम नगर्ने÷नगराउने’ भनेर आएकाले पुनः अन्योलको स्थिति पैदा भएको छ । पत्रपत्रिका एवं विभिन्न समाचार माध्यममा यताउताका धेरै कुरा आएका छन् । बहुतले व्यापारिक भवन बचाउने रे, हैन त्रिचन्द्र क्याम्पस पो त्यहां सर्ने रे, विस्तारित टुँडिखेल आउने रे, अब त्यहाँ केही पनि बनाउन नदिने खाली नै राख्ने रे ? सरकारको एउटा निर्णय भएर काम अघि बढिरहेको अवस्थामा यस्ता प्रकारका अन्योल, चाहिँदा कुरा सञ्जालमा ल्याउने काम नै मन्त्रिपरिषद्को पछिल्लो निर्णयले गरेको छ । के सरकार जस्तो निकायबाट आज एउटा भोलि अर्को निर्णय आउन हुन्छ ? के यो भूकम्प गएर बिस्तापित भएकालाई तत्काल पाल राखेर बसोबास गराउन ठाउँ चाहिएको अवस्था हो ? त्यस्तो विपत्तिको बखत भने यस्तो निर्णय हुन सक्छ, हुनु पनि पर्छ । हैन भने यो त केटाकेटीपनाको प्रतीक भएन र ?  

माथि भनिएझैँ पुस्तकालय दिवसले लक्षित गरेका आदर्श वाक्यले इंगित गरेका दूरदृष्टिअनुसार एकपछि अर्को पाइला अघि बढ्नुपर्नेमा यसरी हामी अल्झिने, उल्झिने, पक्ष÷विपक्षमा वाक्युद्धमा जुट्न थाल्यौँ भने कसरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुन्छौँ होला ? सरकार नेपाल राष्ट्रिय पुस्तकालयको बारेमा सम्वेदनशील भई पछिल्लो निर्णयको आशयलाई अविलम्ब रद्द गरी निर्माणको काम थालनी होस् । यस वर्षको पुस्तकालय दिवस मूल समारोह कार्यक्रममा थाती रहेको राष्ट्रिय पुस्तकालयको निर्माण सुचारु हुने जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आओस् !  
(संस्थापक अध्यक्ष, नेपाल पुस्तकालय सङ्घ

प्रकाशित: १५ भाद्र २०७७ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App