चीनको वुहानमा २०१९ डिसेम्वरबाट सुरु भएको कोभिड–१९ ले विश्वका विभिन्न देश हुँदै नेपाललाई पनि अछूतो छाडेन । २०७६ साल चैत ११ गतेदेखि यसको संक्रमणलाई कम गर्न नेपाल सरकारले मुलुकमा लकडाउन घोषणा गर्यो । क्वारेन्टाइन बनाइए । सार्वजनिक स्थान र भिडभाडमा मास्क प्रयोग गर्न लगाइयो । मानवीय दूरी कायम गर्न भनियो । स्यानिटाइजरको प्रयोग गर्न र –यापिड डायग्नोस्टिक किट्स र स्वाब लिएर संक्रमित भए/नभएकोतिर लागियो । अझ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले त यो संकटको घडीमा अग्रपंक्तिमा रहेर ‘सेवा हि परमो धर्म’ भन्ने सम्झेर सेवामा लागि परे । उनीहरूको प्रोत्साहनका लागि सरकारबाट राष्ट्रव्यापीरूपमा मैनबत्ती बाली, ताली बजाइ, राष्ट्रगानबाट साहस बढाउने काम गरियो ।
आज मुलुकमा लकडाउन भएको ५ महिना पूरा हुन लाग्दासम्म भाइरसको प्रकोप तीव्ररूपमा वृद्धि भइरहेको छ । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ । जसका कारण बालबालिका, महिला, वृद्धवृद्धा र दीर्घरोगी भने भयभित छन् । रोगले भन्दा पनि त्रासले समस्या ल्याउने हो कि भन्ने चिन्ता थपिँदो छ । मुलुक विषम परिस्थितिमा छ । दिन/प्रतिदिन बढ्दै गएको लकडाउनले मानिसका दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न अभाव हुन थालेको छ । बेरोजगारी, किस्ते ऋण ताकेताको चाप, विदेशमा आफन्त वा परिवारजन अलपत्रमा परी भोग्नुपरेको पीडा आदिले नागरिकको सरकारप्रतिे वितृष्णा पलाउने हो कि भन्ने छुट्टै चिन्ता छ । त्यसैले यो बेला फुटेर भन्दा पनि जुटेर अगाडि बढ्नुपर्छ । यस्ता अंकुरलाई पलाउन नदिनका लागि सरकार र नागरिक दुवैले उत्तिकै दायित्व लिनुपर्छ ।
सरकारले गरेको सरसफाइसम्बन्धी सचेतना र सञ्चार माध्यमबाट नियमित प्रसारित सामग्रीले केही टेवा पुगे पनि यो पर्याप्त छैन । राज्यको मात्र भर पर्ने र नागरिक मात्र लागिपरेमा पनि कोरनासँगको लडाइँमा विजय हासिल गर्न गाह्रो हुन्छ । यस्तो विषम परिस्थितिसँग जुध्न दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्छ ।
मानवीयता
यो हरेक नागरिकले आफ्नो कर्तव्य पालना गर्ने समय हो । कुनै व्यक्ति असल हुन उसको चिन्तन र व्यवहार शिष्ट हुनुपर्छ । राष्ट्र प्रेम हुनुपर्छ । यो तरल अवस्थामा देशको सर्वजनिक सम्पत्तिको बेवास्ता गरी दोहन हुनबाट बचाइ संरक्षण र सुरक्षाका लागि हरेक नागरिकको उत्तिकै दायित्व हुन्छ । राष्ट्र प्रेम राष्ट्रियताको एक पक्ष हो भने हामी असल छौँ, हाम्रो व्यवहार असल छ भन्नुचाहिँ त्यसको अर्को पक्ष हो । जिम्मेवारी लिन सक्ने क्षमता हामीमा नभए पनि आफूलाई त्यसमा स्थिर राख्ने जिम्मेवारी भने हाम्रै हो । म सानो हुँ, मेरो केही जिम्मेवारी छैन भनी निच मार्नुहुन्न ।
पद भनेको कसैले दिएको सामान हो, उसले जति बेला पनि फिर्ता माग्न सक्छ । उसले मागेपछि रिक्त नै हुने हो । निःस्वार्थ सहयोगमा ठूलो आनन्द छ । व्यक्ति–व्यक्ति बीचको स–सानो सहयोगले नै भविष्यमा आउने ठूलो क्षति हुनबाट जोगिन सकिन्छ र देशलाई पनि जोगाउन सकिन्छ । हालको अवस्थामा सरकारले देशव्यापीरूपमा स्वयम्सेवकको आह्वान गर्न सक्नुपर्छ । हजारौँ हजार जनशक्ति स्वयम्सेवकका लागि तयार छन् । लिनुभन्दा दिनुमा भिन्नै आनन्द मान्नेको यहाँ कमी छैन, आफू भोकै बसेर भए पनि अरूलाई खुवाउँदा रमाउनेको पनि कमी छैन । अरूलाई दिन पाउँदा खुसीको स्वाद नै भिन्नै हुन्छ । यस्ता जनशक्तिलाई उपयोगमा ल्याउन सक्नुपर्छ । जसको जस्तो किसिमको क्षमता र योग्यता छ । त्यहीअनुसारको कामको जिम्मेवारी दिन सकिन्छ ।
हरेक समस्याको विकल्प हुन्छ । विकल्पसहितको समाधान खोज्नतिर लाग्नुपर्छ । सर्वसाधारणलाई दबाबमा भन्दा पनि सम्झाएर, बुझाएर, प्रशिक्षण दिएर परिवर्तन गर्न सकिन्छ । इतिहास फर्केर हेर्दा जुनसुकै परिवर्तनका लागि पनि तीन कुरा आवश्यक हुन्छ । यी हुन्– पहिलो कर, दोस्रो डर र तेस्रो रहर । अहिलेको परिस्थितिमा तेस्रो कुरा अति महत्वपूर्ण र उपयोगी छ । नागरिक र सरकार दुवैले सेवा (रहर) को भावनाले काम गर्ने हो भने यस परिस्थितिमा सहजरूपमा अवतरण गर्न सकिन्छ । आत्तिनुभन्दा प्रकृति र प्रकृतिमा रहेका हरेक जीवात्माबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ । लेखनाथ पौडेलले भनेझैँ ‘मानौं कोइली मौन व्रत हुन्छे शीतकालमा’ अहिले मौन हुने समय आएको छ । र, पर्खन गाह्रो भए तापनि चाँडै नै वसन्त आउँछ । एक दिन सबै सहज हुन्छ भन्ने सोचेर बाँच्ने र बचाउनेतिर लागौँ ।
संविधानमा नागरिकको कर्तव्य
नेपालको संविधानको भाग ३ को मौलिक हक र कर्तव्यको धारा ४८ को (क) मा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्नु । यसै धाराको (ख) मा संविधान र कानुनको पालना गर्नु रहेको छ भने उपधारा (ग) मा राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु र (घ) मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु भनिएको छ । बुँदागतरूपमा थोरै भए पनि यसमा गहन कुराहरू समेटिएका छन् । नागरिक भएको नाताले हरेक नेपालीले यी बुँदाहरूको पालना गर्नु जरुरी छ । सरकारसँग आफ्नो अधिकार दावी गर्दा नागरिक भएर कर्तव्यको कति पालना गरेको छु भन्ने कुरा सोच्न पनि जरुरी हुन्छ ।
संविधानमा उल्लेख कर्तव्य र मानवीय दायित्व दुवै पालना गरौँ । एकले अर्कालाई दोषी चस्माले हेर्नु भन्दा पनि मानवीय आँखाले हेरौँ र कोरोना भाइरसलाई परास्त गर्न सबै लागौँ । जटिल परिस्थितिसँग जुधेर सरकारले नागरिकप्रतिको दायित्व नभुलोस् वा कुनै पक्षपात नगरोस् । सरकारलाई व्यक्ति, घर, परिवार, समाज, समुदाय आ–आफ्नो बलबुताले भ्याएको सहयोग गरौँ । क्षमताअनुसारको काम गर्नका लागि बच्चा, युवा, बूढा, महिला सबैलाई सहयोग र प्रेरित गरौँ ।
यति मात्र हैन, नियमित योगा गरौं । व्यायाम गरौँ । सेवाको भाव राखौँ । एउटाले गरेको सकारात्मक कामको अर्काले खुलेर प्रशंसा र सहयोग गरौँ । यसले मानिसमा सेवाको भावना विकास भई सकारात्मक सोचमा वृद्धि भई थप काम गर्ने हिम्मत र जाँगर पैदा हुन्छ । मानसिक तनावमा कमी आइ रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी पावर) वृद्धि हुन्छ र महामारीसँग जुध्ने शक्ति प्राप्त गर्न सकिन्छ ।
हरिपुर, सर्लाही
प्रकाशित: १२ भाद्र २०७७ १४:५२ शुक्रबार