त्यो गोलघुम्तीभित्रको सानो बगैंचा हेरिरहँदा धेरैका मनमा प्रश्न आउनुपर्ने हो बोटबिरुवामा सुन्दरता कुँद्ने ती हात कस्ता होलान्? कुन कर्मवीरका होलान् कलाले आप्लवित ती हात? कसरी देख्दा हुन् तिनले बोट बिरुवामा लुकेका सुन्दर आकृति? झ्याङहरूमा लुकेको सुन्दरता र ती बगैंचेका आँखा कसरी खेल्दा हुन् लुकामारी? सर्जक र सृजनाबीचको त्यो 'कुक्कु? हा!' को खेलमा लुकेको सुन्दरतालाई च्याप्प समातेर कसरी बाहिर ल्याउने होला त्यो सर्जकले? कसको विचार र दृष्टिले होला यो सब सम्भव भएको? अनि, कुनै पनि सुन्दर चीजलाई भत्काउन, बिगार्न आतुर अभागी, मूर्ख र पापी हातहरूबाट कसरी जोगिन सकेको होला सुन्दरताको त्यो सानो टुक्रा?
अलिकति मेहनत गर्ने हो भने यी सबै प्रश्नको उत्तर सजिलै मिल्दो हो। ती असल मानिसलाई प्रत्यक्ष चिनेर एकचोटी मनभरी 'धन्यवाद' सम्म भए पनि भन्न पाइँदो हो। तर अनेक निहुँ पाउँदोरहेछ आलश्य र अकर्मण्यताले - बगैंचामा फूलसँग रम्ने र शहरलाई सुन्दरता दिन प्रयत्नरत् ती प्रतिभावान र जिम्मेवार नागरिक(हरू)प्रति कृतज्ञतासम्म पनि व्यक्त गर्न सकेको छैन आजसम्म। त्यो सानो टुक्रा जमिनमा हाँसिरहेको हरेक सुन्दर चीजले यो देशका नागरिकलाई भनिरहेजस्तो लाग्छ- सौन्दर्यको बीज जताततै छ यो देशमा। तिनलाई तुहिन नदिए पुग्छ तिमीले। त्यो बीजको अलिकति स्याहार गरिदिए पुग्छ तिमीले। ए, यो देशका नागरिक हौं भन्नेहरू! तिमीले हेरीमात्रै दिए पनि, देखिमात्र दिए पनि सौन्दर्यले आफैं बाटो पहिल्याउँछ।
तर कहाँ छन् खै त्यो सुन्ने कानहरू? केले बहिरो बनाएको छ सबैलाई? केले गर्दा सौन्दर्यचेत विलीन भएको छ धर्तीको यो टुक्राबाट? प्रकृतिले दिएको होस् वा मानिस स्वयंले सृजना गरेको होस्- सुन्दरतालाई बिगार्न, भत्काउनमात्र लालायित किन देखिन्छन् मानिसकै धेरै हात? जीवनमा थोरै सुन्दरता थपौं भन्ने कुरामा किन उदासिन छौं हामी? जताततै थुक्न, पिसाब फेर्न, फूल चुँड्न, बार भत्काउन, किन रत्तिभर अप्ठ्रो लाग्दैन मानिसलाई? राष्ट्रिय रोग हो यो हाम्रो? कि गरिबीजन्य बाध्यता? शायद यी दुवै सत्य हैनन्।
आज चीनले गरेको अभूतपूर्व उपलब्धिबारे सुन्दा सबैलाई अचम्म लाग्छ। म सुन्छु- सांघाईजस्ता शहरका हरेक सडकखण्डलाई अद्भूत ढङ्गले सिंगारिएको छ रे अचेल। विशाल पश्चिमा शहर हुन् वा अत्यन्त द्रुत गतिमा विकास भइरहेका नवविकसित पूर्वीय देशका आधुनिकतम शहर - चिनिया महानगरका अघि फिक्का हुन थाले रे अब। चीनको कुरा यतिबेला किन सम्झिरहेको छु भने त्यो देशको अर्को अनुहार पनि कुनैबेला देख्न पाएको थिएँ।
चिनियाहरू उहिल्यैदेखि सौन्दर्यचेतमा धनी मानिन्छन्। तर त्यही चीनमा पनि इतिहासका विभिन्न कालखण्डमा सौन्दर्यविरुद्ध जेहाद छेडिएको थियो भन्दा आजका युवा पुस्तालई पत्याउन गाह्रो हुन्छ। मैले पनि सुनेकोमात्र हो, चीनमा ५० को दशकको अन्त्य र ६० को दशकको सुरुवातताका 'समाजवादी निर्माणमा ठूलो छलाङ' का नाममा अनेक अव्यावहारिक र अस्वाभाविक काम भएका थिए रे। त्यसबेला भएका अनौठा र मूर्खतापूर्ण लाग्ने कामबारे सुन्दा साँच्चै अचम्म लाग्छ। 'क्रान्तिकारी जोश' का साथ बगैंचा ध्वस्त पार्नु, घर आँगन र बाटोछेउका फूलका बूटा उखेलेर फ्याँक्नु जस्ता बहुलट्ठी सामान्य भएका थिए रे त्यसबखत। किन भन्दा महान समाजवादी निर्माणका निम्ति ती 'बुर्जुवा सोख र शानका कुरा' बाधक भए रे!
धेरैपछि, ७० को दशकमा, त्यसबखतका केही चिनिया बुद्धिजीवीको घरमा पस्ने मौका पाएको थिएँ। भौतिक हिसाबले अझै गरिब थिए ती। 'सांस्कृतिक क्रान्ति' को धङधङी अझै बाँकी थियो। अहिलेको जस्तो जिन्दगीका साधनहरूको प्रचुरता त्यसै पनि थिएन चीनमा। सानो कोठामा जबर्जस्ती अटाएर बसेको हुन्थ्यो एउटा परिवार। तर त्यो गरिबी र विपन्नताबीच पनि सानो कोठालाई विनाकुनै तडकभडक तर स्थितिले दिएसम्म सुन्दर र सफा बनाएर राखेको हुन्थ्यो। गरिबीको बीचमा सुन्दरताले जुन पूजा पाएको हुन्थ्यो, ती साना कोठामा, त्यो वर्णनातित लाग्थ्यो मलाई। पन्ध्र बीस वर्षअगाडि मात्र फूलका बोटबिरुवालाई समेत सहन नसक्ने त्यही देशका तिनै मानिसमा कसरी यति मीठो सौन्दर्य प्रेम पलायो?
कुनै पनि समाजमा सौन्दर्यचेत शायद निश्चित कालखण्डको सामूहिक विचारको योगसँग सम्बन्धित कुरा हो। सामूहिक सोचको यस्तो योग जब गतिशील हुन्छ, संस्कृति मौलाउँछ। जब त्यो स्थिर र जड हुन्छ, अनि पूर्वाग्रह र अन्धविश्वास मौलाउँछन्। हामीकहाँ सौन्दर्यचेतविनाको, गतिहीन भइसकेको, अन्धविश्वास र पूर्वाग्रहका थुप्रालाई 'संस्कृति' को ट्याग झुण्ड्याएर राष्ट्रिय पहिचानका रूपमा बोकी हिँड्ने मूर्खताले शायद निरन्तरता पाइरहेको छ। र, यो खेलमा सौन्दर्यका बिउ मर्दैछन्, मास्सिँदैछन्।
सयौंहजारौं वर्ष पुराना, सुन्दर र दुर्लभ देवीदेवताका मूर्ति छन् यो देशमा जताततै। कत्रो लगन, आस्थाका साथ कुँदिएका होलान् ती मूर्ति! आस्थाका प्रतीक, कलाकारको समर्पणको प्रतीक, अद्भूत कलाकृति तिनै मूर्तिलाई अबिर, अक्षता, दूध, पानी, रक्सीलगायत्का अनेक लेप दलेर कुरूप पारेर 'पुण्य' कमाउन र 'शत्रुनाश' गर्न 'पूजा' गर्छन् मानिस। गणेश जस्ता सोझा, अक्रोध देवताको सुँढमा लड्डु कोचेर वा जाँड खन्याएर हेरिनसक्नु फोहोर र कुरूप पार्छन् मानिस। ती देवीदेवता कसरी बस्दा हुन् अझै पनि ती फोहोर कुरूप बनाइएका मूर्तिमा? 'बलि' का नाममा शक्तिपीठहरूमा विभत्स ढङ्गले जनावरको गर्दन छिनालेर र रगतको खोलो बगाएर धर्मरक्षाको कुरा गरिन्छ। एउटा विदेशीले भन्थ्यो रे- धर्म यस्तो हुन्छ यो देशमा भने पाप कस्तो होला?'
अनि यहीँ, यिनै मानिस, धर्मरक्षाका नाममा मारी नै दिने धम्की दिन्छन्, जीवनमा संघर्षरत् एउटा युवालाई, जो वर्तमानका अनेक विसंगति देख्न नसकेर पोखिन चाहन्छ चित्रहरूमा। अज्ञान, पूर्वाग्रह र अन्धविश्वास मात्रै हैन, आफ्नै धर्मप्रतिको समेत अनास्थाको उदाहरण हैन यो? अर्काथरी धर्मान्ध पनि छन् यहाँ। हामीले चाहे पनि नचाहे पनि, माने पनि नमाने पनि राजनीतिको नाममा पुरातन हुँदै गएका थरिथरिका निरर्थक अभ्यासले अझै पनि प्रशस्त भूमिका निभाइरहेका छन्। अझै केही समय यिनले केही न केही छेकिरहनेछन्, केही न केही बिगारिरहनेछन्, आफ्नो दलगत निकृष्ट स्वार्थका निम्ति मानिसलाई विभाजित गरिरहनेछन्, विकास र प्रगति रोकिरहनेछन्, सौन्दर्यचेतमा ग्रहण लगाइरहनेछन्। यो अभ्यासका खेलाडी जतिसुकै सस्ता र असान्दर्भिक भइसके पनि यिनलाई विस्थापित गर्ने नयाँ सोचका बाहकहरू अझै देखा परिसकेका छैनन्। तिनीहरूको पर्खाईमा छ यो भूमि।
यो अन्धकारकै बीचमा पनि उज्यालोका बिउ छन्। यो कुरूपताको सागरमा पनि सौन्दर्यका भ्रूण छन्। साँच्चै हो रहेछ यो कुरा। जब जब सबैखाले धर्मान्धता, पूर्वाग्रह, अस्वाभाविक विभाजन निषेध गर्दै विनाकुनै तडकभडक, चुपचाप सामजिक रूपान्तरणको यज्ञमा होमिएका नयाँ पुस्ताका प्रतिनिधि देख्छु, मलाई त्यस्तै लाग्छ। कहिलेसम्म रहन्छ कुन्नि, जावाखेलको गोलघुम्तीको त्यो बगैंचा! यतिखेर त्यो मेरा निम्ति आशा र मान्छेप्रति सम्मानको प्रतीक भएको छ। र, म ती हात चिन्न उत्सुक छु, जसले त्यो सौन्दर्य उत्खनन् गरे। लुकेर बसेका त्यस्तै अनगिन्ती हात भेट्न उत्सुक छु- कृतज्ञता व्यक्त गर्न।
प्रकाशित: ४ आश्विन २०६९ ००:१४ बिहीबार