विश्वमा कोरोना विषाणुले नछोएको मुलुक अहिले शायदै होला। समकालीन मानव सभ्यताले अनुभव गरेको र गरिरहेको यो महामारी हाम्रो पुस्ताका लागि सबैभन्दा भयानक हुनुपर्छ। पुस्तकका पानामा पढिएको शताब्दिऔँ पुराना महामारी कस्तो थियो होला भन्ने अनुमान गर्न अब हामीलाई कठिन नहोला। ६ महिना बितिसक्यो कोरोना विषाणु आतङ्कका कारण विश्व त्रस्त बनेको। आममानिसमा डर अझै हराएको छैन। रोग नियन्त्रणमा आइसकेका कतिपय मुलुकमा यसको दोस्रो लहर त आउने होइन भन्ने डर पनि उत्तिकै छ।
जाडोयाममा देखापरेको कोरोना विषाणु तापक्रम बढेपछि अन्त्य हुने अनुमान गरिएको थियो तर परिणाम आशातीत हुन सकेन। अहिले रोग संक्रमणमा न भौगोलिक सीमा देखिएको छ न त जलवायुको अवरोध नै। न त यसले संक्रमणमा जातीय वा नश्लीय विभेद गरेको छ न वर्गीय नै। यो विषाणुले सन् १९१८ को स्पेनिस फ्लुको महामारी जस्तै ज्यान त लिएको छैन तर अप्रत्याशितरूपमा फैलँदो परिस्थिति र अहिलेको आधुनिक विज्ञानको परिवेशलाई १०२ वर्षअघिको घटनासँग तुलना गर्ने हो भने यसको असरलाई कम आँक्न सकिन्न। किनकि त्यो बेला न महामारी कारक रोगको कारण थाहा थियो न त आजको जस्तो उपचार गर्ने पद्धति नै।
अहिले विश्व वैज्ञानिकहरूप्रतिस्पर्धात्मकरूपमा खोप विकासका लागि संघर्षरत् छन् तर यो पनि तत्कालै उपलब्ध हुने सम्भावना देखिँदैन। विश्व स्वास्थ्य संगठनले पनि दोस्रो लहरको खतरा अँझै रहेको सङ्केत गरिसकेको छ। त्यस्तै कोरोना विषाणुले अझै लामो यात्रा लिन सक्ने सम्भावनालाई समेत औल्याउन थालिएको छ। कतिपय वैज्ञानिक कोरोना विषाणुसँगै यात्रा गर्न मानव समुदाय पनि अब तयार हुनुपर्नेमा सहमत छन्। यी विश्लेषणले हाम्रो प्रतिरक्षा प्रणाली यो रोगसँग प्राकृतिकरूपमै लड्न सक्ने हुनुपर्छ भन्ने कुरालाई सङ्केत गर्छ। विगतका महामारीको अनुभव र वर्तमान परिस्थिति हेर्ने हो भने यसलाई अस्वीकार गर्न पनि सकिँदैन।
विगत घटनाले के पनि देखाएका छन् भने ठूलो मानवीय र आर्थिक क्षति पु-याएका महामारी मौसमी होइनन्।
महामारीको भविष्यवाणी
महामारीको इतिहास हेर्ने हो भने धरतीमा निस्किएका रोगहरू तत्कालै लोप भएका उदाहरण कमै भेटिन्छन्। सन् १७०० पछिका महामारीलाई विश्लेषण गर्दै जेम्स प्याटरसन नामका एक अमेरिकी लेखकले भनेका छन् कि प्रत्येक १०० वर्षको अवधिमा कम्तीमा ३ वटा प्रकोप देखिएको छ। यद्यपि महामारीको कुनै सीमित आवधिकता देखिएको छैन। सन् १९८९ पछिका महामारीहरू २८–२९ र १०–११ वर्षको अन्तरालमा देखा परेका तथ्याङ्क छ। कतिपय विश्लेषकले महामारीलाई सौर्य गतिविधि वा अन्य कारकको चक्रीय पुनरावृत्तिका आधारमा पूर्वानुमान गरेका उदाहरण पनि भेटिन्छन्।
वैज्ञानिक होपे सिम्पसनको ‘सूर्यकलङ्क’ र ‘फ्लु’को सम्बन्धबारे गरिएको एक अनुसन्धानपत्र सन् १९७८मा ‘नेचर’ जर्नलमा प्रकाशित भएको थियो। यो अनुसन्धानअनुसार इन्फ्लुएन्जा ‘ए’ नामको विषाणुको प्रतिजनिक परिवर्तन र तद्अनुसारको महामारी ‘सूर्य कलङ्क’ चक्रसँग मिल्छ। सन् १९३० देखि १९७० सम्मका महामारीहरू यो भनाइसँग मिल्दजुल्दा केही उदाहरण हुन्। तर १९७९ मा सूर्य कलङ्कसँग सम्बन्धित गतिविधि त भयो तर यो वर्ष पृथ्वीमा कुनै महामारीको सङ्केत भने देखिएन। यसैले यी तथ्य केबल अन्दाजभन्न सकिन्छ। किनकि विषाणुले ल्याउने महामारीहरू त आकस्मिकरूपमा देखिएका घटनामात्र हुन्।
महामारीको लहर र पुनरावृत्ति
महामारीको लहर अनुमान गर्दा विगतका महामारी केलाउनैपर्छ। भौगोलिक उद्गमका आधारमा हेर्दा स्पेनिस फ्लुको महामारी थोरै तलमाथि भए पनि युरोप, एसिया र उत्तर अमेरिकामा समानरूपमा देखिएको थियो। १२ महिनाको अवधि (१९१८–१९१९) मा यो रोग ३ फरक लहरमा फैलिएको थियो। यौरी गेनदोन र ताउबेनवर्गरन र मोरेंसको समूहले गरेको छुट्टाछुट्टै अध्ययन भन्छ– स्पेनिस फ्लु महामारीको पहिलो छाल १९१८को मार्चमा अमेरिका र अप्रिलमा उत्तर अमेरिकामा देखियो। युरोपेली राष्ट्र फ्रान्समा भने अप्रिलमा यो रोग महामारीका रूपमा देखा प¥यो र केही महिनाको अन्तरालमा यो रोग पूरै यूरोप र एसियाका केही भूभागमा फैलियो।
स्पेनिस फ्लु महामारीको वितरण प्रणाली समान थिएन तर संक्रमित हुने दर भने अत्यधिक थियो। पहिलो लहरमा स्थानीय समुदायमा मृत्युदर सामान्यभन्दा माथि थिएन तर सेप्टेम्बरदेखि नोभेम्बरसम्मको ३ महिनाको अवधिमा यो रोग संसारभर फैलियो दोस्रो छालका रूपमा। अत्यधिक मानव मृत्युदर पनि यही अवधिमा भएको वैज्ञानिक अनुसन्धान देखाउँछ। कतिपय राष्ट्रमा १९१९ को सुरुमा पनि यसको संक्रमण देखा प-यो जसलाई केही विज्ञ महामारीको तेस्रो छालका रूपमा हेर्छन् तर यसको असर भने अत्यन्त हल्का थियो।
यस्तैखालको महामारी यो धरतीमा सन् १८८९मा पनि देखापरेको थियो। यो महामारी पनि स्पेनिस फ्लु जसरीनै वसन्त ऋतुमै सुरु भएको थियो। ‘एसियाटिक’ वा ‘रसियन फ्लु’ नामको यो महामारी युरोप र अमेरिकामा सन् १८८९को अन्तिमतिर वा १८९० को सुरुमा देखा प¥यो। अत्यन्तै आक्रामक यो महामारीको दोस्रो पुनरावृत्ति ठीक एक वर्षपछि अर्थात् १८९१को वसन्त ऋतुमा देखा प-यो। र, तेस्रो लहरचाहिँ सन् १८९२ को सुरुवाती महिनाहरूमा देखा प-यो। विज्ञहरू भन्छन्– यो महामारीले सन् १८९५ को सुरुवाती महिनाहरूसम्म असर पु¥याएको थियो। सन् १९१८मा भएको महामारी पनि यो घटनासँग तुलनायोग्य देखिन्छ।
चिसो याम महामारी कारक विषाणु जन्मका लागि अनुकूल समय हो भन्ने तथ्यमा चाहिँ प्रायः सबै घटनामा समानता भने देखिएका छन्।
वैज्ञानिकहरू १९१८मा के कारणले विषाणुले द्रुत गतिमा महामारीका विभिन्न छाल उत्पन्न ग-यो भन्नेमा अझै स्पष्ट छैनन्। किनकि वैज्ञानिकहरूसँग महामारी कारक विषाणुका त्यस्ता नमुना मात्र प्राप्त छन् जुन दोस्रो छालका बिरामीबाट सङ्कलन गरिएको हो।
मौसमी अनुकूलता र समयसीमा
१६औँ शताब्दीयताका तथ्याङ्क हेर्ने हो भने विषाणुजन्य महामारी जुनकुनै समयमा उत्पत्ति भएको देखिन्छ। यसैले ती महामारीलाई मौसमी तरङ्गका रूपमा पनि व्याख्या गर्न सकिँदैन। जस्तै सन् १९१८–१९१९ सम्मको र त्यसअघिका ३ महामारी नै हेरौँ। ती महामारी वसन्त गर्मी, गर्मी शरद र जाडो याममा (उत्तरी गोलार्धमा) क्रमशः देखा प¥यो। पहिलो २ लहर यस्तो समयमा देखियो जुन विषाणुका लागि अनुकूल थिएन। त्यस्तै दोस्रो तरङ्ग सेप्टेम्बरदेखि नोभेम्बरसम्म महामारीकै रूपमा विश्वभर फैलियो।
विगतमा भएका सबैजसो महामारीले २–४ वर्ष वा त्योभन्दा लामो समयसम्म असर पु¥याएको विभिन्न विवरणले देखाउँछन्। यी घटना हेर्ने हो भने अहिलेको महामारीले पनि अझै लामो समय लिन सक्ने अनुमान गर्न सकिन्छ। सन् २००९मा ‘भाइरोलोजी’ नामक जर्नलमा अड्रिन जे गिब्सको समूहले प्रकाशित गरेको अनुसन्धानअनुसार स्पेनिस फ्लु कारक विषाणुले झण्डै ४० वर्षसम्म मानव समुदायलाई असर पु¥याइरह्यो। सन् १९५७मा पूर्वी एसियामा ‘एसियन फ्लु’ देखापरेपछि मात्र विषाणुको अर्को युग सुरु भएको थियो।
महामारीको समयसीमा व्याख्याका लागि केही अन्य घटना हेरौँ। एसियन फ्लु पहिलोपल्ट सन् १९५७को फेबु्रअरीमा दक्षिण चीन वा सिङ्गापुरमा देखापरेको थियो। यसको पहिलो छाल १९५७को अक्टोबरमा उच्चतम विन्दुमा पुगेको थियो भने दोस्रो लहर १९५८ को जनवरी र फेब्रुअरीमा देखिएको थियो।१९६८ जुलाइमा अर्को महामारी आयो हङ्गकङ्ग फ्लुका नाममा। यसले सिङ्गापुर र भियतनाममा ठूलो असर पु¥याएको थियो। सन् १९६९मा आइपुग्दा यो जापान, अफ्रिका र दक्षिण अमेरिकासम्म देखापरेको थियो।
२१औँ शताब्दीको अनुभव
अब २१औं शताब्दीको प्रारम्भिक २ दशकमा देखिएका महामारीतर्फ लागौँ। सामुएल आर. दोमिङ्गजको समूहले इमर्जिङ इम्फेक्सिअस् डिजिज नामक जर्नलमा २००७ मा प्रकाशित अनुसन्धान पत्र भन्छ– २००२–२००३मा देखिएको सार्स महामारी धरतीमा एक अर्को पशुजन्य रोगको नव उदय थियो। यो द्रुतरूपमा २८ भन्दा बढी देशमा फैलिएको थियो। सन् २००४मा यसको दोस्रो प्रकोप देखा परेको थियो।
सन् २००९मार्च र अप्रिलमा दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोबाट अर्को महामारी फैलियो स्वाइन फ्लुका नाममा।सन् २०१० को जुलाइसम्म आइपुग्दा विश्वभरि यो रोगका घटना पुष्टि भए। त्यस्तै सन् २०१३डिसेम्बरबाट अफ्रिकी राष्ट्र गुइनियाबाट अर्को विषाणुको महामारी फैलियो इबोलाका नाममा। साढे २ वर्षसम्मयो विषाणुले अफ्रिकी राष्ट्रहरूमा आतङ्क मच्चायो।
सन् २०१२को जुनदेखि साउदी अरेबियामा मर्स महामारी देखा प¥यो। मर्स संक्रमणअमेरिका, अफ्रिकी र युरोपेली देशहरूमा पनि भेटिए।त्यसको ३ वर्षपछि सन् २०१५मा दक्षिण कोरियामा यसको अर्को महामारी देखियो। यही कारण गणतन्त्र कोरियामा मात्रै १८५ जना संक्रमित भए र ३६ जनाको मृत्यु भयो।
गत वर्षको डिसेम्बर अर्थात् अत्यन्तै चिसो महिनामा चीनको वुहानबाट सुरु भएको कोभिड–१९को महामारी वसन्त ऋतु सकिइसक्दा पनि केही मुलुकबाहेक विश्वका अधिकांश राष्ट्रमा अँझै नियन्त्रणमा आइसकेको छैन। कोभिड–१९ नामकरण गर्नुअघि वैज्ञानिकले यो विषाणुलाई सार्स कोरोना विषाणु–२ नाम दिए। अहिले रोग नियन्त्रणमा आइसकेका मुलुकमा पनि दोस्रो लहरको खतरा अझै टरेको छैन।
विषाणु आतंकको अवसान
वैज्ञानिक भन्छन्– विषाणुले आफ्नो बहाब मोड्दै नयाँ उपभेद उत्पादन गर्दै जान्छ र उत्परिवर्तित स्वरूपको त्यो विषाणु प्रतिरक्षा क्षमता भएकाबाट निस्कँदै फैलन पुग्छ। त्यस्तै स्पेनिस फ्लुपछि अर्थात् २०औँ शताब्दीका र गएको २ दशकको अवधिमा देखिएका आन्य महामारीमा पनि प्रायः एकै समानता छ। त्यो हो– चिसो याममा संक्रमणका घटना सुरु हुनु। तर महामारी अवधि सँगसँगै यी रोगको फैलावटमा मौसमी र भौगोलिक सीमा भने देखिएको छैन।
विगतघटनाले के स्पष्ट पार्छन् भने महामारीको स्थितिमा यसको नियन्त्रण प्रयासका लागि योजना विकास गर्नु नै तत्कालका लागि बुद्धिमानी हो। यसको अर्थ घटना हुनासाथ तुरुन्तै उपयुक्त कदम चाल्नु नै हो। किनकि महामारीको वास्तविक कारक विषाणु पूर्णरूपमा त्यो बेलासम्म निश्चित गर्न सकिँदैन जबसम्म यसको पहिलो चरण चलिरहेको हँुदैन। महामारी निगरानीका लागि बेलैमा सचेत भएको छ वा महामारी कारक विषाणु देखा परेको प्रमुख ठाउँ पहिचान गरिएको छ भने सम्भावित स्थानान्तरणचाहिँ तुरुन्तै पत्ता लगाउन सकिन्छ।
विगतका घटनाले के पनि देखाएका छन् भने ठूलो मानवीय र आर्थिक क्षति पु¥याएका महामारी मौसमी होइनन्। यद्यपि चिसो याम महामारी कारक विषाणु जन्मका लागि अनुकूल समय हो भन्ने तथ्यमा चाहिँ प्रायः सबै घटनामा समानता भने देखिएका छन्। तर यसले पु¥याउने असरकालागि मौसम बाधक भने देखिएको छैन।
त्यस्तै, नयाँ स्वरूपको विषाणुले जब अतिसंवेदनशील मानव आवादी भेट्छ उसले फरक व्यवहार गर्न थाल्छ। त्यसपछि त्यो विषाणुले छनोट गरेको मानव प्रतिरक्षा प्रणालीको सामना गर्नुपर्दा आफ्नो आनुवंशिक रूपलाई मोडन थाल्छ र आफ्नो बाटो बदल्दै, नयाँ स्वरूपमा आफूलाई अस्तित्वमा ल्याएर अर्को महामारीको पुनरावृत्तिमा जान्छ। विषाणुले आफ्नो फैलावटको प्रकृतिलाई त्यो बेला परिवर्तन गर्छ वा कमजोर वा लोप हुन्छ, जब मानव प्रतिरक्षा प्रणाली त्योसँग लड्न सक्षम हुन्छ। तर कहिलेकाहीँ वातावरण अनुकूल भइदिँदा विषाणुको आक्रमण जारी नै रहन्छ र महामारीका विभिन्न लहर देखिन्छन्।
वैज्ञानिक भन्छन्– मानव समुदायले अर्को विषाणु महामारीको पनि सामना पक्कै गर्नुपर्नेछ तर त्यो महामारी कहिले कुन रूपबाट देखापर्नेछ वा कहाँबाट सुरु हुन्छ वा कत्तिको गम्भीर प्रकृतिको हुनेछ भनेर अनुमान लगाउन असम्भव छ। किनकि वैज्ञानिक जगतमा कतिपय नयाँ विषाणुको चरित्रबारे ठोस जानकारी छैन जुन सम्भवतः अर्को महामारीका कारण हुन सक्छ। विगतका घटनालाई आधार मान्ने हो भने कोरोना विषाणुको प्रभाव तत्कालै निर्मूल हुने संकेत देखिन्न। यो महामारीको फैलावट नियन्त्रणमा थप सचेत हुँदै सशक्त कदम चाल्नुपर्ने आवश्यकता त छ नै, साथै मानव प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन यो विषाणुसँग हामी पनि लड्नैपर्ने देखिन्छ।
प्रकाशित: २४ असार २०७७ ०५:०१ बुधबार