२३ भाद्र २०८१ आइतबार
image/svg+xml
विचार

‘अफ्रिकन स्वाइन फिभर’ को जोखिममा नेपाल

भारतको आसम र अरुणाचल राज्यमा बंगुर प्रजातिमा देखिने कडा खालको संक्रामक रोग ‘अफ्रिकन स्वाइन फिभर’ त्यहाँको सरकारले २०७६ वैशाख २१ गते नै प्रमाणित गरिसकेको छ। यसको केही हप्ता अघि नै ती राज्यमा अज्ञात रोगका कारण बंगुर मर्ने क्रम सुरु भइसकेको थियो। भोपालको उच्च प्रविधियुक्त भेटिरिनरी प्रयोगशालामा परीक्षण गर्दा बंगुरमा अफ्रिकन स्वाइन फिभर भएको प्रमाणित भएको थियो।  

नेपालमा करिब १४ लाख बंगुर/सुंगुर भएको सरकारी अनुमान छ। यसमध्ये आधा त प्रदेश १ मा मात्र छन्। त्यसपछि प्रदेश ५ र गण्डकीमा बढी बंगुर/सुंगुर पालिएका छन्। परम्परागत रूपमा केही जनजाति जस्तै: राई, लिम्बू, मगर, तामाङ तथा पहाड र तराईमा दलित समुदाय बंगुर/सुंगुर पालनमा बढी संलग्न छन्। बंगुर/सुंगुर पालनबाट हुने आम्दानी विशेष गरी ती समुदायभित्रका गरिबको मुख्य आय स्रोत बनिरहेको छ। च्वाँचे, हुर्राजस्ता रैथाने जातका अलावा केही दशकयता नेपालमा विभिन्न आधुनिक जातका बंगुर राखेर व्यावसायिक पालनसमेत बढ्दै गइरहेको छ। पूर्वी क्षेत्रतिर विभिन्न जातका बंगुर मिसाएर नेपालमै विकास गरिएको पाख्रिबास कालो जातको बंगुर निकै लोकप्रिय छ।  

कोरोनाका कारण अर्थ–व्यवस्था थलिएका बेला बंगुरमा लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ नयाँ चुनौतीका रूपमा दैलोछेउमै आएर बसेको छ। वैदेशिक रोजगारीमा समेत अवसर खुम्चिँदै गएको र विदेशमा रहेकासमेत धमाधम स्वदेश फर्किइरहेको वर्तमान परिवेशमा बंगुरपालनलगायत अन्य पशुपक्षीपालन र कृषि कर्म एउटा विकल्पका रूपमा हेर्न थालिएको छ। यस्तो बेला अफ्रिकन स्वाइन फिभरजस्तो उच्च संक्रामक नयाँ रोग नेपाल भित्रिएका खण्डमा बंगुरपालन र यसको आम्दानीमा आश्रित हजारौं किसान र व्यवसायीको रोजीरोटी खोसिन सक्छ।  

यस रोगको फैलावटको इपिडेमियोलजिकल प्रकृति अध्ययन गर्ने हो भने यो जुनसुकै बेला पनि नेपाल छिरेर बंगुरपालन व्यवसायलाई ध्वस्त बनाइदिन सक्ने जोखिम छ। सर्वप्रथम सन् १९२१ मा अफ्रिकाको केन्यामा देखिएको यो रोग केही दशकसम्म सब– साहारन अफ्रिकी महादेशका देशमा रैथाने रोगका रूपमा रहिरह्यो। अफ्रिका महादेशबाहिर पहिलोपल्ट युरोपको पोर्चुगलमा सन् १९५७ मा यो रोग देखापरेको थियो। सन् ६०, ७० र ८० को दशकतिर विभिन्न युरोपेली मुलुकको बंगुरपालनमा चुनौती बनेको यो रोग अन्ततः धेरै लगानीपश्चात् युरोपबाट लगभग उन्मूलन नै भएको थियो। तर सन् २००७ मा फेरि जर्जिया हुँदै रसिया, लिथुवानिया, बेल्जियम, हंगेरीलगायत केही युरोपेली मुलुकमा यो रोग पुनः देखापरेको छ।  

एसिया महादेशमा पहिलोपल्ट २०१८ अगस्टमा चीनमा यो रोग प्रमाणित भएको थियो। त्यसयता एसियाका विभिन्न मुलुक भियतनाम, कम्बोडिया, उत्तर र दक्षिण कोरिया, लाओस, मंगोलिया, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा यो महामारी देखापरिसकेको छ। यस रोगका कारण चीनमा मात्रै लाखौं बंगुर मरेका छन् भने रोग अन्यत्र फैलिन नपाओस् भनी नियन्त्रणका लागि थप लाखौं बंगुर यो २ वर्षका बीच मारिएका छन्। भियतनाममा मात्र ६० लाख बंगुर मारिएको तथ्यांक छ।

यसरी एसियाका विभिन्न मुलुकमा फैलिँदै गएको यो नयाँ रोग सन् २०२० को मे महिनाको पहिलो हप्ता (२०७७ वैशाख) भारतमा धेरै बंगुरपालन गरिने आसाम र अरुणाचल राज्यमा आइपुग्यो। आसाममा मात्र यस रोगका कारण हजारौं बंगुर मरिसकेका छन् भने त्यहाँको राज्य सरकारले थप केही हजार बंगुर नष्ट गरेको छ।  

नेपालको बंगुरपालन धेरै भएको पूर्वी क्षेत्रका जिल्लाका मानिस र आसामका बासिन्दाबीच आवतजावत बाक्लो भएको र बंगुर तथा बंगुरको मासुसमेत लाने/ल्याउने क्रम चलिरहेका बेला नेपालमा जुनसुकै बखत पनि ‘अफ्रिकन स्वाइन फिभर’ छिरेमा अचम्म हुने छैन। इपिडेमियोलाजीको हिसाबले यो नयाँ र कडा रोग भएका कारण यसले नेपालका बंगुरपालनमा ठूलो क्षति पु-याउने देखिन्छ।  

अफ्रिकन स्वाइन फिभरजस्तो उच्च संक्रामक नयाँ रोग नेपाल भित्रिएका खण्डमा बंगुरपालन र यसको आम्दानीमा आश्रित हजारौं किसान र व्यवसायीको रोजीरोटी खोसिन सक्छ।

यो रोग लाग्दा रोगको भाइरसको क्षमता हेरी कुनै खोरमा रहेका सबै (शतप्रतिशत) बंगुर बिनालक्षण रातारात मर्न सक्छन् भने कुनै खोरमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको ज्वरो आउने, बंगुर झोक्राएर एकै ठाउँमा थुप्रिने, शरीरमा रगत जमेका धब्बा देखिने, कानका टुप्पामा रगत जमेर कालोनीलो बन्ने र केही दिनभित्रै ठूलो संख्यामा बंगुर मर्ने हुन्छ। मन्द खालको भाइरस भएमा मृत्युदर केही कम हुन्छ। तर बंगुरका अन्य केही रोग जस्तै : बंगुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पिआरआरएस, स्वाइन अजेस्की डिजिजलगायत रोग र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग एकिन गर्न प्रयोगशालामा परीक्षण गर्न अत्यावश्यक हुन्छ।  

यस रोगबाट संक्रमित भई बाँचेका बंगुरले महिनौंसम्म रोगवाहक बनिरहने हुँदा सामान्यतया रोग प्रमाणित भएको केही किलोमिटर दूरीभित्र रहेका अन्य बंगुर पनि सरकारले नै मार्ने र किसानलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ। यस रोगको सबैभन्दा सुखद पक्ष भनेको यो मानिसमा सर्दैन। तर जंगली बँदेलमा समेत यो रोग देखिन सक्ने हुँदा घरपालुवा बंगुर/सुंगुरका अलावा वन्यजन्तुको हिसाबबाट पनि यो रोग खतरापूर्ण छ।  

अहिलेसम्म यो रोग नेपालमा भित्रिनसकेको हुँदा बेलैमा पूर्वतयारी तीव्र बनाउन जरुरी छ। यसअन्तर्गत रोग रोकथाम÷नियन्त्रणका लागि आवश्यक ऐन–कानुन, आदेश तर्जुमा, प्रयोगशाला व्यवस्थापन, सर्भिलेन्स प्रणालीको विकास, पशु क्वारेन्टिनको सुदृढीकरण, पशु चिकित्सक तथा प्राविधिक र बंगुरपालक किसानको क्षमता अभिवृद्धि, बंगुरपालनमा जैविक सुरक्षा बलियो बनाउने, बंगुर आयात र ओसारपसार गर्दा पशु चिकित्सकको स्वस्थताको प्रमाणपत्र व्यवस्थामा ध्यान दिन आवश्यक देखिन्छ।  

अहिले काठमाडौंबाहिरका चारवटा भेटेरिनरी प्रयोगशाला कोरोना परीक्षणमा प्रयोग भइरहेको हुँदा यो नयाँ रोग र बर्डफ्लु देखिन थालेमा थप चुनौतीपूर्ण हुने देखिन्छ। केन्द्रसँगै प्रदेश, स्थानीय सरकारसमेत आफ्नो क्षेत्रमा यो नयाँ रोग भित्रिएला कि भन्ने कुरामा चनाखो हुन आवश्यक देखिन्छ।  

यो रोगविरुद्ध अहिलेसम्म कुनै औषधि÷खोप उपलब्ध छैन। त्यसकारण सरकार र किसान मिलेर जैविक सुरक्षाका उपाय अपनाई बंगुरको सुरक्षा गर्नु नै एक मात्र उपाय हो। सबै ध्यान कोभिड–१९ मा केन्द्रित भइरहँदा यसै पनि यो महामारीले थिलथिलो पारेको अर्थतन्त्रमा यो नयाँ चुनौती भरसक नआओस् र आइहाले पनि तुरुन्तै नियन्त्रण गर्न सकिने गरी राज्य संयन्त्र तयार रहन आवश्यक देखिन्छ।
(इपिडेमियोलोजी विषयमा विद्यावारिधि डा. कार्की र जनस्वास्थ्य विषयमा स्नातकोत्तर डा. उपाध्याय दुवै पशु चिकित्सक हुन्।)

प्रकाशित: २७ जेष्ठ २०७७ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App