१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

अनुसन्धान नबुझेका विश्लेषकको बिगबिगी

सन्दर्भ
अचेल पढेलेखेका व्यक्तिले आफ्नो उपस्थितिको महत्व देखाउन अध्ययन÷अनुसन्धानमा आफ्नो सशक्त संलग्न भएको दाबी गरेको पाइन्छ। केही समयअगाडि पूर्वउपसभामुखले सभामुखको दाबी गर्दा आफ्नो पार्टीका अध्यक्षद्वयसमक्ष पिएचडीलगायत कानुनी क्षेत्रको अध्ययन÷अनुसन्धानमा आफ्नो लामो अनुभव भएको कुरा प्रस्तुत गरेको विषय सञ्चारमाध्यममा स्थान पाएको थियो। उहाँले गर्नुभएको अनुसन्धात्मक कार्यप्रति यहाँ प्रश्न उठाउन खोजिएको होइन, तर प्रसंग दिनमात्र खोजिएको हो। किनकि अनुसन्धानजस्तो विषय सस्तो र हलुका बनाइँदै छ। राजनीतिककर्मी, पत्रकार तथा अन्य वर्गमा पनि अनुसन्धानका नाममा जबर्जस्त पिएचडी हासिल गर्ने एक प्रकारको फेसनै चलेको छ। त्यस्तै हालको इन्टरनेटपहुँचले गर्दा भौतिक पुस्तकालयको मुख पनि नदेखी पिएचडी अध्ययन सम्पन्न हुने परिस्थिति सिर्जना भएको छ। नेपाल सरकारका कर्मचारीलगायत विश्वविद्यालयका प्राध्यापकले बिनाअध्ययन बिदा पिएचडी अध्ययन सम्पन्न गरेको धेरै उदाहरण छन्। अध्ययन बिदाको अर्थ शोधकर्ताले आफ्नो अनुसन्धानमा पूरा समय खर्च गरेर वैज्ञानिक अनुसन्धानमा नयाँ योगदान दिइनुपर्छ भन्ने मान्यता हो। यिनै प्रसंगवरिपरि रहेर यो लेखमा अनुसन्धानबारेछोटो चर्चा गरिनेछ।  

अनुसन्धान के हो?
अनुसन्धानबारे अध्यापन गरिने र प्राज्ञिक बहस गर्ने स्थान विश्वविद्यालयहुन्। नेपालमा ११ विश्वविद्यालय छन् र एउटा भर्खर खुलेको छ। यसबाहेक ६ वटा चिकित्सा शिक्षा पढाउने सरकारी प्रतिष्ठानछन् भने १३ वटा निजी मेडिकल कलेजछन्। यी शैक्षिकसंस्थाको असफलता अब बजारमा देखिँदै छ। किनभने यसबाट उत्पादित नेपालमा बसेको जनशक्ति कति अयोग्य र अप्राज्ञिक छ भन्ने कुरा सञ्चारमाध्यममा कोरोनाका साथै अन्य जल्दाबल्दा विषयमा भएका छलफलबाट थाहा पाइन्छ।  

कुनै पनि अनुसन्धान विज्ञानको अवधारणाबाट निर्देशित हुनुपर्छ। त्यसैले अनुसन्धान विधि वैज्ञानिक हुनुपर्छ भनिन्छ। विज्ञान के हो त? यो कसैको विचारमा सत्य ज्ञानको भण्डार हो भने कसैको विचारमा विज्ञानको अर्थ अनुभवजन्य घटनाको ज्ञान हो, उदाहरणका लागि वर्तमान कोरोना महामारी। विज्ञानको अवधारणाले कहिलेकाहीं दुविधा पनि उत्पन्न हुन सक्छ। किनकि विज्ञानका धेरैजसो कुरा लगातार परिवर्तन भइरहेका हुन्छन्। आज ‘वैज्ञानिक’ मानिएको ज्ञान भविष्यमा ‘अवैज्ञानिक“ हुन पनि सक्छ। विज्ञान शब्दले कुनै पनि सामान्य वा विशेष ज्ञानको समूहलाई बुझाउँदैन, बरु भिन्न विशेष विधिलाई बुझाउँछ।वैज्ञानिक विधिका माध्यमबाट संकलित सबै ज्ञानको अर्थलाई निम्नआधारमा व्याख्या गर्न सकिन्छ ः

१. वैज्ञानिक अनुसन्धानले प्रकृतिको नियम मान्छ। जस्तो ः प्राकृतिक संसारमा सर्वमान्य नियमितता हुन्छ। उदाहरणका लागि जाडोपछि गर्मी, हिउँदपछि वर्षा, यस्तो चक्र नियमितचलिरहन्छ।  

२. मानवजाति– अन्य वस्तु, अवस्था र घटनाजस्तै प्रकृतिको एक अंग हो र उसको क्षमता प्रकृतिबुझ्न मात्र होइन कि आफ्नै र अरूको दिमाग पनि बुझ्न सक्षम छ, तर त्यसका लागि वैज्ञानिक विधि आवश्यक हुन्छ।

३. सबै प्राकृतिक घटनामा प्राकृतिक कारण हुन्छन् र वैज्ञानिक अनुसन्धानले दिशा–निर्देश गर्छ। यसले अलौकिक शक्तिको होइन, अनुभवगत नियमितता खोजी गर्छ।

४. कुनै पनि कुरा आफैंप्रमाणित हुँदैन। तथ्यलाई वस्तुगत आधारमा प्रमाणित गर्नुपर्छ। वैज्ञानिकले परम्परा, व्यक्तिगत विश्वास र सामान्य ज्ञानलाई वैज्ञानिक ज्ञानका रूपमा लिन सक्दैनन्।

५. ज्ञान– अनुभवबाट उत्पन्न हुन्छ। विज्ञान अनुभवजन्य अर्थात् धारणा, अनुभवर अवलोकनमा आधारित हुनुपर्छ। प्रायः ज्ञान केवल स्पर्श, गन्ध, स्वाद, सुनाइ र हेराइ, पाँच तरिकाबाट प्राप्त हुन्छ। यसकाअलावा धेरै घटनालाई प्रत्यक्ष अनुभव वा अवलोकन गर्न नसकिने हुन्छ। जुन गर्भमा रहन्छ र साजिस सिद्धान्तले शंका उत्पन्न गराइदिन्छ,‘स्वयं प्रमाणित’ हँुदैन।  

६. ज्ञान, अज्ञानभन्दा उच्च हुन्छ। ज्ञान आफ्नै र मानव अवस्था सुधार प्रयोजनका लागि हुनुपर्छ। सबै ज्ञान अस्थायी र परिवर्तनशील हुन्छन्। विज्ञानमा सत्य सधैं प्रमाण, विधि र सिद्धान्त प्रयोगमा आधारित हुन्छ र परिमार्जिनका लागि खुला हुन्छ।

नेपालकाविश्वविद्यालयमा अनुसन्धानको धरातल कमजोर छ।    
कुनै पनि विषयमा अध्ययन/अनुसन्धान गरिँदा सामान्यतया दुई तरिका छन्, जस्तै: संख्यात्मक वा गुणात्मक प्रयोग, जसअन्तर्गत विषयगत आधारमा आआफ्ना विधिपरिभाषित गरिएका हुन्छन्। दुवै गुणात्मक तथा संख्यात्मक तथ्यांकको भिन्नै सैद्धान्तिक अवधारणाछन् र विषयगत रूपमा आआफ्ना महत्व छन्। जस्तो: मानवशास्त्र, इतिहास, संस्कृतिजस्ता विषयले गुणात्मक विधिलाई आफ्नो विषयगत आधार बनाउँछन्। यी विषयले ठूलठूला तथ्यांकीय  प्रतिवेदनबाट आएका नतिजालाई गौण मान्छन् र स्तरीय तथ्यांक विधिलाई त्यति महत्व दिँदैनन्। किनकि यस विषयले हरेक व्यक्ति तथा समूहको संस्कृति र सामाजिक मूल्य/मान्यताका साथै अति संवेदनशील विषयमा सूक्ष्मतहमा अनुसन्धान गर्छ। जसमा गुणात्मक विधि अपरिहार्य हुन्छ। अर्कातिर गणितबाहेक प्रयोगशालामा आधारित विज्ञानलगायत प्राविधिक तथा सामाजिक–शास्त्रद्वारा सञ्चालित सर्वेक्षणले गुणात्मक विधिबाट मात्र निकालिएको नतिजालाई तथ्यपरक मान्दैनन्।  

यसका अलावा दुवै तथ्यांक प्रयोग गरी विश्लेषण गर्ने वर्तमान अवस्थामा नयाँ अभ्यासकारूपमा विकास भइसकेको छ, जसलाई मिश्रित वा त्रिकोणीय विधि पनि भनिन्छ। उदाहरणका लागि कोरना भाइरसको संक्रमणका कारणउत्पन्न  संकट वा त्यसपश्चात् व्यक्ति, परिवार र समुदायले झेलेका समस्याको गहिरो अध्ययन गर्नगुणात्मक वा मिश्रित विधि कुनै एक अपनाउन सकिन्छ। अहिलेको यो माहामारीमा संख्यालेनै संक्रमितको वास्तविक स्थिति जनाउनेहुँदा गुणात्मक विधिको औचित्य छैन। सशक्त सैद्धान्तिक अवधारणाको अभावमा नेपालमा जबर्जस्त गुणात्मक विधि प्राज्ञिक क्षेत्रमा बढीनै प्रयोग हुन थालेको छ। जसले गर्दा नेपालकाविश्वविद्यालयमा गरिने अध्ययन÷अनुसन्धानको स्तरीयतामा प्रश्नखडा भएको छ।

नेपालका विश्वविद्यालयमा अध्ययन/अध्यापन गरिने विषयको अनुसन्धान गर्ने मौलिकताको आधारनै छाडेर व्यक्तिको आफ्नो सहजताका लागि गुणात्मक विधिमात्र प्रयोग गर्ने गरिएको छ।जसले विश्वविद्यालयको अनुसन्धान क्षेत्रनै ध्वस्त भएको छ। मानविकी र मानवशास्त्रका अध्ययन/अनुसन्धान प्रतिवेदनअन्य विषयको तुलनामा केही स्तरीय छन्। किनकि गुणात्मक विधि यसको मूल जरा हो। चिकित्साशास्त्र, विज्ञान, इन्जिनियरिङजस्ता प्राविधिक विषयबाट गरिने अनुसन्धान प्रयोगशालामा आधारित हुन्छन्।  तर सामाजिकशास्त्रसँग सम्बन्धित अन्य विषयले जबर्जस्त गुणात्मक विधिमात्र प्रयोग गरेर आफ्नो विषयको संख्यात्मक उन्मुख परम्परा भुलिदिँदा अनुसन्धानको अन्तर्राष्ट्रिय स्तरीयता कायम गर्न नसक्नु यथार्थ हो। यसैको उपज नेपाली विश्लेषकले अनुसन्धानको सैद्धान्तिक धरातल बिर्सेर व्याख्या÷विश्लेषण गरिरहेका छन्। त्यसैले होला– विश्व बैंक, डिफिड, युरोपियन युनियनजस्ता दातृ संस्था, संयुक्त राष्ट्र संघ र सरकारसमेतले अनुसन्धानका लागि नेपालका विश्वविद्यालयलाई कमैविश्वास गर्छन्।  

अनुसन्धान र साजिस सिद्धान्त विपरीत ध्रुवहुन्।
अनुसन्धानले अनुभवजन्य प्रमाणका आधारमा भएका अवलोकन र प्रयोगका माध्यमबाट वर्णन, पूर्वानुमान र प्राकृतिक घटनाको ज्ञान प्राप्त गर्न सहयोग पु-याउँछ। यस्ता ज्ञानको सम्बन्धित विशेषज्ञबाट गरिएको समीक्षा र दोहो¥याएर गरिएको परीक्षणबाट प्राप्त नतिजाप्रयोग गरेर वैधता सुनिश्चित गरिन्छ। अनुसन्धानको अभावमा साजिस सिद्धान्त जन्मिन्छ, जुन एक साजिस घटनाबारे गरिने साजिसिक व्याख्या हो। अक्सफोर्ड अंग्रेजी शब्दकोषअनुसार साजिस सिद्धान्तले एक घटना वा घटनासँग सम्बन्धित पार्टीबीच जालझेलबाट जन्मिने अस्पष्ट वा रहस्यमय परिणामको वर्णन गर्छ। यो केही गुप्त तर प्रभावशाली एजेन्सी सामान्यतया राजनीतिक रूपमा उत्प्रेरित र दमनकारी चाहनाबाट प्रभावित हुन्छ। उदाहरणका लागि कोरोनाको उत्पत्तिबारे वैज्ञानिक, यो प्राकृतिक भाइरस हो वा होइन भनीसम्भावित प्रमाण खोजिरहेका छन्, तर चीन र संयुक्त अधिराज्य अमेरिका जैविक भाइरस भएको शंकामा आपसमा दोषारोपण गरिरहेका छन्।  

नेपालका सञ्चारमाध्यममा देखिएका विश्लेषकसँग कुनै अध्ययनको निचोडका लागि आवश्यक तथ्यांकै हुँदैनन्, केवलपत्रपत्रिकामा प्रकाशित सस्ता अप्रमाणित तथ्यांकका आधारमा साजिस सिद्धान्तबाट प्रभावित भई राजनीतिक स्वार्थ र व्यक्तिगत लाभ–हानि हेरेर व्याख्या/विश्लेषण गरेको पाइन्छ। युट्युबलगायत टिभीमा दिइने प्रस्तुति होस् वा बुद्धिजीवीका नाममा गरिने रोमान्टिक विश्लेषण, नेपाली सञ्चारमाध्यममा चर्चित छन्। एउटाको भनाइ र कमजोरीलाई आधार बनाएर दिइने प्रस्तुतिले भ्रम सिर्जना गरिदिन्छन् र सर्वसाधरणले यस्ता घटनालाई राजनीतिक विश्वासका आधारमा बुझिदिन्छन्।

अन्त्यमा, यो पंक्ति लेखुन्जेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका हालसम्मका ९९ संक्रमित हल्का बिरामी हुन् र घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने चीनको अध्ययनले देखाएको छ। तर नेपालमा कोरोना संक्रमणबारे चिकित्सकअप्रमाणित तथ्यलाई अनुमानका भरमा प्रस्तुत गरेर सञ्चारमाध्यममा छाइरहेका छन्। अर्को उदाहरण पनि लिन सकिन्छ ः कोरोनाको लक्षण देखिने अवधि सरदर २ देखि १४ दिनसम्म हुन्छ भनेर अमेरिका र चीनका अनुसन्धानकर्ताले पत्ता लगाएका हुन्। तर चीनमा २७ दिनपछि पनिकोरोना संक्रमण पुष्टि भएको घटना पाइएको छ।  

नेपालमा ४९ दिनमा संक्रमित पत्ता लाग्यो, तर संक्रमितको ‘मेडिकल हिस्ट्री’ अध्ययन नगरी अप्रमाणित व्याख्यालाई आधार बनाएर चिकित्सक विश्लेषकले नेपालमा कोरोनाको प्रभावलाई भिन्न तवरबाट हेर्ने प्रयास गरिरहेका छन्। कथित बुद्धिजीवी, प्राध्यापक सस्ता पत्रिकामा लेखिएका मिथ्यांक र व्यक्तिविशेषलाई लगाइएका लाञ्छनालाई क्षेत्र बनाएर आफ्नो अनुसन्धानको निचोड भन्दै चिकित्सकजस्तै सञ्चार सेलेब्रिटी भएका छन्। समग्रमा तथाकथित विश्लेषकले अप्रमाणित तथ्यांकका आधारमा भनिएका कुरालाई आधिकारिक मानी सर्वसाधारणलाई भ्रममा पारिरहेका छन्।

प्रकाशित: २७ जेष्ठ २०७७ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App