१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

राष्ट्रियताको बहिरंग बयान

राष्ट्रियताको सन्दर्भ चर्को बहसको विषय बनेको छ। राष्ट्र र राष्ट्रियताको अर्थ-राजनीतिक परिभाषाको खोजी भइरहेको छ। नेपालको विभिन्न कालखण्डमा आ-आफ्नै ढंगले राष्ट्र र राष्ट्रियताको परिभाषा गरियो। त्यतिखेरको परिभाषाले अपुग भएपछि यताका कालखण्डमा पूर्ण परिभाषा गर्ने भगिरथ प्रयासहरु भइरहेका छन्। तर, राष्ट्रियताको चुरो खुट्टिएको छैन।

नेपाली राष्ट्रियताको चुरो खोज्ने राजधानीको कुलीन बहसमा मलाई सहभागी हुने मौका मिलेको थियो। बहसमा मेरो उपस्थिति पर्यवेक्षकभन्दा भिन्न रहन सकेन। राजनीति विश्लेषक सीके लालको प्रस्तुति राष्ट्रियताको परिभाषामा केन्द्रित थियो। उनले आफ्नो बौद्धिक क्षमताको उपयोग र देशाटन गरेर नेपाली राष्ट्रियतालाई बुझाउन 'नेपालीय हुनलाई...' नामको मौलिक भाकाको राजनीतिक सोचपत्र तयार पारेका रहेछन्। बहसमा राजधानीका ब्रोइलर बद्धिजीवीहरु थिए। सबैले नेपाली राष्ट्रियताबारे मनचिन्ते बखान गरे। नेपाली राष्ट्रियताको परिभाषाको चुरोभन्दा पनि बिदा हुनलागेको महेन्द्रीय राष्ट्रवादको चिन्ता एक थरीलाई थियो। अर्को महेन्द्रीय राष्ट्रवाद र उनले स्थापित गर्न खोजेको राष्ट्रियताको प्रतिक्रियास्वरुप जन्मेको र प्रतिस्पर्धामा उत्रिएको लोकतान्त्रिक तथा जनजातीय राष्ट्रियता पक्षधरको परिभाषा पनि समुदायगत, जातिगत, क्षेत्रगत, थरगत समग्रमा अन्धजातिवादभन्दा माथि उठ्न सकेको देखिएन।
राजधानीको मल्ल होटलमा आयोजित राष्ट्रियताको खोजी गर्ने बौद्धिक विमर्श निराशाजनक भयो। लालको 'नेपालीय हुनलाई.....' नेपाली राष्ट्रियताको मुन्धुमलाई उजिल्याउने, परिमार्जन गर्ने, संशोधन गर्नेभन्दा अर्कै मेलोमेसोमा बरालियो। आयोजक मार्टिन चौतारी, प्रस्तोता लाल, पाद टिप्पणीकारहरु कृष्ण खनाल, खगेन्द्र संग्रौला र मुख्य राजनीतिक दलका प्रतिनिधिको प्रवचनले बहसलाई लिकमा ल्याउन खोजे पनि अपर्याप्त थियो। समग्रमा नेपाली राष्ट्रियताको परिभाषा खोज्न विमर्श गरिएको त्यो सम्भ्रान्त बौद्धिकहरुको कुलीन बहस पहाड खन्दा मुसो पनि नभेटिएजस्तै भयो।
नेपाली राष्ट्रियताको खोजी बारम्बार भइरहेको छ। तर, नेपालका बौद्धिकहरु त्यसको नाभीमा पुग्न सकेका छैनन्। नेपालका चर्चित आन्दोलनहरुको पेटबोलीमा राष्ट्रियता प्रदर्शित भएकै हुन्। एनेकपा (माओवादी) द्वारा सञ्चालित आन्दोलनले मात्रै राष्ट्रियताको नयाँ परिभाषा गरेको वा खोजेको होइन। माओवादी विद्रोहले यिनै परिभाषालाई सतहमा ल्याइदिएको मात्र हो। पृथ्वीनारायण शाहले नेपालको यो स्वरुप बनाएदेखि नै नेपाली राष्ट्रियताको परिभाषा हुँदै आएको छ। उनले नेपालको यो भौगोलिक रुपरेखाभित्र चार जात छत्तीस वर्णको एकल जातीय, सांस्कृतिक राष्ट्रियता निर्माण गर्न खोजेका थिए। तर, यो परिभाषा नेपाली राष्ट्रियतालाई सम्बोधन गर्न अपूर्ण थियो। यसर्थ त्यसको वैकल्पिक प्रस्तावनाका परिभाषाहरु आए। विगतमा जनजातीय र क्षेत्रीय आन्दोलनले उठाएको राष्ट्रियताको परिभाषामा राजनीतिक आन्दोलनहरु भए। धर्मनिरपेक्षताको सबाल, राज्य पुनर्संरचनाको विषय यिनै आन्दोलनका देन हुन्।
नेपाली राष्ट्रियताको परिभाषा अग्रगामी ढंगबाट बाह्रबुँदे समझदारीले पहिलो पटक प्रस्तुत गरेको छ। समझदारीको प्रस्तावनामै नेपालको 'वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय समस्या समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्न अपरिहार्य छ' भनिएको थियो। यस पदावलीलाई राजनीतिक भाषामा अनुवाद गरियो भने नेपाली राष्ट्रियताको आधार खोज्न अन्यत्र जानु पर्दैन, आइतबारको साइत पनि हेर्नु पर्दैन। अझै प्रस्ट अन्तरिम संविधानको भाग १ धारा ३ मा नेपाल राष्ट्रको परिभाषा गरिएको छ। अन्तरिम संविधानमा 'नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त....।' भनेर ठोकुवा साथ नेपाल राष्ट्रको परिभाषा गरिएको छ। २०४७ सालको संविधानले बहुधार्मिक विशेषतालाई स्वीकार गरेको थिएन। त्यसैले राष्ट्रियताको परिभाषा संविधानमा पनि अपूर्ण भयो। अन्तरिम संविधानमा यति उल्लेख भइसकेपछि नेपाली राष्ट्रियताको आधार खुट्याउन टाउको दुखाउनुपर्दैन।
नेपाली राष्ट्रियताको आधार पनि बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक नै हुन्छ। त्यसका लागि राज्ययन्त्र चाहिन्छ। त्यो भनेको राज्यको पुनर्संरचना हो। राज्यको साधनद्वारा यसको हल गर्ने हो। तर, लालको 'नेपालीय हुनलाई...' मुन्धुममा पनि कतै त्यो उल्लेख छैन। दोस्रो जनान्दोलनले अनुमोदन गरेको सबै सहमति र सम्झौताहरुमा उल्लेखित यी विषयको जगमा नटेकी गरिएका छलफलहरु बरालिनु स्वाभाविकै हो। बिना खोज्न घुमिरहेको कस्तुरीझैँ राजधानीका स्वनामधन्य ब्रोइलर बुद्धिजीवीहरु राष्ट्रियताको परिभाषा खोज्न घुमिरहेका छन्।
राज्य र राष्ट्रको परिभाषालाई एकै अर्थमा बुझिदिनाले पनि राष्ट्रियताको अर्थ गोलमाल भएको छ। राष्ट्र आत्मपरक र राज्य वस्तुपरक हुन्छ। यो राजनीतिक विज्ञानले दिएको सूत्र हो। राज्य सार्वभौम, सुसंगठित एकाई हुने कुरामा नै बौद्धिकहरु विश्वास गर्दा रहेनछन्। नेपाली समाजको परिभाषा नगरी नेपाली राष्ट्रियताको खोजी गर्नु गाह्रो छ। नेपाल एकल जातीय, भाषिक वा सांस्कृतिक समाज नै होइन। बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाज हो। यस अर्थमा नेपाल बहुजातीय राष्ट्र-राज्य हो। सानातिना सामाजिक सांस्कृतिक समुदाय पनि भएकाले यो बहुराष्ट्रिय राज्य पनि हुँदै हो। राज्य भनेको राष्ट्र र राष्ट्रियताले निर्माण गर्ने हो। राज्यले राष्ट्र निर्माण गर्दैन। मार्क्सवादी प्रस्तावनाअनुसार राज्य वर्गीय असंगतिको उपज हो। यसमा मत बझाउनु राजनीतिक विज्ञानसम्त हुँदैन। राज्य सधैँ अन्तरिम हुन्छ। तर, राष्ट्र र राष्ट्रियता अन्तरिम हुँदैन। राष्ट्र र राष्ट्रियता परिमार्जित, परिवर्तित हुन्छन् तर, यो लामो कालखण्डपछि। यसरी राष्ट्र र राष्ट्रियता अमर हुन्छ।
राष्ट्र र राष्ट्रियताको मनोविज्ञानअनुसार नयाँ नेपालको निर्माण हुनुपर्छ। यसो गरेमात्र वैज्ञानिक राष्ट्रियताको जग बस्छ। नाम नेपालीय दिँदैमा त्यो राष्ट्रियता नेपाली हुँदैन। नेपालीयभित्रको अन्तरवस्तु के छ, त्यसले निर्क्योल गर्छ नेपाली राष्ट्रियता। आठप्रे राई भाषामा विद्यावारिधि गरेका टंक न्यौपानेले आफ्नो शोधमा नेपालमा बोलिने सबै नेपाली मातृभाषालाई नेपालेली नाम दिएका छन्। शोधमा सबै भाषा नेपालेली त भनियो तर, राज्यमा उसको उपस्थिति कसरी हुन्छ भन्ने प्रस्ट छैन। त्यो भाषिक राष्ट्रियताको मान्यतामात्र हो।
नेपाली भन्नासाथ खस पहाडे राष्ट्रियताको धङधङी देख्ने मधेसी समुदायलाई नजिक्याउन लालले सोचपत्र ल्याउन खोजेको देखिन्छ। तर, मधेसका आदिवासी जनजाति बाहेकका हार्डलाइनर मधेसी नेता नेपालीय राष्ट्रियताको सोचमा पनि सहमत नभएको फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले नेप्लिज शब्दसम्ममा सहमति हुनसक्ने अडान राखेर पुष्टि गरे। एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रलाई माटो र मन भन्दै गैरराजनीतिक कुरा गरे। गगन थापाले राष्ट्रियताको सन्दर्भमा आफ्नो अनभिज्ञता इमानदारीपूर्वक राखे तर, राष्ट्रियता व्यक्ति-व्यक्तिमा फरक पर्ने कुरा भुटेर राष्ट्रियताजस्तो गम्भीर विषयलाई हल्का बनाइदिए। माओवादी नेता देव गुरुङले राष्ट्रियताको मार्क्सवादी प्रस्तावना जोड दिए। यसरी बौद्धिक भनिएको विमर्श अत्यन्त अबौद्धिक साबित भयो।
राष्ट्रियता सामान्य राजनीतिक संवेगमात्र होइन। नेपालका राजनीतिक दलहरुले संविधान बनाउँदा कुन दिव्य ज्ञानले राष्ट्रको परिभाषा वैज्ञानिक ढंगले गरे भन्ने प्रश्न अनुत्तरित छ। तर, त्यसबमोजिम राष्ट्रियताको परिभाषा गर्न सकिरहेका छैनन्। समस्या यही हो। दलहरुले राष्ट्रियताको परिभाषा ठीक ढंगले गर्न नसक्दा धेरैको कारोबार नेपाली राष्ट्रियताको विषय हुन पुगेको छ। राष्ट्रियताको परिभाषा गर्दा गोर्खा राज्यको विस्तारदेखि लोकतान्त्रिक गणतन्त्रसम्म उठेका राजनीतिक विषयवस्तुलाई संस्थागत गर्नुपर्छ। बीपी कोइरालाले नेपालको यस स्वरुपलाई गोर्खा राज्यको विस्तारकै हकमा बुझेको कुरा उनको लेखनमा पनि आइसकेको छ। नेपालको यो स्वरुप गोर्खा राज्यको विस्तार हो कि एकीकरण? दलले राजनीतिक धारणा नल्याउन्जेल नेपाली राष्ट्रियताको छेउटुप्पो भेटिन्न। यतिचाहिँ अवश्य हो, अहिले भइरहेका बहसहरु कुलीनतन्त्रीय राष्ट्रियताविरुद्ध लोकतान्त्रिक राष्ट्रियताको खोजी हो। पञ्चायतकालीन माटोमुखी राष्ट्रियताविरुद्ध मान्छेमुखी वा जनमुखी राष्ट्रियताको शास्त्रार्थको बहस हो। नेपाली राष्ट्रियताको नालीबेली खुट्याउन नसक्दा बिस्कुनझैँ राष्ट्रियताको परिभाषा छरिएको छ।

प्रकाशित: १५ फाल्गुन २०६८ २३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App