हाम्रो समाजको सांस्कृतिक भ्रष्टीकरण राज्यका हरेक अंगमा देखिन्छ। राज्यको कानुनले प्रतिशत तोकेर कमिसनको नाममा भ्रष्टाचारलाई प्रोत्साहन दिन्छ। कर्मचारी तोकिएको मासिक तलबबाहेक अन्य आम्दानी गर्न नपाएको भन्दै आन्दोलनमा निस्कन्छन्। राज्यका कतिपय न्यायिक अंग हजारौँको आँकडामा अनैतिकरूपमा लिने÷दिनेलाई कारबाही गर्नुको सट्टा सचेत पारेर उन्मुक्ति दिएका समाचार सुनिन्छन्। वस्तु व्यापार क्षेत्रले कुनै बहानामा पनि मनोमानी ढंगले बजारमा अभाव सिर्जना गरी अवैध नाफा आर्जन गर्छ। यस्ता व्यभिचारी गतिविधिलाई समाजले स्वीकार्दै आएको छ। सहरमा महँगा गाडी, बंगाला, महँगा धातु वा सामानको संग्रह र उपभोग जस्ता भड्किला जनजीविका सामाजिक पहिचान प्राप्तिका लागि गरिएको समाजशास्त्रीय विश्लेषण हुने गर्छ। अख्तियार वा अन्य कुनै छानबिन निकायले भ्रष्टाचारको कसुरमा पक्राउ पर्नु पनि कुनै पश्चातापको विषय हुन छोडिसकेको छ।
न्याय दिनुपर्ने स्थानले कागजमा प्रक्रिया राम्रैसँग पुर्याएपनि कतिपय फैसलामा सत्य र विवेकप्रति पटक्कै ध्यान दिइएको पाइँदैन। सजाय भोगेका व्यक्तिहरूतुरुन्तै सत्ताको संरक्षणमा समाजमा रवाफ देखाइरहन्छन्। हाम्रो समाजले भड्किलो जीवनशैली हुने व्यक्ति वा परिवारलाई सम्मान गर्छ। आम्दानीको स्रोत खोजी गरिँदैन। यहाँ त भ्रष्टाचारी र कामचोरहरूको युनियन खुल्छन् घोषित/अघोषितरूपमा। त्यस्ता व्यक्तिको स्तुतिगान गाउने केही मानिस सडकमा नाराजुलुसमा निकालिन्छन्। यस्ता घटनाले सांस्कृतिक भ्रष्टीकरण भएको मान्न सकिन्छ। त्यसको निवारण भनेको अस्वाभाविक भड्किलो जीवनयापन गर्ने व्यक्तिलाई समाजले तिरष्कार गर्नु थाल्नुपर्छ। कहीँ कतै भ्रष्टाचार भएको वा हुन लागेको थाहा पाएमा त्यसको सत्य तथ्य प्रमाण संकलन गरी उपचारका मान्य विधिहरू अपनाउनुपर्छ। त्यस्ता कसुरदारले सामाजिक इज्जत र सम्मान नपाउने व्यवस्था गरिनुपर्छ।
भुलेको विरासत
मेरो देश विश्वमा केही विशेषताका कारण प्रख्यात छ। यो देश विश्व मानचित्रमा निकै सानो छ। यहाँ विश्व जगतले चिनेका थोरै मानिस छन् भने केही थोरै मानिसले राष्ट्रिय पहिचान बनाएका होलान्। बाँकी ठूलो जमातले आफूलाई मात्र चिन्छ। त्यसबाहेक उसको कुनै परिचय छैन। उनीहरूले यस देशमा विभिन्न पेसा वा सेवामा आफ्नो पसिना बगाइआएका छन। देशको धकधकी तिनै अज्ञात जमातले जोगाइरहे। बग्रेल्तीबच्चा जन्माइदिए। आफ्नो शेषपछि देश बचाइराख्न। गाँसकाटेर सन्तान हुर्काए। सक्दो सक्षम बनाए। आफ्नै सन्तानले पनि नचिन्नेगुमनाम पुर्खा। तिनीहरूका नाममा कुनै विश्वविद्यालय, विमानस्थल, राजमार्ग, सालिक, राष्ट्रिय योजना नामकरण गरिएका छैनन्। हामी केबल आफू चिनिन चाहन्छौँ। चिनिने साध्य जो हाम्रो नयाँ जमानामा धन आर्जन, राज्य शक्ति प्राप्ति, प्राकृतिक स्रोतसाधनको उपयोग आदि स्थापित भएका छन्। ती साध्य सर्वथा नराम्रा भने होइनन् तर हामी त्यसको प्राप्तिकालागि जुन हदसम्म झर्न थाल्यौँ त्यसप्रति हाम्रा गुमनाम पुर्खा पनि लज्जित हुँदा हुन्।
यस कुराले कसैलाई चेतना हुँदैन। फेरि पनि हामी सबै त्यस्तै मौकाको ताकमा बसेका छौँ। म अनि तपाईसँग विकल्प त छ तर त्यो त्यति सजिलो भने कहाँ छ र ?घरभित्रका कतिपय मर्यादाका पर्खाल भत्काउन, राजनीतिले गिथोलेका व्यवस्थासँग जुध्न, धर्मले थोपरेका डरलाई जित्न, कार्यस्थलका महत्वाकांक्षी बोझ झेल्न अनि सेवा बजारकोहेपाइ सहन। आखिर हामीलाई सबै चाहिन्छन्बाँच्नका लागि। बाँचेर मात्र पुग्दैन विख्यात बन्नुपरेको छ, ऐस/आरामको जीवन जीउनुपरेको छ, पुस्ताको भविष्य पनि सुरक्षित राख्नु छ। आफूलाई अमर बनाउन ताम्रपत्र वा सालिक पनि बनाउनु छ। यो देशका एक जना ठूला व्यक्तिले कतै भनेका थिए–‘मलाई मेरा बाले अरूकेही नसके चोरकै भए पनि सरदार हुनु भनेका छन्।’ कति गहिरो र दूरगामी आशीष बाबुले छोरालाई दिएका। नभन्दै उनीत्यो उचाइमा पुगे। उनका केही थान फोटा टाँसिए।सेवा निवृत्त भएर पनि आज उनी प्रमुख अतिथिका रूपमा आमन्त्रित हुन्छन्सहरका गोष्ठी/सम्मेलनमा। अर्ति उपदेश बाँड्न।
भ्रष्टाचार गर्न जति आँट, बुद्धि र तालमेल मिलाउनुपर्छ त्यो भन्दा कम बल र बुद्धिले इमानको जीवन बाँच्न सकिन्छ। ख्वै हामीले यसतर्फ सोचेका ?
पेसामा दाग
म अनि तपाईँलाई पनि त्यस्तै हैसियत बनाउने रहर पक्कै होला। हामीले देखेकै हो,राजनीतिमा इमान बिकेको, स्कुलमा जमान बिकेको, न्यायालयमा न्याय बिकेको, अफिसमानैतिकता बिकेको, बजारमाबाध्यता बिकेको, सूचनामा भ्रमबिकेको, अस्पतालमारोग बिकेको।त्यसो भए किन बनाउनुपर्यो स्कुल कलेज, किन चाहियो न्यायालय, सुरक्षा संयन्त्र, बजार व्यवसाय, सञ्चार, कर्मचारी, अस्पतालभन्ने प्रश्न आउँछ।त्यसो होइन, यिनै साधन हुन् हामी बाँच्न अनि कोही कोहीका लागि फलिफाप गर्न। कोभिड–१९ को महामारीको चटारोमा सरकारी बजेटको जुन ढंगले अपचलन भइरहेको छ, त्यो लाजमर्दो छ। अहिले ७५३ पालिकाले क्वारेन्टिनमा राखिएका व्यक्तिहरूको लामो लामो सूची प्रदेश अनि संघीय सरकारलाई बुझाइरहेका छन्। त्यसको पछाडि त्यस्ता व्यक्तिको नाममा खाना तथा अन्य सुविधाका लागि छुट्याइएको आकर्षक रकम छ। तर क्वारेन्टाइनमा रहेका व्यक्ति रुखोसुखो पेटभरि खान नपाएका समाचार आउँदैछ।भ्रष्टाचार गर्न जति आँट, बुद्धि र तालमेल मिलाउनुपर्छत्यो भन्दा कम बल र बुद्धिले इमानको जीवन बाँच्न सकिन्छ। ख्वै हामीले यसतर्फ सोचेका ?
कुनै क्षेत्रविशेषमा दख्खल नभएका,लडाइँ, झैझगडा गर्न सक्ने व्यक्तिकालागि राजनीति फलिफापको पेसा भएको छ। राजनीतिक शक्ति आर्जनको स्रोत उसको पक्षमा रहेको जमातले निर्धारण गर्छ। हालको अवस्थामा राजनीति उम्मेदवारीका लागि एक सशक्त योग्यता भनेको पार्टीलाई ठूलो धनराशी चन्दा दिन सक्ने र चुनावमा पर्याप्त खर्च गर्न सक्ने हुनुपर्यो। चुनावमा खर्चेको राशी र आकर्षण गर्न सकेको जमातको आधारमा उनीहरूको पहिचान कायम हुन्छ। चुनावले हारे पनि स्थापित गराउँछ जिते त खर्चको कैयौँ गुणा असुल्न पाउने मौका पनि मिल्ने भयो। त्यसो भएपछि ठूलो हैसियत भएका व्यक्ति संघीय सांसदका हुनका लागि मरिमेटेर लाग्ने नै भए। त्यो पनि नहुँदा प्रदेश सांसद र पालिकाको नेतृत्वमा आउने दाउमा रहन्छन्। अहिलेको राजनीतिले यसै कुरालाई पुष्टि गर्छ।
विश्वविद्यालयहरूज्ञानको केन्द्र हुनुपर्ने मान्यता परापूर्वकालकै हो। त्यहाँसंलग्न व्यक्तिबाट समाजले समसामायिक परिस्थितिको निरपेक्ष विश्लेषण, राम्राको सराहना र खराबको आलोचना अनि समाज विकासका लागि उपयुक्त मार्गनिर्देशनकोअपेक्षा गर्छ। त्यस कार्यको अगुवाइविश्वविद्यालयको नेतृत्वले गर्नुपर्छ। त्यसका लागि नेतृत्वमा खुला मस्तिष्क र जिज्ञासु मन हुनुपर्ने हो तर हाम्रो देशको परिवेशमा त्यति आशलाग्दो अवस्था देखिँदैन।
सेवामा अड्को
सेवा क्षेत्रमा जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने पानी, खाद्यान्न, शिक्षा, यातायात, सुरक्षा, रोजगारीका क्षेत्रमा विसंगति व्याप्त छ। केही वर्षअघिसम्म दैनिक सोह्र घण्टा लोडसेडिङ हुने देश दूरदर्शी नेतृत्वका कारण अब त्यो अवस्था इतिहास हुँदैछ। अझै पनि पिउने पानीको क्षेत्रमा व्याप्त राजनीतिक लिप्सा र अव्यवस्थाका कारण मानिस काकाकूल छन। यातायातमा व्याप्त सिन्डिकेट हटाउने सरकारी बातलाई पत्याएर फुरुंग परेका हाम्रा खुसी कर्कलोको पानी जस्तै पोखियो।
देशमा स्कुल तहमा पढ्दा मासिक पचास हजारको हाराहारीमा शिक्षण शुल्क असुल्ने स्कुल धेरै भइसके। त्यस्ता स्कुलले बच्चा भर्ना गर्दा बाबु/आमाको अपमानित हुने गरी अन्तर्वार्ता लिएका समाचार सुन्दा अब आश्चर्य लाग्न छाड्यो। बहालवाला कर्मचारीआफ्ना नियमित काम भड्किलो पाराले प्रचारप्रसार गर्छन्। एक जना श्रम कार्यालयका अधिकृत आफ्नो पदीय जिम्मेवारीअन्तर्गत सम्पादन गरेका काम यसरी प्रचार गर्छन् कि उनी देशको कानुन र राज्य भन्दा माथि छन।यस्ता रवैया सञ्चार माध्यमले रुचाइदिँदा पनि समस्या उत्पन्न भएको छ।
धर्म व्यापार व्यापार भएको छ। समाजको अलिखित कानुन हो धर्म। त्यही धर्मको धागो समाएर समाज विभाजन गर्ने, द्वेष र घृणाभाव फैलाउने कार्यमा धर्मलाई साधन बनाउने क्रम निकै व्यापक हुँदैछ। जनताको सानोतिनो रकम जम्मा गरी बचत गरेको पुँजीको न्यून प्रतिफल दिइ आफनै पारिवारिक वा व्यवसाय साझेदारबीच लगानी जम्मा गरेर वित्तीय एकाधिकारको कुचक्र फैलाएका वाणिज्य बैंक सञ्चालकहुन्या सेवा बजारमा एकाधिकार चलाउने व्यापारी, उपदेशको भिडमा छयापछ्याप्ती छन्। केही पेसाकर्मी, जस्तै– स्वास्थ्यकर्मी, पत्रकार, वकिल, सामाजिक कार्यकर्ता आदि अपारदर्शी कार्यमा बढी लिप्त भएका महसुस भइरहेको छ।यस्ताले फलाक्नेसमृद्धि, सशक्तीकरण, समानता, मानव अधिकार जस्ता अबोधगम्य नाराको उपादेयता देखिँदैन।
धन्दावाल हुनु नराम्रो होइन। धन्दामा सफल हुन सेटिङ मिलाउन सक्नुपर्छ। जति राम्रो सेटिङ मिलाउन सक्यो त्यति सफल। अनि जति सफल भइयो त्यति चकचकी। धन्दा सरकारी विकास बजेट हडप्ने हुन सक्छ, दुई नम्बरी सामान वा कमसल सामानको उत्पादन र बजारीकरणको हुन सक्छ। लागु पदार्थको पनि हुन सक्छ या गुण्डाराजको पनि। आखिर अकुत सम्पत्ति थुपार्नुसम्मको सरोकार न हो। जोसँग अकुत सम्पत्ति छ उसैलाई न समाजले चिन्ने हो। यहाँ कोसिस गर्ने (जो असफल पनि हुन सक्छ)लाई कसैले रुचाउँदैन। यतिसम्म कि आफ्नै परिवारले समेत। बा/आमाले घरबाट निकालिदेलान्।श्रीमतीले सम्बन्ध विच्छेद गर्लान्। छोरा÷छोरीले बाबुको परिचय गाँसिएका नाता सम्बन्ध फुकाउलान्। भर्खर प्रेम हुनेले सँगै बिताएका रमाइला पलहरूको हर्जाना माग्लान्। साथीले फोन नम्बर मेट्ला। अरू त अरू, यसलाई समाजले समेत लम्फु, सिल्ली, पागल, पतित जस्ता लाञ्छना लगाउनेछ। त्यसो भएपछि कोही किन फेल हुन चाहन्छ, आफैँले आफनो चिता सजाउन ?
(सहप्राध्यापक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)
प्रकाशित: ५ जेष्ठ २०७७ ०६:४४ सोमबार