१३ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

पुर्खाले सिकाएको खाना उत्तम

अंग्रेजीमा एउटा उक्ति छ, ‘यु आर ह्वाट यु इट’ अर्थात् तिमी जे खान्छौ, त्यही हौ । विश्वमा अहिले के खाने, कसरी खाने र कहाँ खाने भन्ने बहसको विषय बनेको छ । हामीलाई भने पुर्खाले खाना खाने विधि सिकाएका छन् । उनीहरू आफ्नो रहनसहन र हावापानीअनुरूप खाना खाने गर्थे, तर हामी त्यस्तो गर्दैनौं ।

यो अमूल्य मानव जीवन स्वस्थ हुनुपर्छ । पूर्वीय दर्शनले जीवनशैलीलाई उच्च प्राथमिकतामा राखेको छ । परमात्मा वा प्रकृतिले यो संसार यसरी निर्माण गरेको छ कि कुनै एकपक्षले गर्दा मात्र यहाँ केही हुँदैन । हाम्रा पूर्वजले मानव जीवन र प्रकृतिको महत्व बुझेर वर–पिपल र तुलसी रोप्ने, पूजा गर्ने चलन चलाएको हुनुपर्छ । प्रकृतिसँग नजिक भएर बस्ने, करेसाबारी बनाउने, फलफूलका बोट लगाउने, मौसमी फल खाने र आफैंले खानेकुरा उत्पादन गर्ने तरिका साँच्चै वैज्ञानिक थिए । हामी भने मौसमी फल खानुका सट्टा जुनसुकै बेला खानका लागि औषधिको प्रयोगले तयार पारिएका फल, गुलिया जुस, ‘युरोपियन’ वा ‘अमेरिकी स्ट्यान्डर्ड’ भन्दै सोडा र कोला लगायत खान लालायित भएका छौँ । 

आज हामी विदेशी खानाको पछाडि लागेका छौं र आफ्नो वातावरण अनुसारको खाना खान बिर्सेका छौं । आफ्नो भूगोल र हावापानी अनुसारको खाना खानु उत्तम हुन्छ । हिमालको मानिसले शरीरलाई तातो राख्ने खाना खानुपर्छ, तराईवासीले रेशायुक्त खाना खानुपर्छ । हिमालवासीले तराईवासीले जस्तो खाना खाने र तराईवासीले हिमालवासीको जस्तो खाना खाँदा जीवनरक्षा प्रणाली राम्रो हुँदैन । कोरोना जस्तो भाइरससँग लड्न पनि हाम्रो प्राणशक्ति बलियो हुनुपर्छ र यसले हामीलाई रोगसँग लड्न शक्ति दिन्छ । आजको जीवनशैलीले हामीलाई जिउँदै त राखेको छ, हाम्रो प्रतिरक्षा प्रणाली भने यसले कमजोर बनाएको छ ।

भोजनमा तीन प्रकारका गुण हुन्छन्– सत्व, रजस र तमस । आयुर्वेदका अनुसार, रजस र तमसले शरीरको त्रिदोष (वात, पित्त, कफ) लाई असर गर्छ ।

हामीले थोरै मात्रै आफ्नो आनीबानी परिवर्तन ग-यौँ भने आफ्नो प्राणशक्ति बलियो बनाउन सक्छौं । प्राणशक्तिलाई शरीरभित्रको डाक्टर नै भन्दा पनि हुन्छ । 
यी तीन सरल तरिकाले प्राणशक्ति बलियो बनाउन सकिन्छ ।

सूर्यस्नान 
दैनिक करिब ३० मिनेट सूर्यको किरणमा बस्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । सूर्य किरणले प्राकृतिक कीटाणुनाशकको काम गर्छ । शरीर बाहिरका कीटाणु मार्छ । सूर्यस्नान गर्दा सूर्यको प्रकाश प्रत्यक्ष रूपमा शरीरमा पर्ने ठाउँमा बस्नुपर्छ, तर धेरै गर्मी हुने गरी होइन । १५ मिनेट शरीरको अगाडिको भागमा र १५ मिनेट पछाडिको भागमा किरण पार्नुपर्छ । सूर्यस्नान गर्दा कपडा कम लगाउने र विशेष गरेर कटनको सेतो र नरम कपडा लगाउनुपर्छ, पोलिस्टरको बाक्लो कपडा लगाउनु हुँदैन । बिहान र साँझको सूर्य किरणले प्राकृतिक स्यानिटाइजरको काम गर्छ । 

उपवास 
शरीरलाई भित्रैबाट सफा गर्ने तरिका उपवास पनि हो । भित्रदेखि सफा शरीरलाई कतिपय भाइरसले पनि असर गर्न सक्दैन । हाम्रो शरीरको प्राणशक्तिले खाना पचाउने काम नगर्दा विषहरण (डिटक्सिफिकेसन) को काम गर्न थाल्छ । उपवासका बेला शरीरबाट विकार र पुराना तन्तुहरू (टिस्यु सेल्स) निस्कन्छन् र ठूलो र सानो आन्द्रा पनि सफा हुन्छ ।
शरीरका विकारहरू पिसाब, दिशा, श्वास र पसिनाबाट निस्कन्छन् । उपवास धेरै प्रकारका हुन्छन् । एउटा हो, १६ घण्टा उपवास । यसमा राति ८ बजे खाना खाएपछि भोलिपल्ट दिउँसो १२ बजे खाने र १२ बजेअगाडि हर्बल चिया, जुस, कागती पानी पिउनुपर्छ । खाना खानु केहीअघि फलफूल खानु उत्तम हुन्छ । यस्तो उपवासले प्राणशक्ति बलियो बनाउँछ । 

प्राकृतिक खाना 
प्राकृतिक खाना (अथवा प्राणशक्ति भोजन) भनेको प्रकृतिबाट आएको खाना, जसले शरीरको प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । शरीरले पचाउन गाह्रो हुने खाना सकेसम्म कम खानुपर्छ । भोजनमा तीन प्रकारका गुण हुन्छन्– सत्व, रजस र तमस । आयुर्वेदका अनुसार, रजस र तमसले शरीरको त्रिदोष (वात, पित्त, कफ) लाई असर गर्छ । मानिसमा डर, चिन्ता र तनाव रजस भोजनबाट आउँछ, त्यस्तै तमस भोजनले शरीरमा अल्छीपन, घृणा, आशक्ति र डिप्रेसन आदि बढाउँछ । च्याउ, किण्वित खाना (फरमेन्टेड फुड), मध्यपान, मासु, प्याज, लसुन, बदाम जस्ता पचाउन गाह्रो हुने खानेकुरा कम खानुपर्छ । यी खानाहरू तमस हुन् । यस्ता खानेकुरा धेरै दिनसम्म आन्द्रामा रहेर ब्याक्टेरियालाई सहयोग र शरीरको प्रतिरक्षा प्रणालीलाई असर पु-याउँछ ।

सत्व गुण भएको भोजनलाई आयुर्वेदले उत्तम मान्छ । सात्विक भोजनले त्रिदोषलाई पनि सन्तुलन गर्छ । सात्विक भोजनले मानिसमा माया, करुणा, खुसी, शान्ति, ध्यान, आत्म नियन्त्रण, सन्तुष्टि, निडर र विश्वास बढाउने काम गर्छ । 

हामीले सकेसम्म घरमै बनाएर मीठोभन्दा पनि गुणकारी खाना खानुपर्छ । प्रतिरक्षा प्रणाली बलियो बनाउन आफ्नो घरमा उपलब्ध हुने खाना बनाउन सिक्नुपर्छ । आमाले बच्चाहरूलाई घरमै खाना बनाएर खुवाउनु उत्तम हुन्छ । भोजनमा सकारात्मक ऊर्जा हुनाले बच्चाको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । गाउँघरमा जमिनमा बसेर खाना खाने चलन हुन्छ र सफा जमिनमा पलेटी बसेर खाँदा पचाउन सजिलो हुन्छ । सहरमा पनि सकेसम्म बच्चाहरूलाई कम्तीमा हप्ताको दुईपटक पलेटी कसेर खाना खान सिकाउनुपर्छ । यसले बच्चाको पाचन प्रणाली र प्रतिरक्षा प्रणाली पनि राम्रो हुन्छ । 

सूर्यस्नान, उपवास र प्राकृतिक खानाले हाम्रो प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । कोरोनाको महामारीमा यस्ता खाना विधि हाम्रा लागि झनै महत्वपूर्ण हुन्छन् ।     

प्राणशक्ति बढाउने भोजन
गरम मसला चियाले शरीरलाई तातो बनाउँछ । ढिलो पच्ने खानालाई (मासु, माछा, धेरै चिल्लो, पिरो भएको खाना) यसले गलाउने काम गर्छ र पचाउन सजिलो बनाइदिन्छ । यसले रगतको मात्रा, शरीरको तौल र मधुमेह जस्ता रोगसँग लड्न सहयोग पु-याउँछ र शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउँछ । गरम मसला चिया घरमै बनाउन सकिन्छ । जिरा २० ग्राम, मरिच १० ग्राम, दालचिनी २० ग्राम, सुठो २० ग्राम, ल्वाङ, सुकमेल, ठूलो इलाइची पाँच ग्राम, तेजपत्ता १० ग्राम, जाइफल दुई ग्राम र सोंफ तीन ग्राम मिलाएर गरम मसला चिया बनाउन सकिन्छ । 

माथिको खाना तयार पार्न मैले हाम्रै वरिपरि सबैले सजिलै पाउन सक्ने सामग्री प्रयोग गरेकी छु । यो खानेकुरा स्वस्थ, मिठो, सुलभ र सबैले खान सक्ने खालका छन् ।  

कस्तो र कसरी खाना खाने भन्ने कुराले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यसँगै सम्पूर्ण जीवन प्रणालीको सन्तुलनमा प्रभाव पार्छ । जापानका वैज्ञानिकले एक सय ३६ देशमा गरिएको एक अनुसन्धानबाट मोटोपनको समस्या धेरै मात्रामा भात खाने देशमा निकै कम देखिएको पत्ता लगाएका छन् । कम मात्रामा भात खाने देशमा मोटोपनको समस्या धेरै देखिएको सो अध्ययनले देखाएको छ ।

परापूर्वकालदेखि चलिआएको र पुस्तौँपुस्ताले अनुशरण गर्दै आएका खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदो हुन्छ । आफ्नै उत्पादन खानुपर्ने हुँदा यसले आत्मनिर्भर हुन पनि सहयोग पु-याउँछ । विदेशका छिटो–छरितो खाना जिब्रोलाई मिठो लाग्ला तर हाम्रो शरीरलाई फाइदा पु-याउँदैन । हामी सबै अहिलेको अवस्थाबाट आहत छौँ । आ–आफ्नो घरमा बस्ने र हामीले खाने कुरामा ध्यान दिनु जरुरी छ । खुसी भएर खाएको खाना नै सर्वोत्तम हुन्छ ।

प्रकाशित: २० वैशाख २०७७ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App