अहिले विश्वमा सबैभन्दा बढी प्रभाव कोरोना भाइरस (कोभिड–१९)ले पारिरहेको छ। भौगोलिक सीमा नाघेर हरेक मानवको जीवनमा विषाणुले यति धेरै प्रभाव पार्नुमा मानिस यथार्थमै अन्तर्राष्ट्रिय जाति भएको प्रमाण पनि हो। अन्यथा विगतमा कुनै रोग विशेषले खास क्षेत्रलाई मात्र प्रभाव पाथ्र्यो। आज यसको फैलावटका कारण विगतमा फैलिएको ‘स्प्यानिस फ्लु’को समेत सम्झना भइरहेको छ। तर सञ्चार र सूचना प्रविधिको विस्तार र मानिसको संसारभर भइरहेको यात्रा र गतिविधिले यसलाई असीमित तुल्याएको छ। संसारका कुनै कुनामा केहीले असर पा-यो भने त्यो हाम्रो घरकरेसामा पनि आइपुग्छ भन्ने हो। विगतमा सार्स, मार्सजस्ता विषाणुजन्य रोगको फैलावट भएको हो। तर त्यसलाई नियन्त्रण गर्न जति समय लागेको थियो, त्योभन्दा कम समयमा अहिले कोभिड–१९ को प्रकृति थाहा पाउन लागिएको छ। अहिले यसको उद्गम मानिएको चीनको उहान क्षेत्रमा यो भाइरस नियन्त्रण भइसकेको तथ्य त्यहाँका अस्पताल खाली गरिएको तस्बिरले देखाएको छ। तर यो भाइरसको प्रभाव जबर्जस्त देखिएको छ। यतिबेला यसले युरोपका इटाली, फ्रान्स र अमेरिकाजस्ता विकसित मुलुकलाई आक्रान्त पारेको छ। यो भाइरसको संक्रमण खासगरी ज्येष्ठ नागरिक रहेका मुलुकमा बढी देखिएको छ। युवालाई पनि यसले आक्रमण गर्ने भए पनि ज्यानै जाने खतरा भने कम देखिएको छ। कोरोनाबाट सोमबारसम्म १ लाख ७३ हजार २९ जना संक्रमित भएका छन्। यसबाट मृत्यु हुनेको संख्या ६ हजार ६ सय ६३ पुगिसकेको छ।
युभाल नोहा हरारीले आफ्नो चर्चित पुस्तक ‘सेपियन्स’मा चित्रण गरेजस्तै मानव र विषाणुबीचको संघर्ष नै मानव जातिको विकास र विस्तार प्रक्रिया हो। कोभिड–१९ बाट पनि मानिसले आफूलाई अझ अगाडि बढाउने निश्चित छ।
छोटो समयमा यसबाट भएको मृत्युले संसारमा ठूलो भय सिर्जना गरेको छ। त्यसैकारण यसबाट बच्न विश्वका मुलुकले आवागमनदेखि दैनिक गतिविधिसम्म रोक लगाइरहेका छन्। हाम्रो देशमा यो संक्रमणबारे अनुसन्धान भइरहेको छ। अहिलेसम्म एक जनामा कोरोना संक्रमण पुष्टि भए पनि अहिले उनी निको भइसकेका छन्। एक जनाको पनि मृत्यु नभएकामा नेपालीले आफूलाई धन्य ठानेका छन्। चीन र भारतजस्तो ठूलो जनसंख्या भएका मुलुकका बीचमा रहेको नेपालमा यो रोगको संक्रमण भयो भने स्थिति कस्तो होला भन्ने चिन्ता यतिबेला सर्वत्र देखिन्छ। तर यसबारे बेलैमा सतर्कता अपनाउन थालिएका कारण पनि नेपाल भाग्यमानी देखिएको छ। यति हुँदाहुँदै पनि विश्वमा व्याप्त महामारीले यहाँको अर्थतन्त्रमा समेत असर पार्न थालिसकेको छ। आर्थिक गतिविधि रोकिएका छन्। सर्वसाधारण आफैं सार्वजनिक ठाउँमा कमै निस्किन थालेका छन्। व्यापरिक क्षेत्रमा पनि शून्यता छाउँदै छ। मानिसले अत्यावश्यकबाहेकका सामग्री किन्न छाडेका छन्। यसरी बजारमा गतिविधि कम देखिन थाल्नु अर्थतन्त्रका निम्ति चिन्ताको विषय हो। नागरिकको रोग–प्रतिरोध क्षमता बढाउँदै र रोकथामका उपाय अवलम्बन गर्दै आर्थिक गतिविधि अघि बढाउनु नै एक मात्र उपाय हुन सक्छ। त्यसका लागि आत्मविश्वास बढाउने काममा सरकार र नागरिक समाजसमेत लाग्नुपर्ने अवस्था छ।
यसै सन्दर्भमा नागरिक दैनिकले सोमबार कोरोनाले अर्थतन्त्रमा पारेका प्रभावबारे अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा अर्थशास्त्री, सांसद र व्यापारिक क्षेत्रका व्यक्तिसँग छलफल गरेको छ। अर्थतन्त्रमा अहिले देखिएका असर कम गर्न सरकारले विगतमा यस्तै संकटका बेलामा अवलम्बन गरेका उपाय अपनाउन सकिने सकारात्मक सन्देश अर्थमन्त्री खतिवडाले दिएका छन्। कोरोना भाइरसले जुन तहमा आतंक मच्चाएको छ, त्यही तहमा सरकार र सर्वसाधारण नागरिक सबै गम्भीर बनेका छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका सरकार तथा राष्ट्र–प्रमुखको बैठकमा समेत यो संक्रमणविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता सार्वजनिक भइसकेको छ। त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली सरकारका प्रभावशाली मन्त्री खतिवडाबाट यस सम्बन्धमा सरकारले गम्भीरतापूर्वक काम गरेको सन्देश आउनु आम नागरिकको मनोबल बढाउने काम हो। कोभिड–१९ ले आम मानिसको व्यवहारमा समेत परिवर्तन ल्याउने संकेत देखिँदै छ। व्यक्ति–व्यक्तिबीच निश्चित दूरी कायम गर्ने, अंकमाल वा हात मिलाउनुको सट्टा नमस्कार गर्ने र हरेकले आफ्नो स्वास्थ्यमा ध्यान दिने बानी विकास भएको छ। व्यक्तिगत स्वास्थ्य र सरसफाइ मात्र होइन, आफूवरिपरिको वातावरणमा पनि ध्यान दिन अहिलेको संकटले सबैलाई सिकाएको छ। तसर्थ यो आफैंमा एउटा अवसर पनि हो। युभाल नोहा हरारीले आफ्नो चर्चित पुस्तक ‘सेपियन्स’मा चित्रण गरेजस्तै मानव र विषाणुबीचको संघर्ष नै मानव जातिको विकास र विस्तार प्रक्रिया हो। कोभिड–१९ बाट पनि मानिसले आफूलाई अझ अगाडि बढाउने निश्चित छ।
प्रकाशित: ४ चैत्र २०७६ ०३:५० मंगलबार