१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
विचार

जसले कोरोना संक्रमण जिते

कोरोना विजयीसँगको भेट अर्थात् कोरानाभाइरस संक्रमितले संक्रमणविरुद्ध विजय प्राप्त गरिसकेपछि मसँग भएको दोस्रो पटकको भेटघाट भनेर बुझ्न सकिन्छ। ऊसँग मेरो दाेस्रोपटक भेटघाट भइरहँदा नेपालसहित विश्व नै यो नयाँ भाइरसबाट आतंकित भइरहेको थियो। यसबीच भाइरसले कोभिड–१९ को नाम पनि पाइसकेको थियो। ‘डा.सा’ब मलाई चिन्नुभएन, म यहाँ कोरोना भाइरसको उपचार गरेर गएको थिएँ नि ?’ तुरुन्त ठम्याउन सकिनँ। नसक्नाको कारण थियो– उसले लगाएको पहिरन र टोपी।

‘तिमीलाई कस्तो छ, परिवार, छरछिमेक, साथीभाइ कसैलाई स्वास्थ्यमा समस्या त छैन नि ?’ यी सबै प्रश्न मैले एकै सासमा सोध्न भ्याएको थिएँ। किनभने ऊसँग त्यसबेला भएको कोरोना संक्रमण कतै अरू नजिकका मानिसलाई पनि सरेको पो थियो कि भन्ने शंका थियो। किनकि अस्पताल भर्ना हुनुअगाडि उनी आफ्ना परिवार सदस्यसँगै बसेका थिए भने प्रयोगशालाबाट उनको नमुना परीक्षणको रिपोर्ट आउनुअघि नै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
भाग्यवश ! उनका परिवारका सदस्यलगायत वरपर कोही पनि बिरामी नभएको उत्तर पाएँ। अनि सन्तोषको सास फेरें। हाल समाजमा फैलिएको कोरोना संक्रमणसम्बन्धी भ्रम चिर्न यो उत्तर सबैभन्दा सशक्त थियो र छ। नेपालमा अहिले कोही चिनियाँ वा चीनबाट फर्केर आउने नेपाली आफूनजिक पर्नेबित्तिकै कोरोना संक्रमण सरिहाल्छ कि भन्ने त्रासले व्यापकता पाइरहेको देखिन्छ।

केही दिनअगाडि चीनबाट फर्केर आएका एक विद्यार्थी कोरोनाको उपचार गराउँदा गराउँदै अस्पतालबाटै भागेको भनेर वडा कार्यालयमा कसैले उजुरी दिएछ। वडा कार्यालयले पनि त्यही उजुरीका आधारमा फरार ती विद्यार्थीलाई पक्राउ गरी पाऊँ भनी प्रहरी चौकीलाई अनुरोध–पत्र लेखेछ। प्रहरीले पनि कोरोना नभएको प्रमाण लिएर आउन भनेपछि ती विद्यार्थी तनावले विक्षिप्त भएर टेकु अस्पताल आइपुगेका थिए। यसले हाम्रो समाजमा कोरोनाभाइरसको सन्त्रास कति गहिरो तहसम्म पुगिसकेको रहेछ भनेर देखाउँछ।

कोरोनासँगको संघर्षमा ती बिरामीले विजय प्राप्त गरेपछि अस्पतालले डिस्चार्ज गरेको थियो। यो रोगको सफल उपचार गर्ने चीनबाहिरका थोरै राष्ट्रको पंक्तिमा नेपाल पनि पर्छ।

कोरोना विजयीसँग भेट हुँदा उनमा आत्मबल बढेको तथा उनी रोगबारे बढी जिज्ञासु र आफ्नो स्वास्थ्य सुधार भएकाप्रति सन्तुष्ट पाएँ। म स्वयं पनि बढी उत्सुक भइरहेको थिएँ र त्यो भेटलाई अरू धेरै कुरा जान्ने अवसरका रूपमा लिइरहेको थिएँ। किनभने जहाँसम्म लाग्छ– पंक्तिकारले विश्वमै पहिलोपटक विदेशी भाषा (नेपाली) मा यही रोगबारे ‘चीनमा सार्सजस्तो भाइरस फैलियो, नेपाल कति जोखिममा ?’ लेख प्रकाशन गरेको थियो। यो लेख प्रकाशन हुनुभन्दा अगाडि र भएको केही समयसम्म यो रोगलाई रहस्यमय रोग नै ठानिएको थियो। हाल यसलाई ‘कोभिड–१९’ नामकरण गरिएको छ।

कोरोनासँगको संघर्षमा ती बिरामीले विजय प्राप्त गरेपछि अस्पतालले डिस्चार्ज गरेको थियो। यो रोगको सफल उपचार गर्ने चीनबाहिरका थोरै राष्ट्रको पंक्तिमा नेपाल पनि पर्छ। यसमा हामीले गर्व गर्नुपर्छ जस्तो लाग्छ। यसले कम विकसित देशमा कोभिड–१९ को संक्रमण फैलिए उपचार सम्भव छैन भन्ने हल्लालाई यसले गलत साबित गरिदिएको छ। अवश्य पनि नेपालसँग विकसित देशहरूसँग जस्तो पर्याप्त स्रोत÷साधन नहोला। तर कोरोना संक्रमित र यही संक्रमणका कारण मृत्यु हुनेको संख्या तुलना गर्ने हो ती विकसित देश, नेपालभन्दा बढी जोखिमा देखिन्छन् भन्दा अत्युक्ति नहोला।

झन्डै दुई दशकको चिकित्सकीय अभ्यासमा लाखौं बिरामीको उपचारमा म प्रत्यक्ष सहभागी भएँ भने अहिलेको यो ‘कोभिड–१९’को अर्को प्रजाति ‘सार्स कोरोनाभाइरस’का शंकास्पद बिरामीको उच्च निगरानी गर्ने टोलीमा पनि संलग्न हुने अवसर पाएँ। यस्तो अवस्थामा भाइरस आफंैमा नयाँ हुने भएकाले विश्वलाई नै यस्ता भाइरसका गतिविधिमा अत्यन्तै चासो हुने गर्छ। जसको गहिरो अवलोकनका आधारमा निष्कर्ष निकालिन्छ र त्यसको उपचार तथा त्यसबाट बच्ने उपायबारे निर्देशिका तयार पारिन्छ। त्यस्तै अहिले कोभिड–१९ को अनुसन्धानमा विश्वभरका वैज्ञानिक तीव्र रूपमा लागेका छन्। कतिले यो भाइरस तीव्र गतिमा फैलिने तर मृत्यु भने कम गराउने खालको हो भनेका छन्। त्यस्तै यसलाई श्वासप्रश्वासबाट सजिलै सर्ने भाइरस ठानिएको छ भने यो, दिसा वा जुठोबाट, सँगै बस्दा सर्छ आदि कुरा आउने क्रम जारी छ।

तर नेपालमा कोरोना विजयीको उदाहरण हेर्दा भर्खरै उल्लिखित आधारमा यो भाइरस सर्छ नै भन्न नसकिने देखिन्छ। माथि उल्लिखित सर्ने आधार÷अवस्थालाई कोरोना विजयी ती नेपालीको भनाइले चुनौती दिएको छ। तर कारण विभिन्न हुन सक्लान्। यस्तै हालै चीनको उहानबाट उद्धार गरी ल्याइएका १७५ नेपाली कसैमा पनि कोरोना नभएको पुष्टि भएको छ। यसबाट पनि के प्रमाणित भएको छ भने संक्रमण फैलिएको ठाउँमा बसोबास गर्दैमा सबैलाई भाइरसले आक्रमण गरिहाल्छ भन्ने हुँदैन। यसबाट पंक्तिकारले मात्र होइन, विश्वले पनि सिक्न सक्ने देखिन्छ। र, थप अनुसन्धानको आवश्यकता देखिन्छ।

ती कोरोना संक्रमितको उपचार गरिरहेका बेला तथा उपचारपछि उनलाई भेट्नुअघि बीचको समय नेपालमा पनि एकजनामा कोरोनाभाइरस देखियो भनेर जताततै व्यापक हल्ला भइरहेको थियो, त्रास फैलिइरहेको थियो। तर यस्तो नकारात्मक प्रचार चिर्ने व्यक्ति वा संस्था/संगठनको उपस्थिति लगभग शून्यजस्तै देखिन्थ्यो। उसो त अहिले पनि सकारात्मकभन्दा नकारात्मक प्रचार गर्ने क्रम कहाँ रोकिएको छ र !

ती कोरोना विजयी नेपालीको कथा प्रस्तुत गर्न सके नेपालमा हाल व्याप्त कोरोना–भ्रम चिर्न त्यो एउटा बलियो र सशक्त कदम बन्न सक्छ। कोरोना संक्रमणलाई जितेका ती पात्र सकारात्मक सोचको रोल मोडलका रूपमा प्रस्तुत हुन सक्छन्। यति मात्र होइन, उनी  विश्वकै लागि पनि प्रेणाको स्रोत बन्न सक्छन्। स्मरण रहोस्, केही समयअगाडि एउटा विदेशी अस्पतालबाट कोरोना संक्रमित एक व्यक्ति सफल उपचारपछि डिस्चार्ज भएर हात हल्लाउँदै घर गएको खबर÷दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महत्वसाथ प्रकाशन÷प्रसारण गरेका थिए। त्यसले कोरोनाले छोयो कि मरिहालिन्छ भन्ने भ्रम÷त्रासलाई धेरै हदसम्म चिरेको थियो।

पछिल्लो समय, नोवेल कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने दर क्रमशः घट्दै गएको तथ्यांकले देखाइरहेका छन्। यसमा चीनले भाइरस नियन्त्रणका लागि खेलेको भूमिकाको प्रशंसा गर्नैपर्छ। सबैभन्दा ठूलो उपलब्धि भनेको चीनले कोरोनाभाइरसको उद्गमस्थल उहानबाट अन्य सहरमा व्यापक रूपमा यसको संक्रमण फैलिन नदिनुलाई मान्नुपर्छ। त्यस्तै चीनबाट शंकास्पद संक्रमितहरूलाई अरू देशमा जानबाट रोक्नाले पनि यसले विश्वव्यापी रूप लिन नपाएको भन्न सकिन्छ। नेपाल, चीनको छिमेकी देश भएकाले ‘कोभिड–१९’को जोखिम उच्च हुने भए तापनि १ जनाबाहेक अरू संक्रमित व्यक्तिलाई नेपाल भित्रिन नदिनुलाई सफलताको सूचक नै मान्नुपर्छ। तर यसको संक्रमण समाप्त भइनसकेकाले सतर्कता र सजगता भने अपनाउनुपर्छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App