रामजी ढकाल
धेरैले प्रश्न उठाउने गरेका छन्– नेपाल कृषिप्रधान देश नै हो त ? म ठोकुवा गर्छुु– कृषिप्रधान नै हो, किनकि हामी यहाँ अहिले अर्थात् २१औं शताब्दीमा पनि ६५ प्रतिशत मानिस कृषिमै आश्रित छौं। र, हाम्रो देशको हावापानी, माटो, वातावरण सबै कृषिमैत्री छन् भन्दा फरक पर्दैन। पहरामा बीउ रोपेर बाली उब्जाउने प्राणी हौं, हामी। त्यसैले त प्रायः सबैको जीविकोपार्जनको आधार कृषि बन्न सकेको छ। अनि मुलुकको आर्थिक मेरुदण्ड पनि कृषि नै हुन सकेको मुख्य कारण पनि यही हो।
विडम्बना, कृषि अहिले आकर्षणको क्षेत्र बन्न सकेको छैन। मुलुकको मेरुदण्डका रूपमा रहेको कृषिमा संलग्न हुनुपर्ने युवा हरेक दिन विदेशिइरहेका। यतिबेला ६५ लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशिएका खबरले मुलुकवासीलाई खल्लो बनाएको छ।
खाद्यान्नबिना मानिस बाँच्नै सक्दैन। कतिपय देशमा यही खाद्यान्न अभावले कोकोहोलो मच्चाइरहेको छ। तर हाम्रो देशमा खाद्यान्न जति पनि उब्जाउ हुन्छ। खाएर निर्यात गर्नसमेत पुग्थ्यो, केही समय अघिसम्म। अहिले भने कृषिमा लाग्ने मानिस सबै विदेश गइदिँदा आफैंलाई चाहिने खाद्यान्नसमेत आयात गर्नुपर्नु अवस्था आएको छ। खेतीयोग्य जमिन प्रशस्त छँदाछँदै पनि जमिनलाई कसरी प्रयोग गर्दा देशको हित हुन्छ भन्ने सोच कतैबाट पनि नपलाउँदा कृषि–क्षेत्र दिनप्रतिदिन ओरालो लागिरहेको देखिन्छ। जसमा किसानदेखि राजनीतिक दल हुँदै सरकारसम्म जिम्मेवार छन्।
हाम्रो देशलाई कति खाद्यान्न चाहिन्छ ? यो कसरी निकाल्न सकिन्छ ? अनि कति लगानी वा मेहनत बढाए थप कति उत्पादन हुन्छ र त्यो कहाँ र कसरी निर्यात गर्न सकिन्छ भन्नेबारे अध्ययनै भएको छैन। यही कारण सिंगो कृषि– क्षेत्र बिलखबन्दमा परेको छ। एकारित सयौंको संख्यामा कृषि–वैज्ञानिक पालेर राखेको छ, सरकारले, अर्कातिर खेती प्रविधि र उत्पादन शैलीमा वैज्ञानिकीकरण भने हुन सकेको छैन। यही कारण पनि कृषिप्रति प्रत्येक दिन नयाँ पुस्ता हच्किरहेको छ। दुःखको कुरा यसप्रति सरकार भने गम्भीर छैन।
कृषि–यन्त्र गतिला छैनन्। यो महिला र साना किसानमैत्री पनि छैनन्। अनुसन्धानबिनै केही समूह वा व्यक्तिले उत्पादन गरेका कृषि–औजार पनि सजिला छैनन्। केही बालीको उत्पादन राम्रो भइहाले पनि बजारीकरणको समस्या छ। सरकारको उपस्थिति नभएकाले बिचौलियाको हालीमुहाली बढ्दोछ। तर पनि व्यापारी र बिचौलियासँग आत्मसमर्पण गर्नुको विकल्प किसानसँग छैन। बाली उत्पादनका खर्च लगाउने किसान तर त्यसको बिक्री–मूल्य तोक्ने कामचाहिँ बिचौलिया कि व्यापारी ! यही बेमेल तालमेल नै कृषिप्रति विकर्षणको मुख्य कारण हो भन्दा फरक पर्दैन।
नेपालमा आज खेतीपातीप्रति किसान दिनप्रतिदिन असन्तुष्ट हुँदै जानु नै यो पेसा ओरालो लाग्नुको अर्को कारण हो। उनीहरूका युवा सदस्य विदेशिन चाहनुको कारण पनि यही हो। खाडीको ५५ डिग्रीको तापमा पिल्सिँदै नारकीय जीवन बिताउन कसैलाई रहर हुँदैन। नेपाली युवा पुस्ता आज यही बाध्यताबीच आफूलाई त्यहाँ होम्न बाध्य छ।
रोजगारीका लागि हरेक दिन १५ सयभन्दा बढी नेपाली युवा विदेशिने गरेको तथ्यांक सरकारले नै पेस गरिरहेको छ। यता नेपालमा भने गरिखाने भूमि बाँझै छन्। यति सरकारले उपयुक्त नीति ल्याउने हो र नेपाली युवालाई कृषितर्फ आकर्षण गर्न सक्ने हो भने यति ठूलो संख्याका युवा भविष्य खोज्न किन त्यहाँ भौतारिन्थे होला र ? सरकारले अहिलेसम्म पनि विवेक नपु¥याएको विषय यही हो। जसले गर्दा हरेक दिन विदेशिन नेपाली युवालाई बाध्य पारिरहेको छ।
केही वर्षअघिसम्म नेपालले खाद्यान्न निर्यात गथ्र्यो। अहिलेको पिँढीका लागि यो कुरा आश्चर्यजनक बन्न पुगेको छ। कृषिलाई अरू केही काम नपाएपछि गर्ने पेसा बनाइएको छ। यस्तो अवस्थामा किसानका छोराछोरी यसतर्फ आकर्षित कसरी हुनु ?
अहिले पनि विदेशबाट बर्सेनि ९ अर्बभन्दा बढी रुपैयाँको खाद्यान्न आयात गर्नुपरिरहेको छ। सरकारले कृषिका नाममा छुट्याएको अनुदान हुनेखानेले नै हात पारेका छन्। एकातिर अनुदान साना र विपन्न कृषकमैत्री छैनन्, अर्कातर्फ त्यही पनि ठूलैले खाइदिएका छन्। सरकारी अधिकारी भने यो वास्तविकता बुझेर पनि बुझपचाइरहेका छन्। अनि कसरी उँभो लाग्छ, कृषि–क्षेत्र ? अनि कसरी भरथेग गर्न सक्छ, मुलुकको अर्थतन्त्रलाई यसले ? राम्रा योजना र नीति बनाएर त्यसलाई कार्यान्वयन गर्ने हो भने कृषिले नै हाम्रो मुलुकको काँचुली फेर्न सक्छ। तर हामी यसमा चुकिरहेका छौं, धेरै वर्ष अघिदेखि।
प्रकाशित: १६ माघ २०७६ ०४:४५ बिहीबार