७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

महिला महिमा

समय, अवस्था र परिवेशअनुसार जुनसुकै संज्ञाबाट परिचित गराए पनि हरेक महिला आमा हुन्। आमा शब्द आफैंमा अपार छ। ‘जोसँग भगवान्जस्ती आमा हुन्छिन्, ऊ नै धनी हो,’ अब्राहम् लिंकनको यो भनाइ निकै हृदयस्पर्शी छ। यो भनाइको अर्थ हो– आमाका अगाडि संसारका सारा धनदौलत फिका हुन्छन्। ‘बुबाको माया पाउन तिमी योग्य हुनुपर्छ, तर आमाले तिमी योग्य नभए पनि माया गरिरहन्छिन्,’ अल्बर्ट फोस्टको यो विचारले आमालाई त्याग र ममताकी खानीका रूपमा अथ्र्याएको छ। हाम्रै हिन्दू धर्मशास्त्रले पनि जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् भनिएको छ।  उल्लिखित भनाइहरूले महिलालाई विशिष्ट श्रेणीमा राखेको छ।

विडम्बना, यिनै ममताकी खानी, सृष्टिकर्ताले निर्धक्क रूपमा सुरक्षित छु भन्ने महसुस गर्न सकेकी छैनन्, समाजमा। पर्सा वीरगन्जकी १६ वर्षकी मुस्कान खातुन, प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण तेजाब आक्रमणमा परिन्। महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला गत मंसिर १६ गते राति अछाम, साँफेबगर नगरपालिका–३, सिद्धेश्वरीकी २१ वर्षिया पार्वती बुढा राउतले  छाउगोठमा प्राण त्याग्नुप-यो। यी त बाहिर आएका केही घटना मात्र हुन्। सार्वजनिक हुन नसकेका यस्ता घटना समाजमा कति होलान् कति !

महिला आफैंले पुरुषको तुलनामा  धेरै अगाडि छौं भन्ने आत्मबल र साहस वृद्धि गर्न जरुरी छ।

देशमा ठूलठूला आन्दोलन भई परिवर्तन आयो। यी आन्दोलनमा महिला पनि सरिक भए। चाहे राणा शासन फाल्न होस् वा राजतन्त्र अन्त्य गर्न, महिलाको अहम् भूमिका  छ। तर परम्परादेखि जरो गाडेर बसेका महिलाविरोधी कुप्रथा अझै तोड्न र छोड्न सकिएको छैन। देउकी, छाउपडी, कमलरीजस्ता प्रथा कायमै छन् भने दाइजो ल्याउन नसकेको निहुँमा महिला जिउँदै जलाउने क्रम रोकिएको छैन। ३ वर्षीया बालिकादेखि ७३ वर्षकी हजुरआमासम्म बलात्कृत भइरहेका छन्।

आज हामी लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं। हिजो सिंहदरबारमा सीमित अधिकार संघ, प्रदेश र स्थानीय तह हुँदै आज गाउँघरसम्म आइपुगेका छन्। तर पनि महिलाको अवस्थामा भने कुनै परिवर्तन आउन सकेको छैन। संविधानले महिलालाई विभिन्न अधिकार दिएको छ। संविधानको भाग ३ को मौलिक अधिकारअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकमा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनिएको छ। धारा १८ को समानताको हकमा सबै नागरिक काननका दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ देखि  डिसेम्बर १० सम्मका १६ दिनलाई महिला हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्ने घोषणा गरेबमोजिम नेपालमा पनि हरेक वर्ष सरकारी तथा गैरसरकारी निकाय, महिला अधिकारकर्मी, राजनीतिक दललगायतले  महिला हिंसाविरुद्ध जनचेतनाका कार्यक्रम गर्ने गरेका छन्। सबैले आफ्ना तौरतरिका र कार्ययोजनाअनुसार नारा, जुलुस, जनचेतना, पुरस्कार, सम्मान, भाषण, समीक्षा, लेख र रचनाबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरेका छन्। जसका नाममा लाखौं लाख खर्च भइरहेको छ। यस्ता अभियान सञ्चालन तथा महिलाका पक्षमा प्रशस्तै कानुनी तथा संवैधानिक व्यवस्था हुँदाहुँदै पनि महिलाविरुद्ध हुने हिंसा कम हुन सकेको छैन।

महिला हिंसा न्यूनीकरण गर्न हरेक सरकारी तथा गैरसरकारी निकायले कानुन कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ। साथै महिला आफूले पनि आफ्नो शक्ति पहिचान गरी त्यसलाई यस्ता कुसंस्कार र कुपरम्परा तोड्न लगाउन जरुरी छ। जसले आफूलाई हुने गरेका विभिन्न विभेदकारी व्यवहार घटाउन सघाउ पुग्नेछ।

महिलाका शक्ति
संख्या धेरै ः नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार महिलाको जनसंख्या ५१ प्रतिशत छ। यसको अर्थ पुरुषभन्दा महिलाको संख्या धेरै छ। जुन देशमा बहुमतको कदर गरिन्छ, त्यही देशमा हामी महिला धेरै छौं। यो महिलाको पहिलो शक्ति हो।

दिमागमा तेज ः महिलाको दिमाग पुरुषको भन्दा ३ गुणा बढी चल्छ। यो विज्ञानले प्रमाणित गरेको कुरा हो। अझ १२ वर्षभन्दा मुनिका र ४९ वर्षभन्दा माथिका महिला पुरुषभन्दा शक्तिशाली हुन्छन्। महिलावादी लेखिका सिमोन बाउवरले द सेकन्ड सेक्समा लेखेकी छन्– ‘धेरैजसो आमाबाबुले आफ्ना सन्तानको बाल्यकाल गहिरिएर नियाल्नुभएको हुनुपर्छ। बढ्ने क्रममा छोराभन्दा छोरी छिटो हाँस्ने, बोल्ने, हिँड्न खोज्ने गर्छिन्।’ तर हाम्रोजस्तो पुरुषवादी समाजले यसलाई गलत अर्थ र परिभाषा दिएर ती भर्खरै जन्मेकी बालिकालाई अर्काको घर जाने जातले किन चाँडो बढ्नुप¥यो ? उत्ताउली कति चाँडो बढेकी, बन्साको बोट आदि भनेर अनेक लाञ्छना लगाउँछ।

महिलालाई १०÷१२ वर्ष पुग्दा नपुग्दै पुरुषले बनाएका मौखिक संस्कारी कानुनी कक्षामा भर्ना गरिन्छ। त्यो कक्षाकोठा भनेको घर र परिवार नै हो। त्यसका गुरुआमा जन्मदिने आमा र हजुरआमा हुन्छन्। आफू छोरा वा छोरी के हो र यसमा के अन्तर छ भन्नेसमेत पत्तो नपाई हुर्किएकी छोरीलाई एकैपटक नानी तिमी अर्काको घर जाने जात, ठूलो मान्छेका अगाडि उभिनुहुन्न, बिस्तारै हिँड्नुपर्छ, जोडले हाँस्नु हुन्न भन्ने गरिन्छ। अर्काको घरमा गएर बुहारीका रूपमा भूमिका निर्वाह गर्नुपर्ने हुदाँ सबै काम सिक्नुपर्छ भन्दै घर सफा गर्ने, लुगा धुने, खाना पकाउनेजस्ता घरायसी कामका जिम्मेवारी थपिन्छन्।

पहिलो कुरा त ठूला मान्छे भएका ठाउँमा नउभिईकन उनले नयाँ कुरा कसरी सिक्ने ? दोस्रो– ठूलो मान्छेका कुरा काट्नु हुन्न भन्दा गलत कुरा देख्दादेख्दै र सुन्दासुन्दै प्रतिक्रिया दिन नपाएपछि तर्क गर्न कसरी सिक्ने र तेस्रो कुरा– बालखैदेखि एउटी आमाको जस्तो भूमिका खेल्नुपर्ने भारले महिला पुरुषको बराबरीमा पुग्ने अवस्था रहँदैन। यी माथिका कुराबाट के बुझ्न सकिन्छ भने हामीले आफ्ना सन्ततिलाई छोरा र छोरीको भेद नगरीकन समान संस्कार र शिक्षा दिनुपर्छ। कुनै पनि काम छोरीको मात्र पेवा हुँदैन। चाहे घरभित्रका हुन् वा बाहिरका। समय र परिस्थितिअनुसार छोरा वा छोरी दुवैले गर्ने संस्कार बसाल्दै जानुपर्छ।

अधिकार सम्पन्न ः संविधानले महिलालाई धेरै अधिकार दिएको छ (पूर्ण छ भन्ने अर्थ नलागोस्)। उपचारका ढोका पनि प्रशस्तै छन्। महिला अधिकारका लागि सरकारी र गैरसरकारी संस्था पनि सक्रिय छन्। महिला आफैंले पुरुषको तुलनामा  धेरै अगाडि छौं भन्ने आत्मबल र साहस वृद्धि गर्न जरुरी छ। राम्रा र असल संस्कार अनुसरण गर्दै नराम्रा संस्कारलाई परिमार्जन र परिष्कृत गर्दै यी तीन तागत र बललाई आत्मसात् गर्दै महिला अगाडि बढ्न आवश्यक छ। आज महिला हिंसाविरुद्ध अभियान चलाइरहँदा आफूभित्रका शक्तिबारे पनि चेतना फैलाउँदै र कार्यान्वयन गर्दै अगाडि बढौं। र, हरेक महिलालाई आमा सम्झेर व्यवहार गरौं।

प्रकाशित: १८ पुस २०७६ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App