‘अर्को संस्करण पाकिस्तानमा गर्ने’ वाचा गर्दै १३औं दक्षिण एसियाली खेलकुद (साग) भर्खरै काठमाडौंमा सम्पन्न भएको छ। नेपालले राम्रो परिणाम ल्यायो, अन्तर्राष्ट्रिस्तरकै प्रदर्शन गरेर। सबैले तारिफ गरे। गर्नैपथ्र्यो। भारत प्रथम भयो। उसको मिहिनेत खेर गएन। नेपालको सफलतामा सबै नेपाली गद्गद् भए। खेलकुदले मतभेद बिर्साएर सबैलाई एउटै राष्ट्रिय भावमा उभ्यायो।
दक्षिण एसिया अरू अशान्त बन्न सक्ने र भारत–पाकिस्तान कटुता बढ्ने प्रबल सम्भावना भइरहेका बेला ‘साग’को अर्को संस्करण पाकिस्तानमै होला भन्नेमा सन्देह छ। भारतको छिमेक–नीति ‘छिमेकमैत्री’ भएन भन्ने व्यापक गुनासो छ, यस क्षेत्रमा। भारतको नेतृत्वमा दक्षिण एसियाका सबै राष्ट्र संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सामेल हुनुपर्छ भन्ने अनौपचारिक प्रस्ताव पनि आयो, केही वर्षअघि। यसबारे नेपालमै छलफल गरे, भारतका सुरक्षाविद्ले।
कोही भारतसँग ‘रोटीबेटी’को प्रगाढ सम्बन्ध छ भन्छन् त कोही धर्मको। यो भावनात्मक कुरा हो। नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै पनि भेष वा बहानामा अतिक्रमण हुन्छ भने त्यो सह्य हुँदैन। ‘राष्ट्र सर्वोच्च’ मान्ने ठूलो राष्ट्रवादी समुदाय यसमा अडिग छ र रहनुपर्छ।
सार्कजस्तो पुरानो संगठनलाई अलपत्र पार्न कन खेल खेल्दै छ भारत ?
जापानी भिक्षुको भेषमा इकाइ कावागुची समुद्री मार्गबाट भारत पुगे। त्यहाँबाट नेपाल हुँदै तिब्बत पसे। ‘थ्री इयर्स इन टिबेट’ पुस्तकमा रोचक वर्णन गरेका छन्, उनले। श्री ३ चन्द्र शमशेरको मद्दतले तिब्बत पुगेका ती भिक्षु जापानका गुप्तचर रहेछन् भन्ने कुरा चीनले पछि मात्र चाल पायो। विभिन्न मिसन लिएर नेपालमा बसेका विदेशी गुप्तचर धेरै छन्, आज पनि। त्यसैले कुन आवरणमा कस्तो मिसन चल्दै छ भन्ने बुझ्न जरुरी छ।
विभिन्न भेषमा नेपालमा बसेका गुप्तचरमा दिल्लीबाट सञ्चालित प्रशस्तै छन् भन्ने टिप्पणी पुस्तक र पत्रपत्रिकामा आइरहेकै छन्। ‘हिन्दू’ ब्यानरमा खुलेका कतिपय संस्था यहाँ प्रत्यक्ष/परोक्ष रूपमा ‘ग्रेटर इन्डिया’ मिसनका लागि कार्यरत छन् भन्ने बुझ्न सकिन्छ। काठमाडौंस्थित भारतीय नियोगका कैयन् प्रियपात्र नेपालमा पश्चिमा शक्ति र चीनले काठमाडौं खाल्डोमा ठूलो खाल्डो खन्दै छ भन्छन् तर भारतको गुप्तचर संस्था रअ तथा सरकार हाँक्ने दल भारतीय जनता पार्टीको छिमेक–नीति कति ‘छिमेकमैत्री’ छ भन्ने विषयमा बोल्दैनन्। अन्य राष्ट्रका ‘प्रियजन’ मालिक रिझाउन तल्लीन भएझैं भारत सरकार र भाजपाका प्रियपात्र भारतले चीनसँग प्रतिस्पर्धा गर्नैपर्छ भन्ने तर्क गर्छन्। यसका लागि ‘नेपाललाई भारतमा विलय गराउनुपर्छ’ भन्न लाज नमान्ने पनि छन्। ‘मर्ज’ गर्ने कुरा त एकजना ‘नेपाली’ प्रधानमन्त्रीले नै उठाएका थिए।
‘ग्रेटर भारत’ वा अखण्ड भारतको परिकल्पना सुरुमा चाणक्यले गरेका थिए भन्ने विद्वान्हरूको मत पाइन्छ। अफगानिस्तान, नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, मालदिभ्स, बर्मा (म्यानमार)लगायत सबैलाई भारतको झण्डामुनि राख्नुपर्छ भन्दै भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघले वकालत गरिरहेको छ। जनसंघका संस्थापक श्यामप्रसाद मुखर्जीले झन्डै ७० वर्ष पहिले मार्गचित्र बनाएर भारत ‘ठूलो’ हुनुपर्छ भनेका थिए।
केशव बलिराम हेडगेवारले सन् १९२५ विजयादशमीका दिन भारतीय युवालाई राष्ट्रवादको प्रशिक्षण दिन राष्ट्रिय स्वयंसेवक संघ खोलेका थिए। नागपुर (महाराष्ट्र)मा प्रधान कार्यालय रहेको ‘आरएसएस’ भनिने संगठनका परमाधिपतिलाई सरसंघचालक भनिन्छ। हाल मोहन भागवत यो पदमा छन्।
इन्दिरा गान्धीले सबैभन्दा ठूलो कम्युनिस्ट राष्ट्र सोभियत संघसँग रणनीतिक सम्बन्ध प्रगाढ बनाएका बेला भारतीय जनता पार्टी खुल्यो, सन् १९८४ मा। कांग्रेसलाई टक्कर दिने उद्देश्यले कम्युनिस्टविरोधी महाशक्तिले भाजपा जन्माएको चर्चा पनि चल्यो। द इकोनोमिक टाइम्स (२०१५ जनवरी २७) पत्रिकामा राजेश रामचन्द्रन्ले ‘ह्वाई द हिन्दुत्व राइट लभ्स द युनाइटेड स्टेटस्’ आलेखमा त्यस्तै विश्लेषण गरेका छन्। अंग्रेज शासकले तत्कालीन प्रबल हिन्दू संघ/संस्थालाई चुनौती दिन भारतमा मुस्लिम लिग खोलेर लगानी गरेझैं भाजपा मुस्लिम लिगको ‘हिन्दु भर्सन’ भएको कैयन् भारतीय लेखकले आरोप लगाएका छन्।
दक्षिण एसियामा भाजपाले हिन्दुत्व बढाउँदै छ कि शत्रु ? भाजपाको नीति हेरे पुग्छ।
गुजराजतका शिक्षामन्त्री– भाजपा नेता गोविन्द सिंहले पार्टीका कार्यसूची राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)कै हुन् भनेका छन्। संविधानमा भारत ‘धर्मनिरपेक्ष’ लेखिएको छ तर संघका सर्वोच्च कमान्डर मोहन भागवत भन्छन्– ‘भारत हिन्दू राष्ट्र हो।’ सत्तारूढ दलको दर्शन र संविधानबीच कति ठूलो अन्तरविरोध छ, स्पष्ट हुन्छ।
हिन्दू बाहुल्य भारतमा करोडौं मतदाताको समर्थन प्राप्त गर्न भाजपाले जताततै ‘गेरु वस्त्र राजनीति’ गर्न सक्छ। चुनावका बेला नरेन्द्र मोदीले हिन्दू कार्ड प्रयोग गर्दै जनकपुर, काठमाडौं र मुस्ताङ पुगेर धार्मिक यात्रा गरे। नेपाललगायत ७/८ वटा स्वतन्त्र राष्ट्रलाई आफूमा गाभ्ने दुःस्वप्न नै अखण्ड भारत मिसनको सारतत्व भएकाले भाजपाले आरएसएसको मिसनलाई महत्व दिएको पाइन्छ।
सनातनी, बौद्ध, बोन, मुसलमान, प्रकृतिपूजक सबैको प्राचीन देवभूमि हो– नेपाल। भारतमा झन्डै ९ सय वर्ष मुसलमान र अंग्रेजको शासन छँदा पनि नेपाल स्वाधीन नै रह्यो। नेपालभन्दा अरू मुलुकको वकालत गर्दैै चिन्ता र चासो लिने कतिपय नेपाली (?) नेपालभित्र धर्म, कूटनीति, परोपकार आदिको वस्त्रभित्र भइरहेका कुटिल खेलबारे मौन बसेको देखिन्छ। बोल्नै पर्दा सत्य होइन, मालिकको भाषा बोल्छन्। भाजपाले दक्षिण एसियालाई ‘भारत महादेश’ बनाउन चाहेको छ भन्ने बुझ्न भारतका कैयन् धार्मिक र राजनीतिक अगुवाका लेख, भाषण र अन्तर्वार्ता अध्ययन गरे पुग्छ।
स्वतन्त्र भारतका प्रथम गृहमन्त्री बल्लभभाइ पटेलले राष्ट्रिय स्वयंसेवक संघ नामक ‘हिन्दू’ संस्थालाई प्रतिबन्ध लगाएका थिए। पत्रकार नाथुराम गोड्सेले भारत टुक्र्याउने देशद्रोही गान्धी नै हुन् भन्दै दिल्लीमा उनको हत्या गरेपछि सो संस्थाले मिठाई बाँडेको कुरा ऊबेलाका पत्रपत्रिकामा छापिएको पाइन्छ। ए.जी. नुरानीले ‘द सेफ्रन वेभः डेमोक्रेसी एन्ड हिन्दू नेसनलिजम इन मोडर्न इन्डिया’ पुस्तकमा गोदरा (गुजरात) काण्डमा भाजपाका नेता/कार्यकर्ताले हजाराैं निर्दोष मुसलमानको हत्या गरेको उल्लेख गरेका छन्। उनको तर्क छ– ‘ती निर्दोष मानिसको लासमा टेकेर भाजपा सत्तामा पुग्यो।’
सिन्धु नदीतटमा घरजम गरेर बसेका मानिसलाई ‘स’ उच्चारण गर्दा ‘ह’ भन्नेहरूले ‘हिन्दू’ भनिदिए। जसरी चिनियाँहरू हिमालयलाई सिमालय भन्छन्, त्यसरी नै हाम्रा हरिबहादुरलाई खरिबखादुर भन्ने विदेशी प्रशस्तै छन्। मुसलमान र अंग्रेजको पेलानमा परेका लाखौ भारतीयमा मुसलमानप्रति घृणाभाव उत्पन्न हुनुमा पाकिस्तानसँगको वैरभाव नै प्रमुख हो। सिन्धुबाट हिन्दू हुन सके पनि आफूलाई आस्तिक भन्ने वर्गले हत्या, हिंसा र आतंकमार्फत दक्षिण एसियालाई कज्याउन खोज्नु आफैंमा दुर्भाग्यपूर्ण मानिन्छ।
हिन्दू कार्ड प्रयोग गरिरहेको भाजपाले दक्षिण एसियालाई आफ्नो सुरक्षा छातामा राख्ने मनसाय राखे पनि त्यो साकार हुने सम्भावना देखिँदैन। त्यसका प्रमुख ३ कारण छन्– भूराजनीतिक कूटनीतिको बाध्यता, अफगानिस्तान–पाकिस्तान–बंगलादेश र भारतकै करोडौं मुसलमानबीच एकता हुने सम्भावना र ‘ब्रेकिङ इन्डिया’ पथमा गएर भारत नै टुक्राटुक्रा हुने परिकल्पना। त्यो भनेको एउटा दलको अहंकार, उन्माद र आकांक्षाको चरमोत्कर्षबाट दुर्दमनीय दुर्घटनाको तयारी हो।
पर्वत पुख्यौली घर भएका दुर्गा मल्लको सालिक छ, दिल्लीको संसद भवनअगाडि। गंगा मल्ल ब्रिटिस सेनामा रहेका बेला देहरादुनमा सन् १९१३ मा जन्मिएका दुर्गाले इन्डियन मिलिटरी एकेडेमी (प्रेमनगर)बाट शिक्षा लिएर मेजरसम्म भए। अंग्रेज शासकले ‘विद्रोही’ भनेर फाँसी दियो, उनलाई। भारत–पाकिस्तान र भारत–चीन युद्धमा नेपाली युवकहरूले भारतीय सेनाका तर्फबाट युद्ध लडेर भारत रक्षा गरेका थिए र गरिरहेका छन्। तर आजको युगमा पनि उपनिवेशवाद र विस्तारवादको दुःस्वप्न देख्नेहरूले नेपालप्रति कृतज्ञ रहनुको साटो यसको अस्तित्वमै खेलबाड गर्न खोजेको देखिन्छ।
जसवन्त सिंहले ‘जिन्ना ः इन्डिया पाटीसन इन्डेपेन्डेन्ट’ पुस्तकमा बल्लभभाइ पटेलको अभियानका कारण भारत दुईटुक्रा भएको भन्दै आलोचना गरेका छन्। पाँच सय ६५ राजा–रजौटालाई पेलेर भारतमा विलय गराउने पटेललाई भाजपाले राष्ट्रनिर्माता घोषणा गरेको छ। कांगे्रस नेता जवाहरलाल नेहरू प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका सोही पार्टीका नेता पटेल गुजराती भएकाले त्यहाँको समुदायको मन जित्न नरेन्द्र मोदीले उनको अग्लो सालिकसमेत बनाइदिए।
सन् १९२० को दशकमा सुनीतिकुमार च्याटर्जी, आरसी मजुमदार र कालीदासजस्ता कलकत्ताका युवाले ‘गे्रटर इन्डिया सोसाइटी’ खोले। त्यसमा अंग्रेजका गुप्तचर पनि थिए, भनिन्छ। त्यस्तै, राष्ट्रिय स्वयंसेवक संघबाट पनि गोप्य सूचना चुहिएको पाइन्छ। अमेरिकासँग भाजपा सरकारले गरेको आणविक सम्झौता सर्वाधिक विवादमा प¥यो। त्यस्तै, अहिले भारतले ल्याएको नागरिकता–नीतिले ठूलो कलह निम्त्याउन सक्ने र भारतीयबीच नै फाटो ल्याउने सम्भावना देखिँदै छ।
‘इन्डिया’ नाम अंग्रेज शासकले जुराइदिएका हुन्। सन् १८९१ मा पहिलोपल्ट सरकारी कागजपत्रमा ‘हिन्दू’ शब्द घुसाए, अंग्रेजले। यता हामी नेपाली, हजारौं वर्ष अघिदेखि ॐकार परिवारका सबैलाई सनातन धर्मावलम्बी भनिरहेका छौं। तसर्थ भारतका हिन्दू र नेपालका सनातनीबीच ठूलो दार्शनिक अन्तराल पाइन्छ।
संविधानमा ‘हामी नेपाली’ भए पुग्नेमा अनेक जातको वर्णन गरेर नेपालमा संविधानका लगानीकर्ताहरूले नेपाली–नेपालीबीच पर्खाल लगाएका छन्। दल, क्षेत्र, गोत्र, धर्म र जात बिर्सेर रंगशालामा पुगेका खेलाडीले ‘राष्ट्र सर्वोच्च’ अर्थात् ‘नेसन फस्ट’ भावले जिते। यही सूत्र राजनीति र कूटनीतिमा प्रयोग गर्न सकिँदैन ? दलविहीन भएर पनि जित्दारहेछन् त नेपालीले।
दिल्लीको पसलमा गएर ‘ग्रेट सोल महात्मा गान्धी एन्ड हिज स्ट्रगल विथ इन्डिया (लेखक– जोसेफ लेलिभेन्ड)’ पुस्तक खोज्दा त्यो त प्रतिबन्ध छ भने बिक्रेताले। उनले हाँस्दै भने– ‘भाइ साहब, त्यो जोसेफ भन्नेले त गान्धीलाई समलिंगी र विपरीत लिंगी भनेर लेखेछ। त्यसैले प्रतिबन्ध लाग्यो।’ ‘ऐसा भी डेमोक्रेसी है ?’ उनले भने।
टोनी हागनले भारतभन्दा नेपाल कहाँ हो कहाँ राम्रो भनेर लेखेको मन परेनछ भारतका भाइ साहबहरूलाई। हागनको ‘नेपाल’ पुस्तक पनि प्रतिबन्धित रहेछ त्यहाँ। आफूबाहेक अरूको अस्तित्व नै अस्वीकार गर्ने र सार्कजस्तो पुरानो संगठनलाई अलपत्र पार्न भारतले किन खेल खेल्दै छ भन्ने बुझ्न आवश्यक छ। अखण्ड भारतको ज्वरोले थलिएको छ– भाजपा। छिमेकीसँग दुश्मनी गर्ने भाजपा सरकारले हामीले भनेको संविधान किन नबनाएको भन्दै मानसपुत्रहरूलाई सिमानामा मानव ढाल बनाएर नाकाबन्दी ग¥यो। दक्षिण एसियामा भाजपाले हिन्दुत्व बढाउँदै छ कि शत्रु ? भाजपाको नीति हेरे पुग्छ।
प्रकाशित: २७ मंसिर २०७६ ०३:४९ शुक्रबार