१६ चैत्र २०८० शुक्रबार
विचार

निराश नपारौँ

नेपालमा कम्युनिस्ट पार्टीस्थापना हुँदा देशमा राणा शासन थियो। त्यसविरुद्ध आन्दोलन चलिरहेको थियो। राणा शासनको उत्तराद्र्धतिर त्यस शासनविरुद्ध आन्दोलन सुरु गरेर प्रजापरिषद्ले आमनागरिकबीच आफ्नो परिचय स्थापित गरेको थियो। जुन कुरा नेकालाई सहज लागिरहेको थिएन। फलतः प्रजापरिषद् रहँदासम्म कांग्रेस जनतामाझ आफ्नो वर्चस्व कायम गर्न नसक्ने देखेर प्रजापरिषद्लाई यो वा त्यो रूपमा कमजोर बनाउने खेलमा लाग्यो। आन्दोलनको नेतृत्व आफूले गरेको देखाउन नेकाले त्यही खालको व्यवहार गर्दै रह्यो।

त्यस्तो कठिन परिस्थिति देख्दादेख्दै पनि पुष्पलाललगायत ५ जना व्यक्ति मिलेर नेकपा स्थापना गरेका थिए। मान्छे ५ जना भए पनि उनीहरूले बनाएको सिद्धान्त, बोकेको विचार र देखेका सपना प्रत्येक नागरिकसँग जोडिएको थियो। लक्ष्य जनताको झुपडीमा पुग्ने र दृष्टिकोण तिनको जीवनशैली बदल्ने रहेको हुँदा कम्युनिस्ट पार्टी जनतामाझ पुग्न कुनै समस्या परेन। फलतः २००६ सालमा ५ जना मिलेर गठन गरेको कम्युनिस्ट पार्टीले २०५१ सालमा अल्पमतको सरकार चलाउने अवसर पायो। पुष्पलालले देखेका सपना र मनमोहन अधिकारी स्वयम्ले कोरेको गोरेटो समाउँदै जाँदा त्यो अवसर प्राप्त भएको थियो।्र

तीन दशक चलेको पञ्चायती शासनमा सरकार र दरबारबीच सम्बन्ध रह्यो। जनता उपेक्षित भए। कांग्रेस नेतृत्वमा बनेको सरकार कोइराला परिवारसँग गाँसिन पुग्यो। आमनागरिक उपेक्षित नै भए। तर मनमोहन अधिकारीको सम्बन्ध भने प्रत्यक्ष जनतासँग हुनपुग्यो। उनले ‘आफ्नो गाउँ आफैँ बनाउँ’ भनेर मेची–महाकालीका जनता उठाउने काम गरे। वृद्धभत्ता बाँडेर गरिबका झुपडीदेखि आलिशान महलसम्ममा आफ्नो उपस्थिति देखाए। जसका कारण सरकार–जनताबीच गहिरो सम्बन्ध स्थापित हुन पुग्यो।

यता सरकारसँग जनताकोे सम्बन्ध जोडिएको देखेर प्रतिपक्षमा रहेको नेका अत्तालीन पुग्यो। फलतः सरकार गिराउन गर्न हुने÷नहुने सबैखाले अस्त्र प्रयोग ग¥यो। उपचारका लागि अस्पतालको शैयामा रहेका मनमोहन अधिकारीले शरीरमा स्लाइन र मुखमा अक्सिजन लगाएकै अवस्थामा सरकारबाट हट्नुप¥यो। जनतासँग गाँसिने काम गरेका कारण मनमोहन अधिकारी आजसम्म नेपाली जनताको मनमस्तिष्कमा छन्।

मनमोहन अधिकारीको सक्षम नेतृत्वबाट प्राप्त भएको सकारात्मक सोचको प्रभाव आजसम्म नेकपाले पाएको छ। जुन सरकार स्पष्ट दृष्टिकोणसाथ जनतासँग जोडिन्छ त्यो पार्टी होस् वा सरकार अवश्य सफल हुन्छ भन्ने उदाहरण नै बनेका छन् पुष्पलाल र मनमोहन अधिकारी।तर आज त्यही जगमा उठेको नेकपाको दुईतिहाइको सरकार छ। यस्तो सरकार बनेको खबरबाट उत्साहित जनता विस्तार निराश हुन थालेका छन्। त्यस्तो कसरी हुन पुग्यो, समयमै समीक्षा आवश्यक छ। नाकाबन्दी लागउँदा जनताका पक्षमा बोल्ने प्रधानमन्त्री दुईतिहाको नेतृत्व गर्न पाउँदा त्यो आवाज कता हरायो ?

गाउँको सामान्य वर्गले यो सरकार मेरो हो नभन्दासम्म सरकार भए÷नभएको कुनै अर्थ हँुदैन। हुन त सरकारले ५ महिनाको अवधिमै आफूले गरेका कामको विवरण भन्दै ७४ पृष्ठको पत्र नै जारी गरेको थियो। सरकारले बुझ्नुप-यो– सिंहदरबारबाट प्रकाशित गरिने फूलबुट्टा भरेका शब्दले होइन, गाउँका जनताले गर्ने मूल्याङ्कन यथार्थमा मूल्याङ्कन हुन्छ। जनताको भावना बोल्दा ‘वाह वाह ओली’ भनेका जनता ६ महिनाको अन्तरालमा किन निराश बनेका छन् ? एकपटक सोचौँ। सरकार र जनताबीच दूरी बढाउने होइन, घटाउनेतिर लागौँ। यो देश ध्वस्त पार्ने र नेता बिगार्ने दलाल र तस्कर हुन्। तीदेखि टाढै बसौँ। सरकारका सारथि जनता हुन्। जनताको भावना बुझ्ने कोसिस गरौँ।

प्रकाशित: १७ चैत्र २०७५ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App