महाधिवेशनका क्रममा राजनीतिक सिद्धान्तको चर्चा हुनु स्वाभाविकै हो। कांग्रेस लोकतन्त्र, समानता, बहुलवादका पक्षमा रहेको छ। यसैले बहुलवादका सम्बन्धमा महाधिवेशनका क्रममा भएका चर्चामा जनताले चासो लिएको देखिएको छ। विशेषगरी कांग्रेसले किन बहुलवाद मानेको हो? माओवादीले किन बहुलवाद नमानेको हो? एमालेले किन बहुलवादलाई नमान्ने अवस्थामा पनि जान तयार भएको हो अर्थात् माओवादीलाई बहुलवाद नमाने पनि सहयोग गर्न तयार भएको हो? मधेसवादी दलको मूल प्रवाहले बहुलवादलाई किन महत्व दिएका हुन्? जस्ता विषयमा धेरैले चासो लिएका छन्।
नेपाली कांग्रेस वैचारिक र सैद्धान्तिकरूपमा बहुलवादलाई स्वीकार गर्छ। विविध विचारको अस्तित्व स्वीकार गर्छ। विकासका क्रममा आएका नयाँ जनहितकारी विचारलाई मान्यता दिन र आत्मसात् गर्न तयार हुन्छ। माओवादीले बहुलवादलाई अस्वीकार गरेको छ। यसका नेता मोहन वैद्य किरणले त संविधान लेखनका क्रममा कुनै पनि अवस्थामा बहुलवादको पक्षमा लाग्न नसक्ने बताएका छन्। त्यस्तै अर्का माओवादी नेता बाबुराम भट्टराईले पनि बहुलवाद माओवादीको सिद्धान्त होइन भनेका छन्।
बहुलवादलाई नमान्नु समाज र सिद्धान्तमा रहेको विविधता अस्वीकार गर्नु हो। बहुलवाद स्वीकार नगनर्ुृको अर्थ एउटामात्र विचार र प्रणालीको पक्षपोषण गर्नु हो। यो लोकतन्त्र हैन अधिनायकवादी धारणा हो। बहुलवाद विरोधीहरू सांस्कृतिक, धार्मिक, भाषिक विविधताका विपक्षमा हुन्छन्। उनीहरू आफ्नो विचार अरूमाथि थोपर्छन् र त्यहीमात्र सर्वश्रेष्ठ हो भन्ने हठ गर्छन्।
राजाको एकलौटी हैकम चल्ने पञ्चायती व्यवस्थामा बहुलतालाई निषेध गरिएको थियो। माओवादीमा पनि यस्तै अरू विचारलाई निषेध गर्ने राजनीतिक सोच देखिएको छ। हुनपनि कम्युनिस्ट व्यवस्था भएका देशमा अरू राजनीतिक विचार प्रतिबन्धित हुन्छ।
एमालेका केही नेता दलले बहुलवाद स्वीकार गरेकाले पदभन्दा लोकतन्त्र र बहुलवाद महत्वपूर्ण हुन्छ भन्छन् तर अर्काथरी माओवादीले पद दिएमा सबै ठीक हुने धारणा व्यक्त गरिरहेका छन्। यसले एमालेको लोकतान्त्रिक प्रतिबद्धतामा प्रश्न उठाएको छ। मधेसवादी दलले सरकार निर्माण सम्ब्न्धमा राखेका बिभिन्न सर्तमध्ये बहुलवादलाई माओवादीले मान्नुपर्ने पनि छ । यो परिपक्व निर्णयले तिनको लोकतान्त्रिक साख बढेको छ।
बहुलवाद वाद, प्रतिवाद र संवादलाई सार्थक बनाएर सबैको अस्तित्व स्वीकार गर्ने सिद्धान्त हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ। कांग्रेस, मधेसवादी दलहरु, अरू साना दल र एमालेमा बहुलवाद स्वीकार गर्ने धारको सहकार्यले नै देशलाई सही निकास दिनेछ। माओवादीले सरकार बनाउन बहुमत जुटायो भने पनि संबिधान बनाउँदा बहुलवाद, न्यायिक स्वतन्त्रता तथा स्वतन्त्र संचारजस्ता लोकतन्त्रका आधारभूत मान्यता स्वीकार नगरेमा नमानेमा दुई तिहाइ वा त्यसभन्दा बढि बहुमत भए पनि त्यसको कुनै अर्थ रहने छैन। अहिले बहुलवाद स्वीकारै नगर्ने माओवादी लोकतान्त्रिक संविधान बनाउने विषयमा स्पष्ट हुनुको साटो सबैलाई छक्याएर सरकारमा जाने रसत्ता कब्जा गर्ने दाउमा छन् भन्ने बुझ्न आवश्यक छ।
यस्तो अवस्थामा कांग्रेसले महाधिवेशनका क्रममा पनि लोकतन्त्र, समाजवाद, राष्ट्रियताजस्ता आदर्शको पुरातन व्याख्या गरेरमात्र हुँदैन। मुलुकसामु अधिनायकवादको खतरा उत्पन्न भएका विषयमा सचेत गराई जनतालाई गोलबद्ध गर्न व्यबहारमै स्पष्ट हुनु पर्छ। माओवादीको अधिनायकवाद कांग्रेसका लागि चुनौती र अवसर दुवै हो। लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसले यसलाई अवसर बनाउन सक्नुपर्छ।
महाधिवेशन तयारीका क्रममा देखिएको समर्थन र उत्साहले कांग्रेसको लक्ष्य सही रहेको जनताले ठानेका छन्। हुन पनि, देशमा विकास कांग्रेसले गरेको हो। जनताका सबै इच्छा र आवश्यकता पूरा गर्न नसके पनि विकासका पूर्वाधार खडा गर्ने दिशामा उन्मुख थियो। कांग्रेसले विकासका संरचना तहसनहस गरेको होइन। अशान्ति मच्चाएको छैन। त्रासमा बाच्नुपर्ने बाध्यता पनि कांग्रेसलेे उत्पन्न गरेको होइन। देशमा जातीय अविश्वास र अशान्तिको बीउ पनि कांग्रेसले रोपेको हैन। महाधिवेशनका क्रममा गएका पार्टीको क्रियाशीलताले जनतालाई यस्ता विषय सम्झाएको छन्।
कांग्रेस जनताको पक्षमा काम गर्ने र गर्न नसके विकल्प खोज्ने अधिकार दिने दल हो। जनतामा सार्वभौमिकता भनेको दल विशेषको हैन जनताको आधिपत्य हुनु हो भन्ने कांग्रेसको मान्यता रहेकोमा जनता प्रष्ट हुंदै गएका छन्। तरुणहरूको बढ्दो आस्थाले कांग्रेस अझ बलियो हुनेछ।
प्रकाशित: १३ भाद्र २०६७ २३:१७ आइतबार