७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

‘तपस्वी’ माथि छानबिन

तपस्वी भन्नेबित्तिकै हाम्रो मनमा अरूप्रति रागद्वेष नराखी आफूलाई जगतहितमा केन्द्रित गर्ने व्यक्ति भन्ने बुझिन्छ। रामबहादुर बम्जन पनि हाम्रा सन्दर्भमा यस्तै व्यक्ति थिए केही समयअघिसम्म। ‘लिटिल बुद्ध’ का नाममा चिनिएका यी ‘तपस्वी’ का गतिविधिबारे यतिबेला प्रहरीमा उजुरी परेको छ। सञ्चारमाध्यममा उनले दुव्र्यवहार गरेका र बेपत्ता पारेका व्यक्तिसम्बन्धी खबर सार्वजनिक भएका छन्। यसअघि पनि बेलाबेलामा उनका बारेमा खबर सार्वजनिक हुने गरेका हुन्।

आध्यात्मिक गतिविधिमा लागेका व्यक्ति ठानेर उनलाई लामो समयसम्म ‘शंकाको सुविधा’ प्राप्त भइरहेको हो। आध्यात्मिक चिन्तनमा लाग्ने व्यक्तिलाई हाम्रो समाजले सकारात्मक रूपमा लिन्छ र हत्पत्ति प्रश्न पनि उठाउँदैन। यस्ता व्यक्तिबाट गलत काम हुँदैन भन्ने आमविश्वास रहन्छ। त्यसमा पनि बम्जनबारे धेरै ठूलो आशंका नगरी निरन्तर उनका गतिविधिबारे विगतमा समाचार प्रकाशित पनि भएका हुन्। उनलाई ‘तपस्वी’ ठानेर निकै ठूलो संख्यामा अनुयायी र उपासकहरू उनको आसपासमा आएसँगै गतिविधि पनि विवादास्पद हुँदै गएका देखिन्छन्। एउटा साधारण व्यक्तिले तपस्याको बलमा यी सबै प्राप्त गरिरहेको भनी विश्वास गर्ने अवस्थामा हाम्रो समाज रहेको छ। सामान्यतः यस्ता विषयमा प्रश्न गरिँदैन। तर्कका आधारमा निर्णय गरिँदैन। कुनै व्यक्तिले अलौकिक शक्ति प्राप्त गरेको विश्वासमा पर्दा यस किसिमका घटना भएको देखिन्छ। गुरु थाप्ने मामिलामा हामीकहाँ यस्ता कमजोरी हुने गर्छन्। 

बारा, मकवानपुर, सिन्धुली, सर्लाही, सिन्धुपाल्चोक, लमजुङ आदि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले बम्जनका गतिविधि निगरानी गर्न निर्देशन दिएको छ। मकवानपुरमा उनीविरुद्ध ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइवबलाई बेपत्ता बनाएको उजुरी परेको छ। यसका साथै बम्जनको ‘आश्रम’ मा दुव्र्यवहारमा परेका र बेपत्ता पारिएका आनीहरूका बारेमा समेत उजुरी परेपछि गृह प्रशासनले उनका गतिविधिबारे निगरानी गर्नुपर्ने अवस्था आएको हो। गत भदौमै १८ वर्षीया गंगा तामाङले बलात्कारको आरोप लगाउँदै रेडियोबाट अन्तर्वार्ता दिएकी थिइन्। त्यो बेला धेरैले बम्जनप्रति आशंका गर्ने स्थिति आइसकेको थिएन। त्यसै गरी नुवाकोटकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता पारिएको आरोप उनको परिवारका सदस्यले लगाएका छन्। हुन त बम्जन पक्षका व्यक्तिहरूले उनलाई बदनाम गर्न खोजिएको गुनासो गरेका छन्। बम्जनविरुद्ध आरोप लाग्दा पनि उनका बारेमा यसै भन्न सक्ने अवस्था थिएन। तर, एकपछि अर्को घटना सार्वजनिक भएपछि यस्ता उजुरीमा छानबिन गर्नु गृह प्रशासनको कर्तव्य हुन्छ। प्रहरी प्रवक्ताका अनुसार उनलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारले निर्देशन दिइसकेको छ। 

बम्जनमाथि अहिले आएका आरोप छानबिनका लागि उनी सम्बद्ध संस्थाका व्यक्तिहरूले सहयोग गर्नुपर्छ। यतिका धेरै व्यक्ति बेपत्ता हुनु र दुव्र्यवहारमा पर्नुलाई स्वाभाविक मान्न सकिँदैन। धर्मको आडमा गल्ती गर्ने व्यक्तिले त्यसप्रति वितृष्णा फैलाउँछ। यसकारण पनि बम्जनमाथि गम्भीर छानबिन आवश्यक छ। 

मीकहाँ धार्मिक वा सामाजिक हिसाबले चलाइएका संस्था र व्यक्तिका बारेमा पर्याप्त अनुगमन गरेको देखिँदैन। धार्मिक संस्थाभित्रै पनि व्यक्तिलाई कसरी राखिएको छ ? त्यहाँको सुरक्षा व्यवस्था कस्तो छ ? त्यहाँ कति व्यक्ति रहन्छन् ? जस्ता प्रश्नमा ध्यान दिएको पाइँदैन। सात वर्षदेखि बम्जनको संस्थाबाट व्यक्ति बेपत्ता भएका छन्। कतिपय बेलामा परिवारका सदस्यले खोजी कार्य गरेका छन्। यसरी खोजी गर्दा पनि तिनीहरू भेटिएका छैनन्। खोजी गर्न संस्थामा जाँदा त्यहाँका जिम्मेवार व्यक्तिले दिएको जबाफ गैरजिम्मेवार पाइएको छ। आफ्नो जीवन खतरामा परेको जानकारी गराउँदासमेत परिवारले तिनलाई उद्धार गर्न सकेको देखिँदैन। बम्जनको संस्थामा देखिएका यस्ता विचलनबारे बेलाबेलामा उजुरी आए पनि त्यसलाई बेवास्ता हुनु आफैंमा स्थानीय प्रशासनको कमजोरी हो। यी व्यक्तिले गरिरहेका गतिविधिबारे निगरानी भने गरिरहनु पर्ने थियो।

विशेष गरी प्रहरीले यस्ता संस्थामा केकसो भइरहेको छ भन्नेमा ध्यान पनि दिनुपर्छ। अहिले जसरी बेपत्ता भएका र दुव्र्यवहारमा परेका खबर सार्वजनिक भएका छन्, ती यथार्थमै आङ सिरिङ्ग पार्ने खालका छन्। धार्मिक संस्थामा समेत व्यक्ति सुरक्षित हुँदैन भने अरूको कसरी विश्वास गर्ने ? हुन त यसअघि पनि यस्ता दुर्घटना भइसकेका छन्। केही अघि दक्षिणकाली नगरपालिका चाल्नाखेलमा गुम्बा चलाएर बस्ने गुरु रिम्पोछे छुल्ठिम दोर्जे यान्तान टुल्कु लामाले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो। उनी अहिले थुनामा रहेर सजाय काटिरहेका छन्। बम्जनमाथि अहिले आएका आरोप छानबिनका लागि उनी सम्बद्ध संस्थाका व्यक्तिहरूले सहयोग गर्नुपर्छ। यतिका धेरै व्यक्ति बेपत्ता हुनु र दुव्र्यवहारमा पर्नुलाई स्वाभाविक मान्न सकिँदैन। धर्मको आडमा गल्ती गर्ने व्यक्तिले त्यसप्रति वितृष्णा फैलाउँछ। यसकारण पनि बम्जनमाथि गम्भीर छानबिन आवश्यक छ। 

प्रकाशित: १७ पुस २०७५ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App