नेपाली भाषा विविध सामाजिक र भौगोलिक परिवेशमा बोलिन्छ। त्यसैले बोलाइमा स्वाभाविक रूपमा सामाजिक तथा भौगोलिक भेदहरू रहेका छन्। त्यसैले बोलाइमा एकरूपता कायम गर्न सकिने अवस्था छैन। बोलाइमा विविधता नै नेपाली भाषाको विशेषता हो र भाषाको जीवन रस पनि हो। लेख्य परम्परामा भरखरै बामे सर्न लागेका तामाङ, शेर्पा, भुजेल र राई–किराती भाषाहरूमा लेखाइमा एकरूपता नदेखिनु कुनै अनौठो कुरा होइन। लेखनशैली निर्देशिकाका आधारमा यस्ता भाषाहरूमा पनि एकरूपता ल्याउने प्रयास जारी नै छ। शिक्षा, आमसञ्चार र सरकारी अभिलेखका लागि प्रयोग हुने भाषाको लेखाइमा एकरूपता हुनैपर्छ। नेपाली जस्तो लेखाइको लामो इतिहास बोकेको भाषामा पनि लेखनशैलीका विषयमा ठूलो मतान्तरण रहेको छ। यो भने अनौठो र दुःखलाग्दो कुरा हो।
पहिले पहिले जसरी बोलिन्थ्यो लगभग त्यसरी नै नेपाली लेखिन्थ्यो। नेपालीको प्रयोग क्षेत्र बढ्दै गएपछि लेखाइमा एकरूपता हुनुपर्ने आवश्यकता महसुस भयो। नेपालीको लेखाइमा एकरूपता ल्याउने पहिलो प्रयास लेख्ने रीति नामक लेखनशैली निर्देशिकाले गरेको थियो। बृहत् नेपाली शब्दकोशले सन्दर्भको काम गर्दै गयो। लेख्य नेपालीको मानकीकरण निरन्तर चल्दै गयो। सुरुका दिनमा नेपाली विद्वान्हरूका बीचमा यस विषयमा खासै मतभिन्नता देखिएन। लेखाइमा एकरूपताका लागि संस्थागत मात्र होइन, समूहगत तहबाट पनि निरन्तर प्रयासहरू हुँदै गए। विशेषतः विगत दश वर्षको बीचमा लेख्य नेपालीलाई मानकीकरण गर्ने केही चर्चित तर विवादास्पद प्रयास भए। २०६६ सालमा अनिवार्य नेपाली शिक्षण निर्देशिका आयो। यसको लगत्तै नेपाली वर्णविन्याससम्बन्धी चन्द्रगढी घोषणापत्र जारी गरियो।
यसै क्रममा २०६७ मा सबैको नेपाली नामक लेखनशैली निर्देशिका आयो। यसको लगत्तै २०६७ सालमै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठी आयोजना गर्न पुग्यो। नेपाली भाषा र साहित्यका मूर्धन्य विद्वान्हरूले २०६८ सालमा ललितपुर घोषणापत्र जारी गर्न पुगे। २०६९ सालमा नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) प्रकाशित भयो।
लामो लेख्य इतिहास बोकेको भाषामा अहिले लेखनशैलीका विषयमा ठूलो मतान्तरण देखिनु भाषा नाश हुने बाटो हो।
यो क्रम तीव्ररूपमा चल्दै गयो। २०६९ सालमा शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका नाममा परिपत्र नै जारी गर्न पुग्यो। २०७० सालमा प्रकाशन शैली प्रकाशित भयो। नेपालीका विद्वान्हरू मतान्तरणको दलदलमा भासिँदै गए। २०७२ सालमा आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपालीभाषा सङ्गोष्ठी र सोही सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशले त नेपाली भाषा र साहित्यका विद्वान्हरूलाई दुई खेमामा नै विभाजित गरिदियो।
केही नेपाली विद्वान्हरू विकल्परहितको बृहत् नेपाली शब्दकोशको विरोधमा उभिए भने केहीले यसको प्रतिरक्षामा लागे। दुई खेमाका बीचमा वाक्युद्ध नै चल्यो। दुवै सुधारका पक्षमा नै थिए। पहिलो पक्षले लेखाइमा तात्विक सुधार गर्न चाह्यो भने दोस्रो चाहिँ सम्झौताका आधारमा क्रमिक सुधारमा अडिग रह्यो। नेपालका वरिष्ठ भाषाविज्ञहरू पनि ढलपलिए। नेपाली भाषाको लेखन परम्पराको विकासक्रम, अध्ययनको तह र समाजभाषा वैज्ञानिक आधारमा स्पष्ट धारणा राख्न सकेनन् र सकेका पनि छैनन्। यो पनि कम दुःखलाग्दो कुरा होइन।
नेपालीको लेखाइमा तात्विक सुधार नै किन चाहियो भन्ने प्रश्नको सर्वस्वीकार्य र भाषाविज्ञानसम्मत उत्तर आउन सकेको छैन। क्रमिक सुधार नै किन राम्रो भन्ने कुरामा सबैलाई चित्तबुझ्दो तर्क पनि आउन सकेको छैन। क्रमिक सुधारका पक्षधर बलियो मोर्चाबन्दीमै लागे। उनीहरूकै दबाबमा प्रज्ञा–प्रतिष्ठान विकल्परहितको नेपाली शब्दकोशलाई नै परिमार्जन गर्न सहमत भयो। केही समय युद्धशान्ति नै देखियो। तर आशा गरेअनुसार लेखाइमा एकरूपता देखापर्न सकेन। शैक्षणिक प्रयोजनका लागि नेपाली लेखाइमा सुधार गर्नैपर्ने तर्कलाई तात्विक सुधारका पक्षले अझै छाडेका छैनन्। क्रमिक सुधारका पक्षधरहरू पनि सतर्क स्थितिमा रहेको अवस्था छ। लगभग शीतयुद्धको स्थति नै छ।
घोषणापत्र र सरकारी तवरबाट भएका निर्णयले दीर्घकालीन समाधानको बाटो लिन मद्दत गर्न सक्दैनन्। मतान्तरणलाई न्यूनीकरण गरी सर्वमान्य र व्यावहारिक मानकीकरणका लागि केही रणनीतिहरू तुरुन्त लिनु आवश्यक छ।
लेखाइमा सुधारका विषयमा नेपाली विद्वान्हरूबीच मतान्तरण किन देखापर्यो ? यो प्रश्नको उत्तर खोज्न सजिलो छैन। समयले देखाउँदै जाला। सुधारका प्रयासको सैद्धान्तिक र व्यावहारिक रूपमा पुष्टि हुनु नितान्त आवश्यक छ। भाषा सामाजिक वस्तु हो र समाजमा लेखाइको बहुआयामिक प्रभाव हुन्छ भन्ने कुरामा दुईमत छैन। लेखाइमा भाषाका स्वनिमहरूको अधिकतम प्रतिनिधित्व हुन नसकेमा पनि मतान्तरण देखापर्न सक्छ। मातृभाषी र सरकार दुवैको सहमति नभएमा लेखाइमा गरिने सुधार जति वैज्ञानिक भए पनि सर्वस्वीकार्य हुन सक्दैन। अर्कोतर्फ सिद्धान्तविहीन परिवर्तनलाई समाजले सजिलै मान्दैन। भाषाको प्रमुख प्रयोग शिक्षण–सिकाइ हो। लेखाइका सुधारले सिकाइमा अधिकतम सरलता ल्याउन नसकेमा पनि मतान्तरण स्वाभाविकै रूपमा देखापर्छ। लेख्य नेपालीको मानकीकरणका पक्षमा भने यी कुनै कारणले खासै भूमिका खेलेको प्रतीत हुँदैन।
तात्विक परिवर्तनका पक्षधर भने मातृभाषी तथा बेमातृभाषी दुवै खालका बालबालिकाहरूलाई पढाइ र लेखाइमा एकरूपता र सरलता कायम गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि लेखाइमा मानकीकरण गर्नुपर्ने तर्क राख्दै आएका छन्। पढाइ (उच्चारण) र लेखाइमा सरलताका लागि संयुक्त वर्णलाई छुट्याउने, जोड्दा र नजोड्दा अर्थमा भिन्नता नहुने नामयोगी र सन्दर्भबाट अर्थ बुझिने लामा समस्त शब्द छुट्याउने, संख्यावाचक शब्द तद्भव भएकाले सुरु र माझमा ह्रस्व लेख्ने, तद्भव र आगन्तुक शब्दको उच्चारणमा ‘स’को मात्र उच्चारण हुने हुँदा ‘स’को मात्र प्रयोग गर्ने र सिकाइमा सरलताका लागि अपवाद र विकल्प न्यूनीकरणलाई प्रोत्साहन गर्ने कुरामा मूल रूपमा जोड दिँदै आएका छन्। प्रायोगिक भाषावैज्ञानिक आधारमा सरसर्ती हेर्ने हो भने उनीहरूको तर्क व्यावहारिक देखिन्छ। संसारमा यस्ता प्रयासहरू भई नै रहेका छन्। तर सुधार नभएको अवस्थामा बालबालिकाले भोग्नुपरेको जटिलताको तथ्यपरक र बृहत् अध्ययनको आवश्यकता छ। शिक्षण पद्धति प्रभावकारी र अभिप्रेरणा सबल नहुँदा पनि सिकाइमा जटिलता आएको हुन सक्ने प्रबल सम्भावना भने छ।
क्रमिक परिवर्तनका पक्षधरहरू तात्विक परिवर्तनका पक्षधरले दिएका तर्कलाई मान्य पक्षमा देखिँदैनन्। संयुक्त वर्ण छुट्याउँदा कुरूप देखिने हुँदा छुट्याउन नहुने, एकै झोँकामा उच्चारण हुने सिङ्गा नामलाई छुट्याउँदा अर्थमा भिन्नता आउनेलाई छुट्याउन नहुने, श्रुतिसमभिन्नार्थक शब्दहरूलाई प्रचलानुसार नै लेख्नु राम्रो हुने, श्रुतिसमभिन्नार्थक शब्दहरूलाई प्रचलानुसार लेख्दा उपयुक्त हुने र लेख्य परम्परालाई मनन गरी शब्दकोशबाट नै विकल्पलाई हटाउन नहुने तर्क क्रमिक परिवर्तनकारीले राखेको पाइन्छ। उनीहरूका यी तर्कहरू समाज मनोविज्ञानमा आधारित रहेको पाइन्छ। मानिस परम्परालाई सजिलै त्याग्न सक्दैन। नेपालीमा दीर्घता नभएकाले ‘फूल’ र ‘फुल’ जुन लेखे पनि हुन्छ। विद्यालयलाई ‘विद्यालय’ लेख्दा पनि भाषावैज्ञानिक दृष्टिले फरक पर्दैन। पहिले लेखिँदै आएको फरक पर्दा नराम्रो देखिने मात्र हो। दुवै पक्षका तर्कलाई तत्कालै सैद्धान्तिक र व्यावहारिक तराजुमा जोखेर केही बोली हाले पनि दुवै पक्ष मान्न त परै जाओस् सुन्न पनि तयार छैनन्। तैपनि प्राज्ञिक व्यक्तिहरूले निष्पक्ष भएर सैद्धान्तिक र व्यावहारिक आधारमा केही बोल्नुपर्ने नै हुन्छ। अपवाद र विकल्पलाई न्यूनीकरण गर्दा पढाइ र लेखाइमा सरलता पक्कै आउँछ। परम्परागत लेखाइमा परिमार्जन गर्दा पढाइ र लेखाइमा थप जटिलता आउन सक्दैन भन्ने पुष्टि गर्न भने निकै गाह्रो छ।
बोलाइ र लेखाइमा नेपालीमा निकै ठूलो अन्तर भएको कुरा सबैले महसुस गरेकै कुरा हो। लेख्ने अभ्यास नभएमा मातृभाषीले बोलाइका आधारमा लेख्ने हो भने पचास प्रतिशत पनि शुद्ध लेख्न सकिन्न। मातृभाषीले पनि शब्दको हिज्जेको राम्रो अभ्यास नै गर्नुपर्ने अवस्था छ। नेपालका लेखन प्रणालीको विकास नभएका भाषाहरूका लागि वर्णविन्यासका नियम बनाउँदा वर्णवैज्ञानिक तथा समाजभाषिक अवधारणाजस्ता दुई महत्वपूर्ण सैद्धान्तिक आधारलाई ध्यान दिने चलन आएको छ। यो राम्रो उपाय हो। तर नेपाली जस्तो लामो लेखनको इतिहास भएको भाषाका लागि हाल बोलिने नेपालीको वर्ण व्यवस्थालाई आधार मान्दा पुरानो परम्परामा लेखिएका कृतिहरू केही पछिका बालबालिकाले बुझ्नै नसक्ने हुन सक्छन्। समयानुकूल परिवर्तन नहुँदा भाषाको जीवन्तता खतरामा पर्न सक्छ। यसबारे सबैले सोच्नु आवश्यक छ।
नेपाली जस्तो भाषामा मानकीकरण वा सरलीकरण अति नै आवश्यक छ। नेपालका मैथिली, भोजपुरी, अवधी जस्ता अरू थुप्रै भारोपेली भाषामा संस्कृतका तत्सम शब्दहरूको प्रयोग भई नै रहेको अवस्था छ। बालकको सिकाइलाई सहजीकरण गर्न नेपाली भाषाको वर्णविन्यासलाई अति सरलीकरण गर्दा त्यस्ता भाषाका बालबालिकाहरूलाई उनीहरूको भाषा सिक्न गाह्रो हुन जान्छ। यसतर्फ पनि विचार गर्नुपर्छ। सरलीकरण गर्नु नै हुन्न भन्न पनि हुन्न। किनकि अहिलेको लेख्य नेपाली मातृभाषी बालबालिकाहरूलाई पनि सिक्न निकै गाह्रो छ। नेपाली भाषाइतरका बालबालिकाहरूलाई कति गाह्रो होला, सजिलै अनुमान लगाउन सकिन्छ। बोलाइमा जति छिटो परिवर्तन हुन्छ, त्यही गतिमा लेखाइमा हुँदैन र हुनु पनि हुँदैन। नेपाली लेखाइलाई अति जटिल पनि बनाउनु भएन। मतान्तरणका कारणले लेख्य नेपालीको मानकीकरणलाई जकडबन्दमा राख्नु हुँदैन।
कठोर मानकीकरणका कारणले नवयुवाले फ्रेन्च भाषामा लेख्न हिचकिचाउँछन्। लेखाइ सरल भएकाले अंग्रेजीतिरको मोह उनीहरूमा बढेको छ। नेपाली भाषा र साहित्यका विद्वान्हरूको लेखाइमा एकरूपता छैन। नेपालीमा लेखिएका विद्यालय तहका पाठ्यपुस्तकमा लेखाइमा एकरूपता छैन। कानुनका किताबहरूमा लेखाइमा भिन्नता पाइन्छ। प्रकाशन गृहका पनि आफ्नै शैली पुस्तिका छन्। आजसम्म पनि एकरूपता कायम नहुनु वा नगराउनु उदेकलाग्दो कुरा होइन र ?
नेपाली संघीय सरकारको एक मात्र सरकारी कामकाजको भाषा हो। यो प्रदेश तथा स्थानीय सरकारको पनि कामकाजी भाषा हो। यस्तो भाषामा लेखाइमा एकरुपता मात्र होइन, शब्दको उच्चारणमा पनि एकरूपता ल्याउनु आवश्यक हुन सक्छ। लेखाइ र उच्चारणमा एकरूपता नल्याएसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्न। लेखाइमा एकरूपता नभएमा अर्थमा अराजकता आउन सक्छ। यतिमात्र होइन, राष्ट्रिय महत्वका कागजात कुन खालको मानकीकृत नेपालीमा राख्ने भन्ने प्रश्न उठ्न सक्छ। ससाना मतान्तरणमा अल्झने यो बेला होइन। कुनै पनि बहानामा मानकीकरणको प्रक्रियालाई रोक्नु हुँदैन। मतान्तरणलाई कुनै बहानामा बढाउनु हुँदैन।
घोषणापत्र र सरकारी तवरबाट भएका निर्णयले दीर्घकालीन समाधानको बाटो लिन मद्दत गर्न सक्दैनन्। मतान्तरणलाई न्यूनीकरण गरी सर्वमान्य र व्यावहारिक मानकीकरणका लागि केही रणनीतिहरू लिनु आवश्यक छ। पहिलो, नेपाली वर्णविन्यासमा एकरूपताका लागि मानकीकरण गर्नुभन्दा अगाडि यसका प्रमुख भाषिकाहरूमा प्रयुक्त शब्दहरू र तिनीहरूको मानक उच्चारण निर्धारण गर्नुपर्छ। दोस्रो, मानक उच्चारण निर्धारण गर्नका लागि हरेक भाषिकामा पर्याप्त मात्रामा कथ्य पाठसंग्रह तयार गर्नुपर्छ। यसबाट कुनै पनि शब्दको उच्चारण आवृत्ति मापनबाट सबैभन्दा बढी वक्ताले प्रयोग गर्ने उच्चारणलाई मानक मान्न सकिन्छ। यस्तो वैज्ञानिक विधिबाट तय गरेको मानकलाई मात्र वक्ता तथा सरकारले स्वीकार गर्न सक्छ। तेस्रो, लेखाइ वर्णविज्ञानमा मात्र आधारित नहुने हुँदा वाक्यमा प्रयुक्त शब्दको आन्तरिक संरचनाको मानक रूप निर्धारण गर्नका लागि भाषामा पर्याप्त मात्रामा लेख्य पाठसंग्रह गर्नुपर्छ। यसबाट कुनै पनि शब्दको प्रयोग अवस्थाको आवृत्ति मापन गरी सबैभन्दा बढी प्रयोग भएको अवस्थालाई मानक मान्न सकिन्छ। चौथो, मानक नेपाली र यसका सबै भाषिकाहरूको विस्तृतरूपमा ध्वनि तथा वर्णव्यवस्थाको अध्ययन हुनुपर्छ। मानक नेपाली र यसका सबै भाषिकाहरूको विस्तृतरूपमा रूपवाक्यको पनि अध्ययन हुनुपर्छ। पाँचौँ, वर्णविन्यास सामाजिक विषयवस्तु भएकाले सर्वप्रथम नमुना छनोट विधिको आधारमा परिमार्जन गर्नुपर्ने कारणबारे प्रयोक्ताका बीचमा सर्वेक्षण गर्नुपर्छ। त्यसपछि पनि नमुना छनोट विधिको आधारमा परिमार्जन प्रस्तावको बारेमा प्रयोक्ताको के कस्तो प्रतिक्रिया छ, त्यसको पनि सर्वेक्षण गर्नुपर्छ। त्यसपछि परिमार्जित वर्णविन्यासको लेखाइ–सिकाइमा हुने सक्ने प्रभावकारिताको जानकारीका लागि क्षेत्र–परीक्षण गर्नुपर्छ। छैटौँ, विभिन्न क्षेत्र र केन्द्रमा गोष्ठीको आयोजना हुनुपर्छ। यस विषयमा प्राज्ञिक छलफल चलाउनु पर्छ। वक्ता र सरकारको स्वीकृति बेगर कुनै पनि क्षेत्रमा लागू गर्ने चेष्टा गर्नु हुँदैन।
मानक वर्णविन्यासका साथै वैकल्पिक वर्णविन्यासलाई मानक शब्दकोशमा समावेश गर्नुपर्छ। सातौँ, यी सबै कुरा गर्नका लागि नेपाली वर्णविशेषज्ञ, समाजभाषाविशेषज्ञ, शिक्षाविद्, मनोविशेषज्ञ र प्रयोक्ता रहेको विज्ञ टोलीको गठन तुरुन्तै गरी समस्याको समाधानतर्फ लाग्नु पर्छ। बृहत् छलफल र समझदारीका आधारमा मात्र नेपाली वर्णविन्यासका वर्तमान समस्याहरूको समाधान गर्न सकिन्छ। नेपाली भाषालाई मतान्तरणको जकडबन्दमा राखी लेखाइ वा अभिलेखीकरणमा अंग्रे्रेजी वा अन्य विदेशी भाषालाई प्रोत्साहन हुने अवस्था सृजना गर्नु हुँदैन। यसले राष्ट्रिय एकतामा आँच आउन सक्छ। (भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि)
प्रकाशित: १७ पुस २०७५ ०२:५९ मंगलबार