७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

हामी कति शान्त छौँ र कति क्लान्त?

आज सेप्टेम्बर २१ अर्थात् विश्व शान्ति दिवस। यो दिवस संयुक्त राष्ट्र संघको महासभाले सन् १९८१ मा पास गरी सन् १९८२ देखि संसारभर मनाउन थालिएको हो। यस वर्ष “शान्तिको अधिकार : मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७० औँ वर्ष” भन्ने विषयसहित संसार भर मनाइँदै छ।

शान्ति भनेको के हो त ? सशस्त्र र हिंसात्मक द्वन्द्वको परिवेश र पृष्ठभूमिले प्रायः मानिसमा सशस्त्र द्वन्द्व र हिंसा नभएको अवस्था नै शान्ति हो भन्ने बुझाइ रहेको देखिन्छ । तर यथार्थमा शान्ति भनेको कुनै खास परिवेशमा प्रत्याभूति हुने व्यक्तिको मनोदशा (स्टेट अफ माइन्ड) वा मनोवैज्ञानिक अवस्था हो जसमा उसले बाहिरी अवरोधविना आफ्ना विचार, प्रवाह, गतिविधिको निरन्तरता र सुरक्षाको अनुभूति गर्न सक्छ । त्यसैले हिंसा वा सशस्त्र द्वन्द्व नभएको परिवेशमा पनि अशान्ति हुन सक्छ । मानिसको दैनिक जीवनमा विभिन्न कारणले नकारात्मक प्रभाव पारी ऊ तनाव अर्थात् अशान्त अवस्थामा रहन सक्छ । त्यसैले शान्तिलाई केवल युद्ध वा लडाइँ वा द्वन्द्व वा हिंसा नभएको अवस्थामा मात्र भन्नु उपयुक्त हुँदैन । नागरिकले  स्वतन्त्रतापूर्वक चिन्तन गर्नु, जीविकोपार्जन र आर्थिक, सामाजिक र राजनीतिक गतिविधि निर्भयपूर्वक गर्न र त्यसो गर्न सक्ने अवस्था नआउने सुनिश्चितता गर्ने सरकार भएको अनुभूति गरेको अवस्था नै व्यावहारिक रूपमा शान्ति हो।

के विश्वमा अहिले माथिको परिभाषा अनुसारको शान्ति छ त ? आणविक हतियारको प्रतिस्पर्धा, चीन, युरोपियन युनियन, इरान, ल्याटिन अमेरिकी देशहरूसँग अमेरिकाले घोषणा गरेको व्यापार युद्ध, द्वन्द्वको बिग्रँदो अवस्थामा रहेको कंगो, चाड, भेनेजुयला, सिरिया, यमन, लिबियाले भोगेको जटिलताले अहिले संसार अपेक्षा गरिएजस्तो शान्तिपूर्ण छैन र तनाब अरु थप बढ्ने सम्भावनाहरू पनि देखिँदैछन्।

संसारभर अति राष्ट्रवादी र निषेधवादी राजनीतिक शक्तिहरूको प्रभाव बढी रहेको, लोकतान्त्रिक र खुला सुधारवादी भनिएका राजनीतिक शक्तिहरू भ्रष्टाचार, कुशासन र शक्ति संघर्षका कारण रक्षात्मक अवस्थामा धकेलिँदै गरेको, जलवायु परिवर्तनका असरहरू थप जटिल र हानिकारक बन्दै गएको परिवेशमा अहिले विश्वमा शान्ति स्थापना खासै प्राथमिकतामा परेको देखिँदैन । संसारभर धनी र गरिबबीचको दूरी बढ्दै जाने, बजारीकरणको नांगो हस्तक्षेपले स्थानीय ज्ञान–सीप–अभ्यास, जैविक विविधता नासिँदै जाने, बहुराष्ट्रिय कम्पनीको स्वार्थ अनुकूल राज्यका अंगहरू (सरकार, न्यायालय, व्यवस्थापिका, सुरक्षा संयन्त्र) परिचालन हुने वा भइरहेको अवस्थाले गर्दा अस्थिर राष्ट्रहरू झन् अस्थिर र कमजोर राष्ट्रहरू बढी मारमा परेकाले विश्वमा साँच्चै शान्ति कायम गर्ने हो भने माथि उल्लिखित अवस्थामा आमूल परिवर्तन आवश्यक छ जुन निकट भविष्यमा सम्भव देखिँदैन।

भ्रष्टाचारसँग सम्बन्धित सूचकांकहरूले, विश्व शान्ति सूचकांकहरूले, सुशासनका सूचकांकहरूले दिएको एक महत्वपूर्ण सन्देश के हो भने “विश्व शान्ति” निकै पर छ । विश्वलाई नियन्त्रण गर्ने देशहरूले अवलम्बन गरेको धर्मका पादरीहरू एकपछि अर्को गर्दै बाल यौन दुराचारमा मुछिएका छन्, नाम चलेका शासक, व्यापारी, घरानाहरू राज्यबाट कर छल्न कर छलीका लागि स्वर्ग भनेर चिनिएका (ब्रिटिस भर्जिन आइल्यान्ड, बमुर्डा, स्विजरल्यान्ड, सिंगापुर, पोर्टोरिको आदि) देशमा लगेर पैसा थुपारिरहेका छन् यो अवस्थाले शान्ति कायम गर्न सहयोग पुग्दैन।

दक्षिण एसियाकै अवस्था हेर्ने हो भने पनि भारतको छिमेकीप्रतिको हेपाहा, मिचाहा, स्वार्थी र हठवादी प्रवृत्तिले छिमेकी देशहरू पीडित भएको मात्र नभई यसले क्षेत्रीय शान्ति स्थापनामा नै नकारात्मक प्रभाव पारिरहेको छ । दक्षिण एसियाली शासक वर्गको भन्ने एक र गर्ने अर्को शैली, जनसंख्याको अत्यन्त ठूलो हिस्सा गरिबी, कुपोषण सिकार भएको, पानीको अभावले तड्पिरहेको अवस्था, आफ्नै देशका सरकारहरूले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको परिवेश, राज्यकोषको स्वैच्छाचारी खर्च र निजी स्वार्थ केन्द्रित दुरुपयोगले पनि यस क्षेत्रलाई अस्थिर बनाउन मद्दत पुगिरहेको छ । यस्तो अवस्थामा पनि पाकिस्तानमा सुधारवादी नेताको छवि प्रस्तुत गर्ने प्रयास गरेका प्रधानमन्त्री इमरान खानका सुरुका क्रियाकलाप उत्साहजनक देखिए पनि उनले पाकिस्तानी कुलिन वर्गको चरित्र र जीवनशैलीलाई नै चुनौती दिने यस्ता क्रियाकलापलाई निरन्तरता दिन कति सक्लान् वा कति सफल होलान् हेर्न बाँकी छ।

हाम्रो देशकै शान्तिको अवस्थाको कुरा गर्ने हो भने अझै पनि द्वन्द्वका आधारभूत र संरचनागत कारणहरू सम्बोधन गर्न बाँकी नै छ भने सशस्त्र द्वन्द्व शान्ति सम्झौतामार्फत अन्य भए पनि संक्रमणकालीन न्याय, शान्तिको लाभांशको समुचित वितरण, पूर्व लडाकुहरूको व्यवस्थापनको अवस्था, शान्ति प्रक्रियामा भएको खर्चको दुरुपयोगको छानबिनजस्ता सवाल टुंगिएका छैनन् । र यी सवालहरू सही तरिकाले नटुंग्याएसम्म यसले जटिलता ल्याउने अवस्था कायमै छ । यसमा पनि लामो समयसम्म कुशासनमा जकडिएको देशमा कानुनको शासनको पूर्ण अभ्यास गर्न राजनीतिक र प्रशासनिक नेतृत्व पूर्ण रूपमा तयार भएको देखिँदैन । उनीहरू राजनीतिका आधारभूत चरित्र र राज्यले नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने मान्यतालाई आत्मसात् गर्न तयार रहेको देखिँदैन । फेरि नयाँ राज्य प्रणाली भएकाले अनुभवको कमी, शक्ति र स्रोतको नियन्त्रणको महत्वाकांक्षा पनि दिगो शान्तिको चुनौतीकै रूपमा रहेका छन् । अर्कोतर्फ अन्तरसम्बन्धित विश्वमा हाम्रो देशले अन्तरसम्बन्धका आधार परिष्कृत गर्न बाँकी छ । त्यसमा पनि नेपाली नेताहरूको बाहिरी शक्तिको आड र आशीर्वादमा देशको सत्ता र शक्ति हत्याउने विगतको गलत अभ्यास अहिलेसम्म पनि रोकिएको छैन भने भ्रष्टाचार झन् झन् व्यापक बन्दै छ । ट्रान्सपरेन्सी अन्तर्राष्ट्रियले सन् २०१७ को “करप्सन परसेप्सन इन्डेक्स २०१७” अनुसार नेपाल १८० मध्य २२ औँ नम्बरमा छ । अझ राजनीति, न्याय, प्रशासन, निजी क्षेत्र नै भ्रष्टाचारमा अग्रणी स्थानमा देखिनु ठूलो चुनौती हो । नेपालमा भ्रष्टाचार संस्थागत नै हुन पुगेको निचोड आइरहेको अवस्था दिगो शान्तिका लागि चुनौती हो।

नेपालमा शान्तिको बारेमा छलफल गर्दा सम्भाव्य द्वन्द्वको परिदृश्य हेर्नु उपयुक्त हुन्छ । हाललाई तत्कालीन माओवादीले चलाएको जस्तो सघन द्वन्द्वको सम्भावना अत्यन्त न्यून भए पनि संघीयता कार्यान्वयनको सवालमा देखिने अनगन्ती द्वन्द्व, बाह्य शक्तिले चलखेल गरी (खास गरी प्रदेश २ मा) सृजना गराउने तनाव, शासकहरूबीच सत्ता, शक्ति, स्रोत र पदका लागि हुने छिनाझिम्टी र जालझेल र ती गतिविधि सृजित जटिलता, खराब सेवा र प्रवाह, भ्रष्टाचारका कारण देखिएको चरम वितृष्णाबाट आम नागरिकमा सृजना हुने विरोध र प्रतिक्रिया, अति महत्वाकांक्षी नेताहरूको सत्ता बाहिर रहनै नसक्ने चरित्रका कारण खलबलिने शक्ति सन्तुलन जस्ता कारण नेपालमा अस्थिरता रहने सम्भावना प्रस्टै छ।

कुनै देशको शान्तिको अवस्था हेर्दा सुरक्षाको अवस्था, नागरिकको आशा÷निराशाको अवस्था राज्यले आफ्ना नागरिकलाई दिने सेवाको प्रभावकारिता, पारदर्शी र निष्पक्षता, सत्ता÷शक्ति संघर्षको अवस्था, सुरक्षा संयन्त्रको व्यावसायिकता, कर्मचारीतन्त्रको कर्तव्य परायणता, निजी क्षेत्रको इमानदारी, नागरिकको अपेक्षा र दायित्व जस्ता सूचकांक लिनुपर्ने हुन्छ र यिनै सूचकांकको आधारमा भन्ने हो भने नेपालमा अझै पनि अशान्तिको पर्याप्त आधार देखिन्छ।

अघिल्लो वर्षको तुलनामा नेपाल शान्ति सूचकांकमा ४ नम्बरले प्रगति गरी १६३ देशमध्ये ८४ आैँ स्थानमा पर्न सफल भएको देखिन्छ, जुन हाम्रा लागि खुसीको कुरा पनि हो । जब हामी नेपालमा शान्तिको कुरा गर्छाैं त्यहाँ २ वटा प्रस्ट चरित्रहरूले प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको देखिन्छ । प्रथम, विगत २० वर्षको नकारात्मक वातावरणका कारण नेपालको सामाजिक मनोविज्ञान पूर्ण नकारात्मक भएकाले त्यही दृष्टिकोणबाट हेर्न र त्यसैले सामान्यीकरण गर्ने प्रवृत्ति छ । सामाजिक मनोविज्ञानलाई प्रभाव पार्न सक्ने बौद्धिक वर्ग, प्राज्ञिक वर्ग, व्यापारी, पत्रकार सबैमा यो चरित्र देखिएको छ । दोस्रो, राज्यको राजनीतिक र नीतिगत निर्णय गर्ने र सोको कार्यान्वयन गर्ने वरिष्ठ नेताहरू, कर्मचारी सबैमा नियन्त्रित सोचको बोलावाल छ, आफू ठीक र अरू सबै खराब, आफू पद/शक्तिमा भएकाले मेरो भनाइ÷विचार÷दृष्टिकोण नै शाश्वत हो यसमा प्रश्न गर्नेहरू विरोधी हुन् भन्ने चिन्तन व्यापक देखिन्छ । तर यी दुवै चिन्तन शान्ति स्थापनाका बाधक मात्र नभई राज्य र नागरिक सम्बन्ध बिगार्ने प्रमुख स्रोत हुन् । अपवादलाई छाडेर सरकारी कार्यालयमा सहयोगी भावनाभन्दा नागरिकलाई अप्ठेरो पारी दुःख दिएर अतिरिक्त फाइदा लिने अभ्यास व्यापक छ । जब यी दुवै नागरिकको सेवा गर्नुपर्ने समूहमा यस्तो चिन्तन बन्छ, उनीहरूको भनाइ र गराइमा तालमेल मिल्दैन अनि अविश्वास बढ्छ, अन्यायको भावना बढ्छ र अन्त्यमा त्यो अशान्तिको आधार बन्न सक्छ।

नेपालका वरिष्ठ नेताहरूले नेपालको शान्ति प्रक्रिया विशिष्ट र मौलिक प्रकृतिको हो तर यसको विश्वमा पहिचान भएन भनेर बारम्बार भनेको सुनिन्छ । आंशिक रूपमा यो सही पनि हो तर आफैँले स्वीकारेको शान्ति स्थापनाका सम्झौतामै लिपिबद्ध भएका प्रावधानहरूको कार्यान्वयनमा जालझेल भई यो मौलिक भनिएको शान्ति प्रक्रियाको मर्ममै प्रहार भएपछि कसरी विश्वले पहिचान गरोस् । संक्रमणकालीन न्यायको सवाल यसको ज्वलन्त उदाहरण हो।

अन्त्यमा आज विश्व शान्ति दिवस भएकाले यसको बारेमा बहस, चर्चा÷परिचर्चा गर्नु सान्दर्भिक भए पनि अहिलेकै अवस्था रहने हो भने न विश्व शान्ति प्रवद्र्धन हुन्छ, न नेपालमा । पूर्ण र दिगो शान्ति हुनका लागि त कानुनी शासनको पूर्ण पालना, मानव अधिकारका विश्वव्यापी मान्यताको इमानदारीपूर्ण स्वीकार्य, सुशासनको सही अभ्यास र राज्य नागरिक सम्बन्ध सुदृढ गर्नुपर्ने हुन्छ । तर शासकहरूले यो वास्तविकतालाई आत्मसात् गर्न तयार भएको देखिँदैन । त्यसैले उनीहरूले आफ्नो व्यवहार र चरित्र परिवर्तन नगरेसम्म सकारात्मक दिगो शान्ति हासिल गर्न ज्यादै कठिनाइ हुनेछ।

प्रकाशित: ५ आश्विन २०७५ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App