नाम राष्ट्रिय गौरवको आयोजना । काम भने लज्जाबोध हुने अवस्थामा । हो, यस्तै नाम भएको मध्यपहाडी लोकमार्ग यतिबेला पाँचथरको दोरिम्बा–चिवाभञ्ज्याङ खण्डमा गएका दर्जनौँ पहिरोका कारणमात्र हैन, यो निर्माणमा देखिएको बेथितिका कारण पनि लज्जासँग जोडिन पुगेको छ । त्यसैले यो आयोजनाका कारण स्थानीयमात्र हैन, सरकारसमेत गौरव महसुस गर्ने अवस्थामा छैन । सास्ती नै सास्तीको मुहानलाई गौरव मान्न सकिन्न पनि । नेपालमा वैशाख–जेठताका वर्षायाम सुरु हुने सबैलाई थाहा छ । तर यही कुरा सरकारमा बस्नेहरूलाई भने थाहा छैन । वर्षायाम लागेपछि निर्माण सुरु गरिने प्रचलन यसको प्रष्ट उदाहरण हो । थाहा थियो भने किन सधैँ वर्षायाम लागेपछि मात्र काम सुरु हुन्छ ? किन त्यसअघि नै काम सिध्याउने, बरु वर्षायामभर स्थगित गर्ने परिपाटी थालिएन ? यिनै अनुत्तरित प्रश्नकै कारण हो कि बाटो निर्माण हुँदैछ, पहिरो गएको गयै छ । विडम्बना, हामीले यसबाट कहिल्यै शिक्षा लिएनौँ । कमसल बनोटका भिरालो जमिन एकातिर । अर्कोतिर तिनै जमिनमाथि डोजर/लोडरको लगातार आक्रमण । त्यो पनि वर्षाको अविरल झरीले खुकुल्याएका बेला । अनि पहिरो नगएर के जान्छ त ? यसमा प्रकृतिलाई अर्थात झरीलाई दोष दिनुपर्ने कुनै कारण छैन । यति कुरा पनि बुझ्न नसक्ने हामी नै हौँ दोषी । वर्षायाममा कामै नगरेको भए वा गरे पनि पहिरो सम्भावित भाग नछोएको भए कम्तीमा पनि यति धेरै पहिरोले पिरोल्ने थिएन पक्कै । तर हामीले यति पनि होस राखेनौँ । जसको परिणाम अहिले भोगिरहेका छौँ।
स्थानीय सरकारसमेत सक्रिय रहेकाे अवस्थामा सबै उत्तिकै जिम्मेवार हुने हाे भने पुष्पलालकाे नाम जाेडिएकाे मध्यपहाडीमात्र हैन, बिपी, मदन भण्डारी वा गणेशमान कसैकाे पनि नाम सडककाे बेहालसँग दुर्नाम हुने छैन।
एक त ठेक्का प्रक्रिया नै झन्झटिलो छ । अर्कोतर्फ ठेक्का लाग्दासाथ काम पनि सुरु भइहाल्दैन । लाग्छ, ठेकेदार पनि काम सुरु गर्ने शुभसाइतका रूपमा वर्षायाम नै कुरिरहन्छन् । अनि सरकारी कर्मचारी उनीहरूको यो साइतलाई साक्षीका रूपमा स्वीकार्छन् । यस्तो अवस्थामा सुरु हुने निर्माणले जनतालाई सास्ती नदिएर सन्तुष्टि दिन्छ त ? उत्तर कसैसँग छैन । यस्तो अवस्था नयाँ हैन । सनातनी रूप धारण गरिसकेकाले यसका जरा निकै मुनि हैन, निकै माथिसम्म फैलिएका छन् । त्यसैले अगाडि गौरव झुण्डिएका आयोजनासमेत यतिबेला हँसिमजाकको विषय हुन पुगेको छ । सोझो अर्थमा भन्दा हाम्रा सत्तासीन तथा उच्चपदस्थ कर्मचारीको कमजोरीको सिकार ‘गौरव’ शब्दसमेत बन्न बाध्य छ यतिखेर । सानो खण्डमै दर्जनौँ ठाउँमा पहिरो जानु त सामान्य भइसकेको छ नै । त्यसमाथि छेउछाउमा सडक निर्माणका सामग्री तथा औजार थुप्राइनाले पनि यात्रुले हिँड्नसमेत सजिलोसँग पाएका छैनन् । गन्तव्य पुग्नुलाई यही कारण ससानो युद्ध जितेको महसुस गर्न बाध्य छन् स्थानीय । लगातार झरी परिरहँदा तथा पहिरो गइरहँदा पनि अर्थात बनाउँदा बनाउँदै निर्माण भताभुंग हुने स्थितिमा पनि निर्माण जारी राख्न किन बाध्य हुन्छन् ठेकेदार? यो पनि अर्को महत्वपूर्ण प्रश्न हो । सास्तीलाई होस्टेमा हैँसे गर्न यसले पनि सघाइरहेको छ । अनि यस्तो विकास कसरी दिगो हुन्छ भन्ने गम्भीर प्रश्न पनि उब्जाएको छ, यो कार्यले।
मध्यपहाडी लोकमार्गमात्र हैन, सबैखाले मार्गको पारा यही हो । भिरालो ठाउँमा पहिरो गएको छ । कतिपय ठाउँमा नदीसमेत अनियन्त्रित भएर यही बन्दै गरेको मार्गपछ्याउन उद्यत छ । सम्म ठाउँमा निर्माण भइरहेको बाटो पनि आहालमा परिणत भइरहेका छन् । पानी पर्दापर्दै पिच र ढलान गरिरहेका दृश्य सबैतिर देख्न पाइन्छ आजकल । तर पनि कसैलाई यसप्रति खासै चासो रहेको देखिन्न । सरकारका तर्फबाट यस्ता कामको निरीक्षण/अनुगमन गर्न खटाइएका प्राविधिक गर्छन् के ? किन ठेकेदारसामु यतिविघ्न कृतज्ञ हुन्छन् उनीहरू ? प्रश्नको चित्तबुझ्दो जवाफ नआउन्जेल भइरहने यस्तै हो । शंकै छैन । वर्षायाममा काम नगर्ने परिपाटी अपनाउने हो भने आधा समस्या त्यत्तिकै समाधान हुन्छ । भूबनोटका आधारमा काम गर्दा केही प्रतिशत समस्याले निकास पाउँछ । कामको इमानदारी निरीक्षण र अनुगमनको पाटोले धेरै समस्या सुल्झाउँछ । ठेकेदारलाई आवश्यकताअनुसार स्याबासी र सतर्क गराइरहने कामले पनि स्तरीयतालाई मद्दत गर्छ ।सबभन्दा महत्वपूर्ण कुरा ठेक्का प्रक्रिया, सुरु हुने समय, कामको गुणस्तर, सकिने अवधि तथा प्राविधिक पक्षमा भरपूर ध्यानले मात्र अहिले विकासका रूपमा अथ्र्याइएका विकासका पूर्वाधारले गति पाउने र त्यो दिगो हुने सम्भावना रहन्छ । यसका लागि ठेकेदारलाई मात्र दोषी देखाएर अस्थायी र स्थायी दुवै सरकार पन्छन पाउँदैनन् । अझ स्थानीय सरकारसमेत सक्रिय रहेको अवस्थामा सबै उत्तिकै जिम्मेवार हुने हो भने पुष्पलालको नाम जोडिएको मध्यपहाडीमात्र हैन, बिपी, मदन भण्डारी वा गणेशमान कसैको पनि नाम सडकको बेहालसँगै दुर्नाम हुने छैन।
प्रकाशित: २ आश्विन २०७५ ०३:३३ मंगलबार