९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

नेपाल—भारतबीच विश्वास

‘हामीलाई नेपालीसँग कुनै समस्या छैन’, भारतमा छिमेकी मुलुकहरू विशेषतः बङ्गलादेशी नागरिकहरूको गैरकानुनी प्रवेश बढिरहेको विषय उठेपछि सत्तारूढ भारतीय जनता पार्टीका शीर्ष नेताहरूको पछिल्लो बैठकको निष्कर्ष हो, यो।

सांस्कृतिक समानता र इतिहासदेखिको निकटताका कारण भारतीयहरू जति नेपालीहरूलाई सहज रूपमा स्वीकार्न तयार हुन्छन् त्यो दक्षिण एसियाका अन्य कुनै मुलुकका नागरिकको सन्दर्भमा देखिँदैन । उस्तै भाषा भए पनि धर्मको कारणले पाकिस्तानसँग भारतको दूरी मात्र होइन टकराव छ । नेपालीहरूप्रतिको विश्वासका कारण भारतको राजनीतिक दलका प्रभावशाली नेताको चुलोचौकादेखि सचिवालयसम्म महत्वपूर्ण जिम्मेवारी बोकेर बसेका छन् नेपाली नागरिक।

भारतमा सायदै कुनै गाउँ या सहर होला जहाँ नेपाली नागरिकहरू कामका सिलसिलामा पुगेका वा बसेका नहुन् । भारतको सत्तारूढ र प्रतिपक्ष दलका नेताहरूको घरमा पुग्दा कुनै न कुनै नेपाली भेटिइहाल्छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहदेखि समाजवादी दलका अध्यक्ष अखिलेश यादव हुन् या कंग्रेस आईका नेता नै किन नहुन् नेपालीहरूले उनीहरूको विश्वासपात्रका रूपमा सँगै बसेर काम गरिरहेका छन् । मुम्बईमा प्रभाव जमाउँदै आएका शिव सेनाको नेतृत्व सम्हालेका ठाकरे परिवारका विश्वासपात्र पनि नेपाली हुन् । त्यतिमात्र होइन, नेपालीहरू भारतको सरकारी र गैरसरकारी निकायमा महत्वपूर्ण क्षेत्रमा जिम्मेवारी सम्हालेर बसेका छन्। 

नेपालीहरूलाई भारतका नेतादेखि सेनासम्मले विश्वास गरेका छन्, त्यसरी राजनीतिक तहमा समेत विश्वासको वातावरण बन्नुपर्छ । कर्मचारीतन्त्रमा पनि अविश्वासको वातावरण रहनुहुन्न । जब विश्वासको वातावरण बन्छ, तब मात्र नेपाल र भारतबीच साथ र विकासले सार्थकता पाउन सक्छ। 

भारतीयहरूका लागि पनि नेपाल छहारी हो । उनीहरू ठूलो परिमाणको व्यापार व्यवसाय गर्ने देखि सडकमा साइकल गुडाएर दैनिक उपभोग्य सामग्री बिक्री गरिरहेका भेटिन्छन् । नेपालमा पूर्वाधार निर्माणका क्षेत्रमा भारतीयहरूको बलियो उपस्थिति छ । खुला सीमाका कारण मात्र यसो भएको होइन, दुई देशबीच इतिहासदेखिको सांस्कृतिक समानताका कारण पनि एकले अर्कालाई सहज रूपमा स्वीकार्ने अवस्था बनेको हो।

कसैको स्वार्थीको हली बनेर कसैले त्यो डोरी चुँडाल्न खोज्दैमा चुँडिदैन।

इतिहासको लामो कालखण्डयता चल्दै आएको सम्बन्धमा राष्ट्र राष्ट्रबीचको सीमा अगाडि आए पनि सीमामा कुनै रोकावट आएन । तर, पछिल्लो समय काठमाडौँ र दिल्ली या कुनै तेस्रो मुलुकमा बसेर केही नेपाली र भारतीयहरू तारबार लगाउने विषय उठाएर सस्तो लोकप्रियता बटुल्ने प्रतिस्पर्धा गरिरहेका छन् । जुन समान संस्कृति भएका दुई मुलुकका नागरिकको पेट र संस्कृतिमाथि प्रहार गर्ने अभिप्राय सिवाय केही होइन। 

धर्मको डोरी
१५ अगस्ट १९४७ मा स्वतन्त्र भएको भारतको हरेक आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनबाट नेपाल प्रभावित छ । त्यसरी नै नेपालमा भएका घटनाक्रमहरूबाट पनि भारत प्रभावित छ । भूगोल जोडिनु र सहज आवतजावतको वातावरण हुनुलाई यसको कारण मानिए पनि धर्मको विषय मुख्य हो भन्ने भुल्नु हुँदैन । भूगोल र समुद्र दुवैले भारत पाकिस्तानसँग नेपालभन्दा लामो सीमाले जोडिएको छ, बङ्गलादेशसँग पनि त्यसरी नै जोडिएको छ तर जुन घनिष्ठ सम्बन्ध नेपालसँग छ त्यो दुवै देशसँग छैन।

सत्तारूढ भारतीय जनता पार्टीले नेपालीहरूप्रति कुनै समस्या नरहेको निष्कर्ष निकाल्नुका पछाडि धर्मको विषय पनि हो । हिन्दुस्तानका रूपमा समेत चिनिने भारतमा जस्तै नेपालमा बहुसंख्यक हिन्दु धर्मालम्बी छन् । धर्मले जन जनको सुदृढ सम्बन्धको मुख्य आधार बनेर भूमिका खेलेको छ । यसलाई नजरअन्दाज गरेर जानसक्ने कुनै बाटो बन्नेछैन। 

इतिहास केलाउने हो भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा ‘असली हिन्दुस्तान’को एजेन्डा सारेका थिए जसलाई भारतका धार्मिक मठका मठाधीशहरूले सहयोग गरेका थिए । पादरीहरूप्रति कठोर बनेका पृथ्वीनारायण शाह पश्चिमाहरूको दबदबा बढ्दै गएको हिन्दुस्तानका हिन्दु राजा महाराजादेखि मठमन्दिरका मठाधीश र पूजारीहरूका समेत प्रिय थिए । गोरखपुरस्थित गोरखनाथ मन्दिरको सिधा सम्बन्ध आजपर्यन्त गोरखादेखि मच्छिन्द्रनाथसम्म रहेको छ।

धार्मिक मठहरूबीच जोडिएको त्यस्तो सम्बन्धको डोरी अझै मजबुत छ । जसले जन जनको सम्बन्धलाई आजपर्यन्त मजबुत बनाएको छ । मुक्तिनाथको महिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अझ प्रस्ट पारिदिए । हिन्दु र बौद्धको धार्मिक सहिष्णुता प्रकट हुने मुक्तिनाथ दक्षिण र उत्तरतर्फको सभ्यता जोडिएको सांकेतिक बिन्दु पनि हो । भारतका शक्तिशाली नेताहरू देखि बलिउड स्टारहरू कार्यसिद्धिको कामनासहित नेपालका धार्मिक तीर्थस्थल आउँछन्।

साउनको पहिलो सोमबार भाजपा महासचिव डा. अनिल जैन पशुपतिनाथको दर्शन मात्र गर्न तीन घन्टाका लागि नेपाल आएर फर्किएका थिए । यसबाट धर्मको प्रभाव र सांस्कृतिक सम्बन्धको महिमा बुझ्न सकिन्छ । धर्म र संस्कृतिले निर्माण गरेको कसिलो डोरी जतिसुकै भौतिक विकासले ठाउँ बनाउन खोज्दा पनि कमजोर भएको छैन । कसैको स्वार्थको हली बनेर कसैले त्यो डोरी चुँडाल्न खोज्दैमा चुँडिदैन । जन जनको मन मस्तिष्कमा जोडिएको सम्बन्धको आधार कदापि अन्त हुँदैन। 

समृद्धिको आधार
आर्थिक सम्बन्धको सवालमा नेपाल भारतसँग निर्भर अर्थतन्त्र रहेको मुलुक हो भन्ने विषय वर्तमानलाई सबथोक ठान्ने सतही तर्क हुन आउँछ । नेपाल कुनै न कुनै रूपमा भारत र दुई चीनबीचको सेतु हो । अंशुबर्माकालीन छैटौँ र सातौँ शताब्दीमा नेपाल दुई सभ्यताबीचको मजबुत सेतु बनेको थियो । पश्चिमाहरूको दक्षिण एसियामा दबदबाले दुई सभ्यताबीचको औपनिवेशकारीको हस्तक्षेप तगारो बन्यो, जुन कठिन हिमालभन्दा कठोर देखियो । नेपाल पूर्णतः दक्षिणतर्फ निर्भर बन्नुपरेको ब्रिटिस शासनकालमा हो जसको अवशेष आजपर्यन्त छ।

एसियाको युगारम्भ हुँदा नेपालले पुनः आफ्नो साख फर्काउँदै जाने अवस्था बनेको छ । मानसरोवरको यात्राका लागि नेपाल भारतीय हिन्दु तीर्थालुको सेतु मात्र बनेको छैन कतिपय चिनियाँ सामग्री भारतीय बजारसम्म पुग्ने सेतु बन्दै गएको छ । त्यसरी नै भारतीय उत्पादनहरू चीनको बजारमा पुग्न नेपाली भूमिको छोटो मार्ग उपयुक्त हुनसक्छ।

विज्ञानले असम्भवलाई सम्भव बनाउँदै जाँदा पूर्वाधार विकासबाट दुई सभ्यतालाई जोड्ने मार्ग तयार हुनसक्छ । यसो भएमा नेपालले विगतमा हासिल गरेको समृद्धिलाई फर्काउन सक्छ । १८ औँ शताब्दीपछि उपनिवेशकारीले खोक्रो बनाएको भारत र चीन ओरालो लाग्दा नेपाल पनि त्यही गतिमा ओरालो लागेको थियो । उपनिवेशकारीले स्थापित गरेका हुण्डरी र सनकी शासकहरूबाट नेपाल चल्यो । जसको छायाँले नेपाललाई अझै छाडेको छैन । अब माहोल बिस्तारै बदलिएको छ । छिमेकीहरू समृद्धिको शिखरतर्फ बढिरहेका छन्। 

चीन विश्वकै समृद्ध देश बन्न गइरहेको छ । आर्थिक शक्तिका आधारमा अमेरिकापछि दोस्रो स्थानमा रहेको चीन पहिलो स्थानमा आउने प्रक्षेपण गरिएको छ । पाँचो स्थानमा रहेको भारत सन् २०२५ भित्र तेस्रो स्थानमा पुग्ने उसका प्रधानमन्त्री नरेन्द्र मोदीले बताइसके । वार्षिक ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गरिरहेको भारत र ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गरिरहेको चीनको बीचमा रहेको नेपालका लागि अवसर र चुनौतीहरू तेर्सिएको छ।

अमेरिकाको अफिम युद्ध र जापानको उपनिवेशको चपेटामा परेको चीन र बेलायतको उपनिवेशले थलिएको भारतले एक शताब्दी नबित्दै समृद्धिको शिखरमा आफूलाई पुर्याउँदैछन् । यी दुई देशको बीचमा रहेको नेपालले अबका वर्षहरूमा कस्ता योजनाहरू बनाएर अगाडि बढ्ने हो त्यसले यहाँको आर्थिक भविष्य मात्र नभई राजनीतिक र सामाजिक भविष्यसमेत निर्धारण गर्छ । त्यसमाथि, भारतसँगको सम्बन्धले अझ महत्व राख्छ । यो सम्बन्धको संवेदनशीलता र गरिमा मननीय पक्ष हो। 

अबको मार्ग
नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई एकातर्फ राखिदियो भने राष्ट्र राष्ट्रबीचको सौदाबाजी र घम्साघम्सीको अवस्था आएर विश्वासको संकट पर्छ । बेला बेलामा भएको त्यही हो । जब धार्मिक र सांस्कृतिक सम्बन्ध बेवास्तामा पर्छ तब तारबार लगाउनुपर्छ भन्नेहरूदेखि सीमा तन्काउनुपर्छ भन्नेहरू दुवै देशमा चर्को आवाज निकाल्न थाल्छन् । यी अबको शताब्दीमा फगत हुन् जुन सुन्दा पक्षलाई आनन्द र विपक्षलाई आक्रोशित बनाउन मात्र सक्छन् । त्यस्ता आवाजहरू तब बन्द हुन्छन् जब दुवै देशबीचको धर्म र संस्कृतिले जनजीवनमा खेलिरहेको सकारात्मक भूमिका मनन गरिन्छ।

धर्म र संस्कृतिले एक अर्कालाई जसरी आत्मीय बनाइरहेको छ त्यसरी नै समृद्धिको यात्रामा एक अर्कालाई धन र मनले सहयोग गर्नुपर्ने वातावरण निर्माण गर्न सक्नुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबका साथ सबका विकास’ नीतिलाई भारतभर मात्र नभएर छिमेकसँगको सम्बन्धमा समेत लागू गरेका छन् । उनले पछिल्लो नेपाल भ्रमणका बखत यसको उद्देश्य छिमेकको विकासमा पनि साथ दिने रहेको प्रस्ट्याए । नेपालको विकासमा भारतको साथ र सहयोग जरुरी छ । तर, त्यसका लागि बोलीभन्दा व्यवहारमा अझ प्रस्टता आउन जरुरी हुन्छ।

भारतले भूकम्पको पुननिर्माणमा गर्ने भनेको सहयोग घोषणा भर्खर दिन थालेको छ । यसमा नेपाली पक्षको पनि उत्तिकै कमजोरी देखिन्छ । सहयोग दिनेले त्यसै सहयोग गर्दैन त्यसका लागि सहयोग सही तरिकाले प्रयोग हुने सुनिश्चितता जरुरी छ । जब विश्वासको संकेत आउँछ तब सहयोगी हातहरू सर्दैन । तसर्थ, दुवै देशबीच विश्वासको वातावरण विकास हुन जरुरी छ । जसरी नेपालीहरूलाई भारतका नेतादेखि सेनासम्मले विश्वास गरेका छन्, त्यसरी राजनीतिक तहमा समेत विश्वासको वातावरण बन्नुपर्छ । कर्मचारीतन्त्रमा पनि अविश्वासको वातावरण रहनुहुन्न । जब विश्वासको वातावरण बन्छ, तब मात्र नेपाल र भारतबीच साथ र विकासले सार्थकता पाउन सक्छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App