प्रधानमन्त्री ओलीको यसपालाको चीन भ्रमण अरूबेला भन्दा फरक भएको धेरैले अनुभूत गरेका छन्। यो भ्रमणपछि नेपाल–चीन सम्बन्धले उल्लेख्य फड्को मार्ने विश्वास पनि धेरैको छ। नेपाल र वरपरको भू–राजनीतिमा समेत यसले ठूलो प्रभाव पार्नेछ । र हाम्रा निम्ति यो राम्रै होला भनी आशा गर्ने ठाउँ प्रशस्त छ।
लामो समयसम्म राजनीतिक अस्थिरता झेलेपछि, अचानक अकल्पनीय रूपमा बिल्कुलै फरक धारका परस्पर विरोधी दुई कम्युनिस्ट पार्टीहरू एकीकृत भएर यतिबेला बहुमतको सरकार बनेको छ । बुद्धि पु-याएमा पाँच वर्षका निम्ति यिनले स्थिर सरकार दिन सक्नैपर्ने हो । स्थिरता र समृद्धिको नेपाली चाहनालाई यिनले बुझेरै समृद्धिको नारा घन्काइरहेका छन् । नेपालमा घन्किएको यो नारा २५–३० वर्षअघि अर्थात् १९९०को दशकतिर तङ स्याओ–फिङका पालामा ‘आर्थिक विकासलाई ‘मेरुदण्ड’ मान्ने’ विचारभन्दा खासै फरक छैन । परिमाण, प्रतिबद्धता र समयको भिन्नता मात्रै हो।
तङको पालामा गरिएका ‘नवउदारवादी’ निर्णयहरूका कारण २०–२५ वर्षसम्म बढेको आर्थिक असमानता, आएका आर्थिक–सांस्कृतिक जटिलता र अनेक किसिमका नयाँ समस्यालाई समाधान गर्ने काम चीनको निम्ति महँगै परेको देखिन्छ। कुनै बेला अब्बल मानिएका सदाचारी नेताहरूको पनि ‘समृद्धि–सपना’मा भ्रष्टाचारको नशा लागेका कारण, कालान्तरमा अपमानजनक रूपमा अवसान भयो। समाजवादको ठाउँमा ‘आसेपासे पुँजीवाद’ झांगियो।
तङ् स्याओ–फिङपछि सि चिन–फिङसम्म आइपुग्दा चीनमा आएको कल्पनातीत परिवर्तन केवल भौतिक विकासमा मात्रै हैन, भ्रष्टाचारको न्यूनीकरण, सामाजिक न्याय तथा विवेकको पुनःस्थापन, कला साहित्यमा प्राप्त नयाँ उचाइ, राज्यको हरेक पक्षमा शक्ति प्रवद्र्धनसँगै विश्व मानचित्रमा आफूलाई नेतृत्वदायी पंक्तिमा स्थापित गर्ने काममा चिनियाँहरूको सफलतामा समेत प्रतिविम्बित भइरहेको छ।
भर्खरै मात्र दशकौँ लामो राजनीतिक अस्थिरता, आपसी कलह, गृहयुद्ध, समाज तथा राज्यको तीव्र भ्रष्टीकरण, लाजमर्दो परनिर्भरता आदिबाट निस्केर सामजिक न्याय तथा लोकतन्त्रसहितको समृद्धिको बाटोमा हिँड्न खोजेको नेपालले चीनसँगको सम्बन्धबाट के सिक्ने?
‘बेल्ट एन्ड रोड’ अर्थात् ‘पाटो र बाटो’को चिनियाँ विश्व–रणनीतिबाट कसरी लाभान्वित हुने भनी नेपाली नेताहरूले गम्न थाल्नु स्वाभाविक हो । साँध जोडिएका दुवै छिमेकीहरूको समृद्धि र विकासलाई आफ्नो देशको स्वार्थमा कसरी उपयोग गर्ने भनी सोच्नु एकदमै जायज हो । तर छिमेकी वा विश्वका कुनै पनि मुलुकले हिँडिसकेको कठिन, अनावश्यक, वा गलत बाटो आफैँले पनि फेरिहिँड्नुपर्छ भन्ने जरुरी छैन ।अरूका अनुभवबाट पटक्कै केही नसिकी उनीहरूले सच्याइसकेको गलती आफूले दोहो-याउनुलाई बुद्धिमानी भनिँदैन– त्यस्तो कर्मलाई अर्कै विशेषण सुहाउँछ ।
झन्झन् फराकिँदो आर्थिक असमानताका कारण जन्मिएका असंख्य साना–ठूला हड्ताललगायतका गडबडी विदेशीहरूबाट लुकाउन चिनियाँहरूलाई हम्मेहम्मे पर्न थाल्यो।
१९४९मा चीनमा कम्युनिस्ट पार्टीको शासन स्थापित हुनु पछाडि धेरै ऐतिहासिक कारण थिए । अनेक किसिमका आन्तरिक र बाह्य परिस्थितिहरूको जटिल, बहुआयामिक र गतिशील तत्वहरूका कारण जनगणतन्त्र चीनको स्थापना भएको थियो । जुन क्रान्ति तथा राष्ट्रिय स्वाधीनताको लडाइँको परिणामका रूपमा त्यो जनगणतन्त्रको स्थापना भयो, त्यो क्रान्तिको सफलताका बेला माओको नेतृत्व भएकाले उनले त्यो श्रेय पाउने नै भए । त्यसपछि उनको निधन नहुन्जेल चीनमा भएका अकल्पनीय परिवर्तनहरूको जस–अपजस पनि सबभन्दा बढी माओलाई नै जान्छ।
१९८० को दशकदेखि नै सतर्कताका साथ बिस्तारै सुरु भएको भौतिक समृद्धिको चिनियाँ सपना ९० को दशकमा पुग्दा ‘समृद्धि’तर्फको अन्धाधुन्द दौडमा अनुवाद भयो । फलस्वरूप चीनमा अभूतपूर्व भौतिक परिवर्तन भयो, त्यत्रो ठूलो देश सम्पन्नतातर्फ बढ्यो । तर सँगसँगै अनेक विकृतिको पनि सुरुआत भयो । हु चिन–थाओको पालोसम्म आइपुग्दा त चिनियाँ नेतृत्व नबिउँझी सुक्खै भएन । त्यो बेलासम्म आइपुग्दा माओकालीन चीनप्रति घोर आलोचानात्मक धारणा राख्ने पश्चिमाहरू पनि भन्न थालेका थिए, संसारभरि समतामूलक समाज भएका राष्ट्रको अग्रपंक्तिमा पर्ने चीन यतिबेला चरम असमानताको अग्र पंक्तिमा पर्ने मुलुक बनेको छ भनेर । गरिब र धनीका बीचको खाडल अकल्पनीय रूपमा फराकिलो र गहिरो भइसकेको थियो । भ्रष्टाचारले जताततै व्यापकता पाइसकेको थियो।
जब यो यथार्थमा चिनियाँ नेताहरू बिउँझिए, उनीहरू झस्किए । र हार्मोनियस् (सुसंगत, लयबद्ध) समाजको आवश्यकताको अनुभव गर्न थाले । अचम्म के भयो भने यस्तो सामाजिक न्याय तथा लयबद्धता भएको भ्रष्टाचारमुक्त समाज बनाउनका निम्ति चलनचल्तीका ‘साम्यवादी’, ‘समाजवादी’ नाराहरूलाई उनीहरूले फेरि घन्काएनन् । सम्भवतः ती नाराहरूलाई विगतका सत्तासंघर्ष लगायतका अनेक तत्वले पाखण्डपूर्ण र खोक्रा बनाइदिइसकेका थिए । क्रान्तिपछि माओको सर्वोच्चताले ‘भगवान्’लाई विस्थापित गरेको थियो भने तङको पालामा धन र सत्ताप्रतिको रागले माओलाई नै विस्थापित गरिदिएको थियो।
जीवनको अर्थ झन्झन् ओझेलमा पर्न थालेको त्यो वैचारिक, आध्यात्मिक रिक्ततालाई सम्भवतः करुणा, सरलता र विनयलाई केन्द्रमा राख्ने र प्रकृति तथा पृथिवीप्रति कृतज्ञता र प्रेमको अभ्यास गर्ने, चीनमै जन्मेहुर्केको ‘ताओ’(वादरधर्म) ले पनि पूर्ति गर्न सक्थ्यो होला । तर चिनियाँ नेताहरूले त्यसलाई पनि एकातिर पन्छाउँदै पितृभक्ति, मानवीयता र कर्मकाण्डमा जोड दिने कन्फ्युसियसका विचारलाई समाते । कन्फ्युसियस र उनका विचार पद्धतिका बारेमा उत्साहपूर्ण अध्ययन र नयाँ व्याख्याको लहर उठ्न थाल्यो । देशभित्र मात्रै हैन, देशबाहिर समेत कन्फ्युसियस अध्ययन संस्थानहरू खुल्न थाले । यसका निम्ति राज्यले प्रशस्त लगानी गर्न थाल्यो । अहिले पनि गरिरहेकै छ।
अचम्म के छ भने कन्फ्युसियसका बारेमा माओ त जिन्दगीभर कटु आलोचक थिए नै । साम्यवादी आन्दोलनले गति लिनुभन्दा अघि १९१९ मे ४ आन्दोलन ताका नै उस बेलाका युवाहरूको लोकतान्त्रिक आन्दोलनले समेत कन्फ्युसियसका विचारलाई महिला तथा अन्य सीमान्तीकृत समुदायप्रति अन्यायलाई स्वीकृति दिने सांस्कृतिक, दार्शनिक आधार मान्न थालिसकेका थिए।
कन्फ्युसियसले चीनको विशिष्ट परिस्थितिमा प्रतिपादन गरेका विचारहरूमा पक्कै पनि धेरै कुरा कालजयी छन् र तिनको अद्यापि उत्तिकै सकारात्मक महत्व छ । तर वर्तमानको आँखाबाट हेर्दा असान्दर्भिक र पछौटे देखिने पनि धेरै कुरा छन्।
आधुनिक चीनले यस्ता कन्फ्युसियसलाई यति धेरै मेहनत गरेर किन बिउँताउनुपरेको होला? यसबाट चीन भ्रमणमा रहेका नेपाली स्वप्नद्रष्टा, समृद्धि उन्मुख, समाजवादी नेताहरूले के सिक्ने त?
चीनलाई जनगणतन्त्र बनाउने क्रान्तिभन्दा फरक ढंगले अनेक चरित्रका विद्रोहहरूको योगको परिणामस्वरूप यो देश ‘लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल’ बनेको हो । क्रान्तिपछि माओले चालेका कदमभन्दा फरक किसिमले अघि बढ्नुपर्छ भन्ने कुरामै हाम्रा सत्ताधारी नेता विश्वस्त देखिन्छन् । यिनीहरूको प्रयत्न तङ स्याओ फिङको समृद्धिउन्मुख रणनीतिसँगै बढी नजिक देखिन्छ । तङ भन्ने गर्थे— पहिले केही मानिसलाई धनी बन्न दिऊँ, अरूहरू क्रमशः धनी बन्दै जानेछन् । नभन्दै चीनमा भयो पनि त्यस्तै।
तर तङको पालामा गरिएका ‘नवउदारवादी’ निर्णयहरूका कारण २०–२५ वर्षसम्म बढेको आर्थिक असमानता, आएका आर्थिक–सांस्कृतिक जटिलता र अनेक किसिमका नयाँ समस्यालाई समाधान गर्ने काम चीनको निम्ति महँगै परेको देखिन्छ । कुनै बेला अब्बल मानिएका सदाचारी नेताहरूको पनि ‘समृद्धि–सपना’मा भ्रष्टाचारको नशा लागेका कारण, कालान्तरमा अपमानजनक रूपमा अवसान भयो। समाजवादको ठाउँमा ‘आसेपासे पुँजीवाद’ झांगियो । झन्झन् फराकिँदो आर्थिक असमानताका कारण जन्मिएका असंख्य साना ठूला हड्ताल लगायतका गडबडी विदेशीहरूबाट लुकाउन चिनियाँहरूलाई हम्मेहम्मे पर्न थाल्यो । बेलामा समृद्धिसँगै राष्ट्रिय आचारका बारेमा वास्ता नपु¥याउँदा नागरिक तथा राज्य अंगहरूमा नैतिकता स्थापित गर्न पुरातत्वको खोपामा राखिएको पुरातन विचारपद्धतिको सहारा लिनुप-यो।
यतिबेला सि चिन–फिङलाई तानाशाहीतर्फ उन्मुख भन्नेहरू नभएका हैनन्, तर अन्धो ‘आर्थिक समृद्धि’को दौडसँगै आएका यस्ता समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न थालेका कारण, भ्रष्टाचारविरुद्ध उनले देखाएको कठोरताका कारण, समाजमा देखिन थालेका अनेक असन्तुलन र विकृतिप्रतिको मिहिन दृष्टिका कारण र सामाजिक न्यायको पुनःस्थापनामा समर्पित भएका कारण आफ्नै देशवासीबीच भने उनी अत्यन्त लोकप्रिय भएकाछन्।
भर्खरै मात्र लोकतान्त्रिक यात्रा थालेका हामीले अनेक उतारचढावपूर्ण यात्रामा धेरै उपलब्धि हासिल गरिसकेका छिमेकीहरूबाट धेरै कुरा सिक्नु छ । राम्रा कुरा लिनु छ, नराम्रा कुराबाट जोगिनु छ । लामो लावालस्करसहित त्यहाँ तीर्थयात्रा गरिरहेका हाम्रा नेताले ती पाठहरू हृदयंगम गर्न सक्नुपर्छ । उनीहरूको मात्रै हैन, हाम्रो आफ्नै इतिहास र अनुभवले पनि भन्दैछ –
आचारजन्य राष्ट्रिय पहिचानका बारेमा बेलैमा वास्ता पु-याउन नसक्दा धेरै क्षति हुने रहेछ, अनावश्यक झमेला र दुःख झेल्नुपर्दो रहेछ । भौतिक निर्माणमा देखिने विकास सिंगो मानवसमाजको एउटा महत्वपूर्ण तर सानो अंश मात्रै रहेछ, त्यो नै सबथोक हैन रहेछ । सदाचार नभए राष्ट्रिय पहिचान नै हराउने रहेछ र सदाचारको जरा राज्यका संयन्त्रमा हुँदो रहेछ । हजारौँ वर्षदेखि चलि आएको मानिसका आस्थाभित्र अनेक सुन्दर कुरा लुकेका हुँदा रहेछन्, र संस्कृतिको जगेर्ना गर्नैपर्ने रहेछ । जुनसुकै संस्कृतिमा रहेका असल पक्ष कालजयी हुँदा रहेछन्।
हामी त झन् बुद्ध जन्मिएको देशका मान्छे । बौद्ध धर्म कन्फ्युसियसको ‘रु’वाद भन्दा अलि बढी नै समावेशी होला नि! राष्ट्रिय आचारका निम्ति त्यो मार्गदर्शक हुन नसक्ला? आशा गरौँ, औपचारिक नाताभन्दा अघि बढेर, भौतिक समृद्धिभन्दा परपरसम्म दृष्टि लगाएर, हाम्रा नेताले उत्तरबाट अरू ज्ञानगुनका कोसेली लिएर फर्कनेछन्।
प्रकाशित: ८ असार २०७५ ०३:०७ शुक्रबार