यी पंक्तिहरू लेखिरहँदा देशमा दुई ठूला कम्युनिस्ट पार्टीहरू औपचारिक रूपमै एक भइसकेका छन्। अब अलिकति फर्किऔँ।
अरू प्रतिस्पर्धी पार्टीहरूका निम्ति यो एकताको सम्भावनाले मात्रै पनि अप्ठेरो सृजना गर्न थालेको हो केही महिनायता। तर राजनीतिमा आफैँ नहोम्मिइकन केही चासोसम्म राख्ने आम जनताका निम्ति भने यो खुसीकै खबर होला। यसले के सन्देश पनि प्रवाह गरेको छ भने विविधताभित्र समानता खोजे नपाइने हैन रहेछ। यतिबेला आन्तरिक कलहका कारण अत्यन्त कमजोर स्थितिमा पुगेको नेपाली कांग्रेसका अनेक गुटबीच (र अरू सहधर्मी राजनीतिक कर्ताका बीच पनि) एकताका गम्भीर प्रयत्न भए देशका निम्ति बेसै होला।
कुनै बेला यी दुई पार्टीहरूबीच समानताका केही पनि कुरा भेटिँदैन थिए– नाममा र यिनीहरूले प्रयोग गर्ने केही शब्दावलीमा बाहेक। यिनीहरूको व्यवहार र अभिव्यक्ति हेर्दा बिल्कुलै फरक पदार्थले बनेका जस्ता देखिन्थे यी। कम्युनिस्ट एकताका कुरा त्यतिबेला पनि नचल्ने हैन । खास गरी आफूलाई स्वतन्त्र वाम भन्न रुचाउने बुद्धिजीवीहरू जहिले पनि यो प्रयत्नमा लागिरहेका देखिन्थे । तर मृगमरीचिका बन्थ्यो वाम एकताको सपना । व्यावहारिक रूपमै कुनै दिन त्यो साकार होला भनी पत्याउने धेरै थिएनन् । तर यतिबेला आएर अचम्मै भएको छ।
अब कम्तीमा पनि नेपालको कम्युनिस्टआन्दोलनको व्याख्याताको जिम्मेवारी त यही एकीकृत पार्टीको काँधमा आयो नै।
केले जोड्यो त यिनलाई? सत्तामोह मात्रै हो त त्यो जोड्ने तत्व? त्यसै हो भने यो एकता कुनै पनि बेला टुट्न सक्छ । हैन भने यो एकतालाई धानी राख्नका निम्तिएकीकृत पार्टीले गम्भीरता र लगनशीलताका साथ अनेक क्षेत्रमा मेहनत गर्नुपर्ने हुन्छ।
नयाँ बन्ने पार्टीभित्र एकताका निम्ति नभई नहुने कुरा हो दिशानिर्देशक सिद्धान्तका बारे स्पष्टता र समान धारणा । वर्गसंघर्षलाई सतहमा ल्याउन भनी गरिएको व्यक्ति हत्याबाट बीउ रोपिएको थियो वर्तमान एमालेको । विचारका क्षेत्रमा अनेक परिवर्तनबाट गुज्रँदै, सांगठनिक योग र वियोगका अनेक घटना पार गर्दै, नेकपा एमालेको रूप धारण गरेपछि राजाकै पालामा संसदीय व्यवस्थामा प्रवेश गरेको थियो एमालेले । ऊ बेलै कांग्रेस तथा राजावादीसँग प्रतिस्पर्धामा होम्मिइन थालिसकेको थियो ऊ । अर्काथरी कम्युनिस्ट भने त्यही कालको संसदीय अभ्यासलाई छोडेर हिंसात्मक सशस्त्र संघर्षमा होमिए र माओवादीका रूपमा अवतरित भए। सत्ताराजनीतिका रणनीति नितान्त फरक थिए यी दुईका बीच । कालान्तरमा आआफ्ना ठाउँबाट आआफ्नै किसिमले राजतन्त्रविरुद्धको संघर्षमा सरिक हुँदै विस्तारै प्रतिस्पर्धात्मक संसदीय अभ्यासलाई नै लोकतन्त्र मान्ने स्थितिमा आइपुगे दुवै । त्यति मात्रै नभई अहिले त एउटै पार्टीका रूपमा अघि बढ्न सक्ने निक्र्याेलमा पुगेका छन् । तर विगतका फरक सोचबाट अप्रभावित रहन यिनलाई सहज हुने छैन ।एकीकृत पार्टीका निर्देशक सिद्धान्तदेखि पार्टी संगठनको संरचना, अन्तर्पार्टी लोकतन्त्र तथा पार्टी सदस्यबीच अन्तरसम्बन्धको व्यवस्थापन आदिमा देखापर्ने चुनौती चानचुने हुनेछैनन् । प्रतिस्पर्धात्मक राजनीतिमा माक्र्सवादको कसरी व्याख्या हुने हो, लोकतान्त्रिक यात्रामा ‘लेनिनवाद’ले कहाँ कस्तो ठाउँ पाउने हो, अहिलेको बजार अर्थतन्त्रमा माओवादलाई कसरी कहाँ राक्ने हो जस्ता समस्याहरू अझै चुनौतीपूर्ण होलान्।
माक्र्सवाद सिद्धान्तकै रूपमा मात्र रहँदा जे थियो, पछि व्यवहारमा त्यस्तै रहन कहीँ पनि सकेन ।सायद कुनै पनि सिद्धान्त, दर्शन, मार्गले भोग्नुपर्ने नियति होला यो । सैद्धान्तिक हिसाबले कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी नै हुनुपर्ने हो । तर व्यवहारमा कहिल्यै, कतै यसो भएन । बलिया कम्युनिस्ट देशको ‘अन्तर्राष्ट्रवाद’ जहिले पनि गरिब देशमाथिको नियन्त्रणका रूपमा अनूदित भयो । बलिया देशका यस्ता नियन्त्रणलाई अलि कमजोर देशले ‘सामाजिक साम्राज्यवाद’ नै भनिदिए । राष्ट्रिय स्वार्थ जहिले पनि ‘सर्वहारा वर्ग’को स्वार्थभन्दा माथि नै रह्यो । वास्तवमा जेलाई माक्र्सले ‘सर्वहाराको अधिनायकत्व’ भनेका थिए, त्यो त कहिल्यै, कुनै पनि देशमा, पृथिवीको कुनै कुनामा स्थापित भएन । ‘सर्वहारा’ स्वयं नै राष्ट्रहरूमै बाँडिइरह्यो । त्यो वर्गको अन्तर्राष्ट्रियकरण पनि कहिल्यै हुन सकेन । एकातिर विज्ञान प्रविधिमा भएका उपलब्धिका कारण श्रमको प्रकृति परिवर्तन भइरह्यो, त्योसँगै माक्र्सले देखेका सर्वहारा वर्गकै रूपान्तरण हुन थाल्यो, अर्कोतिर निम्नमध्यम वर्गका बुद्धिजीवीले किसानको असन्तुष्टिको उपयोग गर्दै सर्वहाराका नाममा गरेका हिंसात्मक क्रान्ति नै कम्युनिस्ट क्रान्तिका प्रमुख रूप बने । राष्ट्रवाद जहिले पनि जुनसुकै विचार पद्धतिमा, जुनसुकै राज्य प्रणालीमा हाबी भई नै रह्यो । बलिया देशले निर्धा देशलाई सधैँ गर्ने मन परी र थिचोमिचोका कारण पनि संसारभर राष्ट्रवादको आवश्यकता अनुभूत भइरह्यो । धनी देशको ‘देशभक्ति’ यथार्थमा अन्धराष्ट्रवाद, विस्तारवाद र साम्राज्यवाद नै बन्यो । त्यसले गर्दा पनि गरिब देशको देशभक्तिले राष्ट्रवादको रूप धारण गर्नुपर्ने बाध्यता सृजना भयो । अब नेपालको एकीकृत कम्युनिस्ट पार्टीले राष्ट्रियता, राष्ट्रवाद, देशभक्ति आदिका बारेमा कसरी कस्तो सोच बनाउँछ, सबैलाई कौतूहल होला।
प्रतिस्पर्धात्मक राजनीतिमा माक्र्सवादको कसरी व्याख्या हुने हो, लोकतान्त्रिक यात्रामा ‘लेनिनवाद’ले कहाँ कस्तो ठाउँ पाउने हो, अहिलेको बजार अर्थतन्त्रमा माओवादलाई कसरी कहाँ राक्ने हो जस्ता समस्याहरू अझै चुनौतीपूर्ण होलान्।
लेनिनवादी पार्टी संगठनको सिद्धान्तलाई स्टालिनले अझ विकृत बनाइदिएपछि, कम्युनिस्ट पार्टीहरूभित्र लोकतान्त्रिक पद्धतिको अभाव यति चुलियो कि सोभियत संघ जस्तो बलियो शक्ति टुक्राटुक्रा हुनेदेखि लिएर समाजवादका नाममा अन्धकार जहाँनियाँ राजतन्त्र बन्ने स्थितिसम्म आयो । नेपाली कम्युनिस्टहरू त्यो भन्दा धेरै फरक र बिल्कुलै भिन्न किसिमको संसदीय लोकतन्त्रको अभ्यासमा लागेका छन् । यस्तो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा, अनि आफ्नै ऐतिहासिक पृष्ठभूमिमा नेपालको एकीकृत कम्युनिस्ट पार्टीले आफ्नो दिशानिर्देशक सिद्धान्तका बारेमा स्पष्ट हुने र सबैका सामु व्याख्या गर्नुपर्ने चुनौती छ।
बजार अर्थतन्त्रको शक्ति, त्यसलाई आत्मसात् गरेर चीन लगायत समाजवादी देशहरूले लिएको बाटो र गरेका आर्थिक प्रगति, अनि यी सबैको व्याख्या–अपव्याख्यासँगै कम्युनिस्टहरूभित्र अनेक अन्यौल सृजना भएको छ । व्यक्तिगत सम्पत्तिको अन्त्यले मात्र शोषणको अन्त्य हुन्छ भन्ने पुरानो मान्यता र ‘सामाजिक न्याय’को अवधारणाले सर्वत्र नयाँ व्याख्या र विकास खोजिरहेका छन् । नेपालमै पनि सामाजिक न्यायका सवालमा नयाँ आयाम थपिएका छन् र पहिचानको राजनीतिका रूपमा यसले नयाँ चुनौती पनि थपेको छ । यी सबका बारेमा पनि यी दुई घटक एकै ठाउँमा आउनु आवश्यक छ।
क्रान्तिमा हिंसाको उपयोगका कुरा अहिले झट्ट हेर्दा विगतको कुरा जस्तो देखिए तापनि, त्यसका सैद्धान्तिक पक्षबारे वास्तै नगरी बस्ने छुट यो एकीकृत पार्टीलाई हुनेछैन । अझै पनि हिंसाको गौरवान्वीकरण गरिरहेका माओवादी कम्युनिस्ट समूहहरू क्रियाशील नै छन् । अहिले एकीकृत भएको पार्टीले (खास गरी त्यसको माओवादी घटकले) क्रान्तिमा हिंसाको प्रयोगबारे नयाँ भाष्यको विकास गर्नैपर्ने हुन्छ ।हिजो आफूले लिएको बाटो कसरी ठीक थियो? अहिले परिस्थितिमा के त्यस्तो तात्विक भिन्नता आयो र फरक विचारको पार्टीसँग नै एकता गर्नुप-यो? कसरी जबज र एशसनजिकै भए? यस्ता धेरै प्रश्नहरूको जवाफ दिन नयाँ पार्टीको माओवादी घटक तयार रहुनुपर्ने हुन्छ । अब कम्तीमा पनि नेपालको कम्युनिस्ट आन्दोलनको व्याख्याताको जिम्मेवारी त यही एकीकृत पार्टीको काँधमा आयो नै।
अहिलेको विश्वपरिस्थति शास्त्रीय माक्र्सवादका निम्ति अनुकूल परिस्थिति हैन । यस्तो परिस्थितिमा पनि प्रतिस्पर्धात्मक राजनीतिको संसदीय संस्करणमै रहेर बहुमत सरकार बनाउन सकेको छ यो नयाँ एकीकृत पार्टीले । नेपालको राष्ट्रिय वर्तमान परिस्थितिको सन्दर्भमा माक्र्सवादको व्याख्या गर्ने जिम्मेवारीबाट अलग हुन सक्दैनन् यसका सिद्धान्तकारहरू । कुनै जमानामा निकै प्रभावशाली पार्टी भए तापनि हाल ससाना पार्टीका रूपमा पाखापरेका अरू देशका कम्युनिस्ट पार्टीहरूसमेत ‘नेपालका कम्युनिस्टले के गर्छन् हँ’ भनेर हेरिरहेको स्थिति हुनसक्छ । त्यसैले, जनताका निम्ति खासै चासोको कुरा नभए तापनि, सत्ताधारी बलिया कम्युनिस्टका रूपमा यिनले वर्तमान सन्दर्भमा माक्र्सवादकै व्याख्या गर्नुपर्न जिम्मेवारी वहन गर्नुपर्ने छ । तर यतिठूलो जिम्मेवारी वहन गर्नका निम्ति पार्टीभित्र विभिन्न क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने हुन्छ । तात्कालिक सत्ताराजनीति वा पार्टीको आर्थिक आवश्यकता पूर्तिका निम्ति जताततैबाट सोहोरेर ल्याएका गुण्डा प्रवृत्तिका मानिस, भ्रष्टाचारी लगायत विभिन्न किसिमका आपराधिक छवि र व्यवहार भएका मानिस अझै पनि यो एकीकृत पार्टीमा हुनेछन् । र जबसम्म यी हुनेछन्, पार्टीको संस्कार सफा हुनेछैन । सुसंस्कारयुक्त नभई यति ठूलो जिम्मेवारी लिन कसरी सक्षम होलान्?
आम जनतालाई भने यी सबसँग मतलब छैन । जनताले खोजेको त केवल पाँच कुरा छन् :
१. स्थायित्व : वर्षको दुई चोटि सरकार नफेरियोस्, नागरिकले आफ्ना योजना बनाउन पाऊन्, जहिले पनि बन्द हडताल चक्काजामको महामारी नरहोस्।
२. समृद्धि : बाँच्नकै निम्ति मरुभूमिमा पाक्न जान नपरोस्, परिवार नबिग्रियोस्, पराईका आँगनमा बेइज्जती खप्न नपरोस्, देशमै बसेर जीविका धान्न सकियोस्।
३. सामाजिक न्याय : कोही पनि हेपिन नपरोस्, कुनै पनि ठाउँमा बहुसंख्या, शक्ति, धन, जात, लिंग, धर्म, उमेर आदि विभेदका साधन नबनून् । सबैखाले विभेदविरुद्ध शून्य सहनशीलता स्थापित होस्।
४. लोकतन्त्र : राजनीतिक शक्तिका आधारमा जनताका आधारभूत अधिकार नकुल्चियून्, बहुमतको सरकार भएकै कारण नागरिकले तानाशाही भोग्नु नपरोस्।
५. राष्ट्रको इज्जत : पराईका सामु कुनै नेपाली लम्पसार नपरून्, राष्ट्रको इज्जत धानियोस्, छुच्चा माग्नेको देशका रूपमा मुलुक चिनिइन छोडोस्।
दुई ठूला कम्युनिस्ट पार्टीको एकतालाई स्वागत छ, एकीकृत पार्टीलाई बधाइ छ, जनताका अपेक्षा र आफ्ना चुनौतीप्रति सधैँ सजग रहून् भन्ने शुभकामना छ । देश र जनताको भलो होस् !
प्रकाशित: ४ जेष्ठ २०७५ ०५:१७ शुक्रबार