७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू

नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन्।

यी उपचार पद्धतिहरूलाई धेरै शताब्दीयौँदेखि अपनाउँदै आइएको छ र तिनले स्वास्थ्य समस्याहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। आयुर्वेदको विकास त नेपालको सांस्कृतिक र भौगोलिक विविधतामा आधारित जडीबुटीहरूको प्रयोगमा गरिएको छ, जसले धेरै परम्परागत औषधिहरू निर्माण गर्न सहयोग पुर्‍याएको छ।

युनानी चिकित्सा पनि प्राचीन समयमा मुस्लिम समुदायमार्फत नेपालमा प्रवेश गरेको थियो र विभिन्न स्वास्थ्य समस्याहरूको समाधानका लागि लोकप्रिय रह्यो। तर, पछिल्लो समय नेपालमा आधुनिक चिकित्सा प्रणालीको प्रभाव बढ्दो छ।

यसले गर्दा परम्परागत चिकित्सा पद्धतिहरूमा पनि परिवर्तन आवश्यक रहेको छ। पछिल्लो केही वर्षमा अकुपञ्चर चिकित्सा विधिको लोकप्रियता बढ्दो छ। यस पद्धतिको प्रयोग विशेषगरी सहरी क्षेत्रहरूमा बढी देखिएको छ, जहाँ आधुनिक चिकित्सा प्रणालीका साथै वैकल्पिक चिकित्सा विधि फिजियोथेरापी, मालिस जस्तैको खोजी हुने गर्दछ।

स्वास्थ्य क्षेत्रमा नवीन दृष्टिकोण अपनाउँदै, केही नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले अकुपञ्चरको उपयोगिता र प्रभावकारितामा गहन अध्ययन गर्न थालेका छन्।

अकुपञ्चरले विना औषधि दुखाइको उपचार गर्न सक्ने भएकाले, यसले लामो समयसम्म औषधि सेवन गर्दा उत्पन्न हुने नकारात्मक प्रभावहरूबाट जोगाउन सक्ने मान्यता छ।

झन्डै दुई हजार वर्ष पुरानो उपचार विधि हो अकुपञ्चर। यसमा शरीरका विभिन्न ‘मेरिडियन’ भनिने ऊर्जा च्यानलहरूमा सुईहरूको प्रयोग गरी स्वास्थ्य समस्याहरूको उपचार गरिन्छ। चिनियाँ चिकित्सा सिद्धान्त अनुसार जब शरीरमा ‘चि’ भनिने ऊर्जा प्रवाहमा असन्तुलन हुन्छ, तब विभिन्न रोग र स्वास्थ्य समस्या उत्पन्न हुन्छन्। अकुपञ्चरले यी च्यानलहरूमा सुई राखेर असन्तुलनलाई सुधार्न र शरीरको प्राकृतिक उपचार क्षमतालाई मजबुत बनाउन मद्दत गर्दछ।

यो विधिले नसासम्बन्धी रोग, शारीरिक दुखाइ, तनाव, पाचन समस्या, निन्द्रा समस्या, माइग्रेन, थाइराइड, हर्मोनल असन्तुलन, मोटोपन, अनुहारसम्बन्धी रोग, र अन्य रोगमा सकारात्मक प्रभाव पारेको छ।

विशेषगरी, तनाव र दुखाइ व्यवस्थापनमा अकुपञ्चरले उल्लेखनीय नतिजा देखाएको छ, जसले गर्दा यो चिकित्सा पद्धति पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रिय हुँदै गएको छ।

अकुपञ्चरले विनाऔषधि नै शरीरका प्राकृतिक उपचार प्रक्रियाहरूलाई सक्रिय बनाउँछ। यसले गर्दा प्रयोग गर्ने मानिसहरूमा दीर्घकालीन औषधिको आवश्यकतालाई घटाउने सम्भावना हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनले अकुपञ्चरको महत्त्वलाई औँल्याउँदै १०० भन्दा बढी रोगको उपचारमा यस पद्धतिको प्रभावकारिता प्रमाणित गरेको छ। सङ्गठनको मान्यता र अनुसन्धानले गर्दा विश्वभरका मुलुकहरूमा यस पद्धतिलाई व्यापक रूपमा वैकल्पिक चिकित्सा विधि भनेर अभ्यास गरिन थालिएको छ।

चीन अकुपञ्चरको उद्गमस्थल हो र यहाँ सबैभन्दा व्यापक रूपमा प्रयोग गरिन्छ। जापानमा ‘हरिगेट्सु’ विधिबाट फरक तरिकाले अकुपञ्चर गरिन्छ, जबकि दक्षिण कोरियामा परम्परागत र आधुनिक चिकित्सा पद्धतिको मिश्रणमा यसको लोकप्रियता बढ्दै गएको छ।

यसैगरी, संयुक्त राज्य अमेरिकामा दुखाइ र तनाव व्यवस्थापनमा यसको प्रयोग बढिरहेको छ र क्यानडामा यसलाई स्वास्थ्य बीमामा समेत समावेश गरिएको छ। अस्ट्रेलियामा यो विशेषगरी दीर्घकालीन रोग र दुखाइ उपचारमा लोकप्रिय छ। जर्मनीमा अकुपञ्चरलाई बीमा कभरेजसहित आधुनिक चिकित्सा पद्धतिमा समावेश गरिएको छ भने ब्रिटेनमा राष्ट्रिय स्वास्थ्य सेवाले यसलाई वैकल्पिक उपचार विधिका रूपमा मान्यता दिएको छ।

फ्रान्समा अकुपञ्चरलाई औपचारिक चिकित्सा विधिका रूपमा मान्यता प्राप्त छ, र स्विडेनमा तनाव व्यवस्थापन तथा दीर्घकालीन रोगहरूको उपचारमा यसको व्यापक प्रयोग गरिन्छ।

भारतमा पनि अकुपञ्चरको प्रयोग वैकल्पिक चिकित्सा विधिका रूपमा बढ्दो छ र नेपालमा पछिल्ला वर्षहरूमा यो विधि सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय हुँदै गइरहेको छ।

त्यस्तै छिमेकी मुलुक मलेसिया, थाइल्यान्ड, भेतनाम, सिङ्गापुर जस्ता देशमा अझै अकुपञ्चरको लोकप्रियता लोभलाग्दो छ। साथै वैज्ञानिक र चिकित्सा अनुसन्धानहरूले अकुपञ्चरको प्रभावकारिता र यथार्थतामा गहिरो अनुसन्धान गर्न थालिसकेका छन्।

विभिन्न विश्वप्रख्यात जर्नल जस्तै ल्यान्सेट, नेचर, शेलमा अकुपञ्चरसम्बन्धी अनुसन्धान प्रकाशित भएको पाइन्छ। यो विधि स्वास्थ्य समस्याहरूको उपचारमा मात्र सीमित नरहेर, रोगहरूको रोकथाम र समग्र स्वास्थ्यमा सुधार ल्याउन पनि उपयोगी सावित भएको छ। यसको उपयोगबाट मानिसहरूले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सुधारको अनुभव गर्दछन्।

नेपालमा अकुपञ्चर पद्धतिको प्रयोगको इतिहास लामो नभए पनि पछिल्ला दुई तीन दशकमा यसको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ। यो चिकित्सा विधि चीनसँगको सांस्कृतिक, शैक्षिक, र स्वास्थ्य सम्बन्धको परिणामस्वरूप नेपालमा प्रवेश गरेको मानिन्छ।

अझै भैगोलिक विकासको रूपमा मुख्य गरेर अरनिको राजमार्ग बन्ने समयमा नेपालमा भित्रिएको दस्तावेज पाइन्छ। सन् १९८० को दशकमा वीर हस्पिटलमा अकुपञ्चरको शाखा नै खुलेर १७ वर्ष चलेको इतिहास छ।

प्रारम्भमा सीमित स्थानहरूमा मात्र अकुपञ्चर सेवा उपलब्ध भए पनि अहिले यो सेवा नेपालका प्रमुख सहरहरूमा सहज रूपमा पाइन्छ। अझै सबैभन्दा पुरानो र ठूलो वैकल्पिक चिकित्सालय नरदेवी चिकित्सालयमा यसको उपयोगिता व्यापक रुपमा छ।

पछिल्लो समय धेरै स्वास्थ्य संस्था, अस्पताल, र व्यक्तिगत क्लिनिकहरूले अकुपञ्चरलाई उपचारको एक विकल्पका रूपमा समावेश गरेका छन्। न्युरोसम्बन्धी नेपालको प्रमुख हस्पिटल अन्नपूर्ण न्युरोमा आइसियुदेखि नै अकुपञ्चर प्रयोग गरिन्छ भन्दा नौलो पनि लाग्न सक्दछ।

नेपालमा अकुपञ्चरको विस्तारलाई चिकित्सा पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ। सन् २००० को दशकदेखि नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै अकुपञ्चर सेवा प्रदान गर्न थालिएको थियो।

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली वातावरण र योग तथा ध्यानको प्राचीन परम्पराले गर्दा नेपाल शारीरिक र मानसिक उपचारका लागि आकर्षक गन्तव्य बनिरहेको छ।

पर्यावरणीय शान्ति र आध्यात्मिकता खोज्ने पर्यटकहरूले अकुपञ्चरलाई आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उत्कृष्ट विकल्पका रूपमा देख्न थालेका छन्।

अकुपञ्चरलाई ध्यान, योग, र प्राकृतिक उपचार विधिहरूसँग एकीकृत गरेर थेरापी दिन थालेपछि यसको प्रभावकारिता र लोकप्रियता झन् बढ्दै गएको छ। एकजना ब्राजिल पर्यटकले परम्परागत भारतीय चिकित्सा आयुर्वेद र चिनियाँ चिकित्साको एकैचोटि अनुभव लिन नेपाल आएको सुन्दा त पर्यटन क्षेत्रमा अकुपञ्चरको अझै विकास हुन धेरै बाँकी रहेको भान हुन्छ।

नेपालमा अकुपञ्चरले विभिन्न स्वास्थ्य समस्यामा राम्रो परिणाम दिएको छ। विशेषगरी, ग्रामीण र सहरी दुवै क्षेत्रमा यसको पहुँचले गर्दा धेरै नेपाली जनतालाई प्राकृतिक उपचार पद्धतिहरूमा पुनः आकर्षित गरेको छ।

चीनमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरूले अकुपञ्चरलाई नेपाली स्वास्थ्य प्रणालीमा समावेश गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् तर हालसम्म सरकारी तवरबाट धेरै चासोको विषय नबनेको देखिन्छ।

अकुपञ्चरको प्रभावकारिता विभिन्न प्रकारका स्वास्थ्य समस्याहरूको उपचारमा प्रमाणित भइसकेको छ। अनुसन्धानहरूले देखाएको छ कि अकुपञ्चरले विशेष गरी दुखाइ व्यवस्थापन, तनाव र मानसिक स्वास्थ्य समस्याहरू, निद्राको समस्या, पाचनसम्बन्धी विकारहरू, र प्रजनन स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ।

दुखाइ व्यवस्थापनमा, अकुपञ्चरले शरीरमा प्राकृतिक पीडा निवारण गर्ने एन्डोरफिन्सको उत्पादनलाई प्रवर्द्धन गर्दछ। मांसपेशी र स्नायुहरूको रक्त प्रवाह सुधार गरेर यसले लामो समयदेखिको पुरानो दुखाइ, खासगरी घुँडा, डाढ–कम्मरको दुखाइ र माइग्रेनको उपचारमा सहयोग पुर्‍याउँछ।

त्यस्तै, मानसिक स्वास्थ्य समस्याहरूमा अकुपञ्चरले तनाव र चिन्ता घटाउन मद्दत गर्दछ, जसले निद्राको गुणस्तरलाई सुधार्न प्रभावकारी देखिन्छ। त्यसैगरी, प्रजनन स्वास्थ्य सुधार गर्न र महिलाहरूमा मासिक धर्मसम्बन्धी समस्यालाई व्यवस्थापन गर्न पनि अकुपञ्चर प्रभावकारी छ।

विशेषगरी बच्चा जन्माउन चाहने महिलामा यसको प्रयोग बढ्दो छ। यसको प्रभावकारिता प्रमाणित भएपछि यो पश्चिमी देशहरूमा पनि लोकप्रिय बनेको छ र पारम्परिक औषधिको कुनै असरविना दीर्घकालीन समस्याहरूको समाधान दिन सक्छ भन्ने विश्वासले यसको लोकप्रियता अझै बढ्दै गएको छ।

साथै, प्रसिद्ध व्यक्तिहरूले अकुपञ्चरको प्रयोग गरेपछि आफ्नो अनुभव व्यक्त गर्न थालेपछि यसको विश्वसनीयता र पहुँच पनि बढेको छ। विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूले अकुपञ्चर सेवा उपलब्ध गराउन थालेपछि यो सहज रूपमा पहुँचयोग्य बनेको छ, जसले यसको लोकप्रियतालाई थप बल प्रदान गरेको छ।

नेपालमा अकुपञ्चर सेवाको विकाससँगै औपचारिक शिक्षा र प्रशिक्षणमा देखापरेका प्रमुख समस्यामध्ये एक भनेको देशभित्र अकुपञ्चर शिक्षाका लागि कुनै विशेष कलेज वा विश्वविद्यालयको अभाव हो। विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन आवश्यक पूर्वाधार र पाठ्यक्रम विकास नहुनु ठूलो चुनौती बनेको छ।

 अकुपञ्चर अभ्यासका लागि औपचारिक शिक्षाको मान्यता नहुनाका कारण धेरै नेपाली विद्यार्थीहरूले चीन, दक्षिण कोरिया र जापानजस्ता मुलुकहरूमा गएर अध्ययन गर्नुपरेको छ, जसले आर्थिक र सांस्कृतिक चुनौती थप्दछ।

विदेशमा शिक्षा प्राप्त गरेर फर्किएका विशेषज्ञहरूको प्रमाणीकरण प्रक्रिया भने अझै अस्पष्ट र जटिल रहेको छ। विदेशमा अध्ययन गरेका डाक्टरहरूले नेपालमा दर्ता गराउन र लाइसेन्स प्राप्त गर्न लामो समयसम्म प्रक्रियामा अड्किनुपर्ने हुन्छ। प्रमाणीकरणका क्रममा उनीहरूको योग्यता र दक्षतालाई ठोस रूपमा मूल्याङ्कन गर्ने प्रक्रिया स्पष्ट नभएकाले यो क्षेत्र व्यवस्थित हुन सकेको छैन। यसले अकुपञ्चर अभ्यास गर्ने योग्यतावान् चिकित्सकहरूको प्रभावकारी सेवा प्रदान गर्नमा अवरोध खडा गरेको छ।

यहाँको स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले अकुपञ्चरलाई व्यवस्थित गर्न ठोस मापदण्ड निर्माण गर्न आवश्यकता छ। विदेशमा अध्ययन गरेर फर्किएका डाक्टरहरूको योग्यता र अनुभवलाई मान्यता दिने सरल, छिटो र विश्वसनीय प्रक्रिया विकास गर्नु जरुरी देखिन्छ। यसले नीतिगत स्पष्टता ल्याएर अकुपञ्चरको गुणस्तरीय अभ्यासलाई प्रोत्साहन गर्नेछ र यो पद्धतिलाई संस्थागत रूपमा अगाडि बढाउन सहयोग पुर्‍याउनेछ। साथै, आन्तरिक रूपमा शिक्षा प्राप्त गर्ने कार्यक्रमहरूको विकास गर्न समेत प्राथमिकता दिइनुपर्नेछ, जसले नेपालभित्रै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउन सक्छ।

हालसम्म अकुपञ्चर अभ्यासलाई कानुनी रूपमा मान्यता दिने कुनै विशेष ऐन वा नियमावलीको अभावले यस पद्धतिका गुणस्तर र पारदर्शितामा विभिन्न चुनौती देखापरेका छन्।

कानुनी संरचनाको अभावलेअकुपञ्चर सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाहरूको प्रमाणीकरण, योग्यता मापदण्ड र सेवाको गुणस्तर सुनिश्चित गर्न समस्या परेको छ। कानुनी आधारविना यो पद्धतिको दुरुपयोगको सम्भावना रहन्छ, जसले सेवाग्राहीहरूलाई ठगी र त्रुटिपूर्ण उपचारको जोखिममा पार्न सक्दछ।

अकुपञ्चरलाई चिकित्सा सेवाका रूपमा कानुनी मान्यता दिनु अत्यावश्यक भइसकेको छ। कानुनी संरचनाले मात्र अकुपञ्चरको औपचारिकता र विश्वसनीयता सुनिश्चित गर्न सक्छ। यसले अभ्यास गर्ने विशेषज्ञहरूको योग्यता, दर्ता र लाइसेन्सिङ प्रक्रियालाई पारदर्शी र सङ्गठित बनाउँछ, जसले अकुपञ्चर सेवाको गुणस्तर बढाउन र सर्वसाधारणमा यसको लोकप्रियता फैलाउन सहयोग पुर्‍याउनेछ।

स्वास्थ्य मन्त्रालयले आयुर्वेद, होमियोप्याथी र अन्य वैकल्पिक चिकित्सा विधिहरूसँगै अकुपञ्चरलाई पनि समान तहमा राखेर नीतिगत सुधार गर्नुपर्ने देखिन्छ। यसका लागि एकीकृत शिक्षा, अभ्यास, र अनुसन्धानको संरचना तयार पार्न जरुरी छ।

अकुपञ्चरलाई वैकल्पिक चिकित्सा प्रणालीमा आधिकारिक रूपमा समावेश गरिएमा यस विधिको अनुसन्धानलाई प्रोत्साहन दिने, विशेषज्ञहरूको प्रशिक्षणलाई सुव्यवस्थित गर्ने र जनमानसलाई गुणस्तरीय सेवा उपलब्ध गराउने अवसर मिल्नेछ।

अकुपञ्चरप्रति सर्वसाधारणमा अझै केही हदसम्म गलत धारणाहरू देखिन्छन्। धेरैजसोले यसलाई परम्परागत वा धार्मिक उपचारका रूपमा मात्र हेर्ने गरेका छन्। यसले गर्दा यसको वास्तविक विज्ञानमा आधारित पक्ष र प्रमाणित प्रभावकारितालाई नजरअन्दाज गरिएको छ।

कतिपय मानिस अकुपञ्चरलाई वैज्ञानिक रूपमा प्रमाणित नभएको र वैकल्पिक उपचारका रूपमा मात्र लिने प्रवृत्ति देखिन्छ तर पछिल्ला वर्षहरूमा विश्वभरिका अध्ययनहरूले अकुपञ्चरको वैज्ञानिक आधार पुष्टि गर्दै आएका छन्, विशेष गरी पीडा व्यवस्थापन, तनाव निवारण र अन्य स्वास्थ्य समस्याहरूमा यसको सकारात्मक प्रभाव प्रमाणित भएको छ।

जनचेतना अभावले यस्तो गलत धारणा अझै कायम छ। यसलाई सुधार गर्न व्यापक जनचेतना कार्यक्रमहरू आवश्यक छ। यसले अकुपञ्चरको वैज्ञानिक आधार र यसको प्रभावकारितालाई सर्वसाधारणसमक्ष पुर्‍याउन सक्दछ।प्रचारप्रसार र सही जानकारीको अभावमा यो चिकित्सा पद्धतिको वास्तविक फाइदा बुझ्न नसक्ने अवस्था रहेको छ।

स्थानीय स्तरमा समेत अकुपञ्चर सेवा प्रदायकहरूलाई सही तालिम दिनु अत्यन्त महत्त्वपूर्ण छ। तालिमप्राप्त विशेषज्ञहरूमार्फत मात्र गुणस्तरीय सेवा प्रदान गरिनुपर्छ भन्ने धारणा स्थापित गर्नुपर्छ। तालिम र प्रमाणीकरण बिना सेवा प्रदान गर्ने व्यक्तिहरूको कारणले बिरामीहरूले गलत सेवा प्राप्त गर्ने जोखिम हुन्छ। योग्यतावान् विशेषज्ञहरूले मात्र यो सेवा दिनुपर्ने बाध्यता राखेर सेवाको गुणस्तर सुनिश्चित गर्न सकिन्छ। यसले अकुपञ्चरलाई व्यापक रूपमा फैलाउन र सर्वसाधारणमा यसको सही जानकारी पुर्‍याउन सहयोग पुग्नेछ।

भविष्यको सम्भावना र आवश्यक सुधारहरू

नेपालमा अकुपञ्चरको भविष्य वास्तवमै उज्ज्वल देखिन्छ, किनकि यो प्राकृतिक र वैकल्पिक चिकित्सा विधिका रूपमा जनस्तरमा स्वीकृति पाउँदैछ। दीर्घकालीन स्वास्थ्य समस्याहरूको रोकथाम, उपचार र पुनःस्थापनामा अकुपञ्चरको भूमिका महत्वपूर्ण बन्न सक्छ। यसको प्रभावकारितालाई बुझ्दै, नीतिगत सुधार र संस्थागत संरचना विकास गर्नु अत्यावश्यक छ।

नेपालमा अकुपञ्चरको अभ्यासलाई कानुनी मान्यता दिएर, शिक्षा र प्रशिक्षणको मापदण्ड विकास गर्दै योग्य विशेषज्ञहरू उत्पादन गर्न स्वास्थ्य मन्त्रालय, चिकित्सा संस्थाहरू र विशेषज्ञहरूबीच सहकार्य आवश्यक छ।

जनचेतनामा सुधार ल्याउनु र सही जानकारी सम्प्रेषण गर्नु महत्त्वपूर्ण छ, ताकि अकुपञ्चरको वैज्ञानिक पक्ष र चिकित्सकीय लाभ सर्वसाधारणले बुझ्न सकून्। सरकारी र निजी क्षेत्रले ग्रामीण र दुर्गम क्षेत्रहरूमा पनि यो सेवा विस्तार गर्न पहल लिनुपर्छ, जसले गर्दा सहरी र ग्रामीण सबै क्षेत्रका जनताले एकैसमान सेवा पाउन सकून्। यसले अकुपञ्चरको पहुँच बढाउनाका साथै यस पद्धतिको स्थायित्व र लोकप्रियतामा सहयोग पुग्नेछ।

(लेखक ब्लू लोटस हेल्थ होममा कार्यरत छन्।)

प्रकाशित: २२ आश्विन २०८१ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App