७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

सेवक जनता, शोषक सरकार

विनिता अर्याल, एक समाजसेवी।

कसैले आफू समाजसेवी हुँ भन्दैमा अहिले देशमा साँच्चै यो मानिस समाजसेवी नै होला भन्न सकिने अवस्था रहन्न तर विनिता अर्याललाई भने समाजसेवी भनेमा अतिशयोक्ति हुने छैन किनकि उनी हालै २०८० सालको रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट सम्मानित भएकी छन्। साथै उनी संस्थापक अध्यक्ष रहेको संस्था ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’ रु. एक लाख राशिबाट पुरस्कृत पनि भएको छ। उनीसँगै नेपालगन्जको नीलसागर सेवाश्रम र यसकी अध्यक्ष सरिता खनाल, इटहरीको मायाघर नेपाल र अध्यक्ष सुभद्रा प्याकुरेल तथा गोकर्णेश्वर नगरपालिकामा रहेको अपाङ्ग पुनस्र्थापना केन्द्रर उदयबहादुर लिम्बू पनि पुरस्कृत भएका थिए। यो पुरस्कार कोषको छनोट प्रक्रियामा विभिन्न कोणबाट छानबिन गरेर र स्थलगत निरीक्षणसमेत समावेश हुने हुँदा देखावटी संस्था र व्यक्ति पुरस्कृत हुने गरेका छैनन्।

समाजसेवी शब्द अचेल अलि सस्तो हुन गएको छ। सस्तो यसकारणले कि समाजसेवी हुन चाहिने सामान्य चरित्र पनि नबोकेकाले समेत आफूलाई ’समाजसेवी हुँ’ भन्छन्। राजनीति गर्नेले कुनै पहिचानयुक्त पद नपाएको अवस्थामा आफूलाई समाजसेवी भन्ने, बेरोजगार व्यक्तिले बेरोजगार भन्न लाज लागेर आफ्नो परिचय दिँदा समाजसेवी भनेर परिचय दिने अनि कसैले आफ्नो पद अरूको अगाडि भन्न फूर्ती नआउनेखालको भयो भने पनि समाजसेवी हुँ भनी चिनाउने गरेका भेटिने गरेकाले अलि बढी नै दुरूपयोग हुने गरेको शब्द पनि हो समाजसेवी।

मानिस समाजमा बस्छ, त्यसकारण उसले गरेका क्रियाकलापले समाजलाई केही न केही असर त परेकै हुन्छ, अनि ऊ दाबी गर्छ– म समाजसेवी हुँ। यति गरे वा भए मात्र समाजसेवी हुँ भन्न पाइन्छ भन्ने मापदण्ड छैन, त्यसकारण नै हो यो शब्दको दुरुपयोग भएको।

हुँदा–हुँदा कहिलेकाहीँ त यस्तो लाग्छ कि कसैले आफूलाई ‘समाजसेवी हुँ’ भनेमा यो मानिस लन्ठुराम रहेछ भनी बुझ्नुपर्ने हो कि ?

विनिता अर्याल देखावटी वा ढँटुवा समाजसेवी होइनन्, हुन् साँचो अर्थकी र उदाहरणीय, समाजले श्रद्धा गर्नुपर्ने समाजसेवी। किनकि उनी क्षमतावान थिइन्, एसएलसी दिएर झापाबाट २०६४ सालमा काठमाडौं आउँदा बस स्टपमा भेटिएकी एक निःसहाय बच्चीले सौतेनी आमाको असह्य दुव्र्यवहार र शारीरिक पीडा सहन नसकेर उनलाई ‘मलाई पनि सँगै लैजानूस् दिदी !’ भनेर गरेको याचनाले उनको मन छियाछिया भएछ। उनी ल्याउन तयार पनि थिइन् तर आफू नै सानी १५–१६ वर्षकी, त्यसमाथि अर्काको सन्तानलाई त्यसै बस स्टपमा भेटेको भरमा र त्यो पनि आफैँ नाबालिगले अर्को बच्चाले गरेको चिरौरीका आधारमा लिएर जाँदा कानुनी र अन्य झन्झट आइलाग्ने सक्ने भनी अरूले डर देखाएकाले उनले ल्याउन सकिनछन्।

ती बच्चीले रुँदै भनेकी थिइन् रे– ‘बसमा लान नमिल्ने भए म हिँडेर नै तपाईं बस्ने ठाउँमा आउँछु।’ ती बच्चीको जिउमा सौतेनी आमाले कुटेका नीलडाम र बलेको चुरोटले पोलेका घाउ र त्यसका खाटा थिए।

उनी कोमल मनकी। ती बच्चीको अवस्था र एकछिन भेट्दा पनि उनीमाथि विश्वास गरेर उद्धारक बनिदिन गरेको कारुणिक अनुनयले उनको मन पोल्यो। ती बच्ची जस्ता निरीह, असहाय दुःखी बालबालिकाहरू त समाजमा अरू कति होलान् कति ? तिनका लागि काम गर्ने अठोट उनमा आयो र २०६५ सालमा नै आमा र दिदीको सहयोगमा एक भाडाको घरमा बच्चाहरूलाई आश्रय दिइन्।

यसरी अनौपचारिकरूपमा घरमा बालबालिकालाई आश्रय दिएर हुन्न भनेर उनले २०६८ सालमा ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’ भन्ने संस्था औपचारिकरूपमा दर्ता गरी निःसहाय बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आइरहेकी छन्। उनले आमा बनेर बालबालिकालाई संरक्षण दिन थाल्दा उनी जम्मा १७–१८ वर्षकी थिइन्।

२०६७ अघि नै बाबुआमा गुमाएर टुहुरा भएका बागलुङको पनि टाढाको भेग निसीखोलाका चार बालबालिका आफैँ गएर लिएर आई आफ्नै घरमा राखी भाइबहिनीलाई झैँ लालनपालन, शिक्षादीक्षा दिँदै थिइन्। यसरी मात्र भएन, यस्तै निःसहाय बालबालिका अरू पनि हुन्छन्, तिनलाई पनि अभिभावकत्वको खाँचो छ। त्यसपछि अझ बढी बालबालिकाहरू राख्न थालिन्। अहिले त यस संस्थाबाट ६० जना बालबालिकाले आश्रय, शिक्षादीक्षा पाइरहेका छन्।

पुरस्कार तथा सम्मान अर्पण कार्यक्रममा (२९ भदौ २०८१) उनलाई आफ्नो विचार र अनुभव राख्ने अवसर दिँदा उनले भनेका केही कुरा बडो प्रशंसनीय र केही भित्रदेखि चिमोट्नेखाले थिए। उनी भन्दै थिइन्– ‘संस्था दर्ता गर्ने, नवीकरण गर्ने बेलामा मात्र होइन, अनुगमनका लागि आउने सरकारी पक्षका मानिसको व्यवहार हामीप्रति सकारात्मक हुन्न। हेप्ने र दुरुत्साहित गर्नेखालको हुन्छ।’

उनले थपिन्– ‘उनीहरू ठान्दा हुन्, यी बच्चाको निरीहता र आँसुको हामी व्यापार गर्छौं। विदेशबाट डलर ल्याउँछौँ वा यहीँ थुप्रो पैसा उठाउछौँ। त्यसले मोजमस्ती गर्छौं र त्यसको सानो पित्को मात्र केटाकेटीका लागि खर्च गर्छौं। तर तिनलाई यति बुझ्ने मन हुन्न वा बुझ पचाउँछन् कि यी केटाकेटीको अभिभावकत्व लिनु कति गाह्रो छ, निश्चित आम्दानीको स्रोत नभएको अवस्थामा। हामीले त सरकारले गर्नुपर्ने काम गरेका छौँ र सघाएका छौँ किनकि आश्रयविहीनलाई आश्रय दिनु, स्वास्थ्य र शिक्षाको प्रबन्ध मिलाउनु राज्यको नै दायित्व हो।’

सरकार र यिनका संस्थाहरू अनि काम गर्ने व्यवहार समाजसेवीहरूप्रति अपेक्षितरूपमा सकारात्मक नरहेको उनले जस्तै अरू पुरस्कृत व्यक्तिहरूको पनि थियो। सच्चा समाजसेवी त भगवानका रूप हुन् भनेर एकपटक यही पुरस्कार कोषको कार्यक्रममा प्रमुख अतिथि भइआउँदा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भन्नुभएको थियो। सरकारी पक्ष किन समाजसेवीप्रति उदासीन देखिन्छ, उदेकलाग्दो कुरा छ !

वास्तवमा ममता र करुणाले पूर्ण नभई निःसहाय मानिस, चाहे बच्चा होऊन्, चाहे वृद्धवृद्धा, चाहे अपाङ्ग होउन् वा अटिज्म भएका बालबालिका, तिनको सेवा नजिकबाट गर्न सकिन्न भलै समाजसेवाका अरू रूप– तिनका लागि सहयोग राशि उठाउने, नीतिगत सुधारका लागि पहल गर्ने काम हुन सक्छन्।

विनिता जस्ता पात्रले गरेको कामबाट ती बालबालिकाले अभिभावकत्व पाएका छन्, नत्र एक कल्याणकारी राज्यले तिनको लालनपालन गर्नुपर्ने हुन्थ्यो। उनी र पुरस्कृत अरूहरूको पनि उस्तै भनाइ थियो– हामी समाजसेवा गरिरहेछौँ, हामीलाई सहयोग गर्न नसके कमसेकम व्यवधान नपु¥याए मात्र हुन्थ्यो। जसको सार थियो– हरिभक्त कटुवालको रचनामा नारायणगोपालले गएको गीत जस्तो ः म जे छु ठीकै छु, बिथोल्न नआऊ...!  

प्रकाशित: १७ आश्विन २०८१ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App