१६ आश्विन २०८१ बुधबार
image/svg+xml
विचार

घातक उग्र राष्ट्रवाद

देश अथवा राष्ट्रको अस्तित्वका लागि राष्ट्रियताको भावना अत्यावश्यक हो। स्वस्थ राष्ट्रियताको भावनाले देशको प्रगतिका लागि नागरिकलाई ऊर्जा प्रदान गर्छ। राष्ट्रियताको भावनालाई प्रतिनिधित्व गर्ने राष्ट्रवाद यस्तो तरवार हो जो सम्यक विचार भएको मानिसले प्रयोग गर्‍यो भने देशको समृद्धिका कारण बन्छ। विकृत मानसिकता भएको धूर्तको हातमा पर्‍यो भने एउटा देशले मात्र होइन, समग्र मानव जातिले सम्म विनास र त्रासदि भोग्नुपर्छ। दुष्ट नेताले आफ्नै देशमा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विभाजन गर्न, अल्पसंख्यकलाई दमन गर्न र मानवाधिकार हनन गर्न प्रयोग गर्छन्।

 भुटानले नेपालीभाषीलाई, बर्माले रोहिंग्या मुसलमानलाई, रुसले चेचेनलाई, चीनले तिब्बती र उइगुरलाई, हालै भारतले मणिपुरमा कुकीहरूलाई गरेको दमन र हिंसा क्रूर राष्ट्रवादको उदाहरण हो। हामी नेपाली पनि राष्ट्रवादका नाममा ३० वर्षसम्म जनअधिकारविहीन भै पञ्चायत भनिने राजाको दमनकारी शासनबाट प्रताडित हुन पुग्यौँ।

जीवनोपयोगी दर्शन, सिद्धान्त र वैज्ञानिक अनुसन्धानमा हामी पूर्वियाभन्दा पश्चिमाहरू धेरै अगाडि छन् जुन समयमा युरोप पुनर्जागरणमा (रेनासान्स्) थियो हामी आत्मा र शरीरको सम्बन्ध र ब्रह्मको विश्लेषण गर्दै थियौँ। शायद युरोपमा जीवनको कठिनाइ र एशियामा सुगमता रहेको प्राकृतिक बनावटले पनि मानिसको सोचाइमा भिन्नता ल्याएको होला। त्यसैले आज हामी जुन राजनीतिक व्यवस्थाको प्रयोग गरिरहेका छौँ, पश्चिमाहरूले हामीले भन्दा सयौँ वर्षअगाडिदेखि प्रयोग गरी विकसित गरेका हुन। उदार प्रजातन्त्र समसामयिक विश्वमा सबैभन्दा उन्नत, प्रगतिशील र मानवमैत्री शासन प्रणाली हो।

युरोप अहिले घातक उग्र राष्ट्रवादको चपेटामा छ। दुई विश्व युद्धको त्रासदी भोगेको युरोप पुनः घातक राष्ट्रवादको चपेटामा पर्नु विष्मयकारी देखिन्छ। यसै पनि एक्काइसौं शताब्दीको दोस्रो शताब्दीदेखि विश्वमा राष्ट्रवादी डेमागगहरूको चकचकी छ। टर्कीमा एर्दोगान र भारतमा मोदी उग्र राष्ट्रवाद र कर्णप्रिय तर बेतुकका नाराबाट जनतालाई भ्रमित पार्दै सत्तामा आउन सफल भए। सत्ता प्राप्तिपछि प्रजातान्त्रिक जनअधिकार कमजोर बनाउँदै सत्ता कब्जाको शैलीमा शासन गर्दै छन्। यसै कालखण्डमा हंगेरीमा भिक्टर अर्वान निर्वाचित भए।

सन् २०१६ मा अमेरिका पहिलोको असंगत वाकपटुताका कारण सनकी व्यक्ति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु विश्वका अनुदारवादीका लागि थप प्रेरणा भयो। उदार प्रजातन्त्रको जननी युरोपका सात देश नेदरल्यान्ड्स, क्रोएसिया, फिनल्यान्ड, हंगेरी, इटाली, स्लोभाकिया र स्विडेनमा अहिले उग्र दक्षिणपन्थी अनुदारवादीहरूको एकल वा गठबन्धन सरकार छ। फ्रान्समा म्याक्रोन मध्यमार्गबाट बहकिएर दक्षिण पन्थी मिचेल वर्नियरलाइ प्रधानमन्त्री बनाएका छन्।

विश्लेषकहरू म्याक्रोन दक्षिणपन्थीसँग शरण परेको भन्छन्। अस्ट्रियामा आउनै लागेको चुनावपछि दक्षिणपन्थी अनुदारवादीले सरकार बनाउन सक्ने सम्भावना देखिँदैछ। जर्मनीमा उग्र दक्षिणपन्थी एएफडी उदाउँदो अवस्थामा छ। यिनीहरूको उग्र राष्ट्रवाद कति अमानवीय छ भने हालै अफ्रिकी मुलुकमा फैलिएको एम पक्सविरुद्धको खोप ती देशले नेदरल्यान्ड्ससँग मागेकामा उग्र दक्षिणपन्थी फ्रिडम पार्टीका स्वास्थ्य मन्त्रीले खोप दिन अस्वीकार गरे। जबकि उनीसँग सन् २०२५ मा म्याद समाप्त हुने एक लाख बाकस खोपको भण्डारण थियो। उग्र राष्ट्रवादमा मानवताको कुनै स्थान छैन भन्ने यो कटु यथार्थ हो।

यी सबै दक्षिणपन्थी राष्ट्रवादीहरूको हिटलरको जस्तै एउटा साझा उद्घोष छ– हाम्रो देशको रगत दूषित हुँदैछ। अमेरिकाका ट्रम्प हुन् वा भारतका मोदी, इटलीकी मेलोनी हुन् वा फ्रान्सकी लि पेन या नेदरल्यान्ड्सका ग्रिट विल्डर्स सबैले मुस्लिम वा अन्य आप्रवासीले आफ्नो देशका जातिको रगतलाई दूषित गराएको विषाक्त भ्रम जनतामा फैलाएका छन्।

उग्र राष्ट्रवादको सबभन्दा ठूलो दुर्गुण घृणाको विस्तार हो। फ्रान्सका चाल्र्स डेगलको यो भनाइ सान्दर्भिक छ– ‘देशभक्ति त्यो हो जसले आफ्ना जनतामा प्रेम गर्न सिकाउँछ। राष्ट्रवाद त्यो हो जसले आफ्ना नजिकका लाई मात्र माया गर्छ, अन्यलाई घृणा गर्छ।’

मोदीले भारतमा मुसलमानलाई घुसपैठिया भन्नु र ट्रम्पले ओहियोका आप्रवासी हाइटीवासीले घरपालुवा जनावर चोरेर खान्छन् भन्ने झुटो आक्षेप लगाउनु यिनीहरूको घातक राष्ट्रवादी घृणाको नमुना हो। यी धूर्त नेताहरूको भनाइ र हिटलरको यहुदीप्रतिको घृणामा खासै ठूलो अन्तर भेटिँदैन।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त भौगोलिकता भएको देश हो। जातीय उत्पीडनमा परेका वर्गको बाक्लै उपस्थिति भए तापनि नेपालमा अहिलेसम्म जातीय द्वन्द्व देखिएको छैन। धार्मिक–सांस्कृतिक समन्वय र सद्भाव कायम छ।

तानाशाही शासनमा जतिसुकै विभेद भए तापनि मानिसका पीडा दबिएर बसेका हुन्छन। मानिसका आकांक्षा र पीडा प्रस्फुटन हुन पाउँदैनन्। तर जब प्रजातन्त्र स्थापना हुन्छ अभिव्यक्ति स्वतन्त्रताको रक्षा कवचले मानिसले स्वच्छन्दता अनुभूति गर्छ। गुम्सिएका वाणी एकाएक बाहिर निस्कन्छन्। पञ्चायतमा पहाडे राष्ट्रवादको दबदबा थियो। तराईबासीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार हुन्थ्यो। त्यो पहाडे राष्ट्रवादको मानसिकताबाट हामी अझै पनि माथि उठ्न सकेका छैनौँ कि भन्ने देखिएको छ।

हालै सर्वोच्च अदालतको नदी किनारसम्बन्धी २०८० सालको फैसलाको पूर्ण पाठ सार्वजनिक भयो। यसले नदी किनारमा वर्षौअघिदेखि घर घडेरी किनेर बसेका बासिन्दामा त्रास उत्पन्न गर्‍यो। काठमाडौँका नगर प्रमुख बालेन्द्र साहले कार्यान्वयन गर्न पहल गरे।

प्रधानमन्त्री लगायत समग्र एमाले पार्टी बालेन्द्रको विरोधमा उत्रियो। समर्थन र विरोध गर्नु, गर्न पाउनु व्यक्तिको अधिकारको कुरा हो तर विरोध गर्दा सामाजिक सञ्जालमा एमालेका केही नगरस्तरीय नेताहरूको बालेनप्रति जुन तुच्छ भाषा प्रयोग भयो त्यसले उग्र राष्ट्रवादमा मौलाउने घृणाको प्रसार गर्‍यो। तिनले एउटा जातिविशेषलाई होच्याउने, बहिष्करण गर्ने मनसायको भाषाले व्यक्त गरे। यसबाट स्वस्थ्य राष्ट्रियता प्रवद्र्धन हुँदैन।

महात्मा गान्धीको भनाइ थियो– ‘राष्ट्रिय अस्तित्वका लागि राष्ट्रिय भावना आवश्यक हुन्छ। मेरो राष्ट्रवादिता जतिसुकै उग्र भए तापनि कसैलाई बहिष्करण गर्दैन न त कुनै देश, समुदाय वा व्यक्तिलाई हानि पुर्‍याउने कल्पना गर्छ ।’

बिपी कोइरालाको विचारमा ‘राष्ट्रियताको मूल तत्त्व जनता हो। देश भन्नोस् वा राष्ट्र त्यो भूगोल होइन, माटो होइन, यथार्थमा जनता हो। नेपाल भूमिबाट यहाँ बस्ने नेपाली लोप भए भने नेपाल लोप हुन्छ, यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तस्तै रहन्छ। तसर्थ जनताको अधिकार हनन, राष्ट्रको अधिकार हनन हो।’

विभिन्न विचारकका भनाइबाट पनि शिक्षा लिन सकिन्छ कि जनतामा घृणाको भावना फैलाउनु, विभाजन ल्याउनु स्वस्थ राष्ट्रवाद होइन।

जन्मजात उग्र दक्षिणपन्थी कोही हँुदैन। पछि विकसित विचार र राजनीतिक महत्त्वाकांक्षाले मानिस उग्रतातर्फ लाग्छ। समयमा राम्रो संगत पायो भने सुधारिएर सामान्य बन्न पनि सक्छ। हाम्रै देशमा दक्षिणपन्थी पार्टी गोर्खा परिषद्का नेता भरतशमशेर जसले २००८ सालमा बिपीको ज्यानसम्म लिने प्रयत्न गरे।

२०१६ सालपछि प्रजातन्त्रलाई मनैदेखि आत्मसात गरे। कतिपय उदारवादी सोचका महत्त्वाकांक्षी मानिस राजनीतिक असफलतापछि दक्षिणपन्थी बनेका उदाहरण पनि हामीबीचमा नै छन्। राजा नआए देश बाँच्दैन भन्ने फजुलका बकवासले दैनिक एक्समा राग अलाप्दैछन्। त्यसैले दक्षिणपन्थी उग्रराष्ट्रवाद देश र जनताको मायाभन्दा आफ्नो महत्त्वाकांक्षाको तुष्टीकरणको माध्यम मात्र हो।

उग्रवाद (त्यो दक्षिणपन्थी होस् वा वामपन्थी) को असफलता निश्चित छ। प्रश्न मात्र यो हो कि असफलताको विन्दुसम्म पुग्दा त्यसले कति नोक्सान पुर्‍याउँछ। पुटिनको महत्त्वाकांक्षी उग्रराष्ट्रवादले रुसी तथा युक्रेनी दुवै देशका जनताले पीडा भोगेका छन्। लाखौँको संख्यामा जीवन समाप्त भएको छ। कालान्तरमा पुटिनको असफलता निश्चित छ। रुस र युक्रेनमा नयाँ बिहानी आउने निश्चित छ।

दक्षिणपन्थको अवसानका लक्षण देखिन थालेका छन्। केही समयअगाडि पोल्यान्डमा उग्र दक्षिणपन्थी ल एन्ड जस्टिस पार्टीका मातेउ मोरावच्कीलाई पराजित गर्दै सिविक प्लेटफर्मका डोनाल्ड टस्कले सरकार बनाए। ब्राजिलमा जाइर बोल्सेनारोलाई पराजित गर्दै वामपन्थी लुला डि सिल्भा निर्वाचित भए। ब्रिटेनमा लेवर सत्तामा आयो। भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भए पनि संसद्मा एकल बहुमत प्राप्त गर्न सकेनन्।

 कट्टरपन्थीहरूले जति नै भ्रम सिर्जना गरे पनि उनको आयु लामो हुँदैन। बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले भने जस्तै ‘राष्ट्रवादी डेमागगहरू जनताका दुःखको प्रचार गरी शोषण गर्न सिपालु हुन्छन् तर ती दुःख निराकरण गरी समाधान दिन अक्षम छन्।’ दुःख यो छ कि हामी सामान्य मानिस क्षति भोगिसकेपछि मात्र यो कुरा बुझ्छौँ।

प्रकाशित: ११ आश्विन २०८१ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App