२९ भाद्र २०८१ शनिबार
image/svg+xml
विचार

कसरी सजिलो बनाउने गणित ?

राष्ट्रिय परीक्षा बोर्डले केहीअघि कक्षा १२ को नतिजा प्रकाशन गरेपछि फेरि एकपटक पास र फेल हुने विद्यार्थीलाई केन्द्रमा राखेर बहस सुरु भएको छ। यसपटक सदाझैँ गणित विषयको नतिजा केही कमजोर देखिएको छ। नतिजा कमजोर आएसँगै गणित विषय अध्यापन गराउने शिक्षक र विद्यार्थी अभाव रहेको विषयले पनि चर्चा पाउन थालेको छ।

गणित विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकसमेत अभाव भएको खबर आइरहेको सन्दर्भमा गणित विषय पढ्ने विद्यार्थीको अभाव हुनुको मूल कारण हाम्रो पाठ्यक्रम प्रारूप र यसको कार्यान्वयनमा भएको समस्या हो। साथै हाम्रो शिक्षण विधि पनि यसको जड हो। विगतमा राज्यले गणित विषयलाई ओझेलमा पार्ने गरी माध्यमिक तह (कक्षा ११ र १२) को पाठ्यक्रम लागु गरेपछि गणितप्रेमीहरूको सशक्त अभियान तथा दबाबका कारण कक्षा ११ र १२ को प्रारूपमा गणित विषयलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको सट्टामा राखेर केही हदसम्म समाधान निकाले पनि अझ यस प्रारूपलाई परिमार्जन गर्नु आवश्यक छ।

यस वर्ष १२ कक्षाको नियमित परीक्षामा तीन लाख ८५ हजार दुई सय ३६ जना विद्यार्थी सहभागी भएकामध्ये ५७ हजार दुई सय ७० जनाले गणितको परीक्षा दिएका थिए। जसमा आठ हजार ६ सय आठ जनाले ननग्रेड (एनजी) ल्याएका छन्। परीक्षामा सहभागीमध्ये १४.८५ प्रतिशत विद्यार्थीले गणित रोजेकामा १५.०३ प्रतिशतले यसमा एनजी ल्याएका छन्। अघिल्ला वर्षहरूमा भन्दा गणितमा नतिजा सुधार भए पनि महत्वपूर्ण विषयमा विद्यार्थीको रोजाइमा नपर्नु, गणित रोजेकाहरूको पनि नतिजा कमजोर देखिनुका अनेक कारण छन्।

गणित विषयको पाठ्यक्रम स्तर सुहाउँदो नहुनु, विषयगत विशिष्ट, सामान्य र तहगत उद्देश्यअनुरूपका प्रश्नपत्र बन्न नसक्नु, तहगत विशिष्ट उद्देश्य प्राप्तिको मापदण्डका रूपमा स्तर सुहाउँदा प्रश्नपत्र नबनाइ हचुवाको भरमा प्रश्नपत्र बनाइनु, पठनपाठनमा संलग्न नभएका कथित शिक्षकद्वारा प्रश्नपत्र बनाइनु, कार्यरत शिक्षकलाई प्रभावकारी शिक्षण विधिको तालिम तथा प्रशिक्षणको व्यवस्था नगरिनु जस्ता मुख्य कारण छन्। सबै विषय पढ्ने विद्यार्थीलाई एउटै गणित लाद्नु आफैँमा राम्रो कुरा होइन। त्यसैले विद्यार्थीले रोज्ने विषयअनुसारको गणित व्यवस्था गर्नुपर्ने देखिन्छ। यसका लागि गणित विषयभित्र कम्तीमा तीनवटा गणितको बास्केट बनाउनुपर्छ।

पहिलो, गणित विज्ञान संकायका विद्यार्थीका लागि, दोस्रो व्यवस्थापन र तेस्रो मानविकी तथा अन्य संकायका विद्यार्थीले पढ्ने व्यवस्था गरेर आफ्नो विषयअनुसारको गणित विद्यार्थीलाई रोज्न दिन सकियो भने गणितप्रति विद्यार्थीको आकर्षण पनि बढ्छ र यसले विद्यार्थीले छनोट गरेका मूल विषयहरूलाई समेत सहयोगी भूमिका खेल्छ। आजको समाजले सुन्ने र घोक्ने गणित होइन, सुन्ने, देख्ने र प्रयोग गर्ने गणित चाहेको छ। यसरी विषयअनुसार विद्यार्थीले फरक फरक प्रकृतिको गणित विषय छान्ने अवसर पाएमा उनीहरूलाई भविष्यमा काम गर्ने सिलसिलामा समेत गणित उपयोगी सावित हुन सक्छ। पाठ्यक्रममा अनेक समस्या छन्। त्यसैले गणित विषयलाई व्यवहारिक बनाउनका लागि विद्यमान पाठ्यक्रम प्रारूपलाई परिमार्जन गर्नु अपरिहार्य छ।

गणित विषयको गाह्रो प्रश्न बनाए दक्ष शिक्षक र प्रभावशाली भइन्छ भन्ने मनोवृत्तिले यस वर्षको कक्षा १२ को परीक्षामा भूमिका खेलेका देख्न सकिन्छ। जसका कारण यस वर्ष कक्षा १२ को परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। गणित विषयले विद्यार्थीमा हरेक विषयबारे तार्किक, वस्तुगत तथा वैज्ञानिक ढंगले अध्ययन–विश्लेषण र मूल्यांकन गर्ने क्षमताको विकास गराउँछ। विद्यार्थीलाई खोज तथा अनुसन्धान गर्ने सामथ्र्यको विकास गराउँछ। तसर्थ गणित विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रस्थान विन्दु, माध्यम र आधारस्तम्भ हो भन्दा फरक पर्दैन। त्यसका कारण यो विषयलाई सहज र जोकोही विद्यार्थीले बुझ्ने बनाउनुको आजको आवश्यकता हो।

विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू कार्यशालाबाट बन्नुपर्ने भए पनि कार्यदलबाट बनाइन्छ। त्यस्तै पाठ्यक्रम कार्यान्वयनमा पनि समस्या छ। शैक्षिक क्रियाकलाप तथा परियोजना कार्यका माध्यमबाट गणितलाई सरल, सहज र जीवनोपयोगी बनाउने मूल मर्मका साथ ल्याइएको आन्तरिक मूल्यांकन विधिको मर्मलाई बेवास्ता गर्दा यस्तो समस्या आएको छ। यस्तै राज्यका सम्बन्धित निकायले प्रभावकारीरूपमा अनुगमन नगर्दा यसको प्रभावकारिता नगन्य देखिन्छ। कतिपय विद्यालयले त बिनामूल्यांकन अंक दिने गरेकासमेत पाइन्छ।

गणित विषयमा धेरै फेल भएको विषयलाई सनसनीपूर्ण खबर बनाइन्छ। तर पास भएको विषयलाई प्राथमिकतामा राखिँदैन। कुनै विषयमा निरन्तर नकरात्मक समाचार आउँदा त्यसका सकारात्मक पक्ष ओझेलमा पर्ने गर्छन्। गणित विषयले पनि अहिले त्यही नियति भोगिरहेको छ। जहिले पनि गणितमा धेरै विद्यार्थी फेल भए भन्ने कुरा आउँदा विद्यार्थीमा यो साच्चै गाह्रो विषय रहेछ भन्ने मनोविज्ञान बनेको छ। यो समस्याले विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई समेत गाँजेको छ। केही शिक्षक पनि यसलाई कसरी गाह्रो बनाउन सकिन्छ भनेर भरपुर प्रयासमा लागिरहेका हुन्छन् आम्दानीको स्रोत बनाउने स्वार्थका कारण।

गणित विषय गाह्रो भएर मात्रै धेरै विद्यार्थी फेल भएका होइनन्। यसका अनगिन्ती कारण छन्। यो विषय गाह्रो बन्नुका पछाडि विद्यार्थी, अभिभावक, शिक्षकदेखि राज्यसमेतको हात छ। गणित विषयको आफ्नै विशेषता छन्। यो विषय अन्य विषय जस्तो हुँदैन। प्रश्नको सही उत्तर दिए नम्बर राम्रो नम्बर आउँछ। अन्य विषयमा जस्तो थोरै बिग्रिए पनि नम्बर आउँदैन। अन्य विषयमा थोरै मिले पनि नम्बर आउँछ तर यसमा विद्यार्थीले प्रश्नको शतप्रतिशत सही उत्तर लेख्नुपर्छ। यसकारण पनि गणितमा पास हुने विद्यार्थीको संख्या न्यून हुने गरेको छ। तसर्थ गणित जस्तो ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रस्थान विन्दु, माध्यम र आधारस्तम्भलाई झन् हल्कारूपमा लिनु नै दुर्भाग्यपूर्ण छ ।

 

– गणित केन्द्रीय विभागका उपप्राध्यापक काफ्ले नेपाल गणित समाजका केन्द्रीय सदस्य पनि हुन्।

प्रकाशित: १४ भाद्र २०८१ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App