राजधानीका कुनै मन्दिर, सत्तल, पाटी, घाटमा जानुस्, त्यहाँको अव्यवस्थाले मन नराम्ररी कुँडिन्छ । एक वर्ष होइन, दुई वर्ष, तीन वर्ष र अब चार वर्ष हुन लागेको छ तर ‘ओह्रको सिन्को पर’ पर सर्दैन। ०७२मा गएको भुइँँचालोको वार्षिकी वैशाख १२ गते फेरि संघारमै आइसकेको छ।
नयाँवर्षको शुभकामना दिन वैशाख १ गतेका लागि उत्ताउलिएका तन, मन र धनका कुवेरहरूवैशाख १२गते भत्केको संरचना पुनर्निर्माण गर्नभने कन्जुसी गरिरहेका छन्। भुइँँचालोले मरेकाहरूको चिहानमा उम्रिएका बिरुवाहरू पनि रुखको आकार लिइसकेका छन्।
भूमिका नबाँधी भन्ने हो भने युनेस्कोले विश्वसम्पदा मानेको पशुपति–गुह्येश्वरी मन्दिर क्षेत्र मात्र होइन, पाटन, भक्तपुर, चाँगुनारायण, हनुमानढोका क्षेत्र जाँदा मन कुँडिन्छ । भत्किएका मठमन्दिर र धरहरा त श्मशान नै भए, छाडिदिऊँ। जीर्ण रूपमा ठडिएका मन्दिरहरूको अवस्थाले हामीसबैलाई धिक्कार्छ।
खै कहाँ छ, आगो निभाउने पानी ? मूलहरू मासेर भवन बनाएपछि अब रानीपोखरी ट्यांकरमा पानी ल्याएर भर्ने रानीपोखरी?
यही साता नयाँ सडकछेउ लागेको आगो र त्यसलाई निभाउन लागेको समयले काठमाडौँ अत्यन्त प्रज्ज्वलनशील पदार्थमाथि रहिरहेको अनुभूति गरायो, जो कुनै पनि बेला विष्फोटन र आगलागीमा परेर ह्वारह्वार भएर जल्नसक्छ। खै कहाँ छ, आगो निभाउने पानी? मूलहरू मासेर भवन बनाएपछि अब रानीपोखरी ट्यांकरमा पानी ल्याएर भर्ने? वा आगोलागिसकेपछि सुन्दरीजलमा पानी थाप्न दमकल कुदाउने? त्यतिन्जेलसम्म आगोले सहर हेरिरहन्छ कि भष्म गराइसक्छ ?त्यसैले रानीपोखरीमा दशगुना बढी पानी हुने व्यवस्था गर्नैपर्छ।
भुइँँचालो गएपछि सत्तामा कांग्रेस, एमाले, माओवादीर, फेरि कांग्रेस पुगे। अहिले एमाले–माओवादीको नेतृत्वमा देश सञ्चालित छ। मठमन्दिरको गाईजात्रा पनि जारी छ।
पुरातत्व विभाग र गुठीसंस्थानको कालो छायाँबाट फुत्किएर बौद्ध स्तुप कसरी समयमै पुनर्निर्माण हुन सक्यो? आश्चर्य लाग्छ। हिन्दुहरूका विख्यात मन्दिरहरू किन पुनर्निर्माण हुन सकेनन् र थालेका भनिएकाले पनि चिप्लेकिराको गतिसमेत समात्न सकेका छैनन्।
आगोलागिसकेपछि सुन्दरीजलमा पानी थाप्न दमकल कुदाउने ? त्यतिन्जेलसम्म आगोले सहर हेरिरहन्छ कि भष्म गराइसक्छ? त्यसैले रानीपोखरीमा दशगुना बढी पानी हुने व्यवस्था गर्नैपर्छ।
नाम रानीपोखरी छ तर पोखरीमा थोप्पै पानी छैन। साँच्चै भन्ने हो भने यतिखेर प्रताप मल्लले खनाएको ऐतिहासिक पोखरी मरुभूमि जत्तिकै सुख्खा छ! जबकि पानीको आवश्यकता पहिलेभन्दा दश दोब्बर बढी छ। कान्तिपुर दसौँगुना ठूलो बनेको छ, त्यसैले रानीपोखरीमा पनि पहिलेभन्दा दसौँ गुना पानी अट्ने क्षमताको गहिरो बनाउनु जरुरी छ। कान्तिपुर सहरको बीचमा पोखरीका लागि मात्र पोखरी बनाइएको थिएन। यो त काठमाडौँको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र आगलागीबाट सुरक्षा गर्ने जस्ता विविध दृष्टिले जरुरी थियो। तर राजधानीको मुटु भनिने नयाँसडकमाभर्खरै आगलागी हुँदा रानीपोखरीमा थोपो पानी थिएन। जिम्मेवारहरू भने रानीपोखरी कस्तो बनाउनेमै अलमलिएर नारायणहरि हुँदैछन्।
प्रथम महिला राष्ट्रपतिले शुभारम्भ गरेकी हुन्, रानीपोखरी पुनर्निर्माण महाअभियान! पुनर्निर्माण प्राधिकरणले पनि जगजगाएर उद्घोष गरेको थियो। खै कहाँ छिन्, राष्ट्रपति आफूले शुभारम्भ गरेको महाअभियानको प्रगतिविवरण खोज्दिनन्?
शीतलनिवासमा उनले जागिर दिएका सल्लाहकार विज्ञ भन्नेहरू आफन्तलाई कहाँ के जागिर खुवाउने भन्नेमै व्यस्त छन् कि आफ्ना सन्तति र आफन्तजनका लागि कहाँ कस्तो स्कलरसीप पाइन्छ भनेर दूतावासमा चाकरी गर्न व्यस्त छन्? तिनलाई केकामका लागि भर्ती गरेको हो? नयाँ सडकमा आगलागी हुँदा पीपलबोटमा भेला भएकाहरूले विस्मयकारी रूपमा भने, नारायणहिटीको सौकात शीतलनिवासमा त सरेको होइन?
सामान्यज्ञानको अलिकति पनि जानकारी हुनेलाई थाहा छ, यो उपत्यका भुइँचालो गइरहने क्षेत्र हो। तिब्बती र इन्डियन प्लेटोको घर्षणले यहाँ कुनै पनि बेला महाप्रलय हुनसक्छ।
रानीपोखरी निर्माण गर्दा त्यतिबेलाको उन्नत प्रविधि र उत्कृष्ट सामान प्रयोग भएका थिए। अब पुनर्निर्माण गर्दा पहिलेको होइन,अहिलेको उत्कृष्ट प्रविधि र उत्कृष्ट सामान नै प्रयोग गर्नुपर्छ।
उतिबेला कालीमाटी मुंग्रोले कुटेर रानीपोखरीको पिँधमा हालिएको थियो र सुर्कीले ढुंगा जोडिएको थियो भनेर अहिले पनि त्यसैगरी बनाउन खोज्नु महामुख्र्याइँ मात्र हुन्छ। किनभने त्यतिबेला सिमेन्ट प्रयोगमै आएको थिएन। नतसिमेन्ट, बालुवा र रोडा मिसाएर गरिने आरसीसी ढलान गरी दह्रो पर्खाल बनाउने प्रविधिबारे थाहा थियो!
तथापि हतपती नभत्किने र धेरै पानी अटाउने क्षमताको रानीपोखरी बनाउन के कस्तो सामान प्रयोग गर्ने सिभिल, आर्किटेक्चर र भूगर्भशास्त्रीहरूको सल्लाह र अहिलेको आवश्यकताअनुसार दह्रोसँगनिर्माण गर्नुपर्छ। जहाँसम्म रानीपोखरीको पुरानो कलात्मक सुन्दरताको कुरा छ, त्यसै प्रकारले यसको ज्याकेटिङ गर्नुपर्छ।
प्रख्यात मन्दिर रहेका क्षेत्रमा पुग्ने स्वदेशी–विदेशीजनले निरन्तर देखिरहेका छन्, भुइँचालोमा समेत जोगिएका साना–ठूला मन्दिर, शिवालय, सत्तल, पाटीपौवाहरूको हालत अहिले जताततै यति दयनीय छ कि तिनमाथि नजर पर्दा पनि मन भाउन्निएर र आँसु छचल्किएर आउँछ। के हामी पाप्रा उप्किएका, गजुर बांगिएका, टुँडाल र झ्यालहरू कुहाएर झरेको हेर्नका लागि प्रतीक्षारत छौँ? होइन भने यो के तमासा प्रदर्शन गरिएको हो?
संस्कृति र पुरातत्वका सहप्राध्यापक मदन रिमाल भन्छन्, पुरातत्व विभाग र गुठी संस्थानको स्वीकृतिविना कसैले कुनै पनि मठ, मन्दिर, पाटी, सत्तललाई छुन पनि पाउँदैन। उनले नियम कानुनका अप्ठेराहरूबारे बताउँदै भने– जो जसले यी पुरातात्विक सम्पदा सयौँ वर्षअघि बनाए, उनीहरूले सञ्चालनको व्यवस्था पनि आफैँ गर्थे।
जुगौजुगसम्म जीवन्त यी सम्पदाको बिचल्ली कहाँबाट सुरु भयो? रिमालले भने, इतिहास र संस्कृति पढ्नुहोस्। गएर फिल्डमा हेर्नुहोस्, अनि थाहा पाउनुहुन्छ। यति जवाफ दिएपछि उनी विद्यार्थी पढाउनेतिर लागे। आफू भने रनभुल्लमा परियो।
खोजबिन र विभिन्न व्यक्तिसँगको भेटघाट र कुराकानीबाट थाहा पाइयो– जब देशभरका मन्दिर र सांस्कृतिक सम्पदालाई सरकारले आफैँ सुमर्न थाल्यो, त्यसपछि सयौँ वर्षदेखिका जीवित सम्पदाको दुःखका दिन सुरु भए। अहिलेसम्म आइपुग्दा कतिपय सम्पदा बिलाई पनि सकेका छन्। गुठी संस्थान र पुरातत्व विभागको स्थापना नै अहिलेको बिचल्लीको कारण हो। यो त्यस्तै दुःख हो, जसका कारण नेपालका स्कुल÷कलेजहरू नयाँ शिक्षाको कारण ध्वस्त भए।
लिच्छवि, मल्ल, शाह र राणाकालमा समेत आफन्तको सम्झना, उनीहरूको पूण्यात्मा र आफ्नै लागि स्वर्गको बाटो पहिल्याउन मठ, मन्दिर, पाटी, पौवा, सत्तल, धारा, पँधेरा, घाट, गौशाला निर्माण गरिने परम्परा छ। पाठशाला, स्कूल, कलेज पनि खोलिन्छ। तर आफूले स्थापना गरेका कुराहरू जुगौजुगसम्म सञ्चालन गर्न गुठी बनाउँदै जग्गा–जमिन र धनदौलत पनि राख्थे। यही प्रक्रियाबाट यहाँ रहेका मन्दिर–घाटहरू बनेका हुन्। र, एकपटक कसैले बनाएका सम्पदामा अनेक व्यक्तिहरूले थप योगदान दिन्थे। जसले गर्दा हरेक मठमन्दिरमा समृद्धि थपिएको थपियै हुन सकेको हो।
तर यस्ता धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदालाई राजा महेन्द्रले गुठी संस्थान र पुरातत्व विभाग बनाएर सरकारको मुट्ठीमा पारे। जसमार्फत मन्दिर र धर्मशालाका नाउँमा रहेका हजारौँ बिघा र रोपनीगुठी जमिनमाथि अधिकार जमाए। गुठीका जग्गा भूमाफिया र शासकको मिलेमतोमा हुनुसम्म हिनामिना भयो। सर्वसाधारणले चढाएका नगद, जिन्सी र जमिनमा स्यालहरूको रजाइ चल्यो। कुपन्डोलको ब्रम्हनालमाथि मोटरसाइकल मर्मत केन्द्र र तरकारी पसल यसको उदाहरण हो।
भुइँचालोको बहाना बनाएर सांस्कृतिक धार्मिक सम्पदाहरूको विनाशलीलालाई समर्थन गर्न सकिँदैन किनभने इतिहासमा भुइँचालो दसौँपल्ट गएका छन् तर पनि सयौँवर्षदेखि यी सम्पदा कसरी जोगिएर रहे? जबकि त्यतिबेला न गुठीसंस्थान थियो न त पुरातत्व विभाग! कसले जीवन्त राख्यो हाम्रा सम्पदालाई यतिका वर्ष? छ कसैले खोजी गरेको ? खोजीको कुरा छाडौँ, छ कसैको ध्यान यतापट्टि?
विसं १९९० को भुइँचालोमाध्वस्त भएका मन्दिरहरूकसले जीर्णोद्धार ग¥यो? भत्केका मन्दिर सत्तलहरूकसरी पुनर्निर्माणहुनसके? जबकि त्यतिबेला न विदेशीले सहयोग दिएका थिए, नत अहिलेका जस्ता प्राविधिक नै थिए! न युनेस्को जन्मेको थियो, न पुरातत्व विभाग, नत गुठी संस्थान ! नेपालका ऐतिहासिक धरोहर कसरी पटक पटक ठडिइरहे?
चौधौँ शताब्दीमा मुसलमान शासक समसुद्धिनले काठमाडौँमा आक्रमण गरेर पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पारेको थियो भनिन्छ। स्वयम्भू, पाटनका विहारहरूमा लुटेर त्यो आततायीले आगो लगाउँदै भष्म पारेर गयो। तर यी धरोहरलाई कसले जस्ताको तस्तै बनायो ? अरू साना मसिना कुरा छाडौँ, प्रत्येक सयवर्षमा गइरहने भनिने महाभूकम्पबाट रानीपोखरी किन र कसरी जोगिइरह्यो? जबकि ०७२को भुइँचालोपछि भने सुख्खा हुनपुगेको छ?
गुठी संस्थान र पुरातत्व विभाग के हेरेर बसिरहेका छन्? कि यिनीहरू देशका सम्पदा सिध्याउन कन्दनी कसेर लागेका छन्? अनि संस्कृति मन्त्रालय र संस्कृति मन्त्रीहरूकिन असांस्कृतिक बने?नालीको किरा बनेर किन अल्मलिइरहेका हुन्?
पुर्खाले छाडेर गएको नासो जोगाउन माखो मार्न नसक्नेहरूलाई राज्यका पदमा एक मिनेट पनि बसिरहने अधिकार छैन। के गैरजिम्मेवार बन्न तिमीले शपथ लिएका थियौ वा खानका लागि पदमा गएका हौ? नालायक र अक्षम साबित भइसकेपछि पनि बूढो साँढेले कोरली बाच्छी ओगटेर बसिरहन लाजलाग्दैन?
अहिले पनि समय छ–देश, संस्कृति, सम्पदाको भार नबन। कमाउनका लागि देशलाई बन्धक बनाएका हौ? सोहोरेर पैसा कमाउनु छ भने आफैँवेश्यावृत्ति र दलाली गर तर सार्वजनिक सम्पदामाथि खेलबाड नगर!
सांस्कृतिक र पुरातात्विक सम्पदालाई माटोमा मिलाउन लागेका ‘अपराधी’बाट जोगाऊ ।राष्ट्रिय धरोहरमाथि आस्था र विश्वास भएकाहरू थोरै मात्र पनि जागे भने उनीहरूभुइँचालोले ध्वस्त भएका सम्पदा संरक्षण, संवद्र्धन र प्रवद्र्धनका वाहक बन्न सक्छन्। पद ओगटेर जिम्मेवारी लिएका बज्रस्वाँठहरूबाट संरक्षण, जीर्णोद्धार र पुनर्निर्माणसम्भव छैन। भक्तजनहरूजाग!
हरेक दिन पशुपतिनाथ र गुह्येश्वरी मन्दिर पुग्ने भक्तजनहरूको संख्या कम्तीमा पनि एक लाखभन्दा कम छैन। यिनै सांस्कृतिक र धार्मिक भक्तहरू मिलेर एक बिहान मात्र पनि कम्मर कसेर लागे भने भत्किएका मन्दिर, पाटी, सत्तलमा जमेका काई, उम्रिएका झारपात र चर्के भत्किएका ठाउँमर्मत हुनेछन्। रातो माटो, कमेरोले मात्र पनि लिपपोत गरे भने आस्थाका धरोहरले तत्कालै जीवन पाउने निश्चित छ।
इट्टा र सुर्की चाहिन्छ भने भक्तजन दशबीस रुपियाँको फूल लिएर जुन मन्दिरमा जान्छौ, फूलको सट्टा एउटा इट्टा वा आफ्नो गच्छेअनुसार एक किलो सिमन्टी वा सुर्की लिएर जाऊ। एउटा इट्टाको १५ रुपियाँ पर्छ। तिमीले एउटा फूललाई तिरेको पैसाले दुई वटा इट्टा आउँछ।
जाग, भक्तजन जाग! वर्षौंवर्षदेखि अपहेलित बनेर तिम्रो आस्थाको धरोहर कुरूप, दयनीय र क्षतविक्षत हुँदा तिम्रो पुर्खाको नासो रोएका मात्र छैनन् कतिपयले त आत्महत्या नै गरिसके। भुइँचालोले त्यसैमाथि हल्का धक्का दिएको मात्र हो।
राजतन्त्रमाथि गणतन्त्रवादीहरूको विरोध बुझ्न सकिन्छ तर महत्वपूर्ण मठमन्दिरसँगै नारायणहिटी राजदरबार राष्ट्रिय सम्पदा भइसक्दा पनि त्यहाँका पर्खाल, झ्याल, ढोका, भवनमाथि किन र केको दुस्मनी? किन अवहेलना?
राजधानीको केन्द्रविन्दुमा रहेको नारायणहिटीरूपी राष्ट्रिय धरोहरले के अहिले पनि जनतालाई गोली बर्साइरहेको छ? होइन भने भत्केको पर्खालमा काँडेतारले घेरेर सिपाही उभ्याएर किन राइफल तेस्र्याएको?
सबैलाई थाहा छ, नारायणहिटीभित्रको स्थिति अझ दयनीय र भद्रगोल छ। मन्दिरहरूको अवस्था पनि त्यस्तै छ। तर पर्यटक नगरीको यो हरिबिजोगले कुहिएको लासलाई चौबाटोमा असरल्ल छोडे जस्तो भएन र? हाम्रा पुर्खाले लासलाई रामनाम लेखेको कात्रोलेसम्म भए पनि ढाक्थे। तर अहिलेका जिम्मेवारहरूका कार्य विदेशीले लास छोप्न दिएको कात्रोसम्म हिनामिना गरेर लासमाथि बसेर ब्रेकफास्ट, लन्च र ककटेल डिनर घिच्नु भएन र भन्या? अलिकति घिन, लाज, सरम मान हाकिमहरूहो! नबिर्स तिमीले पनि मर्नुपर्छ!
प्रकाशित: १५ चैत्र २०७४ ०४:४५ बिहीबार