२० मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

खुसी भन्नु असल साथी

केही वर्षअघि पि.एल.ओ.एस. वान जर्नलमा प्रकाशित एक बृहत् समीक्षात्मक लेखले सच्चा मित्रताको फाइदालाई चुरोटको अम्मल छाड्नुभन्दा पनि अधिक लाभप्रद देख्यो। त्यस्तै अमेरिकाको ड्युक युनिभर्सिटीकी डा. बिभर्ली ब्रुमेटले मित्रताबाट अलग्गिएको व्यक्ति साथीभाइको जालोमा बाँधिएको मानिसको तुलनामा मुटु रोगका कारण मर्ने सम्भाव्यता दुईगुना बढ्ने बेहोराको अनुसन्धानलाई साइकोसोम्याटिक मेडिसिन जर्नलमा प्रकाशित गरिन।

दि क्याथोलिक युनिभर्सिटी अफ अमेरिकाको बिजनेस स्कुलमा गरिएको अध्ययनले मित्रतापूर्ण मान्यतासहितको व्यापारिक साझेदारीले आर्थिक समुन्नति दिने देख्यो। अमेरिकाको आयुर्विज्ञान अन्वेषण केन्द्र मायो क्लिनिकले प्रकाशित गरेको एक अध्ययनले मित्रताले जीवनलाई समृद्ध मात्र नबनाउने बरु स्वास्थ्यवस्थामा चमत्कारी सुधार ल्याउने भन्यो।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले मानिसलाई कसरी लामो समयसम्म खुसी बनाउन सकिन्छ भनी ठम्याउन सन् १९३८ मा वयस्क विकास कार्यक्रम ल्यायो। आर्थिक उन्नति तथा व्यक्तिगत तरक्कीले दीर्घकालीन सन्तुष्टि दिन्छ भन्ने आममानिसको सोचलाई दशकौँसम्म चलेको उक्त अध्ययनले गलत सावित गर्‍यो।

भौतिक सुविधाले व्यक्तिलाई युवावस्थामा सन्तुष्टि दिने भए पनि पाको अवस्थामा प्रफुल्ल रहन असल साथीको मुख्य भूमिका रहने हार्वर्डको निष्कर्ष देखियो। जीवनको उत्तरार्धमा खुसी हुन पैसा होइन, बरु असल मित्रसँगको सम्बन्धले भूमिका निर्वाह गर्छ।

फेसबुक, एक्सलगायतका दर्जनौँ सामाजिक सञ्जालमा संसार नै बाँधिएको अवस्थामा संगीको संख्यामा व्यापक वृद्धि भएको ठानिनु अन्यथा होइन। तर मनोविज्ञानका क्षेत्रमा आबद्ध समूह सामाजिक सञ्जालमा रहेकाहरू साथीको श्रेणीमै नपर्ने ठान्छन्।

अक्सफोर्ड विश्वविद्यालयमा  मनोविज्ञानका वरिष्ठ प्राध्यापक रोविन  डनबर का अनुसार मानिसले एक पटकमा एक सय ५० जनाभन्दा बढी व्यक्तिलाई अनुहार तथा उनीहरूको पारिवारिक विगतका आधारमा चिन्नै नसक्ने भएकाले फेसबुके समूहलाई साथी मान्नै नसकिने ठान्छन्। एक समयमा सालाखाला एक सय ५० व्यक्तिसँग मित्रता कायम गर्न सकिए पनि आत्मा साट्न सक्ने भित्रिया मित्रको संख्या भने पाँचभन्दा अधिक हुन नसक्ने ठान्छन् उनी।

एक लाखभन्दा बढी युरोपेलीमा गरिएको एउटा अध्ययनले डिप्रेसन र साथी सर्कलको संख्याका बीच चोटिलो सम्बन्ध देखायो।  डनबरले भनेझैँ करिब एक सय ५० को हाराहारीमा संगी भएका व्यक्तिको मानसिक स्वास्थ्य चुस्त देखियो भने निकै कम मानिससँग सम्पर्क गर्ने समूहमा मानसिक रोगी पाइए।

साथीका बीचमा रम्ने व्यक्ति किन डिप्रेसनको शिकार हुँदैन त भन्ने प्रश्नको बायोकेमिकल जवाफ खोज्दा अनौठो परिणाम देखियो। डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र इन्र्डाेफिनहर्मोनहरूले हामी प्रसन्न राख्ने भएकाले तिनीहरूलाई ‘ह्याप्पिनेस केमिकल’ पनि भनिन्छ। साथीभाइसँगको ख्यालठट्टाले शरीरमा प्रफुल्ल हर्मोन पैदा हुने भएकाले व्यक्ति  खुसी हुन्छ।

माथि उल्लिखित नतिजा मात्र होइन, बरु भिन्न वर्ण, लिंग, जातजाति तथा भूगोललाई केन्द्रमा राखेर गरिएका सबै अध्ययनले असल मित्रताको लाभ मात्र देखाएका छन्। 

सन् २०२१ मा प्रकाशित एक सर्भेले करिब १५ प्रतिशत पुरुषले आफ्नो एउटा पनि सच्चा साथी नभएको बताए। मन मिल्ने साथी नहुनुको कारणबारे प्रतिप्रश्न गर्दा उनीहरूले मित्रता आफैं हुनुपर्ने ठानेको अनि संगी बनाउन आफूले थप केही नगरेको प्रतिक्रिया आयो।

विज्ञका विचारमा अन्य सफलताझैं मित्र बनाउनका लागि पनि मेहनत गर्न आवश्यक रहेको अनि उच्च चरित्रको संगी पाउन थप परिश्रम आवश्यक हुन्छ। आखिर सच्चा संगीको निर्माण र निरन्तरताका लागि किन ठूलो समूह सफल हुँदैन त? बहुआयामिक लाभको तागत बुझ्दाबुझ्दै पनि असल मित्रता कायम गर्न किन धेरै मानिस चुक्छन्? मित्रता निर्माणका जुक्ति र निरन्तरता विधिका सम्बन्धमा भएका अध्ययनको प्रस्तुति यो आलेखको  लक्ष्य रह्यो।

अन्य क्षेत्रमा झैं लगानीबिनाको प्रतिफल मित्रतामा पनि सम्भव हुँदैन। युनिभर्सिटी अफ क्यान्ससका प्राध्यापक जेफ्री हलले साथी बनाउनका लागि आवश्यक लगानीको आकडा सन् २०१९ मा सेज जर्नल्समा प्रकाशित गरे। कक्षाको परिचयलाई सामान्य मित्रमा रूपान्तरण गर्न ५० घण्टाको लगानी आवश्यक पर्ने अनि सच्चा साथीमा दरिन कम्तीमा दुई सय घण्टासँगै बिताउनुलाई न्यूनतम सर्त मान्छन् डा. हल। के निश्चित समय सँगै बिताउने बित्तिकै साथी होइन्छ त भन्ने प्रश्नका सन्दर्भमा मन मिल्ने अवस्था नभए घण्टौँ सँगै समय व्यतित गर्न असम्भव हुने देख्छन् उनी। साथै असल मित्र बन्न बारम्बारको सम्पर्क अपरिहार्य देखियो। भौगोलिक दूरी तथा अन्य कुनै कारणले आवधिक सम्पर्क कठिन भएको खण्डमा मित्रतामा खिया लाग्ने सम्भाव्यता देख्छन् उनी। जिग्री दोस्तीका लागि समयको उल्लेख्य लगानी अनि नियमितता  आवश्यक देखियो।

सम्बन्धको मजबुतीकरणका लागि सकारात्मक ऊर्जालाई महरूव दिन्छिन् लामो समयदेखि मित्रतामा कलम लगाउँदै आएकी सास्ता नेल्सन। सहयोग, माया अनि एकअर्काको अस्तित्वलाई स्वीकार नगरी असल साथी बन्न नसकिने ठान्छिन् उनी। पारस्परिक प्रशंसा, प्रसन्नता अनि इमान्दारिताको अवस्था सिर्जना हुँदा मित्रता गहन हुने देखियो। मनको कुरा बाँधेर राख्नुको बदला यथास्थितिमा पस्कदा पारस्परिक विश्वास बढ्न गइ सम्बन्धमा थप मजबुतीकरण हुने ठान्छिन् लेखक नेल्सन।

कमजोरी नभएका मानिस कोही पनि हुँदैनन् तर आफ्नो नकारात्मक पक्ष उजागर पार्दा अर्को पक्षले आफूलाई दुर्बल आँक्ने हो कि भन्ने डरका कारण धेरै मित्रतामा दरार आएको देखिन्छ।

साथी बनाउँदा आफ्नो वास्तविक पहिचान खुलाउन हिच्किचाउनु हुँदैन भन्ने ठान्छिन् ‘द लाइफ काउन्सिल’ पुस्तककी लेखिका लाउरा ट्रिमेन। आफ्नो वास्तविकता भन्न अनि कमजोरी बताउन कहिलेकाहीँ असहज भए पनि त्यसले पारस्परिक विश्वास कायम गर्छ। अनि त्यस्तो पारदर्शिताले मित्रताको डोरो अझ मजबुत हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा एकअर्काको वास्तविकताको पहिचान र आत्मसातबिना मित्रताले दीर्घजीवन पाउन नसक्ने सबैले बुझ्न आवश्यक छ।

मित्रतालाई ताजगी दिन नवीनताको दरोकार पर्छ। योग्यता अनि क्षमताअनुरूपको नयाँ विचारको मन्थनले मित्रतालाई अझ तिख्खर बनाउँछ। यस्ता चुनाैतीपूर्ण कामले सम्बन्धमा खिया लाग्न दिँदैन भनिन्छ।

दोस्तहरूका बीच एकअर्काको प्रशंसा र स्वस्थ आलोचना अपेक्षित हुन्छ। राम्रो काम गर्दा पाएको स्याबासीले असल काम गर्न थप हौस्याउने अनि यथार्थवादी आलोचनाले प्रक्रिया परिवर्तन गरी सुध्रने अवसर दिने भएकाले व्यक्ति अझ अब्बल बन्छ। साथीको सहयोगमा आफूलाई परिमार्जन गरी थप काबिल बनाउने अवसर पाउनु आफैमा एक सफलता हो। अनि यस्ता स्वस्थ आलोचना र स्याबासीले मित्रतालाई उपल्लो खुड्किलोमा पुर्‍याउँछ।  

मानिसको जीवनमा उतारचढाव अपरिहार्य छ। सफलताका बखत उत्सव मनाउने अनि प्रतिकूल अवस्थामा सहयोगको हात बढाउने मानिसको सबैलाई खाँचो हुन्छ। सुख र दुःखका क्षणको सामीप्यता सदैव स्मरणमा रहन्छन्।

मित्रताको सबलीकरणका लागि अनुकूल र प्रतिकूल अवस्थामा साथीको सहभागिताले सदैव अर्थ राख्छ नै। परिस्थिति अनुकूल नहुँदा मित्रतामा असमझदारी आउनु अस्वाभाविक होइन। कुनै कारणले संबन्धमा फाटो पर्न आएको देखिएमा वास्तविकताको खुलासामार्फत त्यसलाई सम्बोधन गरी मित्रतालाई थप ज्वलन्त बनाउनुपर्छ। मित्रको व्यवहारबाट मन मैलो हुँदा त्यसलाई दबाउनुको बदला छलफलको विषय बनाउँदा सदैव लाभप्रद हुने देख्छन् विज्ञहरू।

असल मित्रताले उच्च रक्तचाप, मधुमेह, मानसिक समस्यालगायतका विविध रोगबाट जोगाउँछ भने पारस्परिक विश्वासमा सुरु गरिएको व्यापारिक धन्दाले व्यक्तिलाई आर्थिकरूपमा समेत सबल बनाउने देखिएको छ। भौतिक सुखप्रति खासै चासो नभएको पाको अवस्थामा धनले भन्दा मित्रताले प्रफुल्ल राख्ने भएकाले वृद्ध अवस्थामा मन मिल्ने संगीको आवश्यकता झन् खड्किन्छ।

यसरी संगीको बहुआयामिक लाभलाई मध्यनजर राख्दै असल साथी बनाउन समयमै मित्रताको हात बढाऔँ। मित्र आफैं बन्दैनन्, बरु त्यसका लागि मेहनतको खाँचो रहेको सबैले बुझ्न आवश्यक छ।

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।  

प्रकाशित: ११ असार २०८१ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App