२० आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

त्रासदी होइन अटिजम

सन्दर्भः अटिजम सचेतना दिवस

अटिजम (आत्मकेन्द्रित व्यवहार) एक स्नायुसम्बन्धी अवस्था हो जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्ने गर्छ। अटिजम शब्द सन् १९११ मा पहिलो पटक सुरुवात भएको पाइन्छ। व्यक्तिमा अटिजमका लक्षण देखा पर्न थालेपछि खोज अनुसन्धान गर्ने क्रममा सन् १९४० मा डा. लियो क्यानर र डा. ह्यान्स एस्पर्जरले अटिजमलाई बुझ्न प्रोत्साहन गरेसँगै यो थप प्रचलनमा आउन थालेको हो। विश्व अटिजम जागरुकता दिवस औपचारिकरूपमा संयुक्त राष्ट्र संघबाट सन् २००७ मा पारित भई दिवसका रूपमा स्थापित भएको हो।

अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) बारे अनुसन्धान र समर्थन गर्ने देशहरूलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रूपमा विश्वभर मनाउन सुरु गरिएको हो। यस वर्ष ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने मूलनाराका साथ यो दिवस मनाउन लागिएको हो।

मस्तिष्क र स्नायुकोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो। व्यक्तिको मस्तिष्कमा स्नायुकोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चार सिप र कल्पना शक्तिको विकासमा असर पुग्छ। जसले गर्दा सञ्चारमा विचलन, सामाजिकरूपमा घुलमिल हुननसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन्। बौद्धिक अपांगता वा अटिजम कुनै रोग होइन। मस्तिष्कको एक विशेष अवस्था मात्रै हो। जुन असामान्य र अस्वीकृत व्यवहारका रूपमा देखिन्छ।

अटिजम हुनुका कारण र उपचारका क्षेत्रमा धेरै अनुसन्धान भइरहेका छन्। तर कारण र निर्मूल गर्ने उपाय अझै पत्ता लाग्न सकेको छैन। विश्वभर अटिजमले कति मानिसलाई असर गर्‍यो भन्ने फरक–फरक अध्ययनका ठम्याइ पनि फरक–फरक देखिन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक प्रतिशत बालबालिकामा अटिजम देखिने गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडिसी) को प्रतिवेदनअनुसार हरेक ५९ जनामध्ये एकजनालाई अटिजम हुने गरेको छ । त्यस्तै अटिजमको असर छोरीभन्दा छोरालाई तीन–चार गुणा बढी असर गर्ने गरेको सिडिसीले जनाएको छ।

सीडिसीको अध्ययनले पछिल्लो समयमा अटिजम भएका बच्चाको संख्या बढ्दै गएको देखाउँछ। सन् २०२३ मार्चमा प्रकाशित यो तथ्यांकले २०१६ मा प्रति ५४ जना बच्चामध्ये एकजनामा अटिजम भएको देखायो भने सन् २०१८ मा प्रति ४४ बच्चामध्ये एकजनामा अटिजम भएको पाइएको छ। यता सन् २०२० मा यो दर बढेर प्रति ३६ बच्चामध्ये एकजनामा अटिजम हुने गरेको छ।

नेपालमा जन्मेदेखि चार वर्ष उमेर समूहका बालबालिकामा २१.९ प्रतिशतमा अटिजमको उच्च जोखिम रहेको तथ्यांक छ। ग्रामीणमा भन्दा सहरी क्षेत्रका बालबालिका अटिजमबाट बढी प्रभावित छन्। राजधानीमा मात्र स्थायी बसोवास गर्ने एक हजार दुई सय ५३ जनामा अटिजम रहेको देखाउँछ। अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनीमा अन्य व्यक्तिभन्दा २५ गुणा बढी अटिजम हुने तथ्यांकमा उल्लेख छ। नेपालमा कति जनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन भएको छैन।

अटिजम भएका केही व्यक्तिमा बौद्धिक क्षमता तीक्ष्ण रहेको पाइएको छ भने केहीमा बौद्धिक अपांगता रहेको पाइन्छ। अटिजम भएका हरेक व्यक्तिमा अलग–अलग किसिमका लक्षण देखिन्छन्। बालबालिका जन्मेको ६ महिनादेखि नै क्रमशः तीन वर्षसम्ममा यसका लक्षण प्रष्ट भइसक्छन्, वयस्क अवस्थामा पनि विभिन्न रूपमा रहन्छन्।

अटिजम निको पनि हुँदैन। विभिन्न थेरापी, विशेष शिक्षा, हेरचाह एवं तालिमबाट सामान्य विद्यालय जान सक्ने गरी उनीहरूलाई तयार गर्नुपर्छ। कतिपय बालबालिका सामान्य विद्यालय जान सक्ने अवस्थामै पुग्दैनन् र उनीहरूको विद्यालय शिक्षा पनि विशेष विद्यालयमा नै व्यवस्थापन गर्नुपर्छ। विश्वभरि अटिजम भएका बालबालिकाको जन्मदर बढ्दो छ।

अटिजमका लक्षण

–  आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने।

–  असान्दर्भिक हँसाइ तथा रुवाइ।

–  आँखामा आँखा जुधाउन नसक्ने।

–  घाउ÷चोट तथा दुखाइप्रति वास्ता नगर्ने।

–  एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने।

–  सामानहरू घुमाइरहने तथा अंगालो हालेको मन नपराउने।

–  बोलाउँदा  नबोल्ने, साथै नसुनेको जस्तो भइदिने  

– आफ्नो आवश्यकताको सामान औँलाले नदेखाउने वा ठूलो मानिसको हात समातेर देखाउने, शब्दको प्रयोग नगर्ने। कल्पना गरेर खेल नखेल्ने वा दोहोर्‍याएर एउटै खेल खेलिरहने।

– शब्द वा वाक्य दोहोर्‍याउने। (जस्तै– तिम्रो नाम के हो भन्दा तिम्रो नाम के हो नै भन्ने)  

– खतरा नबुझ्ने साथै डर नहुने।

– सामान्य शिक्षण विधिबाट सिक्न नसक्ने।

– हरेक दिन एउटै काम गर्न रुचाउने।

शिक्षण विधि तथा प्रक्रिया 

बौद्धिक अपांगता एवं अटिजम भएका बालबालिका र युवालाई व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा समाजमा सजिलै पुनस्र्थापना गराउनु पर्छ। अटिजम भएका बालबालिकाका लागि आवश्यक थेरापीसहित क्षमतानुकूलको शिक्षा उनीहरूको मौलिक अधिकार हो। जनचेतना अभावका कारण अटिजम भएका बालबालिका शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्था छ । समाजमा अटिजम सचेतना कार्यक्रम सञ्चालन गर्दै विधागत विज्ञहरूको परामर्श लिई उनीहरूको समस्या र चुनौती पहिचान गरी सोअनुसारको शिक्षा र स्वास्थ्य सेवा पु¥याउन आवश्यक छ।

अटिजम भएका बालबालिकाको फरक क्षमता र बौद्धिक अवस्थाअनुसारको शिक्षाको व्यवस्था नहुँदा उनीहरूको जीवन निकै कष्टकर बनेको छ। मूलधारका विद्यालयमा अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने खालको शिक्षा र स्वास्थ्य सेवा सम्भव नहुने भएका कारण यस प्रकारका बालबालिकाको शिक्षाका लागि विशेष विद्यालयमा नै उपलब्ध गराउन आवश्यक हुन्छ।

सबै तहका सरकारले अटिजम भएका बालबालिका, उनका परिवार र उनीहरूको विशेष शिक्षामा चासो नदिँदा अभिभावक तथा सामाजिक स्तरबाटै अटिस्टिकहरूलाई व्यवहार सुधारका लागि काम भइरहेका छन्।

– घिमिरे अटिजम केयर सेन्टरकी अध्यक्ष हुन्।

प्रकाशित: २० चैत्र २०८० ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App