२ वैशाख २०८१ आइतबार
विचार

मेयर बालेनलाई खुलापत्र

मेयरज्यू,

धेरै दिनदेखि तपाईंलाई भेट्ने र आफूलाई लागेका कुरा साथमा बसेर भन्ने मनसुवा राखेको थिएँ। म काठमाडौं महानगरपालिका वडा नं. ४, महाराजगन्ज, चक्रपथ अन्नपूर्ण मार्गमा बस्ने तपाईको मतदाता हुँ।

तपाईलाई म जस्तै जस्तै धेरै मतदाताले एउटा आशालाग्दो युवक भन्ने ठहर्‍याइ पदमा आसीन गराएका हौँ। झन्डै दुई वर्षको यस अवधिमा तपाईद्वारा नेतृत्व लिई सम्पन्न भएका विद्यालयहरूको छात्रवृत्तिका न्यायोचित व्यवस्था, सबै निकायबाट आँखा चिम्लिएर ठूला ठालूले गर्न पाउने ठानिएको सार्वजनिक थलोहरूको अतिक्रमण वा जथाभावी उपयोग हुन नदिन तपाईँले चालेका कठोर कदमहरूलाई पनि साहसिक कार्यका रूपमा लिइएकै हो। ती कार्यका लागि धन्यवाद तथा बधाई पनि। तपाईबाट आँटिलो तथा निःस्वार्थ रूपबाट भएका ती काम कारबाहीको यथोचित प्रशंसा गरी तपाईँलाई थप राम्रा कामका लागि उत्साहित बनाउने कार्य भने भएन कि जस्तो पनि लाग्छ।

त्यसका लागि दुईवटा कारण रहेको यो लेखोटको ठहर छ–पहिलो, शायद समाज नै पर्याप्त मात्रामा ठीक/बेठीक छुट्याउने मापदण्ड तर्जुमा गर्न समर्थ भइसकेको छैन; त्यसका लागि चाहिँदो औपचारिक/अनौपचारिक शिक्षा र अनुभव नै नभएको भने हुन्छ।

त्यस्तै, राम्ररी मूल्यांकन गरी त्यसलाई सानै समूहमै भए पनि यथोचित समर्थन वा विरोध गर्ने बानी बस्नसमेत सकेको छैन। राम्रोलाई ‘यो राम्रो हो’ भनी उत्साहित बनाउनसम्म पनि हामीले सिकेका छैनौँ। सम्भवतः अशिक्षा र गरिबी र त्यसको राजनीतिले अतिशय दुरूपयोग गरेका कारण हामी धेरैजसो त ‘मेरा लागि यसमा के छ?’ मात्र भन्नेमै छौँ जस्तो पनि लाग्छ। समाजको विकृत रूप हो यो। तथापि राम्रा काम र आचारको अनुभूति त आवहवाबाटै पनि महसुस गर्न सकिन्छ नै।

मेयरज्यू,

ती सबै आफ्ना ठाउँमा छन्। तपाईँलाई भेटेर नै व्यक्त गर्न चाहेका थप कुरा पनि छन्-जसलाई तल लिपिबद्ध गर्न प्रयास गर्छु:

१. काठमाडौँ उपत्यका नै एक प्रकारबाट प्राचीन मूल्यमान्यतामा आधारित वास्तुकला, संस्कृति र लोक–विश्वासमा आधारित ‘महानगर’ हो। यसका संरचनालाई जगेर्ना गर्दै २१औँ शताब्दीको ‘आधुनिक सहर’ बनाउने चुनौती हामी सबैसामु छ। यसलाई जान्ने/बुझ्ने स्थानीयका साथै आजको आवश्यकता र भोलिका दिनको मागलाई पनि आकलन गरी योजना निर्माण गर्न सक्ने योजनाविद्/इन्जिनियर/वास्तुकारहरूको योगदानको पनि आवश्यकता पर्ला। तर पहिलो त समय, आवश्यकता र स्रोतलाई ध्यानमा राखी कामको प्राथमिकता निर्धारण गरेर काम गर्नु नै आवश्यक छ। कामनपाले आफ्नो कार्य योजनासम्म पनि सबैले थाहा पाउने गरी सार्वजनिक गरे जस्तो पनि लाग्दैन। पहिले केही सकारात्मक कार्य गरेर अनि फुटपाथ पसल/सुकुमबासी बस्तीतर्फ हात हाल्नुपर्ने थियो कि? दुबै विषय केही गम्भीर चिन्तन र ठोस कार्य योजनासाथ आएको भए तपाईँले चुनावअघि जस्तै वाहवाही पाउनुहुने थियो कि? अहिले पनि तपाईलाई त्यस्तो लाग्दैन?

२. काठमाडौँ सहर पहिलो पर्यटकीय नगरी हो, राजधानी सहर हुनाको साथै/यहाँका बाटाघाटा, फुटपाथ, छेउछाउ साधारण स्वास्थ्यका दृष्टिकोण मात्र नभई आँखाका लागि पनि सुन्दर हुनुपर्छ। हाम्रो ध्यान त्यसतर्फ गएको छ? राष्ट्रपति, प्रधानमन्त्री, सयौँ मन्त्री (१३ महिनामा तीनवटा सरकार) को गाडी गुड्ने चावहिलदेखि कलंकीसम्मको सडकको दायाँ बायाँ हेर्नुहोस्। सडक विभागले त गरेन, गरेन, नगरपालिका के हेरेर बसेको छ?

काठमाडौँ उपत्यकामा घना जनसंख्या भएको क्षेत्रका यदाकदा खाली ठाउँ करिब करिब सबै भवन वा यस्तै यस्तै संरचनाले भरिइसकेका छन्। भूकम्प जस्ता प्राकृतिक विपद् आउँदा आश्रय र दैनन्दिन जनस्वास्थ्यलाई ध्यानमा राखी बोटबिरुवासहितका बचेखुचेका खुला ठाउँलाई स्वच्छ सफा राख्ने र संभव भएका ठाउँमा यस्ता नयाँ खुला ठाउँको व्यवस्था गर्ने चुनौती अन्य महानगरपालिका र उपमहानगरपालिकाहरूलाई भन्दा पनि बढी काठमाडौँलाई छ जस्तो लाग्दैन?

३. कसैले मुख फोरेर नै नभने पनि नेपालीहरूलाई ‘फोहोरी’ गन्तीमा राखिन्छ। कारण अनेक होलान्। यो हाम्रो एउटा मुलुकीय ‘प्रदोष’ नै हो। शाह राजाहरूले नै यसतर्फ पञ्चायतकालमा नै ध्यान दिनुपर्ने थियो, त्यो भएन। झन् हिजोआज त सबैखाले ‘खोल’, कागजपत्र/प्लास्टिक थैलो र जेसुकै अनावश्यकलाई खाली ठाउँ/सडकमा नै ल्याइ फालिनाले वातावरण प्रदूषित हुनाको साथै सडक बस्तीका खुला ठाउँ सबै ‘फोहोर क्षेत्र’ मा परिणत भएका छन्। मुलुकले ‘खुला  दिसामुक्त’ कार्यक्रम त घोषणा गर्‍यो, तर ‘मुलुकलाई नै सफा, सुग्घर राख्ने’ कार्यतर्फ खासै ध्यान गएन।

एनसेलले जिम्मा लिएबाहेक चक्रपथ वरपर नै थुप्रै ठाउँ यस्ता छन् जहाँ अलि अलि सुधार गरेर हरियो परियो बनाइदिँदा राम्रो पनि देखिन्छ र ‘फोहोर फाल्ने ठाउँ’ का रूपमा विकसित पनि हुँदैनथे। वडा प्रतिनिधिहरू पनि यसतर्फ किन उदासीन भएका होलान्?

४. अहिले नेपालमा ‘निर्माण युग’ सुरु भएको छ। जतासुकैै पनि आवश्यक/अनावश्यक संरचनाहरू निर्माण गर्ने होड चलेको छ। यसका पछाडि नीति निर्मातादेखि प्रशासक तथा जनप्रतिनिधिसम्मको ‘भाग शान्ति जय नेपाल’ र कमिसनबापतको ‘नियमित’ रकम नै देखिन्छ। आवश्यक ठाउँमा साधारण मर्मत गर्न पनि ध्यान दिइन्न, खाल्डाखुल्डी पुरिन्न तर भइरहेको पिचमा अर्काे अर्काे तह लेपन हुन्छ।

छेउछाउका जमिन सरक्क मिलाउनेसम्म पनि वास्ता गरिन्न। यातायात टुंगिने ठाउँमा चाप कति हुन्छ त्यसको मूल्यांकन नगरी बाटो चौडाउने प्रपञ्च रचिन्छ। वैकल्पिक बाटोघाटो निर्माण वा सुधार गौंण हुन्छ। दशौँ वर्षपछि बनाइने सम्भावना बोकेको निर्माणको ‘सम्भाव्यता अध्ययन’ वा विस्तृत योजना तयारी प्रतिवेदनको अलि अघिको चरण समाप्त भइ अब ‘निर्माण’ कै सुरु भएको छ–अनेक शीर्षकका भन्सार दस्तुरका नाममा गरिब जनताको भए/नभएको छाक टार्ने रकमबाट। कामनपा यो महारोगबाट मुक्त रहनुपर्छ।

५. नागरिकप्रति राज्यको पहिलो जिम्मेवारी स्वास्थ्य/शिक्षाको दायित्व बोक्ने कर्तव्य प्रथमतः स्थानीय तहको हो। उपलब्ध स्रोत/साधनको उपयोगमा त्यसतर्फ ध्यान जानु पहिलो आवश्यकता हो। त्यसो भएको छ कि छैन? यी र यस्ता विषयमा कहीँ कतै बहससम्म पनि सुनिन्न। सार्वजनिक बिद्यालयहरूका विविध आवश्यकतामा योजनासाथ सहयोग पुर्‍याउनु महानगरको पनि जिम्मेवारी हो जस्तो लाग्छ।

६. सम्भवतः सर्वसाधारणको हितप्रतिको जिम्मेवारी रामायण/महाभारत जस्ता कथा/ग्रन्थमै सीमित भएर हो कि वा ‘अविकसित’ समाजमा ‘जे गरे पनि हुन्छ’ भन्ने ठम्याइका कारण, नेतृत्व वर्गले नेपालको अर्थतन्त्रमा ‘लुट’ मच्चाइरहेको छ। सत्तासीन र आसेपासेहरूको जीवनशैली अचाक्ली उक्लिएको छ भने गरिबहरूको जीविका नै कठिन भएको छ। यस्तो अवस्थामा आफूलाई निर्वाचित गरी पठाउने जनताको हितमा काठमाडौँ उपत्यकाका मेयर÷उपमेयरहरूले संयुक्तरूपमा केही गर्न सक्नुहुन्न? तपाईहरू त जनतासँग दैनिक निकट सम्बन्ध राख्ने प्रतिनिधिहरू नै हो नि। त्यस्ता एकाध कामले पनि मुलुकभर नै सकारात्मक सन्देश जान्छ।

यो पत्र लेखक ठोकुवाका साथ भन्छ कि काठमाडौँ सहर सफासुग्घर मात्र राख्नुहोस्, पर्यटन त्यसै दोब्बर हुनेछ। हामी करिब करिब सबैले सरसफाइको महत्वलाई नै गौण मानेका छौँ, ओठे भक्ति देखाऔंला बीच बीचमा तर हामी गम्भीर छैनौँ। फोहोर कुनै कुनै दलको त राजनीति गर्ने बहाना नै बनेको छ। अन्यथा भन्नोस् त, डाँडैडाँडाले भरिएको यो मुलुकमा फोहोर फाल्ने खाल्डोसमेत हामीले दशकौँदेखि व्यवस्था गर्न सकेका छैनौँ। काठमाडौँकै सिको अन्य शहरले पनि गर्न सुरु गरिसकेका छन्। शहरबाहिरका राजमार्गका छेउछाउ र जंगल फोहोर बिसर्जन थलो हुँदै गएका छन्।

वरिपरि सडक छेउ बग्रेल्ती ठाउँ छन्, ती सबै अहिले फोहोर फाल्ने ठाउँ भएका छन्। ती क्षेत्रलाई सफा सुग्घर राखी संभव ठाउँमा हरियाली आदि सजिलै राख्न सकिन्छ, साथै, कामनपासँग थुप्रिँदै गएको अर्बौ रुपियाँ केही सदुपयोग हुनाको साथै कैयन् बेरोजगारले काम पनि पाउँथे। कामनपाको ध्यान किन त्यसतर्फ पटक्कै नगएको?

वडाबाट निर्वाचित ‘जनप्रतिनिधि’ धेरैजसो वडाका राजस्व उठाउने र आवश्यकीय कानुनी कामबाहेक अन्य कुरामा चासो राख्दैनन्। टोलटोलका कुना काप्चा सडक/ढल/पेटीको गएगुज्रेको अवस्थामा उनीहरूको ध्यान करिब करिब शून्य देखिन्छ संभवतः केही अपवादबाहेक, जसबारे यो पत्र लेखक जानकार छैन पनि। राम्रा काम भएका भए त पत्रपत्रिकाले पनि सार्वजनिक गर्ने थिए नि (ललितपुरमा त केही सार्वजनिकरूपमै देखिन्छ)। मेयरज्यू, एकपटक आफैँ वडा वडामा तालिका बनाएर घुम्नुहोस् त!

७. परम्परागत सामाजिक/मूल्य/मान्यता र सामन्ती समाजस्वरूप नेपालमा अनेक प्रकारका ठूला विभेद छन्। हामीलाई उचित/अनुचित मात्र होइन, ‘सीमा’ के हो भन्ने कुराको पनि ज्ञान छैन। यस अवस्थामा तपाईँले दलित, भिन्न प्रकारबाट सक्षम व्यक्तिहरू र आयस्रोत नभएका अशक्तहरूलाई न्यूनतम आवश्यकताका लागि सहयोग गरिदिने कार्यक्रम सञ्चालन गर्दा कसो होला ? सुरुमा केही मामुली त्रुटि पनि होला, अवश्य सुधार गर्दै जान सकिन्छ। साथै, कसैले दिएका नयाँ टोपी हप्तौँ नधोइएको मैलोथैलो लुगामाथि नसुहाए जस्तै हालै उल्लेख भएको ‘फल्चाः बस स्टप’ जस्ता विषय अहिले फोहोरको थुप्र्रोमाथिको टोपी हुँदैन?

तपाई पनि कतै ‘निर्माण युग’ को जञ्जालमा पर्नुभएको त होइन? शहर सफा स्वच्छ राख्नोस्, त्यो सर्वोपरि हो (शहरी क्षेत्रमा शौचालय सुविधाको कार्यान्वयन प्रभावकारी भएको छ? अनुगमन गर्नुहोस्।)

महिनौँदेखि वीर अस्पतालमा कर्मचारी अभावले तीन सय शैया खाली छन्। सरकारले दिन नसके पनि कामनपाले खर्च हुन नसकेको थुप्रेर बसेकोमध्येबाट केही रकम वीर अस्पताललाई उपलब्ध गराएमा सर्वसाधारणले थप सुविधा त पाउने थिए। महानगरभित्रै त छ वीर अस्पताल!

महानगरले जानेदेखि र आफूसँग रहेको जगेडा रकम उपत्यकाका अन्य उपमहानगरहरूलाई सापटी दिएर पनि उपयुक्त खाली जग्गाहरू पार्क आदिका लागि खरिद गर्न प्रेरित गर्नुपर्छ। अहिले जे सम्भव छ, भोलि त्यही काम गर्न पनि कठिन होला। यस्ता काम पनि भएमा राजधानी उपत्यका भविष्यका लागि पनि एक सुन्दर बस्तीका रूपमा स्थापित होला।

प्रकाशित: १८ चैत्र २०८० ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App