‘महिलामा लगानी गर्नुहोस्: प्रगतिलाई गति दिनुहोस्’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ सन् २०२४ मार्च ८ को विश्वव्यापी महिला दिवस सबै क्षेत्रमा धुमधामले मनाइएको छ। अन्तर्राष्ट्रिय स्तरमा आएको नारा, प्रगति र विकास खोज्ने हो भने महिलामा लगानी गर्नुहोस् भने भावले झनै बताउँछ– विकासोन्मुख राष्ट्रहरूमा महिलाका चुनौती र अवसरलाई अझै आवाज उठाउनुपरेको छ। नेपाल यसबाट अछुतो रहन सक्दैन।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनले भन्छ–विश्वले भूराजनीतिक द्वन्द्वदेखि लिएर बढ्दो गरिबीको स्तर र जलवायु परिवर्तनको प्रभावसम्मका थुप्रै संकटहरूको सामना गरिरहेको छ। यी चुनौतीलाई महिला सशक्तीकरणका उपायले मात्र सम्बोधन गर्न सकिन्छ।
महिलामा लगानी गरेर, हामी परिवर्तनलाई गति दिन सक्छौं र सबैका लागि स्वस्थ, सुरक्षित र समान संसारको दिशामा सकारात्मक गति दिन सक्छौं।
महिलाको कर्मको हिस्सा र महत्त्व
संयुक्त राष्ट्रसंघकै प्रतिवेदनमा उल्लेख छ–अहिलेकै प्रवृत्ति रहिरहने हो भने सन् २०३० सम्ममा ३४ करोड २० लाखभन्दा बढी महिला तथा बालिका चरम गरिबीको चपेटामा पर्नेछन्। महिलाका आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर सरकारले लैंगिक उत्तरदायी वित्तपोषणलाई प्राथमिकता दिनुपर्छ र अत्यावश्यक सेवा एवम् सामाजिक सुरक्षामा सार्वजनिक खर्च बढाउनुपर्छ।
नीति निर्माताहरूले पनि महिलाहरूले सशुल्क र अवैतनिक हेरचाह कार्यमार्फत विश्वव्यापी अर्थव्यवस्थामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर, पहिचान र लेखाजोखा गर्नुपर्छ। महिलाहरूले पुरुषको तुलनामा तीन गुणा बढी समय अवैतनिक हेरचाहकार्यमा खर्च गर्छन् र यदि यी क्रियाकलापलाई मौद्रिक मूल्य दिइयो भने उनीहरूले कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगट्नेछन्।
महिलाहरूमा लगानी गर्नु र लैंगिक समानताको वकालत गर्नुले भविष्यलाई अग्रसर दिशामा लैजाने छ। जहाँ समाजका सबैले उन्नति गर्न सक्छन्, सबैका लागि असीम अवसर र सशक्तीकरणको संसार सिर्जना हुनेछ।
यसबाट बुझ्न सकिन्छ कि महिलामा लगानी गर्नु भनेको उनीहरूले सामना गर्नुपरेका बहुआयामिक चुनौतीहरूको पहिचान र सम्बोधन गर्नु हो। महिलाको सर्वाङ्गीण विकासको वातावरण सिर्जना गर्नु हो।
शिक्षा, आर्थिक सशक्तीकरण, स्वास्थ्य सेवा, कानुनी अधिकार, प्रविधि, सामुदायिक संलग्नता, सञ्चारको प्रतिनिधित्व र विश्वव्यापी सहकार्यमा ध्यान केन्द्रित गरेर समाजले प्रगतिलाई गति दिन सक्छ र अधिक समतामूलक र समावेशी समाजको सिर्जना गर्न सक्छ।
यसै प्रतिवेदन र यथार्थलाई आधार मान्दै नेपालमा महिला सशक्तीकरण लागि कस्ता कार्यक्रम र सशक्तीकरणका आयामलाई अघि बढाउनुपर्ने हो त? केही विषय उठान गरौं।
शिक्षा र सिप विकासमा अवसर
शिक्षामा समान पहुँच हुने, सबै तहमा गुणस्तरीय शिक्षामा बालिका र महिलाको समान पहुँच सुनिश्चित गर्ने कार्यक्रमहरूको विकास गर्नुपर्ने देखिन्छ। सांस्कृतिक मान्यता वा आर्थिक बाधाजस्ता अवस्थाको न्यूनीकरणमा जोड दिनुपर्ने हुन्छ।
बालिकाहरूलाई विज्ञान, प्रविधि, र इन्जिनियरिङजस्ता क्षेत्रहरूमा अघि बढ्न प्रोत्साहित गर्दा अरू बहुआयामिक रूपमा गुणस्तरीय शिक्षाको विकास हुनेछ। तर विडम्बना, अझै पनि नेपाललगायतका विकासोन्मुख देशमा सांस्कृतिक, आर्थिक वा सामाजिक कारणले गर्दा बालिकाहरूको गुणस्तरीय शिक्षामा सीमित पहुँच छ। घरेलु हिंसा, यौन आक्रमण र हानिकारक परम्परागत अभ्याससहित लैंगिक हिंसाको उच्च दर कायमै देखिन्छ।
आर्थिक सशक्तीकरण
महिलाको आर्थिक अवसरमा सीमित पहुँच छ र श्रमशक्तिमा प्रवेश गर्न चुनौतीहरूको सामना गरिरहनुपरेको छ। महिलाका लागि उद्यमशीलताको अवसर दिई सानाठुला घरेलु व्यवसाय सुरु गर्ने प्रोत्साहनसहित अघि बढाउन सहयोग गर्न वित्तीय स्रोतहरू, परामर्श र प्रशिक्षण कार्यक्रमको जरुरत पर्छ।
समान ज्याला र कार्यस्थलका अवसरहरूमा ध्यान दिई समान कामका लागि समान ज्यालाको वकालत गर्दै, समावेशी कार्यस्थल वातावरण सिर्जना हुनुपर्छ। तब मात्र विविधता र महिलाको उन्नतिलाई बढावा दिएको मानिन्छ।
सामाजिक, आर्थिक र राजनीतिक अवरोधहरू तोड्ने प्रयासहरू तब सिद्ध हुन्छ, जब समान अवसर, शिक्षा, रोजगार र नेतृत्व पदहरूमा समान अवसर प्रदान गर्ने कार्यलाई महŒवका साथ हेरिन्छ।
स्वास्थ्य सेवा पहुचमा सहजीकरण
महिलाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गुणस्तरीय प्रजनन स्वास्थ्य सेवा, परिवार नियोजन र मातृ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने देखिन्छ। कतिपय बिरामी र रोगहरूमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्नेछ।
आर्थिक अवस्थाका आधारमा प्रदान गरिने स्वास्थ्य सेवामा धेरै प्रशासनिक झन्झट र सिफारिसजस्ता औपचारिकताले गर्दा सेवा लिनबाट महिलाहरू बञ्चित भइरहेको र कतिपय महिलालाई उनीहरूले पाउने सेवा सुविधाका बारेमा जानकारी नै हुँदैन। यी सबै कुरामा सम्बन्धित क्षेत्रले ध्यान दिन सकेमा मात्र सार्थकता महसुस गर्न सकिन्छ।
लैंगिक समानतालाई बढावा
राजनीति, व्यवसाय र शिक्षाजस्ता क्षेत्रमा लैंगिक समानतालाई बढावा दिने नीतिलाई अघि सारिनुपर्छ। त्यसो त नेपाल नीतिनियममा अग्रपंक्तिमा आउन सक्छ तर व्यवहारमा त्यस्तो पाइँदैन।
दूरदराजका महिला तथा बालिकाले यो महसुस गर्न नसक्दासम्म हाम्रा नीति नियमका दस्ताबेज कार्यालयका दराजमा मात्र सीमित रहनेछन्। अन्तर्राष्ट्रिय रूपमा अहिले महिलालाई टेक्नोलोजी र इनोभेसनमा समेत सँगै अघि बढाउनुपर्छ भन्ने आवाज आइरहँदा हामीले कम्तीमा डिजिटल साक्षरता कार्यक्रममार्फत महिलाहरूको डिजिटल साक्षरता कौशल बढाउने कार्यक्रममा लगानी गर्न सकेमात्र पनि सशक्तीकरणको अभियानले सार्थकता दिनेछ।
महिला तथा बालिकाले व्यक्तिगत र व्यावसायिक विकासका लागि टेक्नोलोजीको लाभ उठाउन सक्नुपर्छ। टेक्नोलोजी सम्बन्धित उद्योगहरूमा महिलाको सहभागितालाई प्रोत्साहित गर्दै अवसर प्रदान गर्ने सोचको विकास हुनु जरुरी छ।
सामुदायिक संलग्नता
सामुदायिक कार्यक्रमहरूमार्फत महिलाले सामना गर्नुपरेका चुनौतीहरू जस्तै: स्वच्छ पानी, सरसफाइ र पोषणको पहुँचलाई सम्बोधन गर्न सक्ने कार्यक्रमहरू बढाइनुपर्छ। स्थानीय स्तरमा महिलालाई सशक्तीकरण गर्ने आधारभूत पहलको विकास गर्दै निर्णय प्रक्रियामा सहभागिता बढाइनुपर्छ।
समुदायमा महिलाको भूमिका, आत्मसम्मान र अवसरबारे जनचेतना जगाउने, महिलाको व्यक्तिगत, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, मनोवैज्ञानिक र मानसिक स्वास्थ्यमा सहयोग पुग्ने खालका कार्यक्रमहरू नियमित भइराख्नु जरुरी देखिन्छ।
सञ्चार माध्यमको भूमिका
महिलामाथि भइरहेको सकारात्मक भूमिका र मोडेलहरूलाई बढावा दिनका लागि सञ्चार माध्यमले स्थान दिन सक्नुपर्छ। लोकप्रिय संस्कृतिमा महिलाहरूको सकारात्मक चित्रणलाई प्रोत्साहित गर्दै रुढीवादलाई चुनौती दिन गरिएका प्रयास र युवापुस्तालाई प्रेरित गर्ने खालका कार्यक्रममार्फत सञ्चार क्षेत्रले महिलाको यथार्थतालाई साक्षात्कार गर्दै अवसरबारे प्रोत्साहन गर्न सक्नेछ।
महिला संघर्षका कथा, सफलताका कथालाई साझा गर्दै विभिन्न सञ्चार माध्यममार्फत महिला अधिकारका लागि वकालत गर्न र जागरुकता बढाउन सकेको खण्डमा मात्र परिवर्तनलाई महसुस गर्न सकिन्छ।
विश्वव्यापी सहकार्य
महिला सशक्तीकरणकै लागि अन्तर्राष्ट्रिय साझेदारी अभ्यासहरू बढाउने काम सरकारको रहन्छ। महिलाको सर्वाङ्गीण विकासको पहलका लागि उत्तम अभ्यास, स्रोत र अवसर बढाउन अन्तर्राष्ट्रिय सहयोग र साझेदारीलाई बढावा दिन सकिनेछ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य, लैंगिक चुनौतीहरूलाई व्यापक स्तरमा सम्बोधन गर्न संयुक्त राष्ट्रसंघको एसडिजीजस्ता विश्वव्यापी लक्ष्यसँग आफ्नो तर्फबाट प्रयास गर्ने काम पनि सरकारको रहन्छ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को नारा ‘इन्स्पायर इन्क्लुजन’लाई सार्थक बनाउन सबै क्षेत्रबाट महिलाको समावेशीकरणलाई बुझ्न र कदर गर्न उत्प्रेरित गर्नु, महिलाहरू स्वयम्ले आफैंलाई समावेश गर्न प्रेरित गर्नु, अपनत्व, सान्दर्भिकता सशक्तीकरणको भावनालाई सबैले आत्मसात गर्नु नै यो दिवसको सार्थकता र आगामी दिनमा महिलाका अवसर र क्षमतामा भएको विकासको तथ्यांकले उचाइ लिनेछ।
समानतालाई बढावा दिन, आर्थिक वृद्धिलाई गति दिन, स्वास्थ्य र शिक्षामा सुधार गर्न, बलियो समुदायको निर्माण गर्न, राजनीतिक प्रतिनिधित्व बढाउन, हिंसा कम गर्न, सचेतना र सिर्जनात्मकतालाई बढावा दिन र विश्वव्यापी विकास लक्ष्यहरूसँग तालमेल गर्नका लागि महिला सशक्तीकरण आवश्यक अनिवार्य छ।
यो निष्पक्ष, समावेशी र समृद्ध समाज निर्माण गर्ने दिशामा महत्त्वपूर्ण कदम हो। यसलाई सबै व्यक्ति र सम्बन्धित क्षेत्रले आत्मसात गर्न सकेको खण्डमा मात्र महिला सम्मान र सशक्तीकरणको अर्थ रहनेछ।
प्रकाशित: २६ फाल्गुन २०८० ०९:२७ शनिबार