एक जना गुरु संगीत सिकाउन निकै प्रसिद्ध हुनुहुन्थ्यो । उहाँले संगीत प्रशिक्षणको तीन महिने प्याकेज बनाउनुभएको थियो । उहाँको शुल्क पन्ध्र हजार रुपियाँ थियो । एकदिन उहाँकोमा धेरै विद्यार्थी आए । एक जना नयाँ र अलि फुर्तिला विद्यार्थी पनि आए । सबै जना भर्ना गर्न कार्यालयतिर गए । तर ती नयाँ विद्यार्थी गुरुसँग पहिला कुरा गरेर मात्रै भर्ना गर्न चाहन्थे । त्यसकारण उनले गुरुसँग कुरा गर्न समय मागे । उनको इच्छाअनुसार उनले गुरुसँग कुरा गर्न थाले । गुरुले सोध्नुभयो– तपाईं मसँग के सिक्न चाहनुहुन्छ ?
विद्यार्थीले निकै रवाफिलो स्वरसहित भने– गुरु मैले साढे एक महिना संगीतको कोर्स गरिसकेको छु र बाँकी तपाईंसँग सिकेर म दक्ष बन्न चाहन्छु । मैले कति शुल्क तिर्नुपर्ला ? गुरुले मुस्कुराहटसहित भन्नुभयो– बाबु तिमी निकै जेहेनदार छौ, तिमीले यहाँ बाइस हजार पाँच सय तिर्नुपर्छ । यो सुनेर विद्यार्थी अवाक् हुँदै गुरुसँग भन्छन्– गुरु शुल्क नै पन्ध्र हजार मात्रै हो । फेरि मैले साढे एक महिनाको कोर्स गरिसकेको छु । मेरा लागि त साढे सात हजार मात्रै हुनुपर्ने होइन र ? गुरु पुनः भन्नुहुन्छ– बाबु हेर तिमीले कसरी साढे एक महिना सिक्यौ मलाई थाहा भएन । तर, मैले तिमीले सिकेका कुराहरू सबै मेटाएर सिकाएँ भने मात्रै तिमीले राम्रोसँग सिक्न सक्छौ । त्यसकारण तिमीले सिकेको अल्पज्ञान मेटाउनका लागि पनि तिमीले शुल्क तिर्नुपर्छ।
गुरुले उनको सिकाइप्रति देखाएको सदाशयता र प्रतिबद्धताको स्तर देखेर विद्यार्थी मोहित हुँदै भर्ना भएर संगीत सिक्न थाल्यो र सबैभन्दा उत्कृष्ट विद्यार्थी भएर निस्क्यो।
नेपाल ऐतिहासिक संघारमा छ । प्रधानमन्त्री केपी शर्मा वलीले विकासका नीति तथा कार्यक्रम निर्माण गरेर कार्यान्वयन गर्ने साहस गर्नुभयो भने देशले उहाँकै कार्यकालमा चामत्कारिक फड्को मार्नेछ । कुनै पनि देशको विकासलाई सुधारात्मक विकास, परिवर्तन र रूपान्तरणको दृष्टिकोणबाट मापन गर्न सकिन्छ । विगतको भन्दा केही सकारात्मक सुधार हुनु केही किलोमिटर बाटो बन्नु, केही पुलहरू थपिनु, केही विद्यालय, स्वास्थ्य चौकी बन्नु, केही किलोमिटर नहर बन्नुजस्ता कुरा सामान्य सुधारात्मक विकास हुन् र यस्ता विकासका कार्य मिलिजुली हुन्छन्।
आजको अवस्थामा राम्रो सुधार भएर आर्थिक, समाजिक, सांस्कृतिक विकासको जग बस्नु भनेको परिवर्तन हुनु हो। यसका लागि पनि यति शक्तिशाली सरकार चाहिँदैन। सामान्य बहुमतको प्रतिबद्ध प्रधानमन्त्री हुँदा पनि परिवर्तन–विकास हुन सक्छ । तर आजको अवस्थामा आगामी २ वा ३ वर्षमा जनताको जीवनमा आमूल सकारात्मक रूपान्तरण भएर नयाँ जीवनशैली अपनाउन सक्नु भनेको रूपान्तरणकारी विकास हो । आज नेपाली समाजले त्यो अवस्थाका लागि निकै व्यग्रतासाथ प्रतीक्षा गरिरहेको छ । यसप्रकारको शक्तिशाली सरकार, सादगी, त्यागी, दूरदर्शी र जिम्मेवार प्रधानमन्त्री र देशैभरि व्यक्त भएको जनलहरले रूपान्तरणकारी विकासको वातावरण निर्माण भएको छ ।
अहिले नेपालमा हर दृष्टिकोणबाट रूपान्तरणकारी विकासका लागि परिस्थिति तयार छ । खाँचो छ त केवल राजनीतिक नेतृत्वको । इच्छाशक्ति र विकास प्राथमिकतासहितको नीति तथा कार्यक्रमहरूको । नेपालको नीति तथा रणनीति निर्माणको प्रक्रिया निकै पुरानो र स्टालिनकालीन समस्या सामाधान योजना पद्धतिमा आधारित छ । यसलाई बदल्नु जरुरी छ । अहिलेको जमाना रूपान्तरणकारी योजना पद्धतिका लागि सबलता र सम्भावनामा आधारित योजना पद्धति हो । प्रधानमन्त्री केपी वलीले विगतका सबै अल्पसिकाइहरूलाई मेटाएर एक्काइसौँ शताब्दीको सूचना, प्रविधि, ज्ञान, दक्षता, भूमण्डलीकरण आदिमा आधारित रहेर नेपाली जनतालाई सहभागी गराउने उद्देश्यले हर क्षेत्रमा न्यूनतम शासन भन्ने सिद्धान्तबाट निर्देशित भएर हाम्रा सबल पक्षहरू र सम्भावनाहरूमा आधारित भएर विकासको दूरदृष्टि, रणनीति र योजना निर्माण गर्नुपर्छ।
प्रसिद्ध व्यवस्थापन विज्ञ पिटर ड्रकरका अनुसार एक्काइसौँ शताब्दीमा अर्थ भनेको नै ज्ञान हो र आफ्ना सम्भावना र सबलताहरूलाई प्रष्फुटन गराउन सक्नेले नै अर्थ प्राप्त गर्न सक्छ । त्यसकारण नेपालका सबल पक्षहरू भनेका के के हुन्, ती सबैको सूक्ष्म रूपमा विश्लेषण गर्न सक्नुपर्छ । मुख्यतः नेपालको सबल पक्षहरू भनेको यहाँका उत्पादनशील जनशक्ति, जलवायु विविधतासहितको उत्पादनशील जमिन, सामाजिक विविधतासहितको सांस्कृतिक विविधता, पर्यावरणीय विविधतासहितको प्राकृतिक स्रोत र साधनहरू, अन्तर्राष्टिय सम्बन्ध र सञ्जालहरू, टोल टोलसम्म फैलिएका समुदायमा आधारित समूह र देशैभरिका जनताको रूपान्तरणको चाहना नै हाम्रो रूपान्तरणको सम्भावना हो।
देशमा हाल भइरहेका संरचनाहरूमा व्यापक रूपान्तरण गर्न जरुरी छ र त्यसको सुरुवात सबै तहको नेतृत्वबाट गर्नुपर्छ । वार्डदेखि संघीय सरकारका प्रमुख र समुदायमा आधारित संस्थाका प्रमुखदेखि संघीय सरकारका मन्त्रीहरू सबैमा आमूल रूपान्तरणकारी सोचको आवश्यकता हुन्छ भने एक्काइसौँ शताब्दीको विकास र ती विकासमा सकारात्मक प्रभाव पार्ने क्षेत्रहरू पहिचान गरी कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गर्न सक्ने साहस गर्न सक्नुपर्छ।
एक्काइसौँ शताब्दी सहकार्य, सद्भाव, सहअस्तित्वको हो । सामाजिक संस्कारहरू, मूल्य मान्यता जस्ता कुराहरू समाजका अलिखित कानुन हुन् । अन्धविश्वासलाई वैज्ञानिक दृष्टिकोणमा आधारित चेतनाले प्रतिस्थापन गर्नुपर्छ । समाजमा व्याप्त जातीय छुवाछूत, दाइजो, छाउपडी, बालविवाह, बोक्सीजस्ता कुरा सामाजिक संस्कारका उपज हुन् । यी अन्त्य गर्न व्यक्तिको चेतना अभिवृद्धि गर्ने रणनीति निर्माण गरी कार्यान्वयन गर्नुपर्छ।
लोकतन्त्र, संघीयता र नेपालको विविधतामा आधारित शिक्षा प्रणाली, वर्षेनि पाँच लाख युवाहरूले वैज्ञानिक ज्ञान र सीप प्राप्त गर्ने गरी करिब दुई हजार बहुप्राविधिक विद्यालयहरूको स्थापना, करिब तीन हजार जति किसान विद्यालय, राष्ट्रिय गौरवका आयोजनाहरूलाई समय अगावै सम्पन्न, नरम शक्तिका रूपमा रहेको कला तथा संस्कृतिको विकासका लागि प्रत्येक प्रदेशमा संस्कृति विश्वविद्यालयको स्थापना, विज्ञान तथा प्रविधिको विकासका लागि प्रत्येक प्रदेशमा विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थापना, प्रत्येक सरकारी विद्यालयहरूका अन्तर्राष्टिय स्तरका भौतिक पूर्वाधारहरको व्यवस्था, सबै शिक्षण तालिम केन्द्रहरूको आधुनिकीकरण, स्वास्थ्य केन्द्रहरूको आधुनिकीकरण, स्थानीय स्रोत र साधानमा आधारित साना तथा मझौला उद्योगहरूको स्थापनामा सहयोग तथा चीनसँग बिप्पा सम्झौता हुनुपर्छ।
प्रकाशित: ११ फाल्गुन २०७४ ०३:५५ शुक्रबार