नेपालको पर्यटकीय इतिहास केलाउने हो भने नेपाल एक प्रमुख धनाढ्य गन्तव्य रहेको पाइन्छ। तर एक्कासि हिप्पीहरूको आगमनपछि भने नेपाल हिप्पीहरूको स्वर्गकै रूपमा पश्चिमेली मुलुकहरूमा चिरपरिचित हुन पगेको छ।
आज पनि नेपालमा आउने ठूलो जमात छ जो हिप्पी त होइनन्, अहिले विश्वमा भइरहेको युद्ध र हिंसाबाट आक्रान्त छन्, आजित अनि थकितसमेत छन्। तिनीहरू शान्तिको खोजीमा देश–विदेश घुमिरहन्छन्। यी युवा जमातहरू संगीतमा झुम्न र घुम्न रुचाउँछन्।
युवाहरूको यही रूचिलाई बुझेर अमेरिकी तथा युरोपेली राष्ट्रहरूले ठूला–ठूला अन्तर्राष्ट्रिय स्तरका म्युजिकल सो,, फेस्ट तथा पार्टीहरूमा समेत लगानी तथा समन्वय गरिरहेका हुन्छन्। युरोपको मुटु मानिने बेल्जियममा टुमरोल्यान्ड, इजरायलमा सुपरनोभा फेस्टिभल, भारतको गोवामा सनडाउन फेस्टिभल जस्ता कार्यक्रमहरू गरेर विदेशी युवा–युवतीहरूलाई भित्र्याइरहेका छन्। विश्वमै कट्टर कहलिएको इस्लामिक राष्ट्रहरूमा समेत अचेल पर्यटक भित्र्याउन यस प्रकारका कार्यक्रम सञ्चालनमा आइरहेका छन्।
नेपालमै पनि विभिन्न कन्सर्ट र यस्तै ठूला ठूला सांगीतिक कार्यक्रमहरू गराउन सकेमा पर्याप्त लाभ लिन सक्छन् त्यस गन्तव्यका व्यापार तथा व्यवसायहरूले। केही महिनाअगाडि नेपालकै सुदूरपश्चिम प्रदेशमा र्यान्बो ग्यादरिङ गर्न खोज्दा कर्मचारीतन्त्रले बन्देज लगाएको समाचार छ। कर्मचारीतन्त्रसँग जुधेर भए पनि विभिन्न ४० राष्ट्रबाट आएका आगन्तुक र संगीतप्रेमीहरूलाई बल्लतल्ल यस कार्यक्रम गर्न खुला गरिएको थियो।
सरकारले यस किसिमको कार्यक्रम गर्र्न लगानी नगरे तापनि यस प्रकारका कार्यक्रमलाई प्रश्रय भने दिनुपर्ने देखिन्छ। नेपाल पर्यटन बोर्डमार्फत यस किसिमका आयोजकहरूसँग आवश्यक समन्वय गरेर केही आर्थिक सहयोगसमेत गर्न सकेमा नेपालको हितमा नै हुनेछ। तर प्रश्न उठ्न सक्छ कि यस प्रकारका कार्यक्रमहरू गरेमा देशको मौलिकता हराउँछ र समाजमा दीर्घकालसम्म सांस्कृतिक अपचलन भने रहिरहन्छ।
हजारौँको सोच र जीवनशैली अत्यन्तै नाजुक हुन पुगेको छ। विशेषतः विकसित मुलुकका युवा–युवतीहरू निकै भावुक र नाजुक हुन पुगेका विभिन्न शोध तथा तथ्याङ्कबाट उजागर हुन पुगेको छ। नेपाल यस्तो उत्कृष्ट गन्तव्य हुन सक्छ जहाँ आफैँलाई कायाकल्प गर्न सकिन्छ। नेपाल आध्यात्मको समेत केन्द्र हो भनि विभिन्न आध्यात्मिक गुरूहरू मार्फत प्रचार गर्न सके पर्यटनहरू भित्र्याउन मद्दत पुर्याउने निश्चित छ।
म धनगढीमा पर्यटकीय कार्यशाला तथा गोष्ठीमा रहँदा हालका नगर प्रमुख गोपी हमालले प्रस्ताव गरेअनुसार खप्तडमा यस्तै आध्यात्मिक केन्द्र बनाएर बजारीकरण गर्नुपर्ने बताउनुभएको थियो। यस विषयलाई योजनाबद्धरूपमा अगाडि बढाउन नेपाल सरकारले नै आवश्यक कार्यक्रम तथा नीति तर्जुमा गरी स्थानीय सरकार र परामर्शमार्फत मूर्तता दिन सकिने अवस्था छ।
फिल्म पर्यटनमा नेपालले एउटा विशिष्ट पहिचान बनाइसकेको छ। चलचित्रमार्फत नेपालको बजारीकरण गरिँदा पर्यटनको गुदी मानिने कथावाचनलाई समेत हामी विश्वसामु प्रचार गरिरहेका हुन्छौँ। नेपालका विभिन्न ठाउँमा फिल्म नगरी बनाउने परियोजनाहरूसमेत बनिसकेका छन्। यद्यपि नेपालमा चलचित्र छायाङ्कनमा भने प्रशासकीय झन्झट भने रहिआएको छ।
उच्चकोटिको छायाङ्कनका निम्ति उच्चस्तरीय नै उपकरणहरूको खाँचो हुन्छ। नेपालमा यस्ता उपकरणलाई भारतमार्फत ल्याउने गरिएको पाइएको छ। र, यस्ता उपकरण ल्याउँदा चर्को भन्सार, प्रबन्धपत्र र अनुमतिका लागि झेल्नुपर्ने परिस्थितिले चलचित्र निर्माताहरू नै नेपालमा छायाङ्कन गर्न निरुत्साहित हुन पुगेका छन्। केही गरिहाल्नुपर्ने पहलकदमी भने निम्नबमोजिम छ:
– चलचित्र विकास बोर्डसँग विदेशी चलचित्र निर्माताहरूलाई अनुमित दिएसँगै सो पत्र या अनुमतिका आधारमा उपकरणहरू फर्काउने सर्तमा भन्सार मिनाहा गर्ने।
– विभिन्न स्थलमा लाग्ने शुल्कहरूको एकद्वार नीतिमार्फत बाँडफाँट गर्ने। यसका लागि चलचित्र निर्माणका लागि तिरिएको शुल्क जुन चलचित्र विकास बोर्डमा तिरिन्छ त्यसकै आधारमा संविधानमै उल्लिखित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट स्थानीय तह, प्रदेश र संघमा आय बाँड्नका निम्ति कार्यविधि बनाइ चलचित्र छायाङ्कनमा सहजता अपनाउनैपर्ने रहन्छ। र, कुनै किसिमका उपकरण चलाउनका निम्ति सोही अनुमतिपत्रमा खुलाएबमोजिम स्थानिय प्रशासनबाट अनावश्यक चेकजाँच र कडाइसमेत हटाउँदै लैजाने।
– अहिले चलचित्र उद्योग कायापलट भएको छ। ओटिटीमार्फत विभिन्न वेबसिरिजहरू हेर्ने प्रचलन ह्वात्तै बढेको छ। नेटफ्लिक्स, एमाजन प्राइम÷एचबिओ जस्ता प्लेटफर्महरू अहिले विश्वविख्यात छन्। विश्वप्रख्यात वेब सिरिजको छायाङ्कन युरोपका आयरल्यान्डमा भएको हो। यसका लागि आयरल्यान्डले अपनाएको नीति एकदमै स्वागतयोग्य रहेको पाइन्छ ।
सहुलियत र विशेष कर छूटमार्फत आयरल्यान्डमा उक्त सिरिजको छायाङ्कन गर्न त्यहाँको प्रशासनले निक्कै कसरत गरेको पाइन्छ। नेपालमा समेत चलचित्र छायाङ्कनका निम्ति यस्ता ओटिटी प्लेटफर्महरूलाई विशेष आमन्त्रण गरिहाल्नुपर्ने हुन्छ। यसका लागि उक्त प्लेटफर्ममा नेपालमा चलचित्र छायाङ्कनका लागि वेब सिरिजहरू बनाउनका लागि थोरै लगानी गर्नुपर्छ । जस्तो कलाकारहरूको होटलको खर्च बेहोर्ने, उपकरण सित्तैमा भित्र्याउन अनुमति दिने। प्लेटफर्मलाई नेपालसम्बन्धी सामग्री देखाउनका निम्ति प्रोत्साहनस्वरूप रकम नै उपलब्ध गराउने आदि ।
–लेखक नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय–पोखरामा कार्यरत छन्।
प्रकाशित: २५ पुस २०८० ००:४० बुधबार