१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

दलित ज्ञानमै विभेद

सदियौँबाट कृषि मजदूरका रूपमा कृषि ज्ञान र औजार उत्पादनदेखि सञ्चालनसम्म गर्दै आएका दलितहरूको पहुँच कृषिकै शिक्षामा अत्यन्त कम छ। कृषि मजदूरका सिपलाई कृषि शिक्षामा समावेश नगरेसम्मर तिनका सन्तानलाई कृषि अध्ययन–अनुसन्धानबाट वञ्चित गराइएसम्म देशमा कृषि क्षेत्रको माटो सुहाउँदो विकास सम्भव छैन।

सन् १९७२ बाट त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको विकास गरी नेपालमा पहिलोपटक स्नातक तहमा कृषि पढाउन थालियो।

कृषि पढाउने विश्वविद्यालयले समानुपातिक समावेशिताको सिद्धान्तअनुरूप कुल विद्यार्थी सिट संख्याको ४५ प्रतिशतलाई पूर्ण मानी त्यसको नौ प्रतिशत दलित कोटा छुट्याएका छन्। एकाधबाहेक सोही आरक्षित कोटाअन्तर्गत नै दलित विद्यार्थी भर्ना भइ पढिरहेका छन्।

वि.सं. २०७८/७९ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुर, चितवनमा भर्ना भएका १६८ जनामध्ये जम्मा आठ जना दलित विद्यार्थी छन्।

जुन ४.७ प्रतिशत हो। त्रिविको सहायक क्याम्पस पक्लिहवामा कृषि संकायको कुल १०० जनामध्ये एक जना दलित विद्यार्थी भर्ना भए। जुन एक प्रतिशत हो। त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयमा पनि त्यही आ.व.मा ११० जना विद्यार्थीमध्ये पाँच जना दलित विद्यार्थी भर्ना भएका छन्। जुन ४.५ प्रतिशत हो।

नेपालमा दलितले पढ्न पाएकै जम्माजम्मी ७२ वर्ष जति भयो। २००८ असोज १५ गते नेपाल गजेटमा शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाम्रा अछूत कहलाइएका भाइहरूले पनि शिक्षालयमा अरू जात सरह पढ्न पाउने’ भनेको थियो। तत्पश्चात् बल्ल दलित त्यसमाथि पनि पुरुषले मात्रै पढ्न पाएका थिए।

अन्य जातजातिको शिक्षित पुस्ता मनग्य हुँदा दलितहरूमा भने शिक्षा बल्ल पहिलो, दोस्रो हुँदै, तेस्रो पिँढीमा पुग्न थालेको छ। यद्यपि, यी तेस्रो पुस्ताहरू नै स्नातकमा प्रवेश पाउने पहिलो पुस्ता पनि हुन्।

यस हिसाबले शिक्षा जस्तो मानव विकासको महत्वपूर्ण अंगलाई व्यावसायिक रूपमा अपनाउने दलित समुदायमा पुस्ता उत्पादन हुन बाँकी नै छ।

गुणस्तर शिक्षाका लागि विद्यालयदेखि कलेज, कोचिङ सेन्टरदेखि तयारी कक्षाहरू दलितको आर्थिक हैसियतभन्दा परका छन्। दलित समुदायका शिक्षकहरूको सहभागिताले पनि दलितमैत्री वातावरण बनाउन सघाउँछ। शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई सहज, विश्वसनीय र सुरक्षित बनाउन सहयोग पुर्‍याउँछ।

दलित विद्यार्थीले औपचारिक तवरमा हासिल गर्ने शैक्षिक प्रमाणपत्रको व्यावसायिक सम्भाव्यतालाई हौसला प्रदान गर्छ। ‘दलितले जति पढे पनि उही हलो जोत्ने हो, बाउबाजेको बिँडो धान्ने हो, धेरै नै गरे भने त्यही खाडी नै त जाने हो’ भन्ने मानसिकता परिवर्तन गर्न सक्छ। तर यस्ता शैक्षिक संस्थानहरूमा पढाउने दलित जनशक्ति एकदमै थोरै वा शून्य छन्। बर्सेनि करिब दुई हजार विद्यार्थी पढाउने कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा दलित समुदायका प्राध्यापक नै छैनन्।

कृषि स्नातक अध्ययनका लागि प्लस टु विज्ञान वा आइएससिएजी (कृषि डिप्लोमा)को प्रमाणपत्र पेस गरी लिखित प्रवेश परीक्षाबाट नाम निकाल्नुपर्छ। जुन परीक्षा नेपालकै कठिन र प्रतिस्पर्धात्मक पनि मानिन्छ।

प्रतिस्पर्धात्मक क्षमताका निमित्त गुणस्तरीय शिक्षा लिनु आवश्यक छ। जस्तै– एसइइमा जिपिए उत्कृष्ट नल्याए निजी कलेजहरूले प्लस टुमा विज्ञान विषयमा भर्ना लिन रुचाउँदैनन्।

 सरकारीमा कम लगानीमा कम गुणस्तर शिक्षा लिएर आएका दलित विद्यार्थीलाई भर्ना हुनै कठिन छ। कठिनाइकासाथ भर्ना भइसकेपछि आर्थिक, सामाजिक र पारिवारिक सहयोगबिना उत्कृष्ट नतिजा ल्याउन झन् कठिन छ। प्लस टु विज्ञान पढिसकेपछि, प्रवेश परीक्षा तयारीकक्षा नलिँदासम्म नाम निस्कने सम्भावना कमै हुन्छ।

यस्ता कक्षाहरू साह्रै महँङ्गा र काठमाडौँ, चितवनलगायतका शहरमा सञ्चालित छन्। जुन सामान्य दलितका पहुँच बाहिर छन्। यी सबै तयारीपश्चात मात्रै कृषिमा स्नातक पढ्ने सम्भावनाको ढोका खुल्छ। ढोका खुले पनि त्यहाँ टिक्न मुस्किल छ।

आज कृषि क्षेत्रको नीति नियम बनाउनेदेखि लिएर अध्ययन/अनुसन्धान गर्ने क्षेत्रसम्म हलो जोत्नुहुँदैन, कुखुरा पाल्नुहुँदैन, बंगुर छुनुहुँदैन भन्ने कृषिविरोधी संस्कृति निर्माण र अभ्यास गर्नेहरूकै हालीमुहाली छ।

कृषि औजार बनाउनेदेखि अर्जाप्नेसम्म, हलो बनाउनेदेखि जोत्नेसम्म, ब्याडदेखि भकारी बनाउनेसम्म सम्पूर्ण मजदूरी गर्ने दलितका कृषि ज्ञान, कला र सिपलाई समेत कृषि शिक्षामा स्वीकृत र समावेश गरिएको छैन। कृषि स्नातकको चार वर्षे आठ वटा सेमेस्टरको पाठ्यक्रममा त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः ६७, ६० र ५७ वटा विषय पढाइन्छ। तर नेपाली कृषिको सिङ्गो इतिहास बोकेका दलितका कृषि ज्ञानको बारेमा पढाइ हुने एउटा पनि विषय छैन।

एक, यतिका वर्षमा पनि दलित समुदायका अमूल्य ज्ञान र सिपलाई शिक्षा प्रणालीद्वारा संरक्षण, संवर्धन र प्रवद्र्धन गरिएको छैन। दुई, उच्च शिक्षामा यिनै ज्ञानलाई प्रत्यक्ष देख्दै, भोग्दै, सिक्दै आएका दलित समुदायका नयाँ पुस्ताको उपस्थिति न्यून छ। यत्ति दुइ कुरा मात्र हाम्रो कृषि प्रणाली र अध्ययन, अध्यापनमा लागु गरिएको भए आज हामी हाम्रै मौलिक कृषि ज्ञानको आधुनिकीकरण गर्नेतर्फ लम्किरहेका हुन्थ्यौँ।

–लेखक दलित रिडरद्वारा सञ्चालित ‘सामाजिक न्यायका लागि लेखन कार्यक्रम’का सहभागी हुन।

प्रकाशित: १७ पुस २०८० ००:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App