केही वर्षयता दक्षिण एशियामा यसअघि कहिले नदेखिएका सकारात्मकघटनाहरू विकास भएका छन्। कुनैबेला द्वन्द्व र हिंसाका घटनाहरू बढी सुनिने यस क्षेत्रमा शान्ति, समृद्धि र प्रगतिका आवाजहरू गुञ्जिएका छन्। गरिबीको समस्यासँग जुधेको यो क्षेत्र विस्तारै समृद्धितर्फ बढेका सन्देशहरू निरन्तर प्रवाह भइरहेका छन्।
यसैगरी बढेमा दक्षिण एशिया निकट भविष्यमा समृद्ध, शान्त र निकै प्रभावशाली क्षेत्रका रूपमा विश्वमा चिनिन पुग्नेछ। परिवर्तित विश्व व्यवस्थामा पृथक पहिचान र निकै सशक्त प्रभाव स्थापित गर्नेछ।
भारतले यसै वर्ष जी ट्वेन्टी सम्मेलन आयोजना गर्नु सामान्य घटना थिएन। सम्मेलनको पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले समेत सराहना गरे। उनले भारतका प्रगतिहरूबारे बोल्दै जी ट्वेन्टी सम्मेलन गर्ने उचाइमा पाकिस्तान पुग्नुपथ्र्योसम्म भने। भारतले चन्द्रयानको सफल अवतरण गराएकामा समेत प्रशंसा गर्दै त्यो सफलता पाकिस्तानले पहिल्यै पाउनुपथ्र्याे भने।
दक्षिण एशियाको सबैभन्दा ठूलो मुलुक भारतले गरेका यी प्रगतिहरू सिंगो क्षेत्रका लागि पनि गर्वलायक विषय थियो भन्ने सरिफको भनाइले पनि देखाउँछ। विश्वकै शक्तिशाली देशका नेताहरू दिल्लीमा एकसाथ जम्मा हुनु भारतको आाधुनिक इतिहासमा सम्भवतः पहिलो घटना थियो। यसले भारतप्रति मात्र नभई सिंगो दक्षिण एशियाप्रतिको विश्व दृष्टिकोण र परिचय नै बदलिदियो।
भोक, रोग, अशिक्षा र अहिंसासँग लड्दै आएको दक्षिण एशियाले विकासमा निकै ठूलो फड्को मार्दै गएको छ। भारतको खगोल विज्ञान मात्र नभई खोपको क्षेत्रमा पनि फड्को विश्वकै लागि चासोको विषय बनेको छ।
कोभिड–१९ महामारीका बखत भारतले खोप बनाएर विश्वमै उपलब्ध गरायो। दक्षिण एशियाका कतिपय मुलुक पनि लाभान्वित भए। यसकारण पनि यो भारतको मात्र नभई सिंगो दक्षिण एशियाको उपलब्धि थियो। एउटा देशको उपलब्धिले यो क्षेत्रलाई नै प्रगतितर्फ द्रुत गतिमा बढाउँछ भन्ने धेरै उदाहरण दक्षिण एशियामा छन्।
एक देशको उपलब्धि अर्को देशका लागि लाभदायक बन्न सक्छ। खोप र विभिन्न अन्वेषणबाट छरछिमेक पनि लाभान्वित भए। छिमेकीमा हुने सकारात्मक गतिविधिको असर अर्को छिमेकमा सकारात्मक हुन्छ भन्ने उदाहरण हो यो।
दक्षिण एशिया सन् २०१४ देखि द्रुत आर्थिक विकास गरिरहेको क्षेत्र रहेको एशियाली विकास बैंकले उतिबेलै उल्लेख गरिसकेको थियो। चीन, दक्षिणपूर्वी एशिया, प्यासिफिक क्षेत्रमा भन्दा दक्षिण एशियाले तीव्र आर्थिक फड्को मार्न सक्यो। विशेषगरी भारत र बंगलादेशको आर्थिक वृद्धि तीव्र रह्यो।
भुटान र माल्दिभ्सको आर्थिक वृद्धि पनि तीव्र रह्यो। माओवादी हिंसाबाट मुक्ति पाएको नेपालको आर्थिक विकासले पनि गति लिन सक्यो। आन्तरिक समस्या र बाह्य ऋणका कारण पाकिस्तान र श्रीलंका केही समस्यामा परे।
अफगानिस्तानले अतिवादी तालिवानको शासनका कारण विकासको गति लिन सकेन। यसका बाबजुद दक्षिण एशियाका अधिकांश मुलुकको आर्थिक वृद्धिदर संकटका बेलामा पनि तीव्र नै रह्यो।
एक दशकयता दक्षिण एशियामा ठूला युद्ध र संकटहरू शायदै भए। अफगानिस्तानको सत्तामा तालिवानको कब्जा मात्र हिंसाको बलमा सत्ता कब्जाको घटना थियो। श्रीलंकामा आर्थिक संकटले शासक फेरिए। पाकिस्तान राजनीतिक स्थायित्वको प्रयासमा बढिरह्यो। बाँकी देशमा राजनीतिक अस्थिरता खासै देखिएन। राजनीतिक स्थिरता र शान्तिले कुनै पनि देशलाई सम्पन्नतातर्फ बढाउँछ भन्ने उदाहरण भारत, बंगलादेश र भुटान जस्ता देश रहे दक्षिण एशियामा। तीनवटै देशमा सरकारको नेतृत्वकर्ता बारम्बार फेरिएनन्।
भारतले नरेन्द्र मोदी नेतृत्वको सरकारमार्फत नौ वर्षभित्र ठूलो प्रगति गर्यो। यसबीच भारतले विश्वका ठूला अर्थतन्त्र रहेका देशहरूको सम्मेलन जी ट्वेन्टी गरेर विश्वभर आफ्नो सशक्त उपस्थिति देखाउन सक्यो। विश्व राजनीतिमा भारतको बलियो पहिचान स्थापित भयो। चन्द्रमामा यानको सफल अवतरण गर्ने चौंथो देश पनि बन्यो। बंगलादेशको विकास मोडल पनि विश्वमै उदाहरणीय बन्यो। पूर्वाधार विकासमा उसले फड्को मार्यो। भुटान विश्वमै खुशी मानिसहरूको देशको परिचय बनाउन सक्यो।
विश्वको कुल जनसंख्याको २५ प्रतिशत अर्थात २ अर्ब दक्षिण एशियामा छ। जसमध्ये उल्लेख्य संख्या युवा छन् जुन एक युगमा एकपटक मात्र हुनसक्छ। यसकारण दक्षिण एशियाका लागि जनसंख्या नै आफ्नो मुख्य शक्ति हो। विश्वकै ठूलो देश भइकन जनसंख्या कम हुँदा रुसले समस्या भोगिरहेको छ।
भ्लादिमिर पुटिन साइबेरियाको अथाह खनिज स्रोतभन्दा ठूलो स्रोत जनसंख्या हो भनिरहेका छन्। जन्मदर घट्न थालेपछि चीनका राष्ट्रपति सी चिनफिङ नवयुवतीहरूलाई विवाह गर्न आह्वान गरिरहेका छन्। काम गर्ने उमेर घट्न थालेपछि जापान, अस्ट्रेलिया र युरोपका कतिपय मुलुकले अन्य देशबाट युवा आकर्षित गरिरहेका छन्। विश्वका समृद्ध देश र क्षेत्रले जनसंख्याको चुनौती सामना गरिरहँदा दक्षिण एशिया आफ्नो प्रचुर युवाले हराभरा छ।
दक्ष युवाबाट यो क्षेत्र अझ समृद्ध हुने आधारहरू प्रशस्त छन्। त्यसको सदुपयोग गर्ने क्षमता यहाँका नीतिनिर्माणकर्ताहरूमा हुनसक्नुपर्छ। ऐतिहासिक दृष्टिले दक्षिण एशिया अति विकसित क्षेत्र थियो।
इन्दस भ्याली, हडप्पा, मोहिन्जोदारो जस्ता महत्वपूर्ण सभ्यता यहाँ सिर्जना भएका थिए। संसारका दुई महान् धर्म हिन्दु र बौद्ध यहीँ प्रादुर्भाव भएको थियो। हिन्दु धर्मका महान् ऋषिहरू नेपालमा जन्मिएका थिए। बुद्धको जन्म नेपालमै भयो। बहुप्रतिभाशाली ऋषिमुनीहरू यहीँ जन्मिए जसले संसारमा विज्ञानको विकास गर्नुका साथै महान् ग्रन्थहरू रचे।
दक्षिण एशियाको सबैभन्दा ठूलो चुनौती देशहरूभित्रको आन्तरिक समस्या र एकापसबीचको द्वन्द्व हो। विशेषगरी भारत र पाकिस्तानबीचको द्वन्द्वले यो क्षेत्रको प्रगतिलाई नै बाधा पुर्याउने गरेको छ। यिनको द्वन्द्वमा पनि केही विश्व शक्तिले खेल्ने गरेका छन्। जसको मूल्य सिंगो दक्षिण एशियाले चुकाउनुपरेको छ।
आन्तरिक द्वन्द्वको समस्या सबैजसो दक्षिण एशियाली देशहरूले सामना गरिरहेका छन्। भारत र पाकिस्तान दुवै पृथकतावादी गतिविधिको समस्या भोगिरहेका छन्। अफगानिस्तानको समस्या भयाबह छ। नेपाल, श्रीलंका र माल्दिभ्सको आन्तरिक समस्या पनि चुनौतीपूर्ण छन्। यी सबै सिंगो दक्षिण एशियाका बाधक हुन्।
वास्तवमा दक्षिण एशियाली मुलुकमध्ये भारतको तीव्र विकास र महत्वाकांक्षी योजनाहरू लोभलाग्दा छन्। उसले जी ट्वेन्टीको सम्मेलन सफलतापूर्वक गरेसँगै खगोल विज्ञानमा पनि महत्वपूर्ण उपलब्धिहरू हासिल गरिरहेको छ।
भारतले भविष्यमा ओलम्पिक खेल आयोजनाका लागि दाबी प्रस्तुत गर्ने घोषणा गरिसकेको छ। यो तहको प्रगति भारतका लागि मात्र नभई दक्षिण एशियाका लागि पनि लाभदायक हुनसक्छ। छिमेक प्रथमको नीति लिएको भारतको वर्तमान मोदी सरकारले आफ्ना कतिपय उपलब्धि र प्रगतिमा छिमेकलाई पनि साझेदार बनाउनसक्नुपर्छ। भारतलगायत दक्षिण एशियाका कुनै पनि मुलुकको विकासको लाभ अर्को मुलुकले पनि लिन सक्ने समन्वयकारी परिस्थिति विकास गर्नुपर्छ।
प्रकाशित: ४ मंसिर २०८० ००:३८ सोमबार