एक शताब्दी जहानियाँ राणातन्त्रविरुद्ध नेपाली कांग्रेसले २००७ कात्तिक २६ गते वीरगन्जमाथि पहिलो आक्रमण गरी सुरु गरेको थियो। त्यसअघि राणातन्त्रविरुद्ध केही युवाले विद्रोह गरी सहादत दिएका थिए।
१९९७ माघमा राणाहरू विरुद्ध विद्रोह गरेका क्रमशः शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएको थियो। यसका विरुद्धमा नेपाल बाहिर दार्जिलिङमा शोकसभा आयोजना गरियो। यसमा दार्जिलिङ, कालिम्पोङ, खस्र्याङ क्षेत्रका चेतनशील नेपालीले ती सहादत प्राप्त सुपुत्रहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कडा विरोध गरेका थिए। त्यस सभामा बिपी कोइराला, घरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, हरिप्रसाद प्रधान नेपालका पूर्वप्रधानन्यायाधीश, शिवकुमार राई, रूपनारायण सिन्हा, महानन्द सापकोटा, देवप्रकाश राई आदि थिए।
शोकसभामा वीर सपुतहरूलाई पहिलो पटक त्यसै दिन बिपीले ‘हाम्रा अमर सहीदहरू’ भनेर श्रद्धाञ्जली अर्पण गरेका थिए र सम्पूर्ण राजबन्दीको विनासर्त रिहाइको माग गरेका थिए।
त्यसै दिन उनले राणातन्त्र समाप्त पार्न एउटा राजनीतिक संगठनको आवश्यकता भएको बताएका थिए। वास्तवमा भन्ने हो भने त्यही दिन कांग्रेसको जगको शिलान्यास भएको थियो।
भारतमा अंग्रेजविरुद्ध पनि आन्दोलन भइराखेको थियो ती आन्दोलनमा बिपी लगायतका नेता संलग्न थिए। बिपी, सूर्यप्रसाद उपाध्याय, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी, राजेश्वरी उपाध्याय इत्यादि गिरफ्तार भई भारतका विभिन्न जेलमा बन्दी बनाइए।
खासगरी महात्मा गान्धीले सन् १९४२ अगस्त ८ का दिन भारतीय कांग्रेसको सम्मेलनमा अंग्रेजविरुद्ध ‘गर कि मर’ भन्ने नारा आह्वान गरेपछि सबै नेता कार्यकर्ता आन्दोलनमा जुटे। त्यही क्रममा बिपी पनि थुनिए।
त्यसैबीच राणा शासकले भारतीय नेताहरू भूमिगतरूपमा भएका कुरा थाहा पाएपछि तिनीहरूलाई सेना पठाइ गिरफ्तार गरेर तत्कालीन सप्तरीको सदरमुकाम हनुमाननगर जेलमा बन्दी बनाए।
यसरी बन्दी बनाइएकोमा सुरुङ जंगलमा तालीम चलाई बसिरहेका भारतीय आन्दोलनकारीले थाह पाइ रातारात वरसाइनस्थित रामेश्वरप्रसाद सिंहको घरमा आई ती नेतालाई जेलबाट कसरी निकाल्ने भनी सल्लाह गरे। त्यसअनुसार रामेश्वर बाबुले आफ्नो भतिजा तारिणी सिंहलाई गाइडका रूपमा सहयोग गर्न ती आन्दोलनकारीसँगै पठाए।
रातारात ती बन्दूकधारी आन्दोलनकारीले हनुमाननगर जेलमाथि आक्रमण गरी ती भारतीय नेताहरूलाई जेल तोडी भगाए। जेलमाथि आक्रमण गर्नुभन्दा अघि नजिकै रहेका वडाहाकिमको निवासमाथि बन्दूक फायर गरे। बडा हाकिम लुकेर भागे।
यसरी सप्तरीका जनताले भारतीय नेताहरूलाई जेल तोडी भगाए। राणाशासक विरुद्ध सप्तरी, हनुमाननगरमा पहिलो गोली चलेको थियो। यस घटनाले राणा शासकको विरोधमा क्रान्ति गर्न हौसला प्राप्त भएको थियो। उता राणातन्त्रको विरोधमा बिपीले २००३ सालमै नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरी सशस्त्र क्रान्ति गर्ने वातावरण निर्माण गरिरहनुभएको थियो। २००६ साल चैतमा बिपी नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेस तथा सुवर्णशमशेर नेतृत्वको नेपाल प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो।
अब जनक्रान्तिका लागि नेताहरूबीच सरसल्लाह हुन थाल्यो। त्यसका लागि चाहिने आर्थिक स्रोत कसरी व्यवस्थापन गर्ने भन्नेतिर तिनीहरू लागे। यसका लागि बिपी र सुवर्ण शमशेरबीच संवाद भयो। सशस्त्र जनक्रान्तिका लागि चाहिने हतियारका लागि बर्मासित सम्पर्क गर्ने भनी नेताहरूबीच निर्णय भयो। त्यसअनुसार बिपीले बर्माका तत्कालीन प्रतिरक्षा मन्त्री उवास्वेसित भेट्ने विचार गरे। महावीरशमशेरको डाकोटा विमानबाट हतियार ल्याइयो र पटना नजिकैको बिहरा भन्ने ठाउँको मैदानमा भण्डारण गरे।
कांग्रेसले २००७ असोज १० गते रौतहट सिमानाको नजिकै बिहारको वैरगनियाँमा सम्मेलन बोलायो। जसले मातृकाप्रसाद कोइराला, बिपी र सुवर्णशमशेरलाई आन्दोलनको जिम्मा दियो। जन क्रान्तिको सफलताका लागि राजा त्रिभूवनलाई राजदरबारबाट भगाएर अन्यत्र ठाउँमा लैजाने बिपीको विचार थियो। यसका लागि राजासित सम्पर्क सूत्र स्थापित गरे। त्रिभुवनलाई भारतीय राजदूतावासमा कात्तिक २४ गते ल्याउन सफल भए। त्यसपछि कात्तिक २६ गते भारत सरकारबाट पठाएको विशेष विमानद्वारा उनलाई दिल्ली लगियो।
संयोगवस कांग्रेसका मुक्ति सेनाले त्यही दिन अर्थात् २००७ कात्तिक २६ गते वीरगन्जमाथि आक्रमण गरे। अघिल्लो साँझ थीरबम मल्ल, मेजर पूर्ण सिंह खवास र जिबी याक्थुम्बा नेतृत्वमा कलकत्ताबाट आएको एक सय जना जति जनमुक्ति सेनाका सशस्त्र दस्ता रक्सौलमा रेलबाट उत्रेर नेपाल–भारत सीमा सिर्सिया नदी पार गरी वीरगन्ज आइपुगे।
सर्वप्रथम सिमामा रहेका पुलिस चौकीमाथि हमला गरी ध्वस्त पारे। मुक्ति सेनाले आव्रmमण गरेकै दिन वीरगन्ज सहर पुरै घुमेर जहाजले राणा शासकविरुद्ध पर्चा छरेको थियो। वडाहाकिमलाई पनि जनमुक्ति सेनाले तुरुन्तै विना रक्तपात बन्दी बनायो।
मुक्तिसेना र सरकारी सेनाबीच घमासान फायरिङ भइराखेको थियो। थीरवम मल्ल बडाहाकिमको गोश्वारातिर आइरहेका थिए। बाटोमा मानिसको भीड देखेर सम्झाइरहेका बेला पछाडिबाट दुई जवान आएर उनलाई गोली हानी मारे। यसरी थीरबम मल्ल जनक्रान्तिको पहिलो सहीद बन्न पुगे।
उता मुक्तिसेना र सरकारी सेनाबीच दिनभरि दोहोरो फायरिङ भइ मुक्ति सेनाले ब्यारेकभित्र गइ सम्पूर्ण सेनालाई आत्मसमर्पण गराए। यसरी वीरगन्ज सहर कांग्रेसको पूर्ण कब्जामा आयो। यसरी विराटनगरमा पनि जनमुक्ति सेना र सरकारी सेनाबीच घमासान भिडन्त भयो।
कात्तिक २६ गतेका दिननै विराटनगरमा सशस्त्र क्रान्ति प्रारम्भ भएको थियो। विराटनगरका कमान्डर थिए केशवप्रसाद कोइराला। त्यसमा लडाकुहरूमा तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहन्द्रहरि शर्मा, विश्वबन्धु थापा, युवराज अधिकारी, कालिका गुप्ता तथा भारतीय समाजवादी युवाहरू फणीश्वरनाथ रेणु, भोला चटर्जी, डा.कुलदीप झा, दशरथ चौधरी, फेकन चौधरी इत्यादि थिए। विराटनगर कब्जा गर्न करिब ८० जनाको एउटा दस्ता कात्तिक २६ गते एकत्रित भएको थियो।
यो दस्ताले सबभन्दा पहिला मालपोत अड्डामा हमला गरी त्यहाँका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिइ कब्जा गरे। त्यसपछि कारागारमा आक्रमण गरी त्यहाँका गार्डलाई गोली हानी हत्या गरी कब्जा गरे र बन्दीलाई मुक्त गरियो। त्यसपछि क्रान्तिकारीहरूका दस्ता निकै सतर्कता साथ बडाहाकिम भवनअगाडि एकत्रित भए। त्यतिबेला बडाहाकिमको भवनबाट उनीहरूमाथि अनवरतरूपमा गोलीको वर्षा हुन थाल्यो। त्यसपछि मुक्ति सेनाले पनि जवाफी गोली चलाइरह्यो।
सेनाको ब्यारेकबाट पनि मुक्तिसेनामाथि गोलीको वर्षा हुन थाल्यो। त्यसैबीच मुक्तिसेनाका बलबहादुर राई भन्ने जवानले वीरगति प्राप्त गरे। उनले आफूलाई प्रजातन्त्रको बलिवेदीमा उत्सर्ग गरेर अरू कैयौँ साथीको प्राण रक्षा गरेका थिए।
पछि जनमुक्ति सेना आफ्नो शक्ति बढाएर अघि बढे। बडाहाकिमको गोश्वारा, सैनिक ब्यारेकलगायत मिल कब्जा गरे। विराटनगर कब्जा भएपछि झापाको ब्यारेकमाथि हमला गरेर कब्जा गरे।
यता सप्तरीमा पनि मुक्तिसेनाले बरमझियास्थित चन्द्रनहरको कम्पाउन्डमा बसेका करिब २५० जवानमाथि मुक्ति सेनाले हमला गरेपछि दोहोरो फायरिङ भयो। त्यो सेनाको कमान्डर कृष्णबहादुर थिए। त्यहाँ मुक्तिसेनाबाट परास्त भएपछि सेनाका केही जवान लिएर विराटनगर जान कोसी तर्न थाले।
कोसीपारि डा.कुलदीप झाको नेतृत्वमा मुक्ति सेनाका जवान सरकारी सेनालाई पूर्वतिर जान नदिने भनेर तैनाथ थिए। यसैबीच कप्तान कृष्णबहादुरले डा. झालाई उभिएको देखेर पछाडिबाट गोली हाने। उनको घटनास्थलमै मृत्यु भयो।
यसरी जनक्रान्ति जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढीलगायत ठाउँमा भीषण रूपमा फैलियो। उता पहाडतिर भोजपुर, धनकुटा, इलामदेखि पश्चिम पहाडतिर पनि जनक्रान्ति द्रुत रूपमा फैली विजय हासिल गरे। २००७ कात्तिक २६ गते वीरगन्जबाट सुरु भएको क्रान्ति माघसम्म चलेको थियो।
प्रकाशित: २६ कार्तिक २०८० ००:४५ आइतबार