२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

यस्तो हुनुपर्छ शैक्षिक नेतृत्व

शिक्षा भनेको सिकाइको संसार र मानवीय जीवनको आवश्यकतासँग जोडिएको कुरा हो। शिक्षाले मानिसमा भएका सम्पूर्णताको पहिचान गराउन सक्नुपर्दछ। यिनै कुरालाई मध्यनजर गर्दै समयनिष्ठ र अनुशासित विद्यार्थीले पूर्वनिर्धारित समयमै कक्षाकोठामा पुगेर आफ्ना शिक्षकलाई पर्खिरहेको पाइन्छ तर नेपालका कलेजहरूका सन्दर्भमा विद्यार्थीले ट्रयाकसुट र बाथरुम चप्पल लगाई कक्षाकोठामा ढिला आउने प्रवृत्ति कहाँ नौलो र असामान्य हो र? साथै कक्षाकोठाभित्र पठनपाठन भइरहेका बेला विद्यार्थी तथा शिक्षकले आफ्नो व्यक्तिगत प्रयोजनका लागि मोबाइल फोन निकालेर चलाउने कुरा पनि असामान्य होइन। यसै परिप्रेक्ष्यमा नेपालमा कम्तीमा पनि आजको विश्वविद्यालयीय अध्ययनमा शिक्षाको उत्कृष्ट उद्देश्य र आधारहरूलाई पुनः मनन र चिन्तन गर्नुपर्ने आवश्यकता देखिएको छ।

विद्यालय शिक्षा पूरा गरेपछि त्यहाँ सिकेका आचारसंहिता, चरित्र निर्माण र अनुशासनका विषयलाई विश्वविद्यालयमा प्रवेश गरेपछि हल्का रूपमा लिइनु र अलि बढी स्वच्छन्द हुन खोज्ने प्रवृत्तिले युवा विद्यार्थीको रचनात्मक विकासमा बाधा पु¥याएको देखिन्छ।

विशेषतः जीवनको १५ वर्षदेखि २५ वर्षसम्मको उमेर कुनै पनि व्यक्तिले आफ्नो व्यावसायिक दक्षता र व्यक्तिगत आधार तयार पारिसक्नुपर्ने उमेर हो। उच्च शिक्षाको शैक्षणिक उद्देश्यले यही आधार र विद्यार्थीको मनोसामाजिक संरचना निर्माण गरिदिन सक्नुपर्दछ।

यो समयमै विद्यार्थीमा बौद्धिक र चरित्र निर्माणको प्रशस्त आधार तयार पारिदिन सकेका खण्डमा विश्वविद्यालय उनीहरूका लागि व्यावहारिकरूपमा रूपान्तरण गर्न सक्ने एवम् थप अध्ययनका विशिष्ट अनुभवहरू संगाल्ने उपयुक्त चौतारी बन्न सक्दछ।

वर्तमान परिवेशमा अनलाइनका माध्यमबाट प्रशस्त शैक्षिक सामग्री उपयोग गरी पढाइने हुँदा डिजिटल सर्वोच्चता पनि द्रुत गतिमा बढिरहेको छ। फलस्वरूप विद्यार्थीहरू आफ्नो विचार र विश्वासमा अलमलमा परिरहेका छन्। यो परिदृश्य विश्वभरिका शिक्षकका लागि प्रमुख चुनौती बनेको छ।

गुरुकूल शिक्षा प्रणाली

गुरुका समीपमा बसेर समाजमा नैतिक र अनुशासितरूपमा जीवन जिउन सक्ने बनाउने प्रणाली नै गुरुकूल शिक्षा प्रणाली हो। यो जिसस क्राइस्ट जन्मनुभन्दा सयौँ वर्षअगाडि प्रचलनमा आएको प्राचीन र प्रशंसित प्रणाली हो। यस शिक्षा प्रणालीअन्तर्गत विद्यार्थीले योग, ध्यान तथा सिपमा आधारित ज्ञानहरू आफ्ना गुरुहरूबाट प्राप्त गर्दथे। यस किसिमको ज्ञान र अनुभवबाट विद्यार्थीले अस्वस्थ अवस्था र परिस्थितिहरूमा पनि विजय प्राप्त गर्दै सद्गुण र आत्मस्वतन्त्रताका साथ जीवन जिउन सक्ने ज्ञान र सिप हासिल गर्दथे।

संक्षिप्तमा गुरुकूल शिक्षा प्रणाली विद्यार्थीको समग्र व्यक्तित्व निर्माणमा केन्द्रित थियो। विद्यार्थीको यही समग्र व्यक्तित्व र आयामको निर्माण नै परापूर्व कालदेखि नै शिक्षाको मूल उद्देश्य रहिआएको छ।

शास्त्रीय दृष्टिकोणको पुनरावलोकन

शिक्षाको सर्वकालीन शास्त्रीय दर्शन पश्चिममा प्लेटोको द रिपब्लिक पुस्तकबाट प्रारम्भ भएको मानिन्छ। यो पुस्तकले नै शिक्षाको आधारभूत विकासमा नवीन दिशाबोध गरेको पाइन्छ। प्लेटोका अनुसार शिक्षाको उद्देश्य व्यक्तिगत चरित्र सुधार गर्नु तथा व्यक्तिगत र सामाजिक न्यायमा योगदान पुर्‍याउनु हो। यसबाहेक शिक्षाले व्यक्तिलाई आफ्नो आत्मातर्फ फर्काउन, नैतिक मूल्यको बोध गराई सिर्जनात्मक र एकीकृत जीवन बनाउन सक्नुपर्दछ। साथै बौद्धिक र नैतिक विकासका माध्यमबाट जीवनलाई दृढता र स्वन्त्रतापूर्वक सत्यतर्फ लैजान प्रेरित गर्नुपर्दछ। व्यक्तिगत प्रतिभाको पूर्णता शिक्षाका माध्यमबाट नै प्राप्त हुन्छ भन्ने कुरा प्लेटोका लेखहरूमा स्पष्ट रूपबाट बताइएको छ।

वास्तवमा शिक्षाको महान् उद्देश्य जीवनमा श्रेष्ठता प्राप्त गर्नु हो। यस्तो क्षमताले व्यक्तिगत न्याय पाउँछ, राष्ट्रको सेवा र सामाजिक न्यायमा विशिष्ट योगदान पुर्‍याउन सक्छ। त्यसर्थ संज्ञानात्मक कार्यहरूमा वृद्धि गर्न नसक्ने विषयवस्तु र ज्ञान तथा विद्यार्थीको दार्शनिक र नैतिक पक्षहरूमा प्रगति ल्याउन नसक्ने शिक्षा पद्धति सिकाइको उद्देश्यबाट विचलित र असफल शिक्षा पद्धति हो।

अनुसन्धानकर्ताको अनुभव

शिक्षा भनेको अध्यापनका विषय र कठोर सिपहरू मात्र होइन, यो त मस्तिष्क, हृदय र अन्तस्करणको निर्माण गर्नु हो भन्ने आजका शैक्षिक नेतृत्व गर्ने विद्वान्हरूको तर्क छ। त्यसैले विद्यार्थीको चौतर्फी विकासका लागि बौद्धिक, संवेगात्मक तथा भावनात्मक पक्षहरूको विकास हुन जरुरी मानिन्छ। यिनै कुरालाई मध्यनजर राख्दै आजका विदेशका विश्वविद्यालयले पाठ्यक्रमलाई जीवनमुखी, व्यावहारिक र मानवीय करुणाले युक्त बनाउने उद्देश्य राखेका पाइन्छ।

यही उद्देश्यअनुरूप उनीहरूले मूल पाठ्यक्रममा धर्मशास्त्र, दर्शन र मनोविज्ञानलाई अनिवार्यरूपमा समावेश गरेका छन्।

प्राकृतिक विज्ञान, चिकित्सा वा इन्जिनियरिङ जस्ता सङ्काय होऊन् वा अन्य सङ्काय अध्ययन गर्ने विद्यार्थी होऊन्, उनीहरूले यस्तो मूल पाठ्यक्रमको अनिवार्य आवश्यकतालाई औल्याएका छन्। यसले विद्यार्थीको आलोचनात्मक सोच र क्षमता वृद्धि गर्न, अन्तः सचेतना विकास गर्न र उनीहरूको भावनात्मक क्षमतालाई स्वस्थ बनाउन र पोषण प्रदान गर्न मद्दत गर्दछ।

त्यसैगरी रचनात्मक विचारका माध्यमबाट विद्यालयले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा मूल पाठ्यक्रममा समावेश गरिने माथि उल्लिखित विषयहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ। वर्तमान समयमा समाजलाई सफलतापूर्वक अगुवाइ गरिरहेका नेतृत्वकर्ताहरूमा रहेका आन्तरिक गुणहरू, सङ्गठनात्मक सिप, आलोचनात्मक चेत र दयालु स्वभाव उनीहरूले विद्यालय तथा कलेजमा अध्ययन गरेका पाठ्यक्रम तथा सहपाठ्यक्रमबाटै विकास भएको अनुसन्धानले देखाएको छ। त्यसैले यस्तो प्रकारको पाठ्यक्रम र शिक्षाले विद्यार्थीहरू तथा शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ।

त्यसो भए के गर्ने?

निर्माणकर्ताहरू निर्माण

व्यावसायिक दक्षता भन्ने कुरा आवश्यक योग्यता तथा मिल्दाजुल्दा विभिन्न तालिमका माध्यमबाट प्राप्त गरिन्छ। यसले निर्माणकर्ताहरूलाई उनीहरूको शैक्षिक नेतृत्व क्षमताको स्तर वृद्धि गर्न सहयोग पुर्‍याउँछ। त्यसैले शिक्षक यसै भइने र बनाइने कुरा होइन, त्यसका लागि आवश्यक योग्यता र शिक्षणका निम्ति जरुरी तालिम अनिवार्य कुरा हो।

तर बिडम्बना नेपालका सन्दर्भमा यदि कसैले अध्यापनका क्षेत्रमा आफ्नो व्यावसायिक कर्मको सुरुवात गर्न चाहन्छ भने उसका लागि शिक्षाशास्त्रमा डिग्री वा निर्दिष्ट तालिम अथवा प्रशिक्षणको अनिवार्यता गरिएको पाइँदैन। यहाँ त अहिलेसम्म शिक्षा पेसामा जे/जति आबद्ध भएका छन्, उनीहरूले शिक्षक भएर शिक्षण गरेका होइनन्, बरु शिक्षण गर्दागर्दै शिक्षक भएका हुन्, शिक्षणमा लाग्दालाग्दै सिकेका हुन्।

यहाँका विद्यालय र कलेजहरूमा शिक्षणशास्त्र पढेका वा तालिम प्राप्त नयाँ शिक्षकहरूलाई स्थान दिने शैक्षिक प्रणाली, साधनस्रोत र वातावरण नै छैन। यसले गर्दा शिक्षणको महान् पेसामा लगभग शून्यताको अवस्था सिर्जना भएको छ। यो अवस्था हटाउन सान्दर्भिक शैक्षिक डिग्री र शिक्षण विधि, उन्नत शैक्षिक संरचना र कार्यक्रमका माध्यमबाट सम्बोधन गरिनुपर्दछ। यस्तो भएमा मात्र एउटा शिक्षक विषयवस्तुगत ज्ञान र शिक्षण कौशलमा आधारित सिपले सुसज्जित बन्न सक्दछ।

सहज र कठिन सिपको विकास

नरम वा सहजखालका सिपहरूले विद्यार्थीको भावनात्मक विकास जस्ता व्यक्तित्व विकासका विशेषतालाई बुझाउने गर्दछ। नेतृत्व सिपको विकास, पारस्पारिक कौशल, सुन्ने क्षमताको विकासलगायतका कुराहरू सहज सिपको विकाससँगै अगाडि बढ्ने कुरा हुन्।

त्यस्तै कठिन सिप भनेका निश्चित कार्य र उद्देश्यहरू पूरा गर्न आवश्यक विशिष्ट कार्यान्मुख सिप हुन्। यसअन्तर्गत लेखा, रेखाचित्र, प्रयोगशालामा गरिने विशिष्ट प्रयोगहरू, वाद्यवादनलगायतका विशिष्ट सिप पर्दछन्। शिक्षण विधिहरूले यी विशिष्ट सिपहरूलाई सम्बोधन गर्न सकेनन् भने विद्यार्थीको कठिन सिपहरू सिक्ने र जान्ने अवसरमाथि खेलबाड हुन सक्छ। यसो भएमा वास्तविक र समग्र सिप विकासमा रिक्तता आउँछ र विद्यार्थीलाई अल्मलाउने र झुक्याउने काम मात्र हुन्छ।

आज विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक डिग्रीमा व्यक्तित्व निर्माण र विशिष्ट सिप विकासको अभाव छ। शायद यसै भएर हुन सक्छ, आजभोलि विश्वद्यिालयबाट स्नातक गरेका विद्यार्थीमा विश्व समाजसँग प्रतिस्पर्धा गर्ने व्यावसायिक दक्षता, उच्च व्यक्तित्वपूर्ण जीवन र व्यक्तिगतरूपमा पनि उनीहरूको जीवन सफल बन्न सकिरहेको छैन। उनीहरू जुनजुन कार्यस्थलमा पुगेर काम गरिरहेका छन्, त्यहाँ उनीहरूको विवेकपूर्ण व्यवहार र नैतिक स्तर निकै कमजोर र त्रुटिपूर्ण रहेको देखिन्छ।

शैक्षणिक वातावरण

सिक्न, सिकाउन र शैक्षणिक सिपहरूको विकास गर्नका लागि उपयुक्त किसिमको शैक्षिक वातावरण आवश्यक पर्दछ। बिरुवा रोप्न र उमार्न पनि सुहाउँदो र उपयुक्त माटो चाहिन्छ। सुहाउँदो र उपयुक्त माटोमा बिरुवा रोपियो भने मात्र त्यो बिरुवाबाट धेरै फलहरू फलाउन सकिन्छ। त्यसका लागि बिरुवा रोपेर मात्र हुँदैन। सही समयमा सही किसिमले मलजल गर्नु पर्दछ, अनावश्यक झारपातहरू पन्छाउनुपर्दछ र उकेरा लगाउनु पर्दछ। त्यो बिरुवामा कुन मल उपयुक्त हुन्छ, कुन कीराले त्यसलाई सताउन सक्छ आदि कुरामा पनि सम्बन्धित माली वा किसानले ध्यान पुर्‍याउनुपर्दछ।

शिक्षा र शैक्षिक वातावरण पनि यस्तै महत्वपूर्ण कुरा हो। समुचित शैक्षिक योग्यताको वातावरणका, भावनात्मक एकता र सुरक्षा, औपचारिक तर सुमधुर शिक्षक विद्यार्थी अन्तरक्रिया, शैक्षिक संस्थाको उत्कृष्ट साङ्गठनिक तथा शैक्षिक प्रणाली, अनुशासन, मर्यादा, नैतिकता, नियमितता जस्ता आचारसंहिताको पूर्ण पालनाले नै विद्यार्थीको समग्र व्यक्तित्व निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्दछ।

त्यसैले शिक्षक भनेको कानले मात्र नभई आँखा र हृदयले पनि विद्यार्थीको कुरा सुन्ने माली हो। जब आँखा र हृदयले पनि विद्यार्थीको कुरा सुनेर, बुझेर शिक्षण गरिन्छ अनि मात्र शिक्षण महान् पेसा बन्दछ र त्यो अवस्थामा मात्रै शिक्षक कुशल शैक्षिक नेतृत्वकर्ता र पथपदर्शक बन्न सक्छ। 

प्रकाशित: १९ कार्तिक २०८० ००:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App