१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

नेपाली राजनीतिमा च्याएनोभ प्रकरण

कुरा सुरु गर्नुअघि
नेपालमा नयाँ संविधानअनुसार केन्द्र र प्रदेशको चुनाव हुँदैछ । यही  सेरोफेरोमा  विसं २०२८ मा झापा आन्दोलनबाट जन्मेको पुरानो माक्र्सवादी–लेनिनवादी (माले) हालको एमाले (एकीकृत माक्र्सवादी–लेनिनवादी) तथा सोही आन्दोलनको परिष्कृत रूप माओवादी सशस्त्र युद्धबाट स्थापित माके (माओवादी केन्द्र) संयुक्त चुनावी मोर्चामार्फत एकीकृत हुन गइरहेका छन् । साना अन्य कम्युनिस्ट पार्टीहरू पनि यी ठूला दलमा समाहित हुँदैछन्। 

विगतका संसदीय चुनावको परिणाम अध्ययन गर्दा विभाजित कम्युनिस्ट पार्टीहरूको मत जोडेर हेर्दा नेपालमा अहिलेसम्म कांग्रेसको तुलनामा कम्युनिस्टको समर्थनमा बढी जनमत देखिन्छ, जसका कारण बढी समय सरकारको बागडोर गैरकम्युनिस्ट पार्टीले सम्हालेको इतिहास छ । यसको बाबजुद अल्पमतमा रहेर वा संयुक्त सरकारको नेतृत्व कम्युनिस्ट पार्टीहरूले पनि गरेको पाइन्छ । निकट भविष्यमा हुने केन्द्र र प्रदेशसभा चुनावले विभाजित कम्युनिस्ट पार्टीले प्राप्त गरेको हालसम्मको जनमत ती पार्टीहरू एकीकृत हुँदा पुरानो गणितीय जनमतको निरन्तरता हुँदै बहुमतको सरकार गठन गर्न सक्षम हुन्छन् कि हुँदैनन् ? समग्रमा यसको परीक्षण हुनेछ। 

गैरकम्युनिस्ट पार्टीले खास गरेर कांग्रेसले आफ्नो जनमत बचाउने नाममा यो वामपन्थी मोर्चालाई जबर्जस्त लोकतन्त्रविरुद्ध धकेल्ने प्रयास गर्नु हुँदैन किनकि कम्युनिस्ट र कांग्रेसको संयुक्त योगदानबाटै हालको संघीय गणतान्त्रिक नेपालको निर्माण  सम्भव भएको हो ।

एमाले र माओवादी केन्द्रमा परम्परागत एकदलीय कम्युनिस्ट शासन पद्धतिमा विश्वास गर्ने स्टालिनवादी र माओवादी जमात ठूलो छ । यसको बाबजुद एमालेको संगठनभित्र पूर्ण लोकतान्त्रिक मान्यता बोकेको एक धार छ,  जुन कम्युनिस्टको एक दलीय तानाशाहीको विरुद्धमा छ र, आधुनिक लोकतान्त्रिक पद्धति स्वीकार गर्छ । वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा यो एकताले जन्माउने भनेको कम्तीमा कम्युनिस्ट पार्टी नेतृत्वको बहुमत सरकार हो । यस्तो सरकारको अभ्यास भारतको पश्चिम बंगालमा दुई दशकसम्म भएको थियो । यस्तै राजनीतिक अभ्यास र नेपालको संविधानमा उल्लिखित लोकतान्त्रिक पद्धति एकीकृत पार्टीले अँगाल्ने वाचा बारम्बार दोहो¥याइरहेको अवस्थामा अन्य गैरकम्युनिस्ट पार्टीले यो मोर्चाप्रति त्यति शंका नगर्दा पनि हुन्छ।

यस वर्ष भ्यादिमर इल्लिच लेनिनको नेतृत्वमा गठन भएको सोभियत संघ (हाल विघटन भइसकेको) निर्माण भएको सय वर्ष पूरा भएको छ । विश्वभरका माक्र्सवादी राजनीतिक पार्टीका नेता, शुभचिन्तकलगायत अन्य विद्वान्ले लेनिन र सोभियत संघबारे व्याख्या गरिराखेका छन्।

सय वर्षअगाडि भएको रुसी क्रान्तिका नायक लेनिन र उनको नेतृत्वमा गठित कम्युनिस्ट सोभियत संघका शुभिचन्तकबाट सम्झना गर्नु स्वभाविक छ, किनकि कार्ल माक्र्सले कल्पना गरेको समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई व्यवहारमा परिणत गर्ने एक कुशल राजनेता लेनिन भएको इतिहासमा पढ्न पाइन्छ । लेनिनको नेतृत्वमा गरिएको सन् १९१७ अक्टोबर २५ को क्रान्ति ७४ वर्ष अर्थात् सन् १९९१ सम्म कायम रह्यो, जुन पेरिस कम्युनपछिको कम्युनिस्ट सत्ताको उदयका साथै असफलताको पनि ज्वलन्त उदाहरण हो। 

यहाँ  लेनिनको शासनकालमा महत्वपूर्ण पदमा पुग्न सफल कृषि अर्थशास्त्री एलेक्जेन्डर भ्यासिलिभिच च्याएनोभ (जो जोसेफ स्टालिनको सरकारको सिकार भएका थिए)को बारेमा छोटो चर्चा गर्ने प्रयासमा छु किनकि नेपालमा एकीकृत कम्युनिस्ट पार्टीले गर्ने सम्भावित सत्ता नेतृत्वले धेरै नेपाली जनता च्याएनोभको जस्तो अवस्थाबाट गुज्रन नपरोस् भन्ने मेरो कामना छ। 

च्याएनोभः एक कृषि अर्थशास्त्री
सन् १८८८ मा मस्कोमा जन्मिएका च्याएनोभले सन् १९०६ मा प्रसिद्ध मस्को कृषि संस्था, सन् १९१७ देखि सन् १९२३ सम्ममा पेत्रोभ्स्की कृषि उच्च अध्ययन संस्था र सन् १९२३ देखि तिमिरयाजेभ कृषि उच्च अध्ययन संस्थामा अध्ययन गरे । उनले सन् १९११ मा कृषि अर्थशास्त्रमा डिप्लोमा गरे । सन् १९१३ मा सहप्राध्यापकमा नियुक्त भए र सन् १९३० सम्म गिरफ्तार नभइन्जेल कृषिसँग सम्बन्धित विभिन्न संस्थामा प्राध्यापक र अध्यक्ष भई सेवा गरे । उदाहरणका लागि ः उनले सन् १९१९ मा कृषि अर्थव्यवस्थासम्बन्धी संस्थामा काम थाले, जुन संस्था सन् १९२२ मा कृषि अर्थशास्त्र र राजनीति अनुसन्धान संस्थाका रूपमा चिनियो । उनले उक्त संस्थाको डाइरेक्टर भएर काम गरे । सन् १९११ देखि प्रायजसो विदेश भ्रमण गर्ने च्याएनोभ अन्तर्राष्ट्रियस्तरमा कृषि क्षेत्रमा विशेषज्ञका रूपमा परिचत भए । ६० भन्दा बढी विदेशी मुलुकसित कृषिसम्बन्धी सञ्जाल पनि गठन गरे । च्याएनोभ रसियन सहकारी आन्दोलनमा सक्रिय सहभागी भएको पाइन्छ, जसले गर्दा प्रथम विश्व युद्ध र अक्टोबर क्रान्तिताका उनी मुख्य व्यक्तित्वका रूपमा स्थापित भएका थिए । सन् १९१७ देखि कृषि र राज्य योजनाअन्तर्गत जनकमिटी (पिपुल्स कमिसन फर एग्रिकल्चर एन्ड द स्टेट प्लानिङ कमिसन) का लागि च्याएनोभले कृषि नीति तथा कृषि विकासका लागि योजनाको मस्यौदा तयार पारे। 

नवलोकाधिकारवादी  परम्परासँग जोडिएका च्याएनोभ सन् १९२० को दशकमा कृषिसम्बन्धी सिद्धान्तका एक सिद्धान्तकार थिए । सन् १९२३ मा उनको मुख्य अनुसन्धात्मक कार्य पिजेन्ट फार्म अर्गनाइजेसन (१९२५) जर्मनको बर्लिनबाट छापिएको थियो । उनका दुई घनिष्ठ सहयोगीहरू एयान चेलिनेस्तेभ र यानपि मार्कोभ थिए । तर, त्यस समय अन्य दुई भिए नेम्चिनोभ र एएल भ्येनेस्ताइन च्याएनोभभन्दा अलि प्रख्यात मानिन्थे । च्याएनोभ बढी लोकप्रिय भएको समयमा उनीसँग एनडि कोन्तद्रातेभ अलि बढी नजिक थिए । स्टालिनकालीन सोभियत सरकारको समयमा च्याएनोभ र उनका सहयोगीमाथि राजनीतिक तवरबाट प्रहार सुरु गरिएको पाइन्छ । च्याएनोभ, मार्काेभ र कोन्तद्रातेभलाई प्रतिक्रान्ति गर्न खोजेको भनी सन् १९३० मा तत्कालीन सोभियत सरकारले नजरबन्द गरेको र कानुनी सोधपुछविना सन् १९३१ मा पाँच वर्ष जेल हालिएको थियो । खराब स्वास्थ्यका कारण जेलबाट छुटेका च्याएनोभ काजकास्तान बस्न थालेका थिए । सन् १९३५ देखि सन् १९३७ सम्म काजख कृषि संस्थामा कार्यरत थिए, जहाँ उनी तथ्यांक विषय पढाउँथे । बुखारिन विरुद्धको मुद्दामा सन् १९३७ मार्चमा पुनः पक्राउ परेका उनलाई त्यसै वर्षको अक्टुबर ३ मा मृत्युदण्ड सुनाउँदै सोही दिन मृत्युदण्ड दिइएको थियो । तथापि, सल्जेन्जेन्सिन्सन (१९७४स्५०) रिपोर्टअनुसार उनको पुनःगिरफ्तारी र काजखको अल्मा–अटामा सन् १९४८ सम्म च्याएनोभ जीवित भएको पाइन्छ । जे होस् च्याएनोभलाई मृत्युदण्ड दिइएको थियो, जुन निकिता ख्रुश्चेवको शासनकालमा उनलाई मृत्युदण्ड दिनु गलत भयो भनी पुनःस्थापित गरिएको पाइन्छ । च्याएनोभलाई मृत्युदण्ड दिनुको मुख्य कारण उनले प्रतिपादित गरेको सिद्धान्त हो, जुन यहाँ सूक्ष्म रूपमा व्याख्या गरिन्छ :
क. कृषि र यसको जीवित क्षमताको व्यवहारिकतालाई जोड दिइएको छ, जसमा किसान परिवारको विशेष आर्थिक व्यवहार प्रायः पारिवारिक सदस्यको श्रममा निर्भर रहन्छ।

ख. कृषकको घरपरिवारको विशेष आर्थिक व्यवहार हुन्छन्, जुन घरपरिवारका सदस्यको श्रममा भर पर्छ । पुँजीवादीहरूजस्तो फाइदाका लागि नभई कृषक बाँच्नका लागि काम गर्छन्। 

ग. पारम्परिक साना खेतीको आधुनिकीकरण गर्नु भनेको पुँजीवादी या समाजवादी विकासको कुनै एक भाग होइन, तर कृषि विस्तार कार्य र सहकारी संगठनको माध्यमबाट एउटा किसानको कृषि उत्पादनको प्राविधिक स्तर बढाउने प्रक्रिया हो।
यस सिद्धान्तले किसानको पारिवारिक जीवनचक्रमा आधारित चक्रीय गतिशीलताको विचारलाई चित्रण गरेर माक्र्सवादी व्याख्या अनुसारको किसानको वर्गीकरणलाई चुनौती दिएको थियो।

कम्युनिस्ट सत्ता र च्याएनोभको पतन
रुसी किसानको भविष्यबारे च्याएनोभको आफ्नो आदर्शवादी उपन्यास ‘जर्नी अफ माइ ब्रदर अलेक्सीइ टु द ल्यान्ड अफ युटोपिया’ (१९२०) मा व्याख्या गरिएको थियो, जसको कारण उनको पतन भएको मानिन्छ । च्याएनोभको मृत्युपश्चात् सन् १९६० दशकको मध्यतिर पश्चिमाले उनका कृति पुनःस्थापित गरेको पाइन्छ । उनको पारिवारिक श्रमिक खेतीको अग्रगामी अध्ययनले कृषि समाजशास्त्री तथा मानवशास्त्रीको ध्यानाकर्षण गराइराखेको छ । 
नेपालमा बेलायती मानवशास्त्री एलेन म्याकफारलेनले गुरुङ(१९७६), अमेरिकी मानवशास्त्री टोम फ्रिकीले तामाङ (१९८३) र नेपालका जनसंख्याविद् पुष्पकमल सुवेदीले दुराको अध्ययन (२००६) गर्दा च्याएनोभको मोडेल प्रयोग गरेको पाइन्छ।

अन्त्यमा,
च्याएनोभले प्रतिपादित गरेको किसानसम्बन्धी सिद्धान्तसँग लेनिनको असहमति हँुदाहुँदै पनि कृषिनीति र कृषि विकासकको नीति निर्माणका लागि च्याएनोभलाई संलग्न गराइएको थियो । तिनै व्यक्तित्वलाई स्टालिनको सत्ताले मृत्युदण्ड दिएको थियो । अब बन्ने एकीकृत कम्युनिस्ट पार्टीले यदि चुनावमा बहुमत ल्याएमा च्याएनोभको अवस्था जस्तै हुनसक्छ भन्ने नेपालका विपक्षीले चुनावी नारा उरालिरहेका छन् । यस अवस्थामा वामपन्थी मोर्चाले लोकतान्त्रिक पद्धतिको माध्यमबाट संविधानले निर्दिष्ट गरेका संघीयता तथा समावेशीको आधारमा राज्यसत्ता सञ्चालन गर्छौं भनी जनतालाई विश्वास दिलाउन सकेमा विपक्षीबाट गरिने राजनीतिक प्रहार स्वतः क्षीण हुनेछ । गैरकम्युनिस्ट पार्टीले खास गरेर कांग्रेसले आफ्नो जनमत बचाउने नाममा यो वामपन्थी मोर्चालाई जबर्जस्त लोकतन्त्रविरुद्ध धकेल्ने प्रयास गर्नु हँुदैन किनकि कम्युनिस्ट र कांग्रेसको संयुक्त योगदानबाटै हालको संघीय गणतान्त्रिक नेपालको निर्माण  सम्भव भएको हो ।
(लेखक त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास विभागका प्रमुख हुन् ।) 

प्रकाशित: २९ कार्तिक २०७४ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App