पछिल्लो शताब्दीमा क्यान्सरलगायतका नवीन रोग भित्रिए, धेरै किसिमका सूक्ष्माणु संक्रमण देखा परे, पर्याप्त खाना नपाएर मानिस मरेका अनि पोषण अभावका कारण बिमारी परेका जस्ता धेरै किसिमका चुनौती देखिए। समस्यासँग विज्ञान जुध्यो, धेरै जटिलता समाधान भए। नयाँ चुनौती देखिने अनि विज्ञानले जड पत्ता लगाई समाधान दिने शृंखला सदैव चलिरहन्छ।
पछिल्लो समय पृथ्वीको बढ्दो तापक्रम भीमकाय समस्याका रूपमा देखियो। यो वर्ष पृथ्वीको तापक्रम अहिलेसम्मकै सर्वाधिक रेकर्ड गरियो। सालिन्दा तापक्रम बढ्दो छ। उकासिँदो तापक्रमले हिउँ पग्लिइ समुन्द्री सतह बढ्दा तटीय सहरहरू डुवानमा पर्छन्। कृषिजन्य भूमि मासिन्छ। त्यस्तै पृथ्वीको तापमान बढ्दा कम्तीमा पनि दुई सय नयाँ चरित्रका सरुवा रोग भित्रने अनि दर्जनौँ किसिमका नसर्ने खालका रोगहरू थपिने विज्ञानको प्रक्षेपण छ। तापक्रम बढ्दा चमेरोबाट मानिसमा सरेको ठानिएको कोभिड–१९ जस्ता धेरै सूक्ष्माणु जंगली जनावरबाट मानवमा सर्ने ठान्छन् वैज्ञानिकहरू। त्यस्तै तापक्रम उकासिँदा अन्न बालीको उत्पादनमा नकारात्मक प्रभाव पर्छ। पहाडको तापक्रम तराईको हाराहारीमा पुगेपछि त्यहाँका वनस्पति मासिन्छ।
समस्यासँग विज्ञान जुध्यो, धेरै जटिलता समाधान भए। नयाँ चुनौती देखिने अनि विज्ञानले जड पत्ता लगाई समाधान दिने शृंखला सदैव चलिरहन्छ।
सन् १९५० मा हावामा कार्बन डाइअक्साइड ग्यासको मात्रा ३ सय पिपिएम (पार्टस पर मिलियन अथवा दश लाखमा एक भाग) थियो भने सन् २०१३ मा उक्त मात्रा बढेर ४ सय पिपिएम पुग्यो। केवल ६ दशकमै हावामा सय पिपिएमको दरले बढ्ने हो भने पृथ्वी बस्न अयोग्य हुन धेरै शताब्दी नलाग्ने निश्चित छ। कार्बन डाइअक्साइडको मात्रा १२ सय पिपिएम पुगेको खण्डमा आकासमा बादल बन्न नसक्ने अनि वर्षा पनि नहुने वैज्ञानिक प्रक्षेपण छ।
कार्बन डाइअक्साइडले सौर्य किरण आर्जन गरी पृथ्वीको तापक्रम बढाउने भएकाले त्यसलाई ग्रिन हाउस ग्यास पनि भनिन्छ। दाउरा, मट्टितेल, डिजेल, पेट्रोललगायतका कुनै पनि खनिज तेलको दहनका क्रममा कार्बन डाइअक्साइड ग्यास निस्कन्छ।
उत्पादित कार्बन डाइअक्साइडमध्ये २५ प्रतिशत बोटबिरुवा र जमिनले तान्छ, अर्को २५ प्रतिशत समुन्द्रले सोच्छ भने बाँकी ५० प्रतिशत हावामा समाहित हुन्छ। खनिज पदार्थ बल्दा यो विषाक्त ग्यासको मात्रा हावामा उकासिन्छ। कार्बन डाइअक्साइडको मात्रा उकासिँदा पृथ्वीको तापक्रम बढ्ने भएकाले वैज्ञानिकहरू वर्षौँदेखि खनिज तेलको विकल्प खोज्न आग्रह गरिरहेका छन्।
तापक्रम बढ्ने अनि पानी पर्ने कार्यतालिकामा परिवर्तन भएपछि अहिले उत्पादन हुने अन्न बालीको विकल्प खोज्न आवश्यक बन्छ। अहिलेको धान खेतमा कोदो रोप्नुपर्ने बाध्यता हुन सक्छ भने संसारका धेरै कृषियोग्य जमिन मरुभूमि बन्छ। स्पेन संसारको सबैभन्दा बढी ओलिभ आयल (जैतुनको तेल) उत्पादन गर्ने मुलुक हो।
कुल ओलिभ तेल उत्पादनको ५० प्रतिशत हिस्सा छ स्पेनको। तर विगत केही वर्षदेखि स्पेन उच्च तापक्रमको मात्र सिकार भएन, बरु वर्षाको मात्रासमेत घट्यो। परिणामस्वरूप ओलिभको उत्पादन अत्यधिक घट्यो। स्पेनले आफ्नो बाहुल्य कायम गर्न नसक्ने अवस्था भयो। स्पेनको मात्र भर पर्दा ओलिभ तेलको हाहाकार हुने हुँदा उपयुक्त हावापानी भएको भूभागमा ओलिभ खेती गर्नुपर्ने विज्ञ राय देखियो।
स्पेनको कथा अन्य बालीमा नपर्ला भन्न सकिन्न। साथै केही अन्न बालीले आफ्नो अस्तित्व जोगाउन नसक्ने हुन कि भन्नेसमेत चिन्ता देखियो। यसरी पर्यावरणीय परिवर्तनले कृषि ढाँचा फेरिने र उत्पादनयोग्य जमिन खुम्चँदा पुनः भोकमरीको सामना गर्ने दिन नआउला भन्न सकिन्न। पुग्ने अन्न उत्पादन गर्न नसक्ने हो भने खान नपाएर नै मानव सभ्यता ननासिएला भन्न सकिन्न।
विश्वको वातावरणीय ढाँचा नियाल्दा अहिलेको कृषि पद्धतिमा व्यापक परिवर्तन आवश्यक देखिएको छ। बढ्दो तापक्रम र घट्दो कृषियोग्य जमिनका अतिरिक्त कसरी बढ्दो जनसंख्यालाई खुवाउने भन्ने विषय अन्वेषणको केन्द्र बनेको छ।
जमिनको बदला केवल पानीमै कृषि उत्पादन गर्ने एक्वापोनिक्स प्रविधि आयो। उक्त विधि प्रयोग गर्दा पालुंगो, टमाटर, खोर्सानी जस्ता सब्जीको उत्पादन पहिलेभन्दा अझ बढे पनि सबै किसिमका बालीनाली पानीमा संभव देखिएन। पानीमा गरिने खेतीले विश्वलाई खुवाउन पुग्ने अवस्था छैन। तसर्थ सबै विधिको उत्खननमा विज्ञान लागेको छ।
अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको वनस्पतिको आनुवांशिक पदार्थमा हेरफेर गरी बोटबिरुवालाई प्रतिकूल अवस्थामा समेत प्रतिफल दिन सक्ने बनाउने हो। जस्तो तापक्रम, आर्द्रता अनि पानीको पर्याप्ततामा मात्र हुर्कने धानलाई बलौटे पाखामा फलाउन सके कति असल हुन्थ्यो? त्यस्तै, अहिले नेपालमा बाँदर आतंक छ।
किसानले फलेको उत्पादन जोगाउन अहोरात्र खेतमा बस्नुपर्ने अवस्था छ। मकैको आनुवांशिकमा परिवर्तन गरी धेरै फल्ने, थप पोषणयुक्त हुने अनि बाँदरले पनि नखाने बनाउन सके जाति हुन्थ्यो नै। तर, आनुवांशिक पदार्थलाई हेरफेर गरी परिस्कृत बनाउने काम भने जति सजिलो छैन।
अमेरिकाको इन्डियाना राज्यमा रहेका बिजविजन कम्पनी कोर्टेभा एग्रिसायन्स भन्ने कम्पनीले दुई दशकको आफ्नो अनुसन्धान सन् २०२१ मा प्लान्ट साइन्स जर्नलमा प्रकाशित गर्यो। ४७ प्रजातिका वनस्पतिका एक हजार ६ सय ७१ जिनहरूलाई तलमाथि पार्दा उत्पादकत्वमा कति वृद्धि हुन्छ भन्ने अध्ययन गर्यो।
दशकौँको अध्ययनपछि अन्तिम चरणमा पुग्दा केबल एउटा जेड एम एम २८ जिन मात्र विजयी भयो। जित हासिल गरेको जिनले पनि अन्न उत्पादनमा उल्लेख्य योगदान गरेको देखिएन बरु समष्टिगत रूपमा मकैको उत्पादन २ प्रतिशतले वृद्धि गरेको पाइयो।
मकैमा घोगा लाग्न केबल एउटा होइन बरु धेरै जिनले भूमिका खेल्ने भएकाले संलग्न सबै पाटोको अध्ययन आवश्यक हुन्छ। एउटा जिन संलग्न अध्ययनले त दशकौँको समय लिन्छ भने धेरै पक्ष समेटिएका अध्ययन कति जटिल हुन्छ होला त? यस्तो जटिल परम्परागत विधिलाई हालैको वैज्ञानिक आविष्कारले सहज बनायो।
कोष (सेल)मा रहेका हजारौँ जिनलाई हेरफेर गर्ने जिन टेलरिङ विधि आविष्कार गरेबापत अमेरिकी वैज्ञानिकहरू जेनिफर डोडना र इम्यानुयल कार्पेन्टियरले सन् २०२० मा रसायनशास्त्र विधाको नोबल पुरस्कार पाए।
दर्जीले लुगालाई विविध तरिकाले जोडेर फरक फरक पहिरन तयार गरेभैmँ जिन टेलरिङले प्राणी तथा वनस्पतिका आनुवांशिक पदार्थको हेरफेरलाई सहज बनाएको छ। वनस्पतिमा जिन हेरफेर गरी उत्पादकत्व बढाउन सकिन्छ। उदाहरणका लागि धेरै पानी आवश्यक पर्ने धानमा रहेको जिनलाई हटाएर मरुभूमिमा हुर्कने बालीको डिएनए हाल्न सके प्रतिकूल वातावरणमा पनि धान उत्पादन संभव हुन्छ। यसरी जताततै अन्न उब्जाउन सक्ने अवस्था भएको खण्डमा प्रतिकूल अवस्थामा समेत खाद्यान्न अभाव हुँदैन।
कुनै तरकारीमा एउटा भिटामिन अधिक हुन्छ भने कुनै फलफूलमा अर्को पोषणको मात्रा बढी पाइन्छ।
चिकित्सा संहिताले कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो र विभिन्न किसिमका भिटामिनहरूको आवश्यकता पूर्ति गर्न अन्न, तरकारी, माछामासु तथा फलफूल मिलाएर खान सल्लाह दिन्छ। तर विज्ञानको क्षेत्रमा आएको परिवर्तनले केवल एउटै खाद्य सेवन गरेर सबै पोषण पूर्ति गर्न सकिने दिन धेरै टाढा नभएको भन्छ।
आवश्यक पोषण उत्पादनका लागि जिनहरूले भूमिका खेल्छन्। एउटै बालीमा विभिन्न किसिमका जिन कैद गरी कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो र सबै भिटामिनको सन्तुलित उत्पादन गर्न नसकिने होइन। तर जिन टेलरिङ, विधिको परीक्षण र व्यावहारिक पक्षको विश्लेषण गर्न भने धेरै समय लाग्न सक्छ भन्ने कुराका लागि कोर्टेभा एग्रिसायन्सको अन्वेषण ढाँचा बुझ्न आवश्यक देखिएको छ।
विज्ञानका लागि कुनै पनि समस्याको समाधानमा ‘देर है अन्धेर नही’ अर्थात् ‘ढिलो हुनसक्छ असम्भव छैन’ भन्ने अभिव्यक्ति सान्दर्भिक छ। लामो समय लागे पनि विज्ञानसँग सबै समस्याको समाधान छ ।
प्रकाशित: १६ आश्विन २०८० ००:५२ मंगलबार